हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

विपी स्मृति दिवस मनाइ“दै

दमक,६ साउन/तिसौं बिपी स्मृति दिवशको सन्दर्भ पारेर नेपाली कांग्रेस दमक नगर समितिले नगरका सबै १९ वटा वडामा कार्यक्रम गर्ने तय गरेको छ ।
नगरसभापति ढुण्डीराज भण्डारीका अनुसार भोलि वडा नम्बर १५ मा वडा पार्टी कार्यालय उद्घाटन हुने छ ।
यसैगरी अन्य वडा पार्टी कार्यालयले पनि
 स्मृति दिवश तथा अन्य कार्यक्रम हुने तय भएको छ । वडा नम्बर ८, १४, १८ र १९ मा बाहेक अन्य वडाहरूमा वडा पार्टी कार्यालय स्थापना भइसकेको पार्टीले जनाएको छ ।

‘पाइलट बन्छु’ - तोतेबोली

तिम्रो नाम के हो ?
Þमेरो नाम हिस्टन पौडेल हो ।
कुन स्कुल र कतिमा पढ्छौँ ?
Þम सर्वोदय विद्यालयको कक्षा एलकेजीमा ।
तिम्रो बुवा आमाको नाम के हो ?
Þबुवाको नाम विष्णु र आमाको नाम दुर्गा हो ।
तिम्रो बुवा र आमा के काम गर्नु हुन्छ ?
Þबुवा नगरपालिकामा र आमा घरमा काम गर्नुहुन्छ ।
तिमीलाई कुन किताब पढ्न मन लाग्छ ?
Þमलाई ‘म्याथ’ मन लाग्छ ।
तिम्रो स्कूलमा मिल्ने साथी को हुन् ?
Þनिशन हो ।
तिमी घरमा झगडा गर्छौ रे हो ?
Þहोइन नि ।
स्कूलदेखि घर आएपछि के–के गर्छौ ?
Þलुगा फेर्छु, खाजा खान्छु अनि होमवर्क गर्छु
होमवर्क पछि ?
Þटिभी हेर्छु , टिभीमा टोम एण्ड जेरी मन पर्छ ।
पछि ठूलो भएर के बन्छौ ?
Þपाइलट बन्छु ।
पाइलटले के काम गर्छ थाहाँ छ ?
Þआकाशमा जहाज उडाउँछ ।

