हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

आरती टोलमा सडक मर्मत

दमक/ झापाको दमक–१० स्थित  आरती टोलमा सडक मर्मत  गर्ने काम सम्पन्न भएको छ ।
क्याम्पस मोड र आरती टोलसम्म जाने २ सय ९० फुट लम्बाई र २० फुट चौडाइको सडक मर्मत सम्पन्न भएको हो । उपभोक्ता र नगरपालिकाको साझेदारीमा सडक मर्मत गरिएको थियो  । नगरपालिकाको ६० हजार र उपभोक्ताको ७० हजार रुपैयाँको लागतमा सो सडक निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष चन्द्र पोख्रेलले बताए ।


हाजिर गर्ने मेसिन प्रयोगविहीन

दमक/ तीन लाख रूपैयाँ खर्चिएर दमक बहुमुखी क्याम्पसमा किनिएको हाजिरी मेसिन प्रयोगविहीन भएको छ । दुई वर्षअघि करिब ३ लाख रुपैयाँमा किनिएको सो मेसिन क्याम्पसका प्राध्यापकहरुले प्रयोग गर्न नमानेपछि यो अहिले समय हेर्ने घडीको रूपमा मात्र प्रयोग हुँदै आएको हो ।
क्याम्पसमा प्राध्यापक तथा कर्मचारीहरूको चुस्त दुरूस्त हाजिरी रेकर्ड राख्ने उद्देश्यले किनिएको यो मेसिन प्राध्यापकहरूको असहयोगका कारण प्रयोगविहीन बन्न पुगेको हो । यो मेसिनमा ‘फिंगर प्रिन्ट’को रेकर्ड गरिन्छ । फिंगर प्रिन्ट रेकर्ड भएपछि कार्यालय आउने र जाने समयमा मेसिनमा आफ्नो औँठाको छाप लगाउनु पर्ने हुन्छ । कार्यालयमा ढिलो आए मेसिनले हाजिरी नगर्ने भएकाले संघ–संस्थाका कार्यालयका कर्मचारीहरु यसको प्रयोग गर्न रुचाउँदैनन् । विशेष गरी कर्मचारीहरुलाई कामप्रति लगनशील हुन र कार्यालय समयमा आउन र जान उत्प्रेरित गर्नका लागि यो मेसिनको प्रयोग हुन्छ । स्रोतका अनुसार दमक क्याम्पसमा यतिका वर्ष बितिसक्दा पनि यो मेसिनको प्रयोग नभएकाले विद्यार्थी संगठनहरु रुष्ट भएका छन् ।
यस विषयमा जिज्ञासा राख्दा क्याम्पस प्रमुख सन्त कुमार भगतले भने आगामी साउन १ गतेदेखि यसलाई प्रयोगमा ल्याइसक्ने बताएका छन् । यसका लागि प्राध्यापकहरुको ‘फिंगर प्रिन्ट’को रेकर्ड लिने कार्य भइरहेको उनले जानकारी दिए ।

संविधान निर्माणमा सञ्चारकर्मीहरुको भूमिकामा जोड

दमक/ झापाको दमकमा संबिधान निर्माणमा सञ्चारकर्मीको भुमिका बिषयक कार्यशाला सम्पन्न भएको छ ।
मिडिया एडभोकेसी ग्रुप म्याकको आयोजनामा भएको कार्यशालामा पूर्वका ४० जना पत्रकारहरु सहभागी रहेका थिए । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्बाडको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी  संस्था युएनडिपीकी सञ्चार अधिकृत रेणु क्षेत्रीले संविधान निर्माणका बिषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिनका लागी तालिम दिइएको बताइन्  ।
म्याककी अध्यक्ष बबिता बस्नेतले सञ्चारकर्मीहरुलाई संविधान निमार्णका प्रकृयाका बिषयमा जानकारी दिएकी थिइन ।
 तालिमलाई अधिबक्ता बसन्त अधिकारीले सबिधान निमार्णका अन्तरबस्तुका बारेमा सहजकीरण गरेका थिए ।  त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले सबिधान निमार्णमा सञ्चारकर्मीको भुमिकाका बिषयमा बारेमा प्रशिक्ष्ँण दिएका थिए  ।

