हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

यूनियनद्वारा दीप प्रज्वलन

दमक । प्रेस युनियन माई पश्चिम झापाले मंगलवार दमकको गणतन्त्र चोकमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ । गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरी दिप प्रज्वलन गरेको हो । भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा र युनियनको स्थापना दिवसको अवसरमा भएको दिप प्रज्वलनको शुभारम्भ  नेपाली कांग्रेस झापा क्षेत्र नम्वर ७ का क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले गरेका थिए ।

घर घरमा ‘किचन बम’

-  तेजबन विश्वासी
सुनसरी ।  नियमनकारी निकाय आफैमा चुप लागिदिँदा र स्थानीय उपभोक्ताहरु समेत सचेत नहुँदा नेपाल सरकारले विक्री वितरणमा प्रतिबन्ध लगाएको साना आकारको सिलिन्डरहरु पुन पूर्वका बजारहरुमा देखिन थालेका छन् ।
बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशाशन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरु भूकम्प पीडितलाई राहत बाँढ्न गएको मौका छोपी व्यापारीहरुले साना आकारका सिलिण्डरको विक्री वितरणलाई तीव्रता दिएका छन् । पटक पटक व्यापारीहरुलाई साना आकारको सिलिण्डर विक्री वितरण नगर्न सम्बन्धित निकायहरुले आग्रह गरेपनि ठोस कार्वाही नीति लागु गर्न नसक्दा पूर्वमा पूनःव्यापारीहरुले साना आकारको सिलिण्डर विक्री बितरणलाई तीव्रता दिएको पाइएको छ । ‘किचन बम’को संज्ञा दिदै आएको साना आकारका सिलिन्डरहरु प्रयोगमा खतरा रहेको भन्दै नेपाल सरकारले यस्को विक्री वितरणमा रोक लगाउँदै आएको छ तर नियमनकारी निकायले नियमित बजार अनुगमन नगर्दा र अनुगमनको बेला पक्राउ परेका व्यापारीहरुलाई कडा कार्वाही गर्न नसक्दा पूर्वका बजारहरुमा फेरि साना आकारका सिलिण्डरहरु विक्री वितरण हुन थालेका छन् ।
पूर्वको केन्द्र मानिएको इटहरीलाई व्यापारीहरुले साना सिलिण्डर विक्री गर्ने मुख्य अड्डाको रुपमा लिदै आएका छन् । मोरङ र झापामा पनि यस्ता सिलिण्डरको विक्री भइरहको बुझिएको छ । बाटैमा प्रहरी कार्यालय रहेको देखेपनि प्रसाशनकै आँखा अघि साना आकारको सिलिण्डर विक्री वितरण भइरहँदा व्यापारीहरुलाई कार्वाहीको दायरामा ल्याउन प्रसाशन स्यवम असक्षम देखिएको छ । आँखा अघी गैरकानुनी काम भएपनि उजुरीको पर्खाइमा रहेको प्रसाशनले त्यस्ता व्यापारीहरुलाई कार्वाहीको सट्टा आखा चिम्लेर बसेको पाइन्छ । हेर्दा सानो चिटिक्क देखिने र कम लागतमा उत्पादन समय टिकाउने हुदा कम आर्थिक स्तर भएका उपभोक्ताहरुले यस प्रकारका सिलिण्डरहरु प्रयोग गर्ने गरेका छन् । यता बजार अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय सुनसरी भने आफनो क्षेत्रमा भएको कालोबजारी तथा गैरकानुनी कामको बिषयमा केही जानकारी नभएको बताउँदै आएको छ । यतिबेला सिङ्गो राष्ट्र भूकम्प पिडितहरुको उद्धार र राहतमा खटिएको कारण साना तिना कुराहरुमा ध्यान नगएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ बताउँछन् ।


यसरी भित्रन्छ अवैध सिलिण्डर !

नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धको फाइदा उठाउँदै भारतीय नाकाहरुमा रहेका नेपाली तथा भारतीय शुरक्षाकर्मीहरुकै मिलेमतोमा यस्ता साना आकारका सिलिण्डरहरु भित्रीने गरेको श्रोतको भनाइ छ । नेपाल र त्यसमा पनि तराइमा रहेका खुल्ला सिमानाको फाइदा उठाउँदै जिल्ला प्रवेश गरेका व्यापारीहरुको बढी मिलेमतो रहेको पाइन्छ । नेपालका व्यापारीहरुसंग अग्रिम कन्ट्रयाक गरी रातको समयमा सुनसरीको भारतीय नाका हरीपुर, भुटाहा, कोशी ब्यारेज, भण्टावारी, बिराटनगरको नाका जोगवनी, लगायतका नाकाहरुबाट यस्ता अवैध सिलिण्डरहरु भित्रिने गरेका छन् ।

नेतृत्व लिन दलहरु चुनावी प्रतिष्पर्धामा ६ दलीय गठबन्धनद्वारा ११ बुँदे प्रतिबद्धता

दमक । झापा, इलाम र पाँचथरको पश्चिमी क्षेत्रका लागि चर्चाको विषय बनेको दमक चिसोपानी रवि सडक निर्माण उपभोक्ता समितिलाई आफ्नो पकडमा पार्ने भन्दै ६ दलीय गठबन्धनले ११ बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सोमबार दमकमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको गठबन्धनले प्रतिवद्धता जाहेर गरेको हो ।
दमक रवि सडक निर्माण थालिएको २३ वर्षमा पनि ठोस काम खासै नभएको भन्दै अवको काम आक्रामक हिसावले अगाडि बढाउने, सरकारबाट विनियोजित रकम फ्रिज हुन नदिन कुशल र समन्वयात्मक भूमिका खलेर प्राथमिकता नम्बर १ मा पार्ने लक्ष्य राखेको प्रतिवद्धतापत्रमा उल्लेख छ । १२ महिना नै सवारी आवत जावत गराउनका लागि सडक पुरा गर्ने, ४ वर्षभित्र दमकदेखि
रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने कुरा समेत उल्लेख गरिएको छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधार मार्गका रुपमा दमक रवि सडकलाई विकास गर्ने प्रतिवद्धतापत्र प्रस्तुत गरिएको छ । हालसम्म सो सडकमा योगदान पुर्याउनेहरुको इतिहास समेटेर स्मारिका प्रकाशन तथा हालको सदस्यता शुल्क चर्काे भएकाले ५ सयबाट घटाएर १ सयमा ल्याउने पनि उनीहरुले जनाएका छन् । सो गठबन्धनका अध्यक्षका उम्मेदवार रेवतराज पुरी (गगन)ले प्रतिवद्धतापत्र प्रस्तुत गरेका थिए । अन्य दलको हठले सहमतिमा निर्वाचन हुन नसकेको र ठूला २ दलले सडकलाई आफ्नो नियन्त्रणमा राख्न खोजेकाले आफुहरुले मोर्चावन्दी कायम गरिएको अध्यक्षका उम्मेदवार गगनले बताए ।
जेठ १५ र १६ गते हुने सो सडक उपभोक्ता समितिको निर्वाचनमा गगनका साथै अन्य ५ जना अध्यक्षका उम्मेदवार रहेका छन् । गठबन्धनले सहअध्यक्ष गोविन्द बस्नेत, वरिष्ठ उपाध्यक्ष सुशीलकुमार राई, उपाध्यक्ष विनोद नेम्वाङ, महिला उपाध्यक्ष हरिदेवी राई, महासचिव प्रेमकुमार थाम्सुहाङ, सचिव दिलकुमार लावती, महिला सचिव छमिला तामाङ र कोषाध्यक्ष नैनबहादुर भण्डारीलाई उम्मेदवार तय गरेको छ । सदस्यमा लोमनाथ भण्डारी, यदुनन्दन सिटौला, रुद्रबहादुर कार्की, डम्बर पुलामी मगर, चन्द्र गजमेर, शक्ति साम्बा, लिलाश्वर पालुङ, गजेन्द्र राई, मिलन बस्नेत, टिकाराम लिम्बू, किसान खजुम लिम्बू, यामबहादुर अधिकारी, महिला सदस्यमा पद्मा अधिकारी, नरमाया तामाङ र ओममाया आङदेम्बे रहेकी छन् ।
अरु दललले पनि आ–आफनो दलीय गठबन्धनबाट उम्मेदवारी तय गरेका छन् । अध्यक्षका लागि एमालेका होमबहादुर थापा, काँग्रेसका प्रकाश बुढाथोकी र दिलबहादुर बुढाथोकी उम्मेदवार बनेका छन् । यसैगरी राप्रपा नेपालका घनेन्द्र सुब्बा र संघिय समाजवादीका लोकसागर साम्बाको पनि अध्यक्षमा उम्मेद्वारी परेको छ । ९ जना कार्यकारी पदाधिकारीका लागि २४ जनाले उम्मेद्वारी दिएका छन् । यसैगरी १३ जना सदस्यका लागि २७ जनाको उम्मेद्वारी परेको छ । समितिमा ४ संस्थागत समेत ८ जना मनोनित गर्ने प्रावधान छ । पहिलो चरणको चुनाव जेठ १५ मा दमकको रेडक्रस भवनमा तथा १६ गते इलाम बाँझोको खलङ्गे विद्यालयमा बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । जसमा १ हजार १ सय ३ मतदाता छन् ।