केबुलकारको कथा

कार्तिकेय घिमिरे
नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है ।
मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको हो । मानिसहरु नेपालमा मलाई मनकामना केबुलकारको नामले चिन्छन् । मलाई एसडब्लु कमपनीले बनाएको हो । पहिलो सुरुमा नेपाल आउँदा म निक्कै डराएको थिएँ । ठूला–ठूला पहाड माथिबाट दौडदा मेरो जिउ नै सिरिङ् हुन्थ्यो । अहिले मलाई बानी परिसक्यो । मनकामना मन्दिरको दर्शन गर्न जाने यात्रु बोकेर वारिपारी गर्न मलाई निक्कै मज्जा आउँछ ।
दिनदिनै थुप्रै मान्छे मेरो जिउमाथि चढेर मनकामना मन्दिर जान्छन् । म एक पटकमा ४५० किलोसम्मका ६ जना मान्छेलाई बोक्न सक्छु । मान्छेहरु म माथि चढेर निकै रमाउँछन् । कति मान्छेहरु त आहा ! केबुलकार चढ्दा त प्लेन चढे झै रमाइलो हुँदोरहेछ भनेर एकदमै रमाउँछन् । धेरै वर्षदेखि मान्छेलाई मनकामना पु¥याउने काम मैले गर्दै आएको छु ।
म माथि चढ््न आउने मान्छे थरिथरीका हुन्छन् । कोही मान्छेदेखि मलाई हाँसो उठ्छ । कोही मान्छेदेखि रिस पनि उठ्छ । कोही मान्छे भने मलाई धेरै माया गर्छन् । यस्तै हाँसो, रिस र मायाको मेरो यात्राको कथा सुरु गरुँ है ।
एक दिनको कुरा हो । एउटा मोटो मान्छे लमक्लमक् गर्दै ममाथि चढ्यो । उसले भादगाउँले टोपी लगाएको थियो । उसले त्यो दिन वारि फर्कने बेलामा चारजना केटाएउटी आमैसँगै चढे । म दौड्न सुरु गर्नासाथ तिनीहरु याहु ! केबुलकार हिँड्यो भनेर कराउन थाले । तिनीहरु खुसी भएको देख्दा मलाई पनि खुसी लाग्यो । म पहाडबाट बिस्तारै तलतिर दौडदै थिएँ । ति केटामध्येको एउटा अलि छुच्चो जस्तो देखिने केटाले चुइँगम खाएर मेरो जिउमा ट्याप्प टाँसिदियो । मलाई झनक्क रिस उठ्यो । म चिच्याउँदै कराएँ– ए भाइ तिमीले मेरो जिउमा किन फोहोर टाँसेको हँ ? मैले अचानक कराउँदा ति चारैजना केटा निक्कै डराए । मैले फेरि नरम हुँदै भने– यसरी अर्काको जिउमा फोहोर गर्नु राम्रो हो त ? सबैले होइन अब हामी यस्तो गर्दैनौँ भनी एकै स्वरमा कराए । मलाई ठीकै लाग्यो ।
जाने बेलामा ति चारैजनाले मलाई बाइबाइ केबुलकार दाई भनेर गए । मलाई एकदमै आनन्द आयो । एकदिन त क्या गजब भयो नि ! एकजना दाइ धोती लगाएर पान चपाउँदै म माथि चढे । त्यो दिन उनी एक्लै थिए । मैले दौडाउँदै उनलाई पारीको स्टेशनतिर लग्दै थिएँ । मस्र्याङ्दी नदीको माथिको आकाश मार्गमा पुगेपछि झ्याप्प बत्ती गयो । म ठ्याक्क रोकिएँ । ति त डराए जोडसँग रुन पो थाले बा ! मैले उनलाई सम्झाउँदै भने– ए भाइ साहेब ! नरुनुहोस् । अहिले एकछिनमा जेनेरेटर (बिजुली निकाल्ने मेसिन) चल्छ । अनि म दौडिहाल्छु नि । मेरो कुरा सुनेर ति चुप भए । उनी मेरो जिउमा अडेस लागेर शान्त भइ बसे । पाँच मिनेटपछि म दौडन सुरु गरेँ । ति दाई खुसीले रमाए । मलाई पनि खुसी लाग्यो ।
पारीको स्टेशनमा उत्रने बेलामा ति दाजुले पान खाएको मुखले मेरो जिउमा प्याच्च थुके  उनको स्वभाव देखी मलाई झनक्क रिस उठ्यो । धेरै कुरा सोचेर केही नबोली बसेँ । त्यो दिनभरी मेरो ‘मुड अफ’ भयो । त्यसपछि के–के भयो मलाई केही कुरा सम्झना छैन । त्यसको दुई चार दिनपछि भने म फेरि चङ्गा भएँ । मेरो मन फुरुङ्ग भयो । म आज कस्ता यात्रु आउने हुन् भनी उनीहरुको प्रतिक्षामा थिएँ । एउटी सानी बच्ची फुर्किदै म माथि चढिन् । उनीसँगै उनकी आमा पनि थिइन् ।
मेरो जिउमाथि चढ्नेबित्तिकै ति बच्चीले खुसी हुँदै भनिन्– मामु बिस्तारै बसिस्यो, केबुलकार अंकललाई दुख्ला नि ! मलाई अचम्म लाग्यो । मैले ति बच्चीलाई निक्कै नियालेर हेरेँ । उनका साना–साना आँखा थिए । गोलो चिटिक्क परेको हँसिलो अनुहार थियो । म एकटकसँग ति बच्चीलाई हेर्दै दौडिरहेको थिएँ । त्यति नै बेला अचानक आकाश कालो भएर आयो । बादल गुडुङ गुडुङ गर्दै कराउन थाल्यो । ठूलो आँधीबेहेरी आयो । बच्ची रुन कराउन थालिन् । ‘नरोऊँ नानी तिमीलाई केही हुँदैन । म तिमीसँग छु नि’– मैले भनेँ । मेरो बोली सुनेर बच्चीले अचम्म मान्दै मलाई ट्वाल्ल हेरिन् । मलाई चिनिनौँ ? म तिम्रो केबुलकार अंकल हुँ । मैले बच्चीलाई सम्झाउँदै भनेँ । त्यसपछि बच्ची रुन छाडिन् । उनले आफ्ना साना आँखाको आँशु पुछ्दै भनिन्–‘अंकल’ । मलाई डर लाग्यो । छिटो मनकामना मन्दिर लैजानुस् न भन्या । प्यारी बच्चीको आँखामा आँसु देखेर मलाई हावासँग झोँक चल्यो । म पनि के काम, बेतोडसँग हावालाई टेर्दै नटेरी पारि स्टेशनतिर दौडिएँ । बच्ची खुसी हुँदै हाँस्न थालिन् । मलाई पनि खुसी लाग्यो । पारिको मनकामना स्टेशनमा पुगेपछि बच्ची मेरो जिउबाट उत्रिन् । उनी ‘मामु केबुलकार अंकललाई पनि मनकामना मन्दिरमा लैजाने’ भनेर जिद्दि गर्न थालिन् ।