भानुभक्तको बार्षिकीमा विभिन्न कार्यक्रम

दमक/आदिकवि भानुभक्त आचार्यको द्वीसत् बार्षिकीका अबसरमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकले रक्तदान र प्रतियोगीतात्मक रामायण पाठ कार्यक्रम गरेको छ ।  प्रतियोगीतामा काशी नाथ दाहाल दमक प्रथम, प्रजापती तिवारी बेलडा“गी शरणार्थी शिविर दमक दोस्रो र मन्दिरा भट्टराई दमक तेस्रो भएका थिए । यस्तै  रक्तदान कार्यक्रममा १० जनाले रगतदान गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै सोही अबसरमा भानुभक्त रामायण पाठ समेत गरिएको छ । भुटानी अधिकारकर्मी डाक्टर भम्पा राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाचकहरुले रामायण छन्दबद्ध रुपमा वाचन गरेका थिए ।
सोही अबसरमा विभिन्न क्षेत्रमा सेवा पुर्याउने १० जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षासेवी छबिलाल सिटौला, मेघराज तिम्सीना, रुद्र निरौला, चित्रवर राई, शेखर नाथ लुइटेल लगायत रहेका छन ।  यस्तै सोही अवसरमा मोरङ्गको लेटाङमा पनि कार्यक्रमको आयोजना गरिएको थियो । साहित्य कला संगम लेटाङ र श्रोत केन्द्र लेटाङको आयोजनामा माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगीता सम्पन्न भएको छ । लेटाङ श्रोत केन्द्र अन्तर्गत का ६ वटा विद्यालयका २२ जना सहभागि भएको कार्यक्रममा महाभारत मावि लेटाङका आदर्श राई प्रथम, लक्ष्मी मावि लेटाङकी सोनाली निरौला दोश्रो र लक्ष्मी मावि लेटाङकै मनुविज्ञान न्यौपाने तेस्रो भएका थिए ।   विजयीहरुलाई प्रमुख अतिथि साहित्यकार खेम न्यौपानेले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रम साहित्य कला संगम लेटाङका अध्यक्ष डिल्ली ओझाको अध्यक्षतामा भएको थियो ।
यसैगरी, आदिकवि भानुभक्तको २ सय औ“ जन्मजयन्तीको अवसर पारेर गौरादह जेसीजले विद्यालय स्तरिय खुल्ला कविता वाचन तथा जेष्ठ नागरिकहरु वीच रामायण वाचन कार्यक्रम गरी मनाईएको छ ।
गौरादह गा.वि.स.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा गौरादह क्षेत्रका तेह्र जना विद्यार्थीहरुले कविता वाचन प्रतियोगितामा भाग लिएका थिए भने दश जना स्थानिय जेष्ठ नागरिकहरुले रामायण वाचन गरेका थिए । कविता वाचन तर्फ माउण्ट एभरेष्ट मा.वि.की छात्रा स्वस्तिका भण्डारी प्रथम सोही विद्यालयका छात्र सरगम पोख्रेल द्वितिय, जनता उ.मा.वि.की छात्रा रोशनी दाहाल तृतिय तथा सोही विद्यालयकी छात्रा कृशला तिम्सिना सान्त्वना स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका सदस्य बिष्णु न्यौपानेले जानकारी दिएका थिए ।
जेसीआई सिनेटर नेत्र प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा तथा हास्यब्यंग्यकार लक्ष्मण गाम्नागेको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा साहित्य अनुरागीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक माधव कोइरालाले जानकारी दिए ।
गौरादह जेसीजका अध्यक्ष बद्री कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई नेपाली ढाका टोपी लगाइ सम्मान समेत गरिएको थियो ।

झापाका उप्रेतीले प्रत्यक्ष वल्र्ड कप हेरे

झापा/विर्तामोडका मोहन उप्रेतीले आज बिहान सम्पन्न विश्वकप –२०१४ हेरेका छन् । 
ब्राजिलमा सम्पन्न विश्वकप फुटवल हेर्न उनी ‘जर्नी टु ब्राजिल २०१४ फिफा वल्र्ड कप  अफर’ को विजेता भई उप्रेतीले ब्राजील पुगी वल्र्ड कप हेरेका हुन् । अटो प्लाजा कन्सर्न दमकले सञ्चालन गरेको ‘होन्डाई वल्र्ड कप अफर’ अन्तर्गत ग्राण्ड आई टेन गाडी खरिद गरी बम्पर उपहार विजेता उप्रेतीले सो प्रत्यक्ष विश्वकप हेर्ने मौका पाएका हुन् ।
अटो कन्सर्नका सञ्चालक बबरजङ्ग थापाका अनुसार उनले गत जेठको पहिलो साता होन्डाई वल्र्ड कप अफर अन्तर्गत सो गाडी खरीद गरेका थिए ।

भुपेन्द्र पूर्वकै च्याम्पियन बने

दमक/झापा दमकका बुद्धिचाल खेलाडी भुपेन्द्र निरौला (निरज) पूर्वाञ्चल च्याम्पियन भएका छन् ।
शनिबार इटहरीमा तीन दिनसम्म सञ्चालन भएको क्षेत्रीय स्तरको बुद्धिचाल प्रतियोगितामा निरज पूर्वकै उत्कृष्ट भएका हुन् । उनले स्विस लिग अन्तर्गत सात राउण्डको खेलमा सातै खेल जितेर पूर्वाञ्चल बुद्धिचालको उपाधि हात पारेका हुन् । निरौला राष्ट्रिय स्तरका खेलाडी समेत हुन् । यसअघि उनी र प्रकाश नेपाल सहितका तीन खेलाडी जिल्लाबाट छनौट भएका थिए ।
यसैगरि सोही प्रतियोगितामा नै दमककै प्रकाश नेपालले दोश्रो उपाधि हात पारेका छन् । उनी ६ अंकका साथ दोश्रो र सुनसरीका हिमाल राई ५.५ अंकका साथ तेश्रो भएका थिए । पूर्वाञ्चलका १६ ओटै जिल्लाबाट ३ जनाको दरले क्षेत्रीय प्रतियोगितामा सहभागिता रहेको थियो । उक्त प्रतियोगिता पूर्वाञ्चल खेलकुद विकास समितिले आयोजना गरेको हो ।

बिहानीको सांगीतिक कार्यक्रम

दमक/गुरु प्रर्णिमाको अवसरमा शनिबार दमकमा बिहानी कला केन्द्रले गुरु पुजन कार्यक्रम गरेको छ ।
सो अवसरमा केन्द्रमा प्रशिक्षण लिइरहेका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए । केन्द्रकी प्रमुख कमला खनालले विद्यार्थीहरूले गुरु पुजनसँगै साङ्गीतिक कार्यक्रम समेत गरेको जानकारी दिइन् ।

निरौलाको एकल कविता वाचन

दमक/आदिकवि भानुभक्त आचार्यको दुईसत् वार्षिकीका अवसरमा शनिबार झापाको दमकमा एकल कविता वाचन गरिएको छ ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकको आयोजनामा कवि रुद्र निरौलाले छन्दबद्ध कविता वाचन गरेका हुन् । उनले विभिन्न छन्दमा कविताहरू वाचन गरेका थिए । शिक्षासेवी छबिलाल सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्का कवि चुडामणि रेग्मीले छन्द साहित्यमा निरौला जिल्लामा उत्कृष्ट भएको बताए । साहित्य कला संगमका सचिव डम्बरुबल्लभ न्यौपानले कवि निरौलाको जिवनीमाथि प्रकाश पारेका थिए ।
प्रतिष्ठानका सचिव सुर्य पौडेल, साहित्यक उपसमितिका संयोजक नरपति पाण्डेले निरौलाको साहित्य सिर्जनाको चर्चा गरेका थिए । कविहरू विष्णु न्यौपाने, हेम अधिकारी, मन्दीरा भट्टराइले निरौलालाई कबिता वाचनमा सहयोग गरेका थिए । कवि निरौलाले त्रिवेणी, भञ्जाङको सुसेली नामक कृति प्रकाशन गरिसकेका छन् ।