ज्येष्ठ नागरिकलाई परामर्श र हेरचाहको आवश्यकता

उर्लाबारी । ज्येष्ठ नागरिकहरुलाई परामर्श र हेरचाहको आवश्यकता रहेको मोरडको उर्लाबारीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । शान्ति तथा सञ्चार मञ्च नेपाल  र ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लावारीको आयोजनामा भएको सचेतना कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई हेरचाह र परामर्शको आवश्यकता पर्ने बताए । इलाका प्रशासन कार्यालय उर्लाबारीकी अधिकृत गीताकुमारी राईले ज्येष्ठ नागरिकहरुले सम्मानित र मर्यादित रुपमा जीवनयापन गर्न पाउनुपर्ने बताइन् । कार्यक्रममा ज्येष्ठ नागरिक प्रतिष्ठान जिल्ला संघ झापाका अध्यक्ष भवानी दाहाल, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद गौतम लगायतले बोलेका थिए । तीन दिनसम्म चल्ने कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य डा. के.पी. सुवेदी , मञ्चका अध्यक्ष तथा ज्येष्ठ नागरिक प्रशिक्षक पंकज दाहाल, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका रुद्र बहादुर तामाङ, पतञ्जली योग समिति झापाका अध्यक्ष लक्ष्मी काप्mलेले सहजीकरण गरिरहेका छन् ।

गोल्डेन गेटको अन्तरक्रिया

दमक । झापाको दमकमा रहेको न्यू गोल्डेन गेट नेशनल एकाडेमीमा एमवीवीएस र वीईका तयारी कक्षाका लागि अन्तरक्रिया शुरु भएको छ । तयारी कक्षाका लागि सोमबार यस संस्थासँग सम्बन्धित प्राध्यापक र विद्यार्थीहरुबीच अन्तरक्रिया भएको छ । एमवीवीएस र वीईका तयारी कक्षाका लागि काठमाडौं जानु पर्ने वाध्यता अन्त्य भएको प्राध्यापक घनश्याम दहाल पथिकले जनाए । अनुभवी प्राध्यापकहरुद्धारा तयारी कक्षा हुने संस्थाले दावी गरेको छ । अन्तरक्रियामा आवेदन दिनेमध्ये ३४ जनाको सहभागिता रहेको थियो ।

