हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सामुदायिक भवन निर्माणको लहर – मुख्य समाचार

पाँचगाछीमा उपस्वास्थ्य चौकी भवन
विष्णु पौडेल
दमक, चैत्र ४/झापाका ग्रामीण क्षेत्रमा सामुदायिक भवनहरु तथा उपस्वास्थ्य चौकीका पक्की भवन निर्माण योजना शुरु भएका छन् । एशियाली विकास बैंक सहित विभिन्न दातृ निकायहरुको सहयोगमा सञ्चालित ग्रामीण पुनःनिर्माण तथा पुनस्र्थापना सम्बन्धी आयोजनाले स्थानीयबासिन्दाहरुको सहकार्यमा ११ वटा योजना शुरु गरेको हो ।
आयोजनाको जिल्ला कार्यालय झापाका अनुसार आयोजनाद्वारा हाल सडक स्तरोन्नतीको काम भइरहेको क्षेत्रका सुरुङ्गा, शरणामती, टाघनडुब्बा, कुमरखोद, चकचकी, घेराबारी, राजगढ, शिवगञ्ज, माहाभारा र कोरोबारीमा सामुदायिक भवन तथा पाँचगाछी गाविसमा उपस्वास्थ्य चौकीका भवन निर्माण सम्बन्धीका योजना छन् ।
आयोजनाको जिल्ला कार्यालयका प्रमुख समेत जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर राजेश घिमिरेले ति योजनाहरुमा दातृ निकायहरुको झण्डै एक करोड रुपैयाँ सहायता रहने बताएका छन् ।  उनका अनुसार हरेक योजनाका लागि प्रत्येक गाविसमा ८ लाख ५० हजार रुपैयाँ दातृ निकायको र १ लाख ५० हजार रुपैयाँ बराबरको स्थानीय जनसहगिता रहने छ । आयोजनाले सशस्त्रद्वन्द्वका समयमा क्षति भएका संरचनाहरुको पुनःनिर्माण तथा योजनाहरुको पुनःस्र्थापनाका लागि स्थानीय उपभोक्ताहरुको साझेदारीमा विकास निर्माणका काममा सघाउँदै आएको घिमिरेले जनाए ।
आयोजनाद्वारा सञ्चालित सामाजिक विकास सम्बन्धीका योजना हेर्दै आएका सामाजिक विकास बिज्ञ मनोज तिम्सिनका अनुसार सामुदायिक भवनहरु निर्माण कार्य उपभोक्ता समिति मार्फत् गरिनिेछ । सोका लागि शिवगञ्ज गाविसमा गोपाल ओली, कोरोबारीमा किना राजवंशी घेराबारीमा हर्क खड्का, राजगढमा ओम राजवंशीको अध्यक्षतामा उपभोक्ता समितिहरु गठन भएका उनले बताए । योजना सञ्चालनमा रहेका अन्य गाविसमा समेत उपभोक्ता समिति क्रियाशील रहेका बताइएको छ । पाँचगाछीमा भने उपस्वास्थ्य चौकी भवन बनाउन रामकुमार राईको अध्यक्षमा उपभोक्ता समिति गठन गरिएको छ । ‘कतिपय सामुदायिक भवनहरु निर्माणाधिन अवस्थामा छन्, केहीमा निर्माण शुरु गर्ने तयारी भएको छ’ तिम्सिनाले भने । तिम्सिनाका अनुसार सबै योजनाहरु सकेसम्म असार मसान्त सम्ममा नै सक्नुपर्नेछ । आयोजनाको अवधि २०१२ को डिसेम्बरसम्म रहेकाले बढीमा सो अवधि भित्रमा ति योजना पूरा गरिसक्नुपर्ने आयोजना प्रमुख घिमिरेले बताए । सो अवधिभित्रै काम पुरा नभए दातृसंस्थाहरुको बजेट फिर्ता हुने जनाइएको छ ।

