एसएलसीको प्रश्न पत्र जिल्ला आइपुग्यो – मुख्य समाचार

झापामा ४८ केन्द्र, १६ हजार परीक्षार्थी
विष्णु पौडेल
भद्रपुर/यस वर्षको प्रवेशिका परीक्षाका लागि झापामा तयारी शुरु गरिएको छ ।
आगामी चैत–७ गतेदेखि हुने परीक्षाका लागि जिल्लामा ४८ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।  गत वर्षको भन्दा यस वर्ष एउटा परीक्षा केन्द्र बढाईएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । ति केन्द्रहरुमा जिल्लाका एक सय ओटा सामुदायिक, १ सय ३५ ओटा संस्थागत, ८ ओटा भुटानी शरणार्थी शिविर र २ ओटा खुल्ला विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।
झापाका देवी मावि अनारमनी र हिमालय उच्चमावि दमकको खुल्ला विद्यालयका विद्यार्थीहरु पनि प्रवेशिकामा सहभागी हुनेछन् । यसै वर्षबाट ‘प्राईभेट’ परीक्षाको व्यवस्था हटाईएको कार्यालयका उप–सचिव लक्ष्मीप्रसाद तिम्सिनाले जानकारी दिए । गत वर्ष एक्जाम्टेड परीक्षा दिएर अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि भने एउटा अलग्गै परीक्षा केन्द्र तोकिएको उनले बताए । यस वर्ष झापाबाट १३ हजार ९ सय ६५ नियमित तथा एक्जाम्टेड तर्फ २ हजार २ सय ७५ जना विद्यार्थीले प्रवेशीका परीक्षा दिने जनाइएको छ ।
परीक्षाको तयारीलाई निजी विद्यालयहरुले पनि गम्भिरताका साथ लिएको बताएका छन् । एनप्याब्सन झापाका अध्यक्ष जयबहादुर श्रेष्ठ परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आफ्नो संस्थाको भुमिका सकारात्मक रहने बताउँछन् । यस वर्षबाट सेन्ट–अप परीक्षा खारेजी गरिएकोप्रति भने उनले आपत्ती प्रकट गरे ।  बिदेशी दातृसंस्थाहरुको इशारामा सेण्ट–अप खारेजी गरिनुु नेपालको शैक्षिक प्रणालीका लागि उपयुक्त नरहेको उनको भनाई छ । परीक्षा नै नदिई ७५ प्रतिशत हाजिरका भरमा प्रवेशिकामा सहभागी गराइनु शैक्षिक गुणस्तका लागि हितकर नहुने उनको टिप्पणी छ ।
यसै बीच परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो चैत ७ देखि सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्लामा पु¥याएको छ । परीक्षा नजिकिँदै गएकाले कार्यालयले जिल्लाहरुमा मा परीक्षाका लागि आवश्यक सबै विषयको प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षाका लागि आवश्यक सबै सामग्री पु¥याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले उपत्यकाका तीन जिल्लाबाहेक अन्य सबै जिल्लामा आवश्यक सामाग्री पठाईएको बताए ।  यसवर्ष परीक्षा दिने पाँच लाख
२८ हजार २ सय ५७ परीक्षार्थीका लागि आवश्यक सबै विषयको कूल ९६ लाख एकसय थान प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेको थियो ।
झापामा समेत परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पठाउन थालिएको र प्रश्न पत्र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रश्नपत्रहरु समेत परीक्षा केन्द्र नजिकैका प्रहरी इकाईहरुमा आगामी चैत–१ गतेबाट पठाउन थालिने जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । पटक–पटक भइरहेको बन्द तथा हड्तालका बाबजुद पनि परीक्षाको तयारी तिव्र पारिएको तिम्सिनाले बताए ।

0 प्रतिकृया:

Post a Comment