परिवार नियोजन सम्बन्धि सडक नाटक

सुरुङ्गा । परिवार नियोजन, सरसफाई तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना जगाउन कनकाईका युवाहरुले सडक नाटक प्रदर्शन गर्न थालेका छन् । ओके परिवार स्वास्थ्य सेवा नेपालको सहयोगमा झापाको सुरुङ्गा सहकार्य युवा क्लव र अभियान नेपालका कलाकारहरुले संयुक्त रुपमा तीन दिनसम्म प्रदर्शन गरेको सडक नाटकको सोमवार सुनसरीको खनारमा गरीएको प्रदर्शन सँगै समापन गरीएको छ । परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्वन्धी चेतनामुलक सडक नाटक झापा, मोरङ्ग र सुनसरीका विभिन्न क्षेत्रमा प्रदर्शन गरीएको सडक नाटकका निर्देशक कमल कट्टेलले वताएका छन् ।
प्रदर्शनको पहिलो दिन शनिबार झापाको पाँचगाछीमा र दोस्रो दिन दमक नगरपालिका साथै वेलबारीमा प्रदर्शन भएको छ । तेस्रो दिन सोमवार सुनसरीको टंकीसिनवारी, खनार र धरानमा प्रदर्शन भएको निर्देशक कट्टेलले बताए । कलाकार टोलीमा सुदिप भण्डारी, राजकुमार कट्टेल, केपी लुइँटेल, विकास भण्डारी, कृष्ण सिटौला, प्रविण तिम्सिना, मनिष गिरी, समिक्षा बस्नेत, एन्जिला उप्रेती, डम्बरकुमारी दाहाल, बिवेक शिवाकोटी रहेका छन् ।

पूजारीद्वारा ६ वर्षीया बालिका बलात्कृत

पर्सा । वीरगन्जको अलौं सिर्सियामा मन्दिरका पूजारीले ६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । राम जानकी मन्दिरका पूजारी ४५ वर्षीय मनक भगत मालीले गाँउकै ६ वर्षीया बालिकालाई आइतबार दिउँसो बलत्कार गरेका हुन् । पूजारी माली, बाराको बड्की फुलवरिया–६ का स्थायीबासिन्दा हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा पूजारी मालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो खेलिरहेकी बालिकालाई पूजारीले आँपको प्रलोभन दिएर मन्दिरको छेउमा लगेर बलात्कार गरेका हुन् । पूजारीले बलात्कार गरेपछि भागेर घरमा पुगेकी बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएलगत्तै गाँउलेले पीडकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । घटना थाहा पाएलगत्तै प्रहरी चौकी अलौंबाट गएको प्रहरीको टोलीले पूजारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता वीरबहादुर ओलीले बताए । प्रारम्भिक बयानका क्रममा पूजारी मालीले गल्ती स्वीकारेको प्रहरीले जनाएको छ ।

दमक १२ को सडक कालोपत्रे गर्न ढिलाई

दमक । उपभोक्ता र डिभिजन सडक कार्यालयबिच बिवाद हुँहा दमक १२ को निलकण्ठ रोडको कालोपत्रे निर्माणमा ढिलाई भएको छ । पुर्वाञ्चल सडक डिभिजन कार्यालय दमक र उपभोक्ताको ४० लाख रुपैयाँको लागतमा निर्माण हुदै गरेको सो सडक अपलत्र परेको हो । निलकण्ड रोड  उपभोक्ता निर्माण समितिका सचिव रोहित आचार्यले सडक डिभिजनले निगरानी नगर्दा ठेकेदारले निर्माण कार्य अपलपत्र छोडेको बताए । दमक १२ को पृथ्वी निमाविदेखि उत्तर नेपाल टेलिकमको अफिस सम्मको बाटो २०७१ चैत १ गतेबाट निर्माण शुरु भएको र निर्माण कार्यमा समन्वयन नहुदाँ निर्माण अघि बढ्न नसकेको हो । डिभिजन सडक कार्यालयका प्रमुख रामहरि पोखरेलले उपभोक्ता समितिले रकम जम्मा गर्न ढिलाइ गरेको बताए ।
उपभोक्ताले १५ लाख रुपैया मात्र जम्मा पर्नेमा १० लाख रुपैयाँ मात्र जम्मा गरेपछि आधा सडक कालोपत्रे गर्न उपभोक्ताले समेत रोकिएको पोखरेलको दावी छ । ठेकेदार पुस्कर निर्माण सेवाका योगेन्द्र खड्काले उपभोक्ता समितिका कारण सडक निर्माणमा ढिलाई भएको बताउदै  ८/ १०  दिन भित्र काम अघि बढ्ने बताए । ६ सय ७० मिटर लम्वाईको सो सडक कालोपत्रेका लागि उपभोक्ताको २० लाख रुपैयाँ र सडक डिभिजनको २० लाख रुपैयाँको लगानीमा निर्माण गर्न ठेक्का लागेको थियो ।  

