हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘मावाको बगरमा के को दिवस नि ?’–मुख्य समाचार

विष्णु पौडेल
दमक, फागुन २६/बिहीबार विश्वभरका श्रमिक महिलाहरुले १०२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा झापा दमक–८ ताराबारीकी ४० वर्षीया फुलमाया माझी भने मावा खोलाको किनारमा गिट्टी, बालुवा छान्न नियमित दैनिकीमा नै व्यस्त थिइन् ।
 सरस्वती नेपाल, श्रीमान बुद्धिप्रसादसँगै गिट्टी चाल्दै । फोटोः पिपुल्स टाइम्स

करिब ४ किलोमिटर पूर्वको दमक–१४ मा श्रमिक महिलाका अधिकारका बिषयमा जान्नेबुझ्नेहरु भाषण गर्दै थिए । उनीहरुले श्रम गर्ने महिलाहरुले अझै पनि बिभिन्न समस्या झेल्नु परेको र घरै भित्र पनि अनेक बिभेद् सहनु परेको दुखेसो पोख्दै थिए ।
मावा खोला किनारमा गिट्टि, बालुवा चालेर जिवीका चलाउने फुलमाया जस्ता दर्जनौ महिलाहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले कुनै महत्व राखेन । महिला दिवसको महत्व त के फुलमायालाई बिहीबार यो दिवस परेको नै थाहाँ भएन । ‘मावाको बगरमा के को दिवस नि ? भरे बेलुकाको छाक टार्न दिनभरी बगरमा नखटी हुँदैन’ माझीले भनिन् ।
फुलमाया माझी बालुवा छान्दै ।

अघिल्लो दिनदेखि नैं युवा–युवतीहरु रङ्गिएर हिडेको देखेपछि बिहीबार होली पर्व हो भन्ने चाँहि थाह भएको तर महिला दिवशबारे केहि नसुनेको उनले बताईन् । घरमा छोरा छोरीले होली खेल्ने भनेको बताउँदै उनले भनिन्– ‘खै घरमा आज होली हो त भन्दै थिए, अरु के दिवस त कसैले सुनाएनन् ।’
बिहीबार बिहान ११ बजे बगरमा श्रीमान लालबहादुरसँगै बालुवा चाल्न व्यस्त फुलमायाले दुईजनाको दिनभरको कमाई बढीमा ५ सय रुपैयाँ हुने सुनाइन् । त्यो पनि खोलाको बगर आफ्नो नम्बरी जग्गा परेको भन्दै दाबी गर्ने उनीहरुकै शब्दमा ‘मालिकलाई’ ५० देखि सय रुपैयाँ नबुझाई धरै पाइदैन । दुई छोरा, दुई छोरी र श्रीमान श्रीमती  ६ जनाको परिवार छ माझीको ।  बनिबुतो गर्नैले छोराछोरीलाई सोचे जति पढाउन नसकेको पनि गुनासो छ माझी परिवारको ।
फुलमाया जस्तै दमक–८ मदनटोलकी ४६ वर्षीया सरस्वती नेपालले आफूलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बारे थाह भए पनि मनाउन फुर्सद नभएको बताइन् ।  परिवारका ६ जनालाई श्रीमान–श्रीमतीले दिनभरी खोला किनारमा गिट्टी, वालुवा चालेरै छाक टार्नुपर्ने बाध्यताका कारण यस दिवसको अवसरमा आयोजित सभा, समारोहमा जाने फुर्सद नभएको उनको भनाई थियो । ‘नानीहरु पनि पढाउनै पर्यो, दुईछाक पनि खानै प¥यो’ सरस्वतीसँगै गिट्टी चाल्न बिहान सबेरैदेखि खटिएका श्रीमान बुद्धिप्रसाद नेपालले भने ।
एक सय ४ वर्ष अघि अमेरिकाको एक गार्मेण्ट उद्योगका श्रमिक महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग सहित आन्दोलन गरेको दिनको सम्झनामा हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवश मनाउने गरिएको छ । नेपालमा चाँहि यसलाई नारी दिवसको रुपमा मनाउने गरिन्छ  ।