पोइन्ट अफ भ् - फ्रेममा चराहरु

प्रकाश आङ्देम्बे
स्रष्टा धनकुटे कान्छा र भाइ सुर्य सुब्बासँग विहिवार साँझ दमक स्थित सडक विभाग कार्यालय परिसरमा विना योजना चराहरुको तस्विर खिच्न पसियो । यो भन्दा धेरै अगाडि पनि धेरै पटक विभिन्न विधाका अतिथिहरुसँग यहाँको गेस्ट हाउमा वसेकै हो ।
दिक्दार लाग्दो दमकको अव्यवस्थित भीड र कोलाहलको बीचमा जब हामी सडक विभाग भित्र प्रवेश गर्छौ, एकाएक शान्त र मनोरम वातावरणको बीचमा पुग्छौँ । लाग्छ हामी कुनै शहरमा छैनौ । शान्त, हरियाली वातावरणको अलावा यो स्थान बकुल्ला, पानी हास, काग आदि पंक्षीकोे मुख्य वासस्थान पनि हो । अहिलेको समयमा यी चराहरुले बचेराहरु धमाधम हुर्काइरहेका छन् । यो स्थानलाई चरा अध्ययन केन्द्रको रुपमा या आवसीय सृजनाका लागि लेखक, स्रष्टाहरुलाई व्यवस्थित सुविधासाथ उपयोग गर्ने वातावरणको सृजना गर्ने हो भने दमकको लागि एउटा सुन्दर परिचय बन्न सक्ने छ जस्तो लाग्यो । सोही अवसरमा मेरो क्यामराले क्लिक गरेका केही चराका तस्विरहरु.......

गुंला पर्व र यसको महत्व

राम प्रधान
नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको वास्तविक पहिचान हो । नेपाललाई धार्मिक दृष्टिकोणले हेर्दा नेपालको आदिवासी जनजातिहरु मध्येका एक जाति नेवार जाति हो । नेवार जाति परम्परा रितिरीवाज, चालचलन, धर्म संंस्कार संस्कृतिमा विशेष चाख र महत्व राख्ने जाति हो । अन्य जनजातिहरुको जस्तै नेवारहरुको पनि सम्वत् अथवा समय वा साल परिवर्तनको गणना गर्ने बैज्ञानिक आधारमा नयाँ वर्ष मानिन्छ । चन्द्रमास परिवर्तनको आधारमा गणना हुने नेपाल संवत कार्तिक शुक्ल प्रतिपदा (परेवा वा पारु) दिन नयाँ वर्षको प्रारम्भ मानिन्छ । अर्थात् प्रत्येक शुक्ल प्रतिपदाको दिन नयाँ महिना शुरु हुने गर्दछ । यो श्रावण शुक्ल प्रतिपदाबाट शुरु हुने ‘गुंला’ महिना पर्दछ । गुंला महिना वर्षको १० औँ महिना हो ।
गुंला महिना नेवार जातिको मात्र नभइ चन्द्रमास परिवर्तनको आधारमा चाड पर्व रितिरीवाज मान्ने सबै जातजातिहरुको महत्वपूर्ण महिना हो । यो प्रारम्भ भएको पाचौँ दिन नागपंचमी मनाइन्छ । जुन दिन प्राय सबै जातजातिहरुले नागहरुको पूजा गर्दै हरेक घरघरमा नागहरुको चित्र टाँस्ने प्रचलन छ । काठमाडौं, ललितपुर, हानघाट, धापाखेल नागदह लगायत विभिन्न धारा, कुवा, मूल पोखरीहरुमा पुगी नागहरुको पूजा गरी नागपंचमी सम्पन्न गरिन्छ । क्वाँटीपूर्णिमा, रक्षाबन्धन, जनैपूर्णिमा, राखी पूर्णिमा जस्ता महत्वपूर्ण दिन पनि यस महिनाको पूर्णिमाको दिन पर्दछ । अर्थात् चन्द्रमास पूर्ण भएको दिन ४÷५ ओटा नामले एकै दिनलाई जनाउँछ । नेवार समुदायमा क्वाँटीपूर्णिमा, ब्राह्मण तथा क्षेत्री समुदायमा जनै परिवर्तन गरी नयाँ र सफा लगाउने, रक्षाबन्धनको रुपमा डोरी नाडीमा बाँध्ने र तराईवासी समुदायमा चेलीहरुले माइतीहरुको रक्षार्थ राखी बाँधेर मनाउने चलन छ ।
पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण कृष्णप्रतिपदाको दिन शहर बजारमा चालु वर्ष भरी स्वर्गवास हुनुभएका पूर्खा वा आफन्तहरुको स्मृतिमा स्वर्गीय व्यक्तित्वहरुको प्रतिविम्ब बनाई आफन्तजनहरुