हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘प्रममा सुशीलको सम्भावना सकियो’ – मुख्य समाचार

काठमाडौं, १३ पुष/एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका छन् ।
कोइरालाले प्रचण्डकै प्रस्तावमा आफू उम्मेदवार बनेको दावी गरेकै भोलिपल्ट बिहीबार प्रचण्डले अब कोइराला प्रधानमन्त्री बन्न नसक्ने दावी गरेका हुन् ।


आफ्नै नेतृत्वको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको बैठकमा प्रचण्डले कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका हुन् । ‘सुशील प्रधानमन्त्री बन्दैनन् । उनको सम्भावना शून्य जस्तै छ’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने–‘मलाई प्रधानमन्त्री चाहियो मात्र भनेर हुन्छ र ? आधार हुनुप¥यो नि । ’
सुशीलले लचकता नदेखाएको र कुनै पनि विषयमा सहमति गर्नै नचाहेको प्रचण्डको भनाइ छ । प्रचण्डले दलहरूबीच सहमतिको प्रयास गर्ने र नभए संविधानसभाको पुनःस्थापनाको एजेण्डा पुनः उठाउनु पर्ने बताए ।
कांग्रेसलाई नेतृत्व दिंदा आइलाग्ने खतराबारे चर्चा गर्दै प्रचण्डले बाधा अड्काउ फुकाएर अघि बढ्दा अदालतले रोक्न सक्ने बताए । बाधा अडकाउ फुकाउविरुद्ध रिट पर्न सक्ने र राष्ट्रपतिले पारित गरेका अध्यादेश पनि खारेज हुनसक्ने खतरा औंल्याउँदै प्रचण्डले त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार हुने तर चुनाव नहुने अवस्था आउन सक्ने बताए ।
यसैगरी सत्तासीन गठबन्धनको बैठकले २५ गतेसम्म सहमतिको सरकार गठन गरेर निर्वाचनमा जान सहमतिको प्रयास गर्ने र नभए २६ गतेबाट पुनःस्थापनाको एजेण्डा पुनः उठाउने निर्णय गरेको छ । २६ गतेबाट निर्वाचन आयोग आयुक्तविहीन हुँदैछ । आयोगले पदाधिकारी नियुक्ती, आवश्यक ऐन कानुन संशोधनलगायतमा सहमतिका लागि २५ गतेसम्मको समयसीमा दिएको छ ।

“कसैको नेतृत्व पनि कांग्रेसले मान्दैन”
इलाम, १३ पुष÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारमा कांग्रेस कुनै पनि हालतमा नजाने बताएका छन् । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले एक दिन भए पनि वर्तमान सरकारमा आउन अरु दलहरूलाई आग्रह गरिरहेका बेला केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 सहमति नभए देशमा भयावह अवस्था आउने भन्दै केसीले सरकारको नेतृत्व, संविधानका अन्तरवस्तुमा सहमतिको सर्त र संविधानसभाको पुनस्र्थापनामा कांग्रेसले कहिल्यै सहमति नगर्ने बताए । उनले भने ‘अरु सबै बिकल्पमा कांगेस लचिलो हुन तयार छ तर यी तीन कुरा हामी अन्तिम अवस्थासम्म पनि छाड्दैनौं । ’
उनले भने ‘कांग्रेस बाबुराम भट्टराई त के अरु कसैको नेतृत्वमा गठन हुने सरकारमा सहमति हुँदैन । ’ यो माओवादीको सत्ता कब्जा गर्ने चालबाजी मात्रै हो । ’ केसीले नेपाली कांग्रेसले जसरी भएपनि अबको सरकारको नेतृत्व नगरे निष्पक्ष चुनाव सम्भव नहुने बताए ।
नेपाल प्रेस युनियनले सदरमुकाममा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले माओवादीले विभिन्न बहानामा खेल मात्रै खेलिरहेको आरोप लगाए ।