प्यालेस्टाइनसँग नेपाल पराजित – खेल समाचार

एएफसी च्यालेन्ज कप फुटबल
काठमाडौं, फागुन २६/काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रामक खेल खेलेपनि त्यसलाई निरन्तरता दिन सकेन ।
खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।
पहिलो हाफको सुरुमा नै गोल खाएपछि दबाव आएको नेपालले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेनन् । लगातार दबावमा परेको नेपालले खेलमा फर्कन पहिलो हाफमा दुई ओटा मौका गुमाएको थियो । खेलको २५ औं मिनेटमा नेपालका जुमानु राई गोल गर्न चुके । प्यालेस्टाइनका रक्षकलाई कटाएर हानेको बल पोलमा लागेर फर्किएको थियो । त्यसपछि निरन्तर विपक्षीको पोष्टमा धावा बोल्ने प्रयास गरेको नेपालका अनिल गुरुङ गोल गर्न चुके । कप्तान सागर थापाको लामो पास विपक्षीको गोल रक्षकको हातबाट खुस्किएको बलमा अनिलले गोल गर्न सकेनन् ।
पहिलो हापमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक ग्राहम रोवर्टले सन्तोष साहुखललाई मैदान छिराएपछि अनिल, जुमानु र सन्तोष तीन जना फर्वाडलाई खेलाए पनि दोस्रो हाफ नेपालको पक्षमा आएन ।
अब सेमिफाइनल प्रवेश गर्न नेपाललाई बाँकी दुबै खेल जित्नै पर्ने छ । नेपालले शनिबार माल्दिभ्सको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ । यसअघि दशरथ रंगशालामा भएको भब्य समारोहका बीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिफा अध्यक्ष सेप ब्लाटरको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सापकोटा गए, भण्डारी आए

लखनपुर, फागुन २६/लखनपुर–१ स्थित गुहेश्वरी निमाविका प्रधानाध्यापक बासुदेव सापकोटाको बिदाई गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा लगातार ३५ वर्ष प्रधानाध्यापक रहेका सापकोटाको बिदाई गरिएको हो । बिदाई समारोहमा उनलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतले बिदाई गरेका थिए । विद्यालय व्यवस्थापन समितिले विद्यालयका शिक्षक ऋषिराज भण्डारीलाई नयाँ प्रधानाध्यापकको जिम्मेवारी तोकेको छ ।

सडक ग्राभेल

तोपगाछी, फागुन २६/झापाको तोपगाछी–७, छलफल चोकमा स्थानीयबासीको अगुवाईमा सडक ग्राभेल गरिएको छ ।
स्थानीय २५ भुमिहीन परिवारले तोपगाछी ईसाई समाज, रन म्युजिक मिनिष्ट्र र तोपागाछी गाविसको ७३ हजार रुपैयाँ आर्थिक सहयोगमा २ सय ४० मिटर सडक ग्राभेल गरेका हुन् । निर्माण उपभोक्ता समिति सल्लाहकार वीरबहादुर तामाङले सो क्रममा सडकमा ५ ओटा ह्युम पाईप समेत राखिएको बताए ।

