७३ वर्षीया महिला सगरमाथामा

काठमाडौ, ७ जेठ/जापानकी ७३ वर्षीया तामे बात्नाबे सगरमाथा आरोहण गर्ने संसारकै सबैभन्दा जेष्ठ महिला बनेकी छन् । आरोही तामेले शुक्रबार राति सगरमाथाको आरोहण गरेकी हुन् ।

एशिएन ट्रेकिङको अन्तराष्ट्रिय सगरमाथा आरोहण दल २०१२ को नेतृत्व गरेकी उनले आफ्नै रेकर्डलाई तोडेकी छन् । यसअघि उनले सन् २००२ मा मे १६ तारिखका दिन पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । जापानमा सरकारी सेवामा कार्यरत तामेका साथ फोटोग्राफर नोरीयोकी मुरागुचीले पनि सगरमाथा आरोहण गरेको एशिएन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
अध्यक्ष शेर्पाका अनुसार, उनीहरुका साथ नेपाली आरोहीहरु मिग्मा शेर्पा,फुर्वा नोरु शेर्पा, र पेम्बा शेर्पा पनि थिए । उनीहरु शुक्रबार राति ८ बजे तेस्रो क्याम्प (८ हजार ३ सय मिटर) बाट चुचुरोतर्फ लागेका थिए । तिब्बततिरको मोहोडाबाट उक्लेका उनीहरु शनिबार विहान ७ बजे चुचुरोमा पुगेका थिए । तामे यो सिजनकी पनि सबैभन्दा बृद्ध महिला आरोही हुन् । दश वर्षको अन्तरालपछि सगरमाथा आरोहण गर्न आएकी तामे अझै फुर्तिली महिला छन् । उनी एक सातापछि राजधानी काठमाडौं फर्किने छिन् । उनले ६५ वर्षको उमेरमा विश्वको चौथो अग्लो लोत्से हिमाल (८५१६ मिटर)  पनि आरोहण गरेकी थिइन् ।

0 प्रतिकृया:

Post a Comment