आमासहित दुई बच्चा मृत फेला

उर्लाबारी, १३ पुष/पूर्वी मोरङको टाँडी गाविसमा आमासहित दुई नानीहरू मृत अवस्थामा फेला परेका छन् । आमाको पेटमा छुरा प्रहार गरिएको र छोरा र छोरी सलको पासो लगाएर झुण्डिरहेको अवस्थामा बिहीबार विहान भेटिएको हो ।
टाँडी–४ का लंका राईका २५ वर्षीया श्रीमती माया, तीन बर्षीया छोरी चाहना र डेढ बर्षीय छोरा मृत अवस्थामा भेटिएका हुन् । घटनाको समयमा मृतक मायाका श्रीमान् लंका घरमा नभइ खेतमा काम गर्न गएको स्थानीयबासीको उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले घटनाबारे बुझ्न उर्लावारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर डुण्डीराज न्यौपानेको कमाण्डमा नौ जना प्रहरी घटनास्थल पठाएको जनाएको छ भने मोरङ प्रहरीका प्रवक्ता डीएसपी उमाप्रसाद चुतर्वेदीले घटना रहस्यमय बताएका छन् ।

गाविस सचिवलाई १५ सय भत्ता दिने

झापा, १३ पुष/सरकाले गाउँ विकास समितिको कामलाई प्रभावकारी बनाउन गाविस सचिवहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता दिने भएको छ ।
बिहीबार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले तोकिएको कार्यक्षेत्रमा गई काम गर्ने गाविस सचिवहरूलाई थप १५ सय रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले प्रधानसेनापति गौरवशम्सेर राणाको भारत भ्रमण स्वीकृत गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा सीताराम अग्रवाललाई नियुक्त गरेको मन्त्री ढकालले बताए । बैठकले रौतहटमा प्रहरीमाथि आक्रमण गर्दा ज्यान गुमाएका रमोद शाहका परिवारलाई राहत स्वरुप ५ लाख दिने निर्णय गरेको सहकारी मन्त्री एकनाथ ढकालले जानकारी दिए । यस्तै बैठकले केहीदिन अघि साउदीबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लुटिएकी महिलालाई खान र बस्नका लागि ५० हजार रुपैयाँ दिने निर्णय नि गरेको छ ।
यसैगरी राष्ट्रिय मदरशा शिक्षा व्यवस्था परिषद्को अध्यक्षमा मंसुर अहमदलाई नियुक्त गरेको छ । वैठकले गरिवी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

निरजसहित नौ जना अग्रस्थानमा–खेल समाचार

दमक, १३ पुष/दोस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय खुला वुद्धिचाल प्रतियोगिताको बिहीबार सम्पन्न दोस्रो र तेस्रो चरणका खेलहरूमा शीर्ष खेलाडीहरूले अग्रता लिएका छन् ।
दमकका निरज निरौला सहित फिडेमास्टर मनिष हमाल, दमकका राजन सुवेदी, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, बिवेक लामा, सर्लाहीका चुडामणि भट्टराई, रबिन्द्र थापा, भारतका राकेश गुरुङ्ग, विवेक विशाल र कुमार गौरवले समान ३ अङ्कका साथ संयुक्तरुपमा अग्रस्थान कायम गरेका हुन् ।
निरजले क्रमशः भारतका तनुज मेसरन र रुकुमका मिलन रोकालाई हराएका थिए भने मनिषले दोस्रो चरणमा गोल्डेनगेट कलेजका हिमाल लामा र तेस्रो खेलमा कान्तिपुर चेस क्लवका रमेश भण्डारीमाथि जित हात पारेका थिए ।
त्यसैगरी मदनकृष्णले काठमाडांैका सनत कुँवर र इनरुवाका राजनकुमार पोख्रेललाई पाखा लगाए । उत्कृष्ठ प्रर्दशन गरेका ११ वर्षीय विशाल कुमारले झापाका विजय मगर र आसामका काव्यनिल तालुकदारलाई हराएका थिए । त्यस्तै अनरेटेड रबिन्द्रले सप्तरीका नविन चौधरी र दमकका प्रकाश नेपाललाई पन्छाए भने विवेकले भारतकै रौनक मण्डल र ललितपुरका हिराकाजी महर्जनलाई निराश पारेका थिए ।
मारवाडी सेवा समिति दमकको सभा हलमा सञ्चालित खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, सप्तरीका सिंहेश्वर दास, धनकुटाका सुमन श्रेष्ठ, भारतका सौरभ आनन्द र आशुतोष कुमारले समान साढे दुई अङ्क प्राप्त गरेका छन् ।
स्वीस लिग नौ चरणको खेल हुने प्रतियोगितामा दुई अङ्क हासिल गर्ने खेलाडीहरूमा बद्रिलाल नेपाली, हेटौडाका कृष्ण थापा, झापाका विश्वविजय घिमिरे, धरानका चुडामणि कुलुङ्ग, पत्थरीका ईश्वर थापा मगर, दमकका देउकुमार निङ्गलेखु, वुद्धिकुमार राई, देवराज गजमेर, बाग्लुङ्गका रबिन्द्र श्रेष्ठ, भारतका थेन्दुप तामाङ्ग, राहुल गुरुङ्ग, रौनक मण्डल लगायत रहेका छन् ।

