हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

लगातारको बन्द, हड्तालले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त हुँदै – मुख्य समाचार

कमन देवान
दमक, १२ जेठ/विभिन्न जातीय राजनीतिक संगठनहरुले जातीय पहिचानसहितको स्वायत्त राज्य लगायत विभिन्न माग राख्दै आन्दोलन जारी राखेकाले पूर्वको जनजीवन थप अस्तव्यस्त बन्दै गएको छ ।
लगातारको बन्दले गर्दा दैनिक उपभोग्य बस्तुको बजार भाउ आकासिएको छ भने लामा तथा छोटा दूरीमा चल्ने सवारी साधन ठप्प छन् । कतै स्वायत्तताको माग, कतै स्वायत्त राज्यको राजधानी बनाउनुपर्ने माग त कतै प्रदेश विभाजनका नाउँमा जिल्ला टुक्राउन पाइन्दैन भन्ने जस्ता मागले पूर्वाञ्चल ठप्प प्रायः बन्दै गएको छ ।
संखुवासभा जिल्लालाई दुई प्रदेशमा टुक्राउन पाइन्दैन भन्ने मागसहित एक सातायता आन्दोलन जारी छ भने धनकुटा र विराटनगरमा प्रादेशिक राजधानीका लागि दबाव दिने आन्दोलन चर्किदा समस्या थपिएको छ । केही दिनयता भोजपुरमा समेत आन्दोलनको रन्को छुटेको छ ।
लगातारको बन्दले पूर्वाञ्चलका उद्योग, व्यापार र बजार ठप्प बनेका छन् । बन्दका कारण पूर्वाञ्चलमा उद्योग तर्फ दैनिक ७ करोडको हाराहारीमा घाटा भइरहेको छ भने व्यवसाय झनै संकटमा परेको पूर्वाञ्चल उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द बस्नेत बताउँछन् । उपाध्यक्ष बस्नेत भन्छन् –‘एक दिनको बन्दले मात्रै पूर्वाञ्चलमा उद्योग र व्यवसाय तर्फ गरी ९ करोड रुपैयाँको हाराहारमिा नोक्सानी हुन्छ भने यतिबेलाको अवस्थालाई कसरी मूल्याङ्कन गर्ने’ उनले थपे ‘लोडसेडिङ्गले त हैरानी पारेकै थियो अहिले बन्द समेत थपिँदा हामी उद्योगी र व्यवसायी थप मारमा परेका छौं ।’
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार जेठ १ गते विभिन्न आन्दोलनका नाउँमा निरन्तर भएका बन्द हड्तालले यातायातका साधन चलेका छैनन् । कन्काई यातायात व्यवसायी संघका सदस्य सचिव गंगाप्रसाद सिटौलाका अनुसार लगातारको बन्दले यातायात व्यवसाय धरासायी बन्दै गएको छ । उनी भन्छन् –‘सरकारले भरपर्दो सुरक्षा व्यवस्था लागू नगरेसम्म यातायात सुचारु गर्न सकिने अवस्था छैन ।’
 आकस्मिक सेवाका सवारीहरु एम्बुलेन्स, प्रेस सम्बद्ध सवारी साधन, दूध बोक्ने गाडी, दमकल, विद्यालय र कलेज बसहरुलाई निर्वाध सञ्चालनमा छुट दिइएको भनिए पनि बन्दकर्ताहरुले अकलझुकल यस्ता प्रकृतिका सवारी साधनहरुमा समेत रोक लगाउने, आक्रमण गर्ने र क्षति पु¥याउने प्रयास जारी राखेकाले समस्या थप जटिलता तर्फ उन्मुख भएको छ ।
बन्दकर्ताले प्रेसमाथि गरेको आक्रमणले असुरक्षा बढेको भन्दै सो को विरोधमा झापा जिल्लाबाट प्रकाशित हुँदै आएका ७ ओटा दैनिक अखबार र एक दर्जन बढी साप्ताहिक पत्रपत्रिका जेठ १० र ११ गतेका लागि बन्द नै गरिए । झापाका अग्रज पत्रकार तथा पूर्व सन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहालले भने –‘विगतको  द्वन्द्वकाल, संकटकाल र १९ दिने जनआन्दोलनका बेला समेत यति असुरक्षित महसुस भएको थिएन ।
आन्दोलनकारीका मागलाई वार्ताका माध्यमबाट सरकारले समेत सुनुवाई गरेको अवस्था छ, तर पनि पूर्वाञ्चलमा कुनै न कुनै समूहका नाउँमा बन्द र हड्तालको स्थिति भने यथावत छ । बन्द–हड्तालकै कारण  विद्यालयहरुको समेत हालत उस्तै छ । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष टीका पूरीका अनुसार पूर्वका अधिकांश तराई क्षेत्रका निजी तथा आवासीय विद्यालयहरुमा पठन–पाठन हुन सकिरहेको छैन भने पहाडी जिल्लाका सदरमुकाम र बजार क्षेत्रका विद्यालय लगातारको बन्द–हड्तालका कारण समस्याग्रस्त
बन्दै गएका छन् । उपाध्यक्ष पूरीले भने –‘शान्ति क्षेत्रको नारा, नारा मात्र बनिरहँदा विद्यार्थीहरुको भविष्य अन्योल तिर धकेलिँदै छ । कहिले बन्द भनिन्छ त कहिले खुल्ला, अभिभावक समेत हैरान छन् ।’