श्रीमानको कुटाइ विरूद्ध प्रहरीमा

पिपुल्स टाइम्स समाचार
दूधे / झापा सतासीधामका एक पुरूषले आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।
मोटरसाईकलको चाबी हराएको बिषयलाई लिएर सामान्य बिवाद हुँदा रिसले आगो भएका श्रीमान जीवनाथ कोईरालाको कुटाईबाट स्थानीय ९ नम्बर वडाकी टंकमाया गम्भीर घाइते भएकी हुन । उनको आँखा, टाउको र डढेल्नोमा गम्भीर चोट लागेको छ ।
टंकमाया काेइराला

टंकमायाका श्रीमान जिवनाथले मोटर साईकलको चाबी लुकाएको आरोप लगाउँदै मुक्का हानेका थिए ।  ईलाका प्रहरी कार्यालयमा श्रीमान विरुद्ध उजुरी दिन पुगेकी टंकमायाले भनिन्, ‘मेरो ज्यानको सुरक्षा र म माथि कुटपिट गर्ने मेरै श्रीमानलाई कानुनमा उल्लेख भएअनुसारको कारबाही होस ।’
शुक्रबार बिहान जीवनाथ श्रीमती टंकमाया माथि जाईलागेका थिए । ‘मोटरसाईकलको चाबी मैले लुकाएर नदिएको भन्दै एकाएक उनी ममाथि आईलागे उनले रुदै भनिन्’, ‘मैले चाबी लुकाएको थिईन उनकै पेन्टको भित्री गोजीमा उनले आफै राखेका रहेछन्’
 प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी उनले भक्कानिँदै भनिन्, ‘म माथि कुटपिट हुँदा मैरै सौतेनि छोराले पनि मलाई बाँकी राखेनन् । मुड्की–मुड्कीले हाने,’ उनले भनिन्, ‘उनीहरु मेरो ज्यान बचाउन आए भन्ने लागेको थियो । तर, आउने बित्तिकै बाउ–छोराले पालैपालो कुटे।’  ईलाका प्रहरी कार्यालय झिलझिलेले आमा कुट्ने ३० वर्षीय खगेन्द्र र २६ वर्षीय ईुन्द्र सहीत टंकमायाका श्रीमानलाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका खगेन्द्र र ईन्द्रले आफूहरुले आमालाई नकुटेको बताए । आफूहरु बुबा आमाको झगडा छुट्याउन गएको, तर कुटपिट नगरेको ईन्द्रले बताए । यता जीवनाथले भने घाइते नै हुने गरी कुटपिट गर्ने मनसाय नभएको बताए ।
उनले भने, ‘आवेगमा चोटै लाग्ने गरी कुटिएछ ।’ टंकमायाले यस अघि पनि सयौँ पटकका याताना खपेकी रहेछिन् । उनले भनिन, ‘मैले धेरै सहे मेरा माईती मावली पनि छैनन् लोग्नेले पनि माया दया नराखी कुट्छ भने अब सहेर बस्ने अवस्था रहेन ।’ उनका अनुसार उनी दोश्री श्रीमती रहेछिन् ।’ कान्छी पनि थिई उसले श्रीमानको यातना सहन नसकेर लोग्ने नै त्यागी,’ टंकमायाले भनिन्, ‘घरेलु याताना सहन नसकेपछि बाध्य भएर उसले छाडिदिई ।’ जेठी श्रीमतीको मृत्यु पछि कोईरालाले आफूलाई परम्परा अनुसार विवाह गरेका उनले बताइन् ।
गम्भीर घाइते अवस्थामा प्रहरीको सहयोग माग्दै इलाका प्रहरी कार्यालय झिलझिले पुगेकी टंकमायाको शारीरिक अवस्था हेर्ने बित्तिकै ईलाका प्रहरी कार्यालय झिलझिलेले बाउ छोरा तीनै जनालाई नियन्त्रणमा लिएको थियो । इप्रका झिलझिलेका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले भने, ‘कुनै कसुर बाँकी नराखि पीडीतलाई चित्त बुझ्ने गरी दोषीलाई कारबाही गर्छौँ ।’
लोग्नेको कुटाई वा घरेलु हिँसाका कारण प्रहरीमा कोहि कसैको सहयोग बिनै उजुरी दिने सतासीधाममा उनी संभवत पहिलो नारी हुन् । स्थानीयबासी भन्छन्, ‘टंकमायाको यो साहासले घरायसी हिँसाबाट पीडीत महिलालाई खुलेर प्रहरी कार्यालयमा पुग्न मद्दत पुगेको छ ।’ यसैबीच सतासीधाम ९ नम्बर वडा प्रणामी मन्दिर टोलका करीव ४ दर्जन महिलाले पीडीत टंकमायाको औषधि उपचार र ज्यानको सुरक्षाको माग गदै ईलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका छन् । उनीहरुले श्रीमती कुटेर पुरुषार्थ प्रस्तुत गर्ने जीवनाथ कोईरालालाई पनि कारबाहीको माग गरेका छन् ।

गुरू पूर्णीमा र यसको महत्व


पारसमणि आचार्य
गुरू ब्रम्हा, गुरू विष्णु, गुरू देव महेश्वर, गुरू साक्षत परम ब्रम्हा तहमैश्री गुरूवे नमह ! भनेझैं हाम्रो समाजमा गुरूको स्थान सदैव सर्वश्रेष्ठ । गुरूलाई जन्म दिने बा–आमा पछिका भगवानका रुपमा हेर्ने र पूज्ने चलन छ । गुरूले सधैंभरी आफ्ना विद्यार्थीहरूलाई राम्रो काम गर्न, प्रेरित गर्नुहुन्छ । साथै, कु–मार्गबाट राम्रो मार्गमा लाग्न मार्ग निर्देश गर्नुहुन्छ । साथै गुरूले कहिल्यै पनि आफ्ना शिष्यको अहित चिताएको पाइँदैन । तसर्थ, हाम्रो समाजमा गुरूको स्थान सर्वश्रेष्ठ रहेको छ ।
आफूलाई शिक्षा दिने गुरूहरूलाई सम्झने दिनको रुपमा हामी गुरू पूर्णीमालाई दिने गर्दछौं । गुरू र शिष्यको सम्बन्धलाई थप सुमधुर बनाउन यो दिनले सहयोग पु¥याएको पाइन्छ । आफ्नो कार्य विशेषले देश एवम् विदेशमा छरिएर रहेता पनि आजका दिन आफ्ना गुरूजनप्रति विशेष आदर र सम्मानका साथ गुरूहरूलाई सम्झने दिनको रुपमा हामी गुरूपूर्णीमालाई लिन्छौं । आजका दिनमा गुरूहरूलाई भेटेर विशेष पूजा अर्चना गरी मिठो खानेकुरा खुवाउने, गुरूबाट आशिर्वाद लिने गरिन्छ । सधैं गुरूको दीर्घायु, स्वास्थ्यलाभको कामना गरिन्छ । अतः आज पनि हाम्रो समाजमा गुरू पूर्णीमाको विशेष महत्व रहेको पाइन्छ ।