परामर्श नपाउँदा वैदेशिक रोजगारी असुरक्षित

बिर्तामोड, १३ पुष/वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने नेपाली कामदारले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श नपाउँदा असुरक्षित भएको सरोकारवालाले बताएका छन् ।
सुरक्षित वैदेशिक रोजगार सुचना केन्द्रको प्रभावकारी सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श, सल्लाह सुझाव दिदै आएको प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेपालबाट वैदेशिक रोजगार जाने नेपाली कामदारको अवस्थाबारे छलफल भएको थियो । कामदारले तेस्रो मुलुकमा काम गर्न जाँदाको प्रक्रिया पूरा नगर्दा आईपर्ने समस्याले घरेलु हिंसा र मानवीय हिंसा बढाएको उल्लेख गरेका थिए ।
सरकारले असुरक्षित वैदेशिक रोजगारलाई नियन्त्रण गर्न नसकेको र सुरक्षित बनाउन कुनै विकल्प नअपनाएकोले अब सबै क्षेत्रका संघसंस्थाले सचेतना जगाउनुपर्ने समन्वय समितिका सहसचिव सोमप्रसाद लामिछानेले बताए । उनले सुरक्षित वैदेशिक रोजगारका लागि केन्द्रिकृत संरचना भएकोले यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा एकिकृत विकास प्रतिष्ठान नेपाल (आईडीएफ) का मानवअधिकार संयोजक विष्णुप्रसाद खरेल, एमाले नेता ध्रुव शिवाकोटीले सुरक्षित वैदेशिक रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सर्वसाधारणलाई सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना अभियानसँगसँगै गाउँ, टोलसम्म रहने संरचनालाई सँगै सहकार्य गर्नुपर्ने समेत सहभागीको भनाइ थियो । कार्यक्रममा इन्सेक, सुरक्षित वैदेशिक क्षेत्रमा कार्यरत संघसंस्था, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

लिम्बूवान सबैका लागि : नेम्बाङ्ग

पथरी, १३ पुष/लिम्बूवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष वीर नेम्बाङ्गले लिम्बूवान राज्य स्थापित भएरै छाड्ने बताएका छन् ।
लिम्बूहरूको चाड चासोक तङ्नामको अवसरमा बिहीबार लिम्बू विद्यार्थी मञ्च मोरङले पथरीमा आयोजित लिम्बूवान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नेम्बाङ्गले सो कुरा बताएका हुन् ।
आफूले स्थापित गरेको लिम्बूवान सम्बन्धि बिचार २७ बर्षपछि बल्ल लिम्बूजन्य संगठनहरूले समेत बुझ्न थालेको उल्लेख गरे । लिम्बूवान लिम्बूको मात्र नभएको तर्क प्रस्तुुत गर्दै नेम्बाङ्गले आफ्नो संगठनमा सबैजाति समावेश रहेको समेत बताए ।
लिम्बू बिद्यार्थी मञ्चका मोरङ जिल्ला अध्यक्ष फिपराज बेघाको सभापतित्वमा भएको कार्यक्रममा मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद (लोकतान्त्रिक) का केन्द्रीय अध्यक्ष लोकसागर साम्बा, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष अबोध अविरल, सचिव बिशाल लिम्बू, स्थानीय युवा कमल चोङबाङ, गंंगा लिम्बू लगायतले बोलेका थिए ।

दुग्ध व्यवसायी संगठित

बिर्तामोड, १३ पुष/झापाका दुग्ध व्यवसायीहरू आफ्नो व्यवसायिक हकहितका लागि संगठित भएका छन् । उनीहरूले बिहीबार तदर्थ समिति गठन गरेका हुन् ।
बिर्तामोडमा सम्पन्न पहिलो भेलाले ‘दुग्ध व्यवसायी संघ’ झापा जिल्ला तदर्थ समिति गठन गरेको संयोजक अर्जुन बिष्टले जानकारी दिए ।
त्यस्तै समितिका सचिव र कोषाध्यक्षमा जयप्रसाद भट्टराई र हरि नेपाल छन् भने सदस्यहरूमा गोविन्द पोखरेल, रघुनाथ अधिकारी, महेश सुब्बा, शंकर बिष्ट, जीवन सञ्जेल, सागर सुब्बा, साझा डेरी दमक, रितिका डेरी धाइजन र अर्जुन भट्टराई रहेका छन् ।