एम्बुलेन्स चालक आन्दोलित

दमक, १२ जेठ/सुरक्षाको माग गर्दै झापा माईपश्चिम क्षेत्रका एम्बुलेन्स चालकहरुले सेवा ठप्प पारेपछि बिरामीहरुको उपचारमा समस्या भएको छ । कतिपय ग्रामीण बस्तीहरुमा सुत्केरी ब्यथा लागेका महिलाहरुलाई अस्पताल सम्म पु¥याउन कठिन भएको छ ।
बन्द र हड्तालका आयोजकहरुले एम्बुलेन्समाथि आक्रमण जारी राखेपछि चालकहरुले एम्बुलेन्स सेवा ठप्प पारेका हुन् । बुधबार राति मेचीनगरको इटाभट्टामा बन्दकर्ताहरुले दमकस्थित मानबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मे १ च ८९६ नम्बरको एम्बुलेन्सका चालक अमित ताजपुरियालाई हातपात गरेको विरोधमा रातिदेखि नै सेवा बन्द गरेका हुन् । दमकस्थित पाथीभरा देवी परोपकार समाजद्वारा सञ्चालित एम्बुलेन्सका चालक शिव रेग्मीले बुधवार रातिदेखि नै जिल्लाका ग्रामीण बस्तीहरूबाट बिरामी ल्याउन खबर आएपनि असुरक्षा कै कारण जान नसकिएको बताए ।
दमकको आम्दा अस्पतालमा श्रीमतीलाई सुत्केरी गराउन जन्ती बसमा लिएर आएका महाभारा–४ का तेजप्रसाद कोचले एम्बुलेन्स नचल्दा आफूले सास्ती व्यहोर्नु परेको बताए । उनले घर फर्किन समेत एम्बुलेन्स सेवा नपाउँदा अस्पतालमा नै बसिरहनु परेको बताए । माहाभारा गाविसका पूर्व उपाध्यक्ष देवेन्द्रनारायण राजवंशीले समयमा एम्बुलेन्स सेवा नपाउँदा बिरामीको ज्यानै जाने जोखिम रहेको बताए । उनले गाउँमा रहेका क्लिनिकहरूमा स्लाईनपानी लगायतका अतिआवश्यकीय औषधि सामग्रीको समेत अभावका कारण उपचार पाउन मुस्किल रहेको बताए ।
माहाभारा ४ का सन्थाल बस्तीका रस्को मुर्मुले झाडापखाला र ज्वरोबाट प्रभावित आमाको उपचार सेवा पाउन समस्या भएको बताए । गत जेष्ठ ९ गते समेत चालकहरूले असुरक्षा भएको भन्दै इलाका प्रहरी कार्यालय दमक घेराउ गरेका थिए । सो समयमा जिल्लास्थित प्रहरी प्रमुख, ईलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि लगायतले सुरक्षा ग्यारेन्टीको मौखिक प्रतिवद्धता जनाएपछि सेवा सुचारु गरेका चालकहरूले पुनः आक्रमण दोहोरिएको भन्दै सेवा बन्द गराएका हुन् । बिहीबार नै काँकडभिटामा
लिम्बुवान कार्यकर्ताहरूले देवनारायण आधिकारी स्मृति प्रतिस्ठान द्वारा संचालित एम्बुलेन्समा तोडफोड गरेका बताइएको छ ।