गुरू पूर्णीमाको यस पावन अवसरमा यस प्रसङ्गलाई यहाँ जोड्न चाहन्छु । एक समयको कुरा हो । गुरूले आफ्ना शिष्यलाई ज्ञान प्रदान गर्दै हुनुहुन्थेछ । त्यसैक्रममा एक जना विद्यार्थी चाँहि गुरूको आज्ञा नमान्ने पनि रहेछ । पढाउँदै गर्दा गुरूले सबै विद्यार्थीलाई ठूला–ठूला ढुङ्गा टिप भन्नुभयो, सबैले ठूला ढुङ्गा टिपे तर एउटा जो गुरूको आज्ञा मान्दैनथ्यो, यसले चाँहि सानो ढुङ्गा टिपेछ । तयसपश्चात गुरूले सबैलाई भन्नुभयो, तिमीहरू भोकाको छौ होला, त्यसैले तिमीहरूको हातको ढुङ्गा खानेकुरा बनोस्, भनेर खानेकुरा बनाइदिनुभयो । ठूलो ढुङ्गा टिप्ने सबैले अघाउञ्जेल खान पाए तर सानो टिप्नेले थोरै मात्र खान पाएछ, त्यस पश्चात पुनः गुरूले सबैलाई साना–साना ढुङ्गा टिप्न लगाउनुभयो, सबैले सानो ढुङ्गा टिपे तर एकजनाले चाँहि ठूलो ढुङ्गो टिपेछ । गुरूले सबैलाई भन्नुभयो, तिमीहरूले टिपेको ढुङ्गा पर–परसम्म फाल । त्यो तिमीहरूको जमिन हुनेछ । जसले सानसो ढुङ्गा टिपे, उनीहरूले धेरै जमिन पाए, जसले ठूलो ढुङ्गा टिपेको थियो, उसले थोरै जमिन पाएछ । यस्तै प्रकारले पुनः गुरूले सबैलाई भन्नुभयो, दुईवटा एकनासका ढुङ्गा टिप । सबैले एकनासका, उत्रै ढुङ्गा टिपेछन्, तर एकजना गुरूको आज्ञा नमान्नेले चाँहि एउटा ठूलो र एउटा सानो गरी दुईवटा ढुङ्गा टिप्यो । गुरूले पुनः भन्नुभयो, तिमीहरूको खुट्टामा चप्पल छैन, त्यसैले त्यो ढुुङ्गा चप्पल बनोस् । नभन्दै जसले एकनासका ढुङ्गा टिपे, उनीहरूको एकनासको चप्पल बन्यो भने नमान्ने एकजनाको भने एउटा ठूलो र अर्को सानो चप्पल बन्यो । यसकारण यहाँ मैले के भन्न खोजेको भने गुरूको कुरा मान्नुपर्दछ । गुरूको आज्ञापालन गर्नुपर्दछ । गुरूको आज्ञा नमान्दा दुःख पाइन्छ ।
आफूलाई ज्ञान प्रदान गर्ने गुरूहरूलाई मिल्छ भने आजको दिन प्रत्यक्ष भेटेर गुरूहरूलाई मिठो फलफुल, खानेकुरा, कपडा आदि उपहार प्रदान गर्ने र गुरूहरूबाट आशिर्वाद लिने गरिन्छ । प्रत्यक्ष भेट्न सम्भव छैन भने पनि फोन, फेसबुक आदि इलेक्ट्रोनिक यन्त्रको माध्यमबाट पनि गुरूजनप्रति सम्मान प्रकट गर्न सकिन्छ । गुरू र चेलालाई जोड्ने पवित्र आजको दिन गुरू पूर्णीमाको यस पुनित अवसरमा मलाई शिक्षा दिने, मार्ग निर्देश गर्ने, सुमार्गमा लाग्न प्रेरित गर्ने मेरा आदरणीय गुरूजनहरूप्रति सुख, शान्ति, दीर्घायु, उन्नति प्रगतिको कामना गर्दै श्रद्धा प्रकट गर्न चाहन्छु ।