एमाले अध्यक्षमा ओली विजयी (पराजित नेपालले बधाई दिए)

पिपुल्स टाइम्स समाचार
झापा/नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष ओलीले अध्यक्षका प्रत्यासी एमाले पूर्व महासचिव तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ३९ मत अन्तरले पराजीत गर्दै जित दर्ज गरेका हुन् ।
मंगलबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्ष ओलीले १००२ मत प्राप्त गरेर विजयी भएका हुन् भने अध्यक्षका प्रत्यासी नेपालले ९६३ मत प्राप्त गरेका थिए ।
यसैबीच एमाले अध्यक्ष पदमा चुनाव हारेका नेता नेपालले  पार्टी अध्यक्ष पदमा विजयी नेता ओलीलाई बधाई दिएका छन् । निर्वाचन हारे लगतै मंगलबार साँझ वक्तव्य जारी गर्दै नेपालले पार्टीलाई एकतावद्ध बनाएर बुहदलीय जनवादको भावना अनुरुप अघि बढाउन आग्रह समेत गरेका छन् । उनले विज्ञप्ति मार्फत विजयी सम्पूर्ण पदाधिकारीहरुलाई समेत बधाई दिएका हुन् ।
वक्तव्य मार्फत नेपालले भनेका छन् –‘पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ उनले सबै मतदाताहरुलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।
पार्टीलाई थप बलियो र एकतावद्ध बनाएर अघि बढ्न सुझाव दिँदै नेपालले आफू सु–स्पष्ट विचार र असल संस्कृति सहितको जनताप्रति समर्पित पार्टी बनाउन लागि पर्ने समेत जिकिर गरेका छन् । नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य रहेको समेत नेपालले चर्चा गरेका छन् ।
यसैबीच ५ पार्टी उपाध्यक्ष पदका लागि दुई समूहबाट प्रतिस्पर्धा गरेका दश जना मध्ये ३ जना नेपाल समूहका विजयी बनेका छन् भने ओली समूहका २ जना विजयी भएका छन् भने
नेपाल समूहका भीम रावल      (१०८२), युवराज ज्ञवाली (१०२६), अष्टलक्ष्मी शाक्य (१००६) र ओली समूहका बामदेव गौतम (१०७७) र विद्या भण्डारी (१०९७) मत पाएर विजयी भएका छन् । एमाले महासचिव पदमा ओली समूहका ईश्वर पोखरेलले उनका प्रत्यासी सुरेन्द्र पाण्डेलाई २८ मत अन्तरले पछाडि पार्दै चुनिए । पोखरेलले १०५१ प्राप्त गरको थिए भने पाण्डेले १०३२ मत पाए ।
२ उप–महा सचिव पदमा भने नेपाल समूहका घनश्याम भुसाल     (१०४१) र ओली समूहका विष्णु पौडेल (१०४९) विजयी भए । ५ सचिव पदमा भने नेपाल समूहका योगेश भट्टराई (१०३८), गोकर्ण बिष्ट (१२०७) र भीम आचार्य      (९८१) तथा ओली समूहका प्रदीप ज्ञवाली (११०६) र पृथ्वी सुब्बा गुरुङ (९९६) निर्वाचित भए ।
यो समाचार तयार पार्दा सम्म पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएकाहरुको मत गणना कार्य जारी रहेको बुझिएको छ । पदाधिकारी तर्फ ओली समूह र नेपाल समूहका ७–७ जना पदाधिकारी निर्वाचित भएका छन् ।
गत असार १९ गते उद्घाटन भएको एमाले नवौँ महाधिवेशन असार २६ गतेसम्म चल्ने भनिएकोमा विद्युतीय मतदान नगर्ने निर्णय पछि मतपत्र छाप्ने लगायत विभिन्न प्राविधिक कार्यले लम्बिएको हो । एमाले स्रोतका अनुसार आज बुधवार दिउँसो सम्ममा केन्द्रीय सदस्य पदको समेत मत परिणाम प्राप्त हुने छ ।

                           झलनाथलाई ३४ मत
यसैबीच मतदानका क्रममा केही मतदाताले भने निर्वाचनमा उम्मेद्वारी नै नदिएका निवर्तमान एमाले अध्यक्ष झलनाथ खनाललाई समेत मत दिएका छन् ।
एमाले अध्यक्षका लागि प्रत्याशी रहेका माधव नेपाल र केपी शर्मा ओलीले अलग–अलग प्यानल बनाएर चुनाव लडे पनि केही मतदाताले भने अध्यक्षको कोष्ठ खाली राखेर झलनाथ खनालको नाम लेखेका हुन् । खनालका नाउँमा ३४ बढी मत परेको थियो ।

0 प्रतिकृया:

Post a Comment