यसैबीच माईपश्चिम झापाका एम्बुलेन्स संचालक तथा चालकहरूले पुनः सेवा सुरु गर्ने लगायतका विषयमा सर्वपक्षीय सहमति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक हरि खतिवडाले सहमति अनुसार तत्काल सेवा शुरु हुने जानकारी दिएपनि एम्बुलेन्स चालक तथा सञ्चालकहरूले भने इटाभट्टामा एम्बुलेन्समाथि आक्रमण गर्नेहरूलाई पक्राउ नगरेसम्म सेवा सुचारु नगर्ने चेतावनी दिएका छन् । बिहीबार दमकमा भएको सर्वपक्षीय छलफलमा नेतृत्व गरेका एम्बुलेन्स सेवा प्रदायक जगतबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका सञ्चालक राजेश श्रेष्ठले सो छलफलमा भएको निर्णयका विषयमा आज (शुक्रबार) दलका प्रतिनिधिहरूले लिखित सहमति जनाउने भनिए पनि चालकहरूबाट दोषीलाई पक्राउ नगरेसम्म सेवा सुचारु नगर्ने चेतावनी आएको बताए । उनले प्रशासनले आज शुक्रबार बेलुकी ५ बजेसम्ममा इटाभट्टामा भएको एम्बुलेन्स चालकमाथिको आक्रमणका घटनामा संलग्नहरू सञ्जुहाङ पालुङ्वा नेतृत्वको लिम्बुवान कार्यकर्ताहरूलाई पक्राउ गर्ने प्रशासनले प्रतिबद्धता जनाएको बताएका छन् ।

संघर्ष समितिद्वारा सरकारको आलोचना

दमक, १२ जेठ/राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै विभिन्न जातीय संगठनहरुले गठन गरेको संयुक्त संघर्ष समितिले वर्तमान सरकार र केही दलका पछिल्ला गतिविधिहरुको कडा शब्दमा आलोचना गरेको छ ।
समितिले सरकार र केही दलहरुले सर्वोच्च अदालतले समेत अन्तिम पटक यस अघि नै संविधान सभाको म्याद थप गर्न मौका दिइ जेठ १४ पछि म्याद थप्न नपाउने फैसला सुनाएकोमा सो को उल्लंघन गर्ने चेष्टा सरकारले नै गरिरहेको आरोप लगाएको छ ।
बिहीबार दमकमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा जातीय सद्भाव बिगार्न स्वयम् सरकार नै लागि परिरहेको आरोप पनि लगाइएको छ ।
संघर्ष समितिको केन्द्रीय सहसंयोजक लक्ष्मीप्रसाद संग्रौलाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका सचिवालय समिति संयोजक बासुदेव भट्टराईले आफूहरुसँग साता अघि सरकारले गरेको जातीय आधारमा राज्य नदिइने भन्ने सहमतिको मसी सुक्न नपाउँदै अन्य जातीय संगठनहरुसँग जातीय आधारमै प्रदेशको नामाकरण गर्ने भन्ने परस्पर विपरीत सहमति गरेको टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा ब्राह्मण समाज नेपालका प्रमुख सल्लाहकार मोहन भण्डारीले जातीय राज्य मध्ययुगिन अर्थात् १५÷१६ औँ शताब्दीतिरको अभ्यास भएकाले त्यतातर्फ जानु पश्चगमन हुने तर्क गरे ।
संघर्ष समितिले आफूहरुका मागको सम्बोधनका लागि विगतको सहमति कार्यान्वयन नगरे जेठ १३ गते काठमाडौंको खुला मञ्चमा विरोध सभा सहित सशक्त कार्यक्रमहरु घोषणा गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा खस क्षेत्री समाजका प्रेम कुँवर, ब्राह्मण समाजका केन्द्रीय सचिव डिल्ली उप्रेती, जिल्ला अध्यक्ष टिकाराम खरेलले पनि बोलेका थिए ।