शुल्क संशोधनका लागि कार्यदल गठन

दमक । दमक नगरपालिकाले सार्वजानिक गरेको सरसफाई शुल्कको बिरोध भएपछि दररेटलाई परिमार्जन गर्नका लागि संयुक्त कार्यदल बनाउने सहमति भएको छ । सोमवार नगरपालिका र दमक उद्योग बाणिज्य संघका प्रतिनिधीहरुबीच भएको छलफलमा सरसफाई शुल्क परिमार्जनका लागि सुझाव लिने सहमति भएको हो । नगरपालिकाले फोहोर संकलन तथा ब्यवस्थापनको कार्य गर्न सार्वजनिक निजी साझेदारीमा पाथवे नेपाल प्रालि जेभीलाई दिएपछि गत आइतवार सुचना प्रकाशन गरी सरसफाई गर्दा नगरबासी र ब्यावसायीले दिने शुल्कको दररेट सार्वजानिक गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल , संघका कार्यवाहक अध्यक्ष गोकुल श्रेष्ठ नेतृत्वको कार्यसमितिको टोली बिच भएको छलफलमा संघ सहितको प्रतिनिधि रहेको कार्यदल बनाएर १० दिन भित्र ब्यवसायीबाट सुझाव लिने सहभागी द्धितिय उपाध्यक्ष  गोपाल गुरागाईले बताए । त्यस टोलीले दिएको प्रतिवेदनको बिषयमा अध्ययन गरी  शुल्क निर्धारण गर्ने गुरागाईले बताए । नगरपालिकाको सुचना अनुसार न्यनतम १ सय देखि बढीमा ३ हजार रुपैयाँ शुल्क लिइने छ  । त्यो शुल्क बढी भएको भन्दै एमाले निकटको नेपाल राष्ट्रिय बाणिज्य संघ दमकले पनि बिरोध गरेको थियो । नगरपालिकासंग भएको सहमतिपछि संघले त्यसबारे छलफल गर्न मंगलबार बिहान ब्यावसायीहरुलाई बोलाएको छ । संघले सोमबार सुचना गरी फोहोर ब्यवस्थापन शुल्कबारे मंगलबार बिहान संघ मातहतका बस्तुगत संघका प्रतिनिधी र संघका सदस्य तथा सल्लाहकारहरुलाई बोलाएको हो ।

बलात्कारी धर्मगुरु प्रहरी खोरमा

१४ वर्षीया वालिका पटक–पटक बलात्कृत

दमक । बाबु समान गुरुबाटै असुरक्षित भइन्छ भनें सुरक्षा कहाँ होला भन्ने प्रश्न पुनः झापामा दोहोरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका धर्मगुरु बालिकामाथि जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्लाको कन्काई नगरपालिका ४ स्थित प्रणामी मन्दिरका धर्मगुरु महाराज मोहनानन्द भारद्वाज सुवेदी कोटीहोमबाट पक्राउ परेका छन् । प्रणामी मन्दिर आश्रममा रहेका बालिकाहरुलाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै जवरजस्ती करणी गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षिया एक बालिकाले प्रहरी समक्ष उजुरी गरेपछि उनी आश्रममा परिषद्को जिल्लास्तरीय बैठक भइरहेको समयमा बैठक स्थलबाटै पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले कैलालीको टीकापुर घर भइ हाल आश्रममा बस्तै आएकी १४ वर्षिया एक बालिकालाई पटक–पटक जवरजस्ती करणी गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतले जानकारी दिए । मोरङ घर भई २० वर्षदेखि आश्रममा बस्तै अएका ६० वर्षिय सुवेदीले यसअघि पनि आश्रममा रहेका ६ जना बालिकालाई गुरु सेवाको नाममा यौन शोषण गर्ने गरेको पीडित बालिकाको आरोप छ । कनकाई उच्च मावि सुरुङ्गामा कक्षा–९ मा अध्ययनरत बालिकाले आफूमाथि लगातार भएको यौन शोषण अरु कसैले पनि भोग्नु नपरोस् भन्दै प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो । धर्मगुरुको यौन शोषणमा परेकी पीडित बालिकाको मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका सुवेदीले बालिकालाई यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बयान दिएको समेत बताइएको छ ।