बिर्सन नुसकिने सामाजिक व्यक्तित्वहरुबाट युवावर्गले सिक्नै पने पाठहरु – पहिलो लेख

ओमप्रकाश गौतम
जीवन पछिको मृत्यु एउटा प्रकृतिले दिएको परम्परा हो । मृत्यु एउटा दुःखदायी क्षण हो । यसले सदैव जीवनमा शून्यताको बोध गराउँदछ । मानवले शून्य मनस्थिति राखिरहने हो भने संसार नै चल्न नसक्ने कुरा वैज्ञानिकहरुले भन्दै आएका छन् । विशेषतः मृत्युलाई व्यवहारिक, धार्मिक, आर्थिक र मानसिक पीडाका कोणबाट विश्लेषण गरिँदै आएको छ । मृत्यु स्वभाविक प्रक्रिया भएको हुनाले त्यसलाई अन्यथा भने हामी मानवहरुले ठान्दै ठान्नु हुँदैन । बाँच्नेहरुका लागि मृत्युको दुःख तिव्रतम हुने गर्दछ । दुःख भन्ने कुरा अनुभूति पक्षसँग सम्बन्धित हुने भएकोले यो अदृश्य हुन्छ तर दुःख आइपर्दा टाढा भए पनि वा नजिक भए पनि विद्युतीय गतिभैmँ त्यसले सबैलाई छुन्छ र त्यो ज्यादै नै संवदनशील हुन्छ । हो आज यस्तै दुःखद्पूर्ण वेदनाले पूर्वाञ्चलको राजनीतिक, सामाजिक, धार्मिक क्षेत्र भनेर चिनिएको झापाको भूमि लखनपुर गाविसका बिर्सनै नसकिने सामाजिक तथा राजनैतिक अगुवाई गर्ने व्यक्तित्वहरुको मृत्युको वेदनाले हामीलाई स्तब्ध र विभोर बनाएको छ । पञ्चायतीकालको शासन व्यवस्थादेखि प्रजातन्त्र हुँदासम्म र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि जीवन रहेसम्म आ–आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने व्यक्तित्वहरु जो हामी सामु रहेर जीवनलाई कहिल्यै पनि थकान नमार्ने हाम्रा पितामह हुनुहुन्थ्यो वहाँहरु जसमा लखनपुरमा मात्र सामाजिक, धार्मिक, राजनैतिक कार्यमा योगदान दिन कहिल्यै पछि नहट्ने व्यक्तित्व वृत्त हुनुहुन्थ्यो । जसले भोजपुर, तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभामा आफ्ना कर्तव्यनिष्ट पाइलाहरु एकमुठी सास रहुञ्जेल गरीब, दुःखी जनताहरुको मुक्तिका लागि निरन्तर रुपमा सहयोग र सद्भाव गरिरहनुहुन्थ्यो । ती कर्मशील, कर्तव्यनिष्ट, सहनशील, सुशील, जुझारु व्यक्तित्व हुनुहुन्थ्यो– थरी माइला (पक्की घरे) उपनामले चिनिनुहुन्थ्यो जसको वास्तविक नाम थियो कृष्णकुमार राई । जो यही लखनपुर गाविस वार्ड नं.–२ मा अवस्थित श्री मंगलमय उच्च माध्यमिक विद्यालयको स्थापनाकाल वि.सं. २०२७ साल पुष २७ गते पृथ्वी जयन्तीका दिन स्थापना गरिएको विद्यालय थियो । त्यही स्थापनाकालमा सो विद्यालयको संस्थापक अध्यक्ष रहेर शिक्षाको ज्योती छर्ने कामको थालनी गर्नुभएको थियो । यति मात्र होइन, विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्यका निमित्त दिनरात झापाली जनताको पीरमर्का र व्यथाहरुको सहजकर्ता भएर कार्य गरेको उहाँहरुको सहपाठी मित्रहरुबाट हामीले बुझेका छौँ । यसरी नै अर्का सामाजिक, राजनीतिक, धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो–हरिबहादुर राई । जो यही श्री मंगलमय उच्च माध्यमिक विद्यालयमा वि.