होलीमा विभिन्न कार्यक्रम

दमक, फागुन २६/फागु पूर्णिमाको अवसरमा बिहीबार विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
होली मिलन कार्यक्रमको सन्दर्भमा दमक जेसीज र पत्रकार मञ्च दमकले संस्कृतिमूलक होलीलाई भाइचारा अभिबृद्धि गराउन सचेतनाका रुपमा सो पर्व मनाउनुपर्ने भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।
जेसीजका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कोषाध्यक्ष सुवासचन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी दमकका पूर्व अध्यक्ष मानबहादुर बुढाथोकी, होटल व्यवसायी संघ झापाका अध्यक्ष शिव पोख्रेल, रोटरी क्लब दमकका अध्यक्ष जगदीश आचार्य, पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष विष्णु पोख्रेल, पत्रकार विष्णु सुब्बा लगायतले बालेका थिए । सो अवसरमा कार्यक्रम सहभागी जेसीज, सामाजिक संघ संस्था र संचारकर्मीहरुबीच एक आपसमा अविर, रङ खेलेर शुभकामना साटासाट गरेका थिए ।
यस्तै होलीको अवसरमा पाथीभरा एफएम, हिमशिखर टेलिभिजन, दमक उद्योग वाणिज्य संघ, मैथील समाज सेवा समिति लगायतले छुट्टा छुट्टै कार्यक्रम गरी मनाएका छन् । पाथीभरा एफएमले एफएम परिसरमा प्रत्यक्ष प्रसारण कार्यक्रम गरेको थियो । कार्यक्रममा एफएमका कमल भण्डारी, इलाका ट्राफिक कार्यालयका प्रनानि होमप्रसाद अधिकारी, पत्रकार विष्णु पोख्रेल लगायतले बोलेका थिए । त्यस अवसरमा होलीमय गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । यसैगरी हिमशिखर टेलिभिजनले दमक चोकमा होली विशेष प्रत्यक्ष कार्यक्रम सञ्चालन गरेको टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपानेले जानकारी दिए ।
यस्तै मैथिल समुदायहरुले दमक–१० मा होली पर्व सम्बन्धी कार्यक्रम गरेको थियो । दमक क्षेत्रमा रहेका मैथील समुदायहरुले सो पर्वमा सामूहिक भेला भई होली मनाइएको थियो । त्यस कार्यक्रममा मैथील समुदाय बाहेक स्थानीय क्षेत्रका संघ संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मैथील समाज सेवा समिति दमकको आयोजनामा भएको तथा केही वर्षदेखि होलीमा वर्षेनी त्यस्ता कार्यक्रम गरिआएको अध्यक्ष नवीनकुमार झाले बताए । होली सम्बन्धी फोटो फिचरमाथिको स्लाईडमा हेर्नुहोस् ।

सम्मान र प्रतियोगिता

दमक, फागुन २६/ १०२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघले दमकमा तीन जना स्वास्थ्य स्वयम्सेवीकाहरुलाई सम्मान गरेको छ ।
संघको क्षेत्रीय समिति क्षेत्र नं. ७ झापा र दमक नगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लामो समयदेखि स्वयम्सेविकाका रुपमा कार्यरत पार्वता श्रेष्ठ, शोभा ताम्राकार र लभु तामाङ रहेका नगर सचिव लिला ढुङ्गेल (दाहाल) ले जानकारी दिइन् ।
उनीहरुलाई प्रमुख अतिथि संघकी जिल्ला कमिटी सदस्य सुमित्रा प्रसाईले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । संघकी क्षेत्रीय अध्यक्ष भक्ता दाहालको सभापतित्वमा भएको कार्यक्रममा वक्तृत्वकला र कविता प्रतियोगिता समेत गरिएको थियो । वक्तृत्व तर्फ ७ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लखनपुर–६ की सजना दाहाल प्रथम, लखनपुर–८ की भावना भण्डारी द्वितीय र दमक–१ की देवीमाया अधिकारी तृतीय तथा कविता तर्फ ११ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लखनपुर–८ की
जेनिसा भण्डारी प्रथम, दमक–१४ की प्रतिमा पौडेल द्वितीय र १२ की रश्मी कटुवाल तृतीय भएका क्षेत्रीय समन्वय कमिटी सचिव चन्द्रकला भण्डारीले जानकारी दिइन् ।
सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य रोमनाथ ओली, महिला संघकी जिल्ला सदस्य हरिमाया मैनाली लगायतले पनि महिला अधिकार र सो दिवसको सान्दर्भिकता बारे बोलेका थिए ।
क्षेत्रीय कमिटी सदस्य यमुना पोख्रेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगर सचिव लिला ढुङ्गेल (दाहाल) ले गरेकी थिइन् ।

महिलाको हत्या

बर्दिया, फागुन २६/ गुलरिया ७ स्थित टप्पर सामुदायिक वन तुलसीपुरमा एक महिलाको हत्या भएको छ ।  वनकी सदस्य सेतु ओलीको हत्या भएको हो ।
बुधबार रातिदेखि बेपत्ता ओलीको शव बिहीबार बिहान १० बजे वन क्षेत्रमा प्रहरीले फेला पारेको छ । ओलीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका श्रीमान् खड्ग ओली वनका चौकीदार हुन् । ओलीले आफ्नो
अनुपस्थितिमा श्रीमतीलाई चौकिदारी गर्न पठाएका थिए । प्रहरीले वन तस्करले हत्या गरेको आशंका गरेको छ । हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

