माओवादी पार्टी दुई नेतृत्वमा

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट फुटेर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी– माओवादीले झापा जिल्लामा आफ्नो पार्टीगत जिम्मेवारी बाँडफाँड गरेको छ । संस्थापन अर्थात् एकीकृत माओवादीले पार्टीको क्रान्तिकारी धार छाडेको विश्लेषण गर्दै मोहन वैद्य ‘किरण’ को नेतृत्वमा क्रान्तिकारी र जुझारु पार्टी संगठन खोलिएको चर्चा गर्दै आएका नेकपा–माओवादीका नेता, कार्यकर्ताहरूमा यतिबेला सांगठानिक जोस र उत्साह पनि देखिएको छ । संस्थापन पक्षका रुपमा रहेको एकीकृत माओवादी पार्टीको भर्खरै सम्पन्न विस्तारित बैठक महाधिवेशनको निर्णय गर्दै समाप्त भएको अवस्था छ । केन्द्रदेखि स्थानीय तहसम्मका सबैे कमिटीहरू भङ्ग गर्दै महाधिवेशन आयोजक कमिटीका रुपमा मात्रै कायम रहेको अवस्थामा त्यही मूल पार्टीबाट फुटको नेकपा–माओवादीले भने केन्द्रदेख जिल्ला र क्षेत्रसम्मका इकाईहरूमा नेतृत्व चयन गर्दै गरेको वर्तमान अवस्था ‘माओवाद’ मान्ने कम्युनिष्ट सिद्धान्तका पालकहरूका लागि चाखलाग्दो विश्लेषणको पक्ष हो भन्ने देखिन्छ ।
स्वभाविक रुपमा पार्टी भित्र असन्तुष्टि व्यक्त गर्दै वैद्य पक्षले अन्ततः छुट्टै पार्टी खोल्ने र संगठन विस्तार गर्ने लगायतको गतिविधि थालेको अवस्था विकसित राजनीतिक क्रियाशीलता हो । त्यस्तै, एकीकृत माओवादीले समेत यतिबेला पार्टीभित्र उठेका यावत विषयहरूको निराकरणका लागि वैधानिक थलोका रुपमा महाधिवेशनमा जाने भनी गरेको निर्णयलाई रचनात्मक मान्न सकिन्छ ।
नेपाली राजनीतिको निकासक्रम नै गुट–फुट र जुटको अवस्थाबाट अघि बढ्दै आएको इतिहास छ । तसर्थ, मुलुककै ठूलो पार्टी एकीकृत माओवादीमा आएको फुट चिन्ताको बिषय बन्नु त स्वभाविक हो । तर, राजनीतिक दलहरूका बीचमा आन्तरिक विवाद, दलीय गुट र फुट तथा पुनः पार्टी एकीकरण हुन्न भन्नु गलत हो । नेपाली राजनीतिक अभ्यासले दिएको परिणाम पनि त्यही हो । कुनै एक विचारबाट सञ्चालित राजनीतिक दल हुनु भनेकै थुप्रै फरक विचार र प्रयोगको थलो बन्नु हो । तसर्थ विचारहरूको घर्षणबाट नै निष्कर्षहरू प्राप्त हुने गरेका छन् । विचारहरूको तात्कालीनता र दीर्घकालीनताले एकै दल भित्र बहु विचारहरूको तर्क र संघर्षको परिणाम नै कि संगठनको मजबुदीकरण हो अथवा बिग्रह भइ फरक दलको अस्तित्व सहित नयाँ पार्टी संगठन जन्मनु हो । नेपाली राजनीतिक परिवेशमा शक्तिशाली संगठनका रुपमा प्रचण्ड नेतृत्व र वैद्य नेतृत्वको दुई ओटा माओवादी पार्टी अस्तित्व देखिएको स्पष्ट हो । यो वास्तविकता समाजलाई स्वीकार्य हुन जरुरी छ । राजनीतिक दलहरू भनेका सार्वभौमसत्ता सम्पन्न जनताका आत्मविश्वास र आस्थाका धरोहर पनि हुन् । तसर्थ, उनीहरूले नेपाल राष्ट्र र नेपाली जनताको हित र समृद्धिका पक्षमा राजनीतिक ढङ्गले गतिविधि गर्न आवश्यक छ । जनताले दलहरूबाट राखेको अपेक्षा पनि त्यति नै हो ।

0 प्रतिकृया:

Post a Comment