संघको कमिटी पुनर्गठन

बिर्तामोड, १३ पुष ÷डिल्लीराम उप्रेतीको अध्यक्षतामा नेकपा मालेको भातृ संगठन प्रगतिशील युवा संघको ९ सदस्यीय जिल्ला कमिटी पुनर्गठन भएको छ ।
बुधबार सुरुङ्गामा नेकपा मालेका केन्द्रीय सदस्य प्रेम दाहालको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सचिव नवराज खरेलको अध्यक्षतामा भएको  भेलाले उपाध्यक्षमा श्याम ओली, सचिवमा श्रीप्रसाद खरेल, कोषाध्यक्षमा सन्तोष पुरीलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरूमा धु्रवप्रसाद खरेल, दुर्गाप्रसाद उप्रेती, कुमार मैनाली, विरेन्द्र चुडाल र सन्तोष काफ्ले रहेका छन् । उक्त भेलामा जिल्ला सदस्य काजीबहादुर खत्री, टिका अचार्य अनेरास्ववियु
(पाँचौं) का महासचिव विनोद आचार्य र नेपाल प्रगतिशील युवा संघका कोषाध्यक्ष  हरि प्रसाई लगायतले नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

बालगृहलाई रकम हस्तान्तरण

उर्लाबारी, १३ पुष /मोरङको उर्लाबारी–४ स्थित नमुना बाल गृहलाई बिहीबार उर्लाबारी हङकङ समाजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ  ।
समाजकी सदस्य राधिका थापाको स्मृतिमा समाजले गृहलाई सो रकम हस्तान्तरण गरेको हो । १ महिना अघि दुर्घटनामा परी मृत्यु भएकी थापाको स्मृतिमा सो रकम हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष रजित कार्कीले बताए ।
सोही अवसरमा मृतकका बुवा रामबहादुर थापाले पनि गृहमा आश्रित बालबालिकाहरूलाई जाडोका न्यानो कपडा प्रदान गरेका छन् । गृहमा ३५ जना अनाथ बालबालिकाहरू आश्रित रहेका छन् ।

मगर संघको जिल्ला अधिवेशन हुने

दमक, १३ पुष/नेपाल मगर संघ झापाका दशौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी पुष १४–१५ गते दमकमा हुने सो अधिवेशनका सम्पूर्ण तयारी कार्य पूरा भएको आयोजकहरूले जनाएका छन् । अधिवेशनबारे दमकमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका जिल्ला अध्यक्ष पर्शुराम थापा मगरले अधिवेशन सफल बनाउन तयारी सकिएको जानकारी दिए । स्थानीय रेडक्रसको सभाहलमा हुने अधिवेशन  २७ वर्षीय संस्थाको अवधिमा दमकमा पहिलो पटक हुन लागेको उनले बताए ।

अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले गर्नेछन् भने संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगर समेत विशिष्ट अतिथिको उपस्थित हुने जनाइएको छ । सोही अधिवेशनको उद्घाटन सत्रमा मगर समुदायका अग्रज सहित विभिन्न क्षेत्रका ९ जना प्रतिभाहरूलाई समेत सम्मान गरिने संघका जिल्ला सचिव कैलाश थापा मगरले जानकारी दिए । यसरी सम्मान पाउनेहरूमा संघका पूर्व अध्यक्ष शिवशंकर थापा मगर, संस्थापक सदस्य दलबहादुर पुलामी मगर, कलाकार सञ्जोक लाफामगर, चेस खेलाडी निरोज निरौला, बालप्रतिभा सुदृष्टि राई लगायत रहेका छन् ।
सो अधिवेशनमा करिब २ लाख खर्च हुने र बन्द सत्रले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन हुने बताइएको छ । ‘समानुपातिक प्रतिनिधित्वबाट पहिचान सहितको संघीयता, स्वायत्तताका लागि सम्पूर्ण मगरहरूको सांगठानिक एकता’ भन्ने नाराका साथ सो अधिवेशनमा २ सय ५० बढी प्रतिनिधि, पर्यवेक्षकहरूको सहभागिता रहने छन् ।
पत्रकार भेटघाटमा संघका नगर अध्यक्ष वेद थापामगर, सदस्य रमेश थापामगर, मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार थापा मगर लगायतको उपस्थिति थियो ।