आगलागीमा मृत्यु

रौतहट, फागुन २६/रौतहटको भषेडवा गाविसमा बिहीबार बिहान लामखुट्टे भगाउन बालेको आगो फैलिँदा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीमा तीन घर जलेका छन् । मृत्यु हुनेमा  भषेडवा गाविस–६ का ५० वर्षीय लक्ष्मी ठाकुर रहेका छन् ।
उक्त घटनामा झण्डै ६ लाख बराबरको धनमाल क्षति भएको छ । आगो निभाउने क्रममा एक महिला सामान्य घाइते भएकी छन् । भषेडवा गाविस–६ का पञ्च दासले लामखुट्टे भगाउन घर नजिक बिहान बालेको आगो घरमा सल्केको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामनारायण माझीले बताए ।
आगलगीबाट स्थानीय मोहन दासको
नगद ९ हजारसहित १ लाख ५० हजार क्षति पुगेको प्रहरीले जनाएको छ । लामखुट्टे भगाउन आगो बाल्ने पञ्च दासको समेत भैसी राँगा र बाख्रा गरी ६ वटा पशु जलेर मरेका छन् । अधिकांशको घर फुसको छाना भएकाले अन्न लत्ता कपडाहरु निकाल्न पाइएन । घरमा आगो लागेपछि निभाउन सहयोग गर्दा छिमेकी देवकी दासलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिष्ठानको महाधिवेशन शुरु

कृष्णमन्दिर, फागुन २६/भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय महाधिवेशन बिहीबारदेखि झापाको दमकमा शुरु भएको छ ।
वडा नं. १६ स्थित प्रतिष्ठान परिसरमा शुरु महाधिवेशनको राष्ट्रिय पञ्चाङ निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले गरेका छन् । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा भट्टराई कूलवंशका अगुवाहरु, धरानस्थित पिण्डेश्वर क्याम्पसका प्रमुख शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराई, प्राध्यापक डा. भरत भट्टराई, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णबहादुर भट्टराई, महोत्तरी जिल्ला अध्यक्ष शम्भुप्रसाद भट्टराई, महाधिवेशन तयारी समिति संयोजक मिश्र वैजयन्ती भट्टराई, दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक मोहन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव गंगा भट्टराईले गरेका थिए । महाधिवेशनमा देशभरीबाट २ सय ५१ जना प्रतिनिधिहरुको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले बताए । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनको बन्द सत्र आज बिहान ८ बजेबाट शुरु हुने जनाइएको छ । महाधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

आक्रमणमा घाइते

दमक, फागुन २६/बिहीबार दिउँसो दमक–१६ स्थित टुकुरे बस्तीमा एक समूहले आक्रमण गरी स्थानीय लालबहादुर धिमाललाई घाइते बनाएको छ ।
स्थानीय कृष्ण नि.मा.वि.का प्रधानाध्यापक कृष्ण धिमालका अनुसार अन्दाजी साढे तीन बजे होली खेल्दै आएका अपरिचित युवाहरुको आक्रमणमा उनी घाइते भएका हुन् ।
घाइतेको शरीरमा खुकुरीको चोट लागेको
र टाउकोमा चिरपटले हानेको चोट देखिएको धिमालले बताए ।  घाइतेको दमकस्थित क्यु एण्ड क्यु हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको भए पनि उनीहरुकोबारेमा थप खुलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेकाले अनुसन्धान पश्चात मात्रै विस्तृत जानकारी बाहिर आउने प्रहरीले जनाएको छ । स्थानीय माधव ढकालले सो घटनापछि गाउँमा सर्वसाधारण आतंकित भएका बताएका छन् । उनले बिहीबार राति अबेरसम्म गाउँको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा छलफल चलिरहेको छ ।