चारित्रिक प्रमाणपत्र लिन चर्को शुल्क

दमक/ झापाका निजी  र सामुदायिक विद्यालयले विद्यार्थीको चारित्रिक प्रमाणपत्र वितरण गर्दा चर्को शूल्क असुली गर्ने गरेको खुलासा भएको छ । विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेपछि निःशूल्क अथवा अति कम शूल्कमा वितरण गर्नुपर्ने चारित्रिक प्रमाणपत्रमा चर्काे रकम असुली गर्ने गरेको अभिभावको गुनासो छ । गत सालसम्म शनिश्चरे स्थित प्रगति सेकेण्डरी बोर्डिङ्ग स्कूलले एक हजार दुइ सय रुपैयाँ लिएको सोही विद्यालयमा अध्ययनरत विद्यार्थी जीवनका अभिभावक यादव पौडेलेले गुनासो गरेका छन् । निजी विद्यालयले आम्दानी बढाउने निहँुमा चर्काे शूल्क असुली गर्ने गरेको  पौडेलको गुनासो छ ।
यस बर्ष प्रगति स्कूलले एक हजार तीन सय रुपैयाँ लिने गरेको प्रगति सेकेण्डरी बोडिङ्ग स्कूलका प्राचार्य मातृका निरौलाले जानकारी दिए । उनका अनुसार चारित्रिक प्रमाणपत्रका लागि जिल्ला शिक्षा कार्यालयमा दुइ सय रुपैयाँ बुझाउनु पर्ने बाध्यता रहेको विद्यालयले उक्त रकम अशुल गरेको बताउँछन् । झापामा सञ्चालित एक हजार भन्दा बढी विद्यालयले नै शुल्क लिँदै आए पनि त्यसको अनुगमन गर्ने अधिकार पाएको निकायले चासो नदिएको अभिभावकको गुनासो छ । त्यति मात्रै होइन निजी विद्यालयको सिको गर्दै सामुदायिक विद्यालयले पनि प्रति विद्यार्थी एक हजार बढी चारित्रिक प्रमाणपत्रको शुल्क अशुल्ने गरेको पाइएको छ ।
कुनै कुनै सामुदायिक विद्यालयले उच्च मावि तह त्यहीँ पढ्ने भए ६ सय रुपैयाँमा चारित्रिक प्रमाणपत्र दिने गरेका छन् । तर अन्यत्र पढ्ने भए त्यसको शूल्क दुई हजार रुपैयाँ लिँदै आएका छन् । उता झापाका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीका अनुसार विद्यालयले बुझाउनु पर्ने दुइ सय रुपैयाँ चारित्रिक प्रमाणपत्रका लागि नभई परीक्षा नियन्त्रण कार्यालयले दिने प्रमाणपत्रका लागि हो । तर विद्यालयले चारित्रिक प्रमाणपत्रका लागि भन्दै अभिभावकसँग रकम असुल्दै आएका छन् । जिल्ला शिक्षा अधिकारी रेग्मीले भने,–‘चारित्रिक प्रमाणपत्रका लागि भनेर सरकारले रकम तोकेकै छैन । चारित्रिक प्रमाणपत्रका लागि भनेर रकम असुलेको गुनासो म कहाँ आएको छ । म खोजी गर्दैछु ।’

0 प्रतिकृया:

Post a Comment