सं. २०२९–२०३२, वि.सं. २०६२ देखि २०६५ र २०६५ देखि २०६७ सालसम्म यस विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा रहेर ३ कार्यकाल बिताउनुभयो र उहाँकै सक्रियतामा विभिन्न संघसंस्थाहरुको अगुवाईमा यस विद्यालयलाई भारतीय राजदूतावासको सहयोगमा ३२ कोठे २ तले भवन निर्माणका लागि साढे ३ करोड रुपैयाँको आर्थिक सहयोग जुटाउन उल्लेख्य भूमिका निर्वाह गुर्नभएको थियो । यसरी नै श्री वाणी उच्च माध्यमिक विद्यालय लखनपुरको भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष,  मधुमल्ला गाउँ विकास समितिको ७ नम्बर क्षेत्रको अध्यक्ष, नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा आवद्ध भएर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्म र भावनालाई आत्मसाथ गरेर अविरल रुपमा प्रजातन्त्र र गणतन्त्रका निमित्त जीवनमै नथाकी अघि बढेको हामीले थाहा पाएका छौँ । गाउँमा टोलविकास र बजार विकास अनि सामाजिक संघ संस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्नका लागि कहिल्यै पनि पछि नहट्ने जुझारु व्यक्तित्व हुनुहुन्थ्यो वहाँ । यस्तै अर्का राजनीतिक, सामाजिक व्यक्तित्वहरुको लाइनमा  अमृतलाल ताजपुरिया पर्नुहुन्छ । जसले यही झापाको लखनपुर पञ्चायतको संस्थापक, प्रधानपञ्च रहेर धेरै वर्ष यहाँका विभिन्न जाती जनजातिहरुको विविध समस्याको समाधान गर्नुभएको थियो । उहाँ पनि श्री मंगलमय उच्च माविको भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, धार्मिक तथा सांस्कृतिक, साझा सहकारी संस्थामा निरन्तर रुपमा आफ्नो अभियानलाई सुचारु रुपमा सम्पन्न गरेको यथार्थ हामी समक्ष छिपेको छैन । यसरी नै लखनपुर गाउँ विकास समितिमा सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक कार्यमा युवा देखि वृद्धावस्था सम्म आफ्नो अमूल्य समयलाई कहिल्यै पनि थकान नमेटिकन जीवनका यात्राहरुमा नरोक्ने व्यक्तित्व हुनुहुन्थ्यो सन्तकुमार बान्तवा । उहाँ पनि श्री मंगलमय उच्च माध्यमिक विद्यालयको वि.सं. २०३३ देखि २०४८ सालसम्म पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, पाँचथर जिल्लाको दूर्गा उच्च माविको प्रधानाध्यापक, किराँत राई यायोक्खाको संस्थापक झापा जिल्ला अध्यक्ष, किराँत राई नारायण दास स्मृति प्रतिष्ठानको केन्द्रीय अध्यक्ष, आदिवासी जनजाति रङ्गशाला तथा स्मृति पार्क व्यवस्थापन समिति अध्यक्ष, लखनपुर–१ मा अवस्थित समाधिस्थल व्यवस्थापन समिति अध्यक्ष र वर्तमान राजनीतिक परिपृष्ठमा एकीकृत ने.क.पा. (माओवादी) झापा जिल्ला सल्लाहकार समिति अध्यक्षमा पदासिन व्यक्तित्व वृत्त हुनुहुन्थ्यो । विधिको विडम्बना प्रकृतिको नियमानुसार जीवन पछिको मृत्युको साश्वत चलन अनुसार वि.