कृषि सडक स्तरोन्नति द्रुत– उपमुख्य समाचार

ग्रामीण पुनःनिर्माण तथा पुनःस्र्थापना आयोजना (आरआरआरएसडीपी) ले जिल्लामा हाल सञ्चालित तीनवटा कृषि सडकहरुको स्तरोन्नती कार्य द्रुत गतिमा अघि बढेको जनाएको छ । आयोजनाको जिल्ला कार्यालय प्रमुख राजेश घिमिरेले दुधे–शिवगञ्ज–कोरोबारी सडक अन्तर्गतपर्ने कोरोबारी–शिवगञ्ज खण्डको १९ किलोमिटर सडक कालोपत्रेको लागि आवश्यक तयारी भइरहेको बताए ।
त्यस्तै घेराबारी लक्ष्मीपुर सडक अन्तर्गतको चकचकी घेराबारी खण्डको करिब १९ किलोमिटर र अमरपथ सडक (सुरुङ्गा–झापा बजार) अन्तर्गतको २० किलोमिटर खण्डमा कालोपत्रे  गर्ने कार्य भइरहेको उनले जनाएका छन् । तीनवटा सडकको कूल ६० किलोमिटर खण्ड कालोपत्रे गर्न आयोजना मार्फत् २० करोड रुपैयाँ भन्दा बढी खर्च भइरहेको छ । ति योजनाहरुसँगै स्थानीय कृषकहरु उत्साहिक भएका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड माहाभाराका अध्यक्ष पर्शुराम काफ्ले ढुवानी गर्न यातायातको कठिनाईका कारण कृषि उपजले बजार मूल्य नपाउने समस्याबाट ग्रस्त किसानहरु उत्साहित भएका बताए । उनले सो क्षेत्रका कृषकहरुले बिउ, मल, सिचाई आदिको समस्याका बावजुद उत्पादन गरेको मुख्य धान तथा तरकरीको उचित मूल्य कृषकहरुले नपाई रहेका बताए ।
‘ठूला बजार सम्म उत्पादन निर्यात गर्न नसक्दा मूल्य पाइरहेका थिएनन्, बाटो कालोपत्रे हुने भएपछि किसान उत्साहित छन्’ काफ्लेले भने । स्थानीयबासीहरुले सडक कालोपत्रेको गुणस्तर भने राम्रो हुनुपर्नेमा जोड दिएका बताइएको छ ।

रंगाशालाका लागि संस्था दर्ता थालिँदै

लखनपुर, चैत्र ४/झापाको लखनपुर–१ स्थित आदिवासी रङ्गशाला तथा स्मृतिपार्क निर्माण समितिले संस्था दर्ताका लागि प्रक्रिया थालेको छ ।
झापाको लखनपुर–१ स्थित सशस्त्र प्रहरीबल पाथीभरा गणको भोगचलनमा रहेको करिब १९ बिगाह जमिनमा २०६७ सालदेखि निर्माणाधिन अन्तर्राष्ट्रिय मापदण्ड रंगशाला निर्माणलाई थप गति दिन समिति दर्ताको कार्य अघि बढाइएको सो समितिका कार्यबहाक अध्यक्ष नित्यानन्द ताजपुरियाले जानकारी दिए ।
समितिको शुक्रबार सम्पन्न बैठकमा संस्था दर्ताका लागि प्रस्तावित विधान उपर छलफल भएको जनाइएको छ । बैठकले महासचिव घिरेन सुब्बा लाओतीको संयोजकत्वमा ५ सदस्यीय विधान अध्ययन तथा भाषागत त्रुटी सुधार उप–समिति गठन गरेको छ । समितिका सदस्यहरुमा सुमित्रा वाङ्देल राई, पदम जवेगू, दीपक धिमाल र कमन देवान रहेका सदस्य सुशीलकुमार राईले बताए ।
त्यस्तै समितिको सम्पन्न बैठकले समितिका संस्थापक अध्यक्ष सन्तकुमार वान्तावाको गत फागुन २० गते निधन भएको प्रति शोक प्रस्ताव पारित गरेको जनाइएको छ । रंगशालाको प्रचारप्रसारका लागि आगामी नव वर्ष २०६९ मा फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको प्रतियोगिता संयोजक दीपक धिमालले जानकारी दिए ।

दाइजो नल्याउँदा घर निकाला

उर्लाबारी, चैत्र ४/भने जति दाईजो नल्याएको भन्दै यातना दिइ घरबाट निकालिएकी मोरङ उर्लाबारीकी एक महिलाले परिवार विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
उर्लाबारी–४ की किरण शाहले श्रीमान प्रकाश शाह सहित सासु र ससुरा विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएकी हुन् ।
दाइजो नल्याएको भन्दै बुबा–आमाको कुरा सुनी प्रकाशले आफूमाथि निर्घात कुटपिट गरी घरबाट समेत निकाली दिएको किरणले उजुरीमा उल्लेख गरेकी छिन् ।
२ बर्ष अघि भारतको दरभंगाबाट विबाह गरी ल्याएकी किरणमाथि लगातार यातना दिइएको स्थानीय महिला अधिकारीकर्मी सीता कार्कीले बताइन् ।