आजदेखि विद्यालय खुल्ने

दमक, १२ जेठ/संघीय लिम्बुवान राज्य परिषद्ले जारी राखेको आम हड्तालका बाबजुद आजदेखि विद्यालयहरु पूर्ववत सञ्चालन हुने भएका छन् ।
परिषद्का केन्द्रीय सदस्य लाजेहाङ सामयु र प्याब्सनका पूर्वाञ्चल सह–संयोजक गोविन्द लम्सालले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर विद्यालयलाई शान्ति क्षेत्रका रुपमा लिइँदै प्याब्सनको अनुरोधलाई मध्यनजर गरी विद्यालय बन्द खुलाइने जनाएका हुन् । विज्ञप्तिमा शैक्षिक संस्थाका सवारीहरु समेत शिक्षक, विद्यार्थीको आवत्जावतका लागि खुला रहने जनाइएको छ ।
लम्सालद्वारा जारी विज्ञप्तिमा परिषद्ले आफूहरुको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गरेकोमा कृतज्ञता व्यक्त गरिएको छ । साथै, परिषद्का केन्द्रीय सदस्य लाजेहाङ सामयुद्वारा हस्ताक्षरित विज्ञप्तिमा
विद्यालयहरुका विद्यार्थीहरुलाई शैक्षिक गतिविधिहरु भन्दा बाहेक अन्य कुनै पनि जुलुश तथा ¥यालीहरुमा सहभागी नगराउन पनि सचेत गराइएको छ ।

म्याद नथपःसर्वोच्च

काठमाडौ, १२ जेठ/सर्वोच्च अदालतले संविधानसभाको म्याद थप प्रकृया अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

यससँगै अब जेठ १४ मा नै संविधान जारी गर्नु पर्नेछ । जेठ १४ मा संविधान जारी गर्न नसके सर्वोच्चले यसअघि भने सुझाए जस्तो जनमत संग्रह, संविधानसभाको अर्को निर्वाचन लगायतका विकल्पमा जानु पर्नेछ ।
संविधानसभाको म्याद थप ३ महिना थप्न सरकारले संसदमा दर्ता गरेको अन्तरिम संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा बिहीबार सुनुवाई गर्दै प्रधानन्यायाधिश खिलराज रेग्मीको एक इजलासले संविधान संशोधन प्रकृया यथास्थितिमा राख्न आदेश दिएको हो ।
यसअघि नै संविधानसभाको म्याद थप्न नसकिने भन्दै तोकिएको समयमा संविधान बन्न नसके विभिन्न विकल्प अपनाउन सुझाएको अवस्थामा बैकल्पिक विकल्पहरु अवलम्बन नगरी अदालतबाट कुनै फैसला नै नभएको जसरी संविधान संशोधनको नयाँ प्रस्ताव ल्याउनु यसअघिको फैसला र संविधानको प्रतिकुल भएको फैसलामा उल्लेख छ ।
सर्वोच्चका सहप्रवक्ता हेमन्त राबलले भने–‘जेठ १४ भन्दा पछाडी संविधानसभाको कार्यकाल कुनै पनि बहानामा अगाडी बढ्न सक्दैन, संशोधन प्रकृया विधिसम्वत र प्रकृयासम्वत हुन सक्दैन भन्ने नै हो ।’ सरकारको प्रस्ताव सर्वोच्चको फैसला र संविधानको धारा १ सय १६ विपरीत रहेको भन्दै त्यसलाई बदर गरी अन्तरिम संविधान संशोधन प्रकृया रोक्न माग गर्दै तीन वटा रिट परेको थियो । रिट दर्ता भएकै भोलिपल्ट बिहीबार प्रधानन्यायाधीश रेग्मीको इजलासमा पेश गरिएको थियो ।
सरकारले मंगलबार मात्र संविधानसभाको म्याद ३ महिना थप्न अन्तरिम संविधानको १३ औं संशोधन
विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो । गत मंसिर ९ गते संविधानसभाको म्याद अन्तिम पटक ६ महिना थप्न अनुमति दिएको सर्वोच्च अदालतले थपिएको समयमा संविधान नबने संविधानसभा स्वत विघटन हुने र जनमत संग्रह वा फेरि निर्वाचन गर्न आदेश दिएको थियो । सर्वोच्चको फैसलाविरुद्ध सरकार र संसद सचिवालयले दिएको पुनरावलोकको निवेदनलाई समेत सर्वोच्चले अस्वीकार गर्दै म्याद थपको कानुनी बाटो बन्द गरिदिएको थियो ।

शान्ति–सद्भाव ¥याली सम्पन्न

दमक, १२ जेठ/शान्ति र सामाजिक सद्भाव कायम राख्न आव्हान गर्दै झापाको दमकमा बुधबार वृहत् सद्भाव ¥याली सम्पन्न गरिएको छ ।
एकीकृत नेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दुई दर्जन बढी संघसंस्थाहरुको सहभागितामा ¥याली सम्पन्न भएको थियो । गणतन्त्र चोकबाट निस्किएको ¥याली नगर परिक्रमा गरी पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै विभिन्न पार्टीका स्थानीय नेताहरुले सामाजिक सद्भाव वृद्धि गर्न ¥याली आयोजना गरिएको बताएका थिए । कार्यक्रममा सामाजिक संघसंस्थाका तर्फबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी,
आदिवासी जनजाति तथा लिम्बुवान मुक्ति मोर्चाका तर्फबाट मोर्चाका झापा जिल्ला अध्यक्ष देउकुमार नेम्बाङ, एकीकृत माओवादी पार्टी झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय इन्चार्ज गगन पुरी, अग्रज सामाजिक व्यक्तित्व तथा नेपाली कांग्रेस झापाका संस्थापक सभापति पूर्णानन्द शर्मा लगायतले बोलेका थिए ।
यता एकीकृत नेकपा माओवादी बैद्य पक्ष लगायत केही लिम्बुवानजन्य पार्टी तथा संघ संगठनहरुले ¥यालीमा सहभागिता जनाएनन् । ¥यालीमा झापा क्षेत्र नम्बर ७ अन्र्तगत दमक, लखनपुर, तोपगाछी, र धरमपुरका विभिन्न पार्टी कार्यकर्ताहरु र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक संगठन, मानव अधिकारकर्मी लगायतको व्यापक सहभागिता रहेको थियो ।

ओजस्वीको दोस्रो कोशेली ‘कसम हजुर’

पथरी, १२ जेठ/ ‘कसम हजुर’ । एक प्रेमीले आफ्नो प्रेमिकालाई मायामा विश्वास दिलाउन प्रयोग गर्ने शब्द हो । तर, ओजस्वी कला केन्द्र पथरीका लागि भने प्रेमिकालाई विश्वास दिलाउन नभई स्रोताको ढुकढुकीमा बस्न ल्याइएको सांगीतिक कोशेली हो ‘कसम हजुर’ ।

आफ्नो गौरवमय दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ओजस्वी म्युजिक सेन्टरको दोस्रो कोशेलीका रुपमा ‘कसम हजुर’ नामक एल्वम् भर्खरै बजारमा ल्याएको छ । विभिन्न ख्यातिप्राप्त गायक–गायिकाहरुको स्वरवद्ध ७ वटा गीत समावेश रहेको यस एल्बम्का सम्पूर्ण गीतको रचना लालीमा श्रेष्ठले गरेका हुन् ।
ओजस्वी कला केन्द्रका प्रशिक्षक तथा सङ्गीतकार सोम याम्फूले सङ्गीत भरेको एल्बम्मा राजेश पायल राई, रजिना रिमाल, निशा देशार, मिलन अमात्य र कला केन्द्रका विद्यार्थीहरु अर्जुन तामाङ, पवित्रा तामाङ, मिक्सुहाङ वनेम, आश्मा राईको स्वर सुन्न सकिन्छ । एल्बम्को बजारीकरण थालिएको र चाँडै म्युजिक भिडियोहरू समेत निर्माण गरिने सङ्गीतकार यम्फूले जानकारी दिए ।

माओवादीको भेला

चुलाचुली, १२ जेठ/ एकीकृत नेकपा माओवादीको चुलाचुली गाउँ भेला बिहीबार सम्पन्न भएको छ । भेलाले हर्क लिम्बूको संयोजकत्वमा ५ सदस्यीय जनस्वयम्सेवक दल गठन गरेको बताइएको छ ।
पार्टीका गाउँ कमिटी सेक्रेटरी तिलप्रसाद आङ्थुपोको अध्यक्षता र लिम्बुवान राज्य सहसेक्रेटरी मौसम लिम्बूको प्रमुख आतिथ्यमा भएको भेलामा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका जिल्ला सदस्य तुला लावतीले पनि बोलेका थिए ।
भेलामा पार्टीभित्रको आन्तरिक समस्याहरुबारे कार्यकर्ताहरुसँग छलफल भएको बताइएको छ । भेलामा करिब एक सय कार्यकर्ताहरु सहभागिता थिए ।

निजी शिक्षकहरुको सुविधाबारे अनुगमन

दमक, १२ जेठ/ निजी विद्यालयका शिक्षकहरुको सेवा सुविधाका बारे सरोकारवालाहरुले अनुगमन गर्ने भएका छन् । निजी विद्यालयका शिक्षकहरुको सुविधा बारे विद्यालय सञ्चालकहरु र शिक्षकहरुको प्रतिनिधित्व मूलक संख्या बीच पछिल्लो सहमति अनुरुप सहमति कार्यान्वयन भए नभएका बारे अनुगमन गरिने भएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) बीच गत वैशाख २७ गते सुरुङ्गामा आठ बुँदे सहमति भएको थियो । इष्टुका जिल्ला सचिव होमराज खतिवडाका अनुसार निजी विद्यालयमा कार्यरत शिक्षकहरुको पारिश्रमिक प्रा.वि. तहमा ६६ सय निमावि तहमा ८ हजार ८ सय र मावि तहमा ११ हजार मासिक न्यूनतम सुविधा दिने सहमति भएको हो ।
सहमतिमा न्यूनतम सुविधालाई सरकारी सुविधा अनुरुप बृद्धि गर्दै लैजान जोड दिइएको छ । इस्टु सचिव खतिवडा दुई साता भित्र जिल्ला भरीका निजी विद्यालयमा कार्यरत शिक्षकहरुको सेवा सुविधामा सहमति अनुसार लागु गरे नगरेका बारे अनुगमन गरिने छ । ‘अनुगमनमा सहमति लागु नगर्ने विद्यालय उपर तालाबन्दी लगायतका आन्दोलन गछौ’– उनले जोड दिए । अनुगमन प्याब्सन अध्यक्षको संयोजकत्वमा इस्टु, अभिभावक संघका जिल्लास्तरमा एक संयन्त्र टोली गठन गरिएको बताइएको छ । जिल्ला भरी निजी विद्यालयका संख्या ३ सय तथा करिब ६ हजार बढी शिक्षकहरु कार्यरत रहेका छन् ।
कतिपय निजी विद्यालयले पछिल्लो सहमति भन्दा बढी सुविधा पाइरहेका बताइएको छ । २ सय विद्यार्थी संख्या रहेको दमक–१२ को सिद्धिङ्बा बोर्डिङ स्कूलका सञ्चालक सुजन राईले विद्यार्थी अनुपातमा अन्य विद्यालय भन्दा आफूले शिक्षकहरुलाई सुविधा दिएको बताए । पछिल्लो ति सहमतिमा विद्यालयमा ३ सय विद्यार्थी संख्या भएकालाई सहमतिका बुँदा सशक्त कार्यान्वयन गरिने उल्लेख छ । सहमतिमा वर्षे बिदा, दशै बोनस, शिक्षकहरुको अभिलेख, सेवा सुविधामा एकरुपता लगायतका छन् ।
निजी विद्यालयमा कार्यरत शिक्षकहरुको पारिश्रमिक एकरुपता नभएको तथा अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको गुनासो बढेपछि इस्टुले आन्दोलन कार्यक्रम अन्तर्गत अनुगमनमा जोड दिइएको इस्टु जिल्ला अध्यक्ष यादव अधिकारीले जानकारी दिए । उनले भने–‘निजी विद्यालयका शिक्षकहरुको सुविधा सरकारी सो सरह कार्यान्वयन गराउन आन्दोलित छैँ ।’ अधिकांश निजी विद्यालयले शिक्षकहरुको श्रम शोषण गरिआएका, कामप्रति सम्मान नपाएको, असुरक्षित काम गर्नुपरेका लगायतका गुनासा निजी विद्यालयका शिक्षकहरुको रहेको छ ।

अधिकारकर्मीहरुको ध्यानाकर्षण

दमक, १२ जेठ/लगातारको बन्द, हड्तालका कार्यक्रमहरुका कारण जनजीवनमा परेको नकारात्मक असरप्रति पूर्वाञ्चलमा क्रियाशील अधिकारकर्मीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुले बन्दकर्ताहरुबाट सञ्चारकर्मी र सञ्चारगृह तथा आपत्कालिन सेवाको साधन एम्बुलेन्सहरुमा भएको आक्रमणको निन्दा समेत गरेका छन् । त्यस्तै विद्यालयहरुमा बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार हनन् भएको प्रति समेत अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
बिहीबार अधिकारकर्मीहरुद्वारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा बन्दकर्ताहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानवअधिकारको सम्मान गर्दै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्न जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा नेपाल मानवअधिकार संगठनका पूर्वाञ्चल क्षेत्रीय संयोजक डा. कमलप्रसाद  सुवेदी, हरेक्ड नेपालका अध्यक्ष नारायण भट्टराई, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाका उपाध्यक्ष धनञ्जय बाँस्कोटा, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य कोमल प्रसाई, जिल्ला उपाध्यक्ष डा. नविन चापागाई, काहुराष्ट झापाका सचिव डा. घनश्याम सुवेदी, नेपाल मानवअधिकार संगठन दमकका सभापति देवप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाइटी उपशाला दमकका सभापति प्रकाश बुढाथोकी र अधिवक्ता नारायण पराजुलीले हस्ताक्षर गरेका छन् ।