सं. २०६८ साल फागन २० गते शनिबारका दिन बेलुका ९ बजे पश्चात ७८ वर्षको उमेरमा उहाँको नस्वरचोला हामीमाझबाट कहिल्यै नब्युँतने गरी दैवले चुँडेर लग्यो । वास्तवमा लखनपुर गाविसका यी ४ जना व्यक्तित्व आजभन्दा ५ वर्ष र २ वर्ष अगाडि क्रमशः यस संसारबाट सदा–सदाका लागि विदा भएर जानुभयो । जो हामी लखनपुर वासीबीच हुनुहुन्न । तर उहाँहरुले यस भूमिमा नेपालीहरुलाई लगाएको गुन हामी युवावर्गहरुले कहिल्यै पनि भुल्ने छैनौँ । शोकलाई शक्तिमा बदल्ने कुरामा हामी एकजुट हुनेछौँ । आज ४ जना व्यक्तित्वहरुले यो कर्मभूमि छोडेर गए पनि उहाँहरुकै संसर्गमा रहेर धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा तेह्रथुम, दार्जिलिङ्ग हुँदै झापा जिल्लामा सदा–सर्वदा आफ्नो कार्यलाई रत्तिभर नबिसाउने व्यक्तित्व श्री पूर्णानन्द शर्मा (पी.एन.सर) मात्र एक्लो हुनुहुन्छ । उहाँ पनि अहिले बाल्यकालमै २ वर्षको हुँदा दाहिने खुट्टा चल्न छोडेपश्चात अहिले आएर मेरुदण्ड बाङ्गिएर नसा च्यापिएकाले थलिनुभएको छ । उहाँ पनि श्री मंगलमय उच्च माविको भुपू विद्यालय व्यवस्थापन समिति अध्यक्ष, तेह्रथुमको सिद्धकाली, त्रिभुवन हाइस्कूल मूलपानीका प्रधानाध्यापक तथा शिक्षक, श्री हिमालय उच्च माविका भुतपूर्व शिक्षक र त्यही विद्यालयमा अध्यापन गराउँदा माध्यमिक तहको अंग्रेजी व्याकरण (भ्लनष्किज न्चबmmभच)का लेखक छविलाल सर्मा सिटौलाको सहकार्यमा पुस्तक प्रकाशन गर्नुभएको र तेह्रथुम मूलपानीमा रहँदा ‘प्रोत्साहन’ भन्ने साहित्यिक पत्रिका प्रकाशित अनि जनप्रिय पुस्तकालयको व्यवस्थापक, श्री वाणी उच्च माविका व्यवस्थापन समिति सदस्य, श्री दमक बहुमुखी क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष, नेपाली कांग्रेसका पूर्व जिल्ला समिति सभापति अनि महासमिति सदस्यमा रहेर शैक्षिक क्षेत्रमा अनवरत रुपमा गरेको योगदान हामी माझ तरोताजा छ । उहाँको पनि स्वास्थ्य लाभ र दीर्घायुको कामना गर्दछौँ हामी । आज देशमा गणतन्त्रको जग दिनानुदिन कमजोर अवस्थामा गुज्रिरहेको हुनाले उहाँ ५ जना व्यक्तित्वहरु हाम्रा लागि सधैँ भरी मुटुमा रहिरहनु हुनेछ । जसले यस क्षेत्रमा कहिल्यै पनि नेपाली दाजुभाइ जातित्वको आधारमा एकअर्काबीच हिंसाको बिजारोपण नहोस् । काटे सबैको शरीरबाट रातै रगत बग्दछ । कोही पनि जाती–जनजातिलाई उपेक्षित गर्नुहुँदैन । हत्या, हिंसा, लुटपाट, अपराधजन्य घटना कोही कसैले गर्नुहुँदैन । एकआपसमा सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक विविधतामा फुटेर होइन जुटेर लाग्नुपर्छ भन्ने भावना बोकेका ५ जना व्यक्तित्वहरुले चालेको कदमलाई आगामी दिनहरुमा शान्ति, संविधान, सुशासन, सहमति र सहकार्यका लागि हामी यस देशका सम्पूर्ण युवा वर्गहरुले उहाँहरुले समातेको सामाजिक र राजनीतिक अभियानलाई निरन्तरता दिनुपर्दछ । यी बिर्सनै नसकिने व्यक्तित्वहरुको जीवनगाथाबाट हामी सबैले आदर्शको पाठ भने सिक्नै पर्दछ । सबैलाई चेतना भया ।

0 प्रतिकृया:

Post a Comment