अग्निपीडितहरु पुनस्थार्पित हुँदै

दमक, चैत्र ४/ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका आगलागी पीडित परिवारहरुलाई पुनस्र्थापित गराउने कार्यमा तीव्रता दिइएको छ ।
पुनःर्निर्माण गरिएका शरणार्थीका छाप्राहरु ।

शरणार्थी दातृनिकाय लुथरन विश्व फेडेरेशनको सहयोगमा बेलडाँगी–२ मा दुईसाता अघि आगलागीबाट बिस्थापित परिवारलाई घर निर्माणसँगै पुनस्र्थापित गराउने कार्य अघि बढाइएको हो । शिविर व्यवस्थापन समितिका सचिव डी.बी. सुब्बाले सातादिन भित्र ति क्षेत्रका आगलागी परिवारहरुलाई बसोबासका लागि जारी काम पूरा गरिने बताए ।
बेलडाँगी–२ का रामचन्द्र बाँस्कोटाको घरमा गत फागुन १८ मा भएको आगलागीबाट त्यस क्षेत्रका ५२ घर जलेर नष्ट भएका थिए । अहिले नयाँ बनाइएका आधा बढी घरमा बिस्थापितहरुलाई बसोबास भइसकेका छन् । यसैगरी हावाहुरीका कारण बढ्दो आगलागी जोखिम न्यूनिकरण गर्न शिविरमा सचेतना अभियान थालिएको छ ।
शुक्रबार बेलडाँगी–२ मा लुथरन विश्व फेडेरेशन र शिविर व्यवस्थापन समितिले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले अभियान सफल बनाउन भानु कडरिया मुख्य संयोजक रहेको आगो बचाउ समिति गठन गरेका छन् । बेलडाँगी अन्तर्गतका तीनवटै शिविरका १४ सेक्टर संयोजक रहने गठित सञ्जाल गठन गरेका शिविर सचिव सुब्बाले जानकारी दिए । ति गठित सञ्जाललाई त्यस कार्यक्रममा आगोबाट बच्न पूर्वतयारी सम्बन्धी जानकारी दिइएको थियो ।
त्यस्तै हरेक सेक्टरमा फरुवा, बाल्टी, बेल्चा, गैती, बालुवा लगायतका आगो नियन्त्रणका सामग्रीहरु समेत वितरण गरिएको थियो ।

बैगुन्धुरामा एमालेको अधिवेशन

गौरादह, चैत्र ४/नेकपा एमाले बैगुन्धुरा गाउँ कमिटीको ७ औँ गाउँ अधिवेशन पुनः ध्रुव घिमिरेको अध्यक्षतामा नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा डम्बर मगर, सचिवमा मुक्ति खतिवडा र सहसचिवमा सििरता ढकाललाई चयन गरेको पार्टीका क्षेत्रीय कमिटी उपाध्यक्ष उमानाथ बरालले जानकारी दिए । कमिटीका सदस्यहरुमा युवराज खतिवडा, सोमनाथ घिमिरे, पशुपति ढकाल, टिकाराम थापा, गोपाल घिमिरे, सरिता खनाल, गोविन्द निरौला, माधव चापागाई, भरत अधिकारी र निर्मला ढुंगाना चयन भएका जनाइएको छ ।
कमिटीको आरक्षण कोटामा दलित र विद्यार्थी सहित अन्य दुई जना मनोनित गर्ने व्यवस्था रहेको बताइएको छ । पार्टीका गाउँ कमिटी अध्यक्ष घिमिरेको अध्यक्षता र जिल्ला कमिटी अध्यक्ष रविन कोइरालाको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि कोइराला, विशेष अतिथि जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्रनम्बर ६ का सभाषद् दीपक कार्की, जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय इञ्चार्ज मदन अधिकारी, जिल्ला कमिटी सदस्य बलराम खरेल, क्षेत्रीय अध्यक्ष योगराज दाहाल र उपाध्यक्ष उमानाथ बरालले शुभकामना
मन्तव्य राखेका थिए । सो अवसरमा लामो समयदेखि पार्टीलाई उल्लेख्य योगदान पु¥याएबापत दुई जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा बैगुन्धुरा–४ का रोहित बस्नेत र ७ का रतन भट्टराई रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो । गाउँ कमिटी इञ्चर्ज राजेन्द्र पोख्रेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रकाश खरेलले गरेका थिए ।

तीन दिनपछि मृत फेला

उर्लाबारी, चैत्र ४/ ३ दिन अघिदेखि हराएका दक्षिणी मोरङको रंगेलीका एक ब्यक्ति जिल्लाको दर्बेशामा मृत फेला परेका छन् ।
रंगेली–७ का २३ बर्षीय पवनकुमार मण्डल दर्बेशा–२ मा तोरीबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख धजिन्द्र कार्कीले जानकारी दिए । मण्डलको कसैले हत्या गरेको हुनसक्ने कार्कीले बताए ।
गत चैत्र १ गते घरबाट हराइरहेका मण्डल शुक्रबार बिहान मृत फेला परेका हुन् । मण्डलको मुखमा प्लाष्टिक कोचेर जलाई दिएका कारण अनुहार चिन्न समेत मुस्किल परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको रंगेली प्रहरीले जनाएको छ ।

जेसीज स्थापनार्थ अन्तक्र्रिया

सतासीधाम, चैत्र ४/झापाको सतासीधाम–दुधेमा सतासीधाम जेसीज स्थापनार्थ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दुधे स्रोत केन्द्रको सभा हलमा शुक्रबार सम्पन्न अन्तक्र्रियामा सुरुङ्गा जेसीजका सस्थापक अध्यक्ष लिला चिमरिया प्रमुख अतिथि रहेका थिए । रामप्रसाद मैनालीको अध्यक्षतामा भएको अन्तक्र्रियामा जेसीजको महत्वबारे प्रमुख अतिथि चिमरिया, सुरुङ्गा जेसीजका अध्यक्ष मोतिखर ओझा, उपाध्यक्ष बिनोद उप्रेती, सुरुङ्गा जेसीज वर्ष २०१० का अध्यक्ष कुमारमणि पोख्रेल लगायतले बोलेका थिए ।
सो अवसरमा स्थानीय युवाहरु शान्तिराम मैनाली, इन्द्रदेव पाठक, यादव घिमिरे, भीम लिबाङ, निधिकान्त खनाल, याम काफ्ले, गोविन्द काफ्ले, पशुपति चौधरी, लोकेन्द्र श्रेष्ठ, चन्द्र थापा लगायतले जेसीजबारे जिज्ञासा राखेका थिए ।

लेखापढीमा निरौला

दमक, चैत्र ४/नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन दमक इकाईको अध्यक्षमा सुशीलकुमार निरौला अध्यक्षमा चुनिएका छन् ।
 अध्यक्ष निरौला

शुक्रबार सम्पन्न इकाईको अधिवेशनले निरौलाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चुनेको हो । निर्वाचित समितिको उपाध्यक्षमा शिवकुमार पौडेल, सचिवमा लोकनाथ पोख्रेल, सहसचिवमा बिक्रम ताजपुरिया र कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् ।
समितिको सचिवहरुमा कृष्णकुमार गिरी, राजकुमार दाहाल, ताराबहादुर खड्का, कमलादेवी भण्डारी, रेवतमान आङ्वो र चित्रलाल ताजपुरिया रहेका छन् ।
निर्वाचित समितिलाई गठित निर्वाचन समितिका संयोजक मोहन अधिकारीले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा इकाईका निवर्तमान अध्यक्ष नारायण कोइराला, गौरसिंह राजवंशी, भन्द्रपुर इकाई अध्यक्ष रमेश पोख्रेल, केन्द्रीय सदस्य युवराज कार्की लगायतले बोलेका थिए । ३ वर्ष कार्यकाल रहने सो इकाई अन्तर्गत ८३ जना लेखापढी कानुन व्यवसायीहरु संलग्न रहेका छन् ।

युनियनको समिति

दमक, चैत्र ४/संघीय विद्यार्थी युनियन झापाको आउँदो अधिवेशन तय गर्न मनकुमार मेन्याङवोको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ ।
शुक्रबार सम्पन्न बैठकले समितिको संयोजकमा नुमा लिम्बु र सल्लाहकारमा ज्वाला लिम्बूलाई चयन गरेको जनाइएको छ । समितिका सदस्यहरुमा सन्देश योङहाङ, बिकी चेम्जोङ, बिक्रम शेर्मा, निशा लिम्बु, दीपक कार्की, कृष्ण ढकाललगायत रहेका युनियनद्वारा प्रेषित पत्रमा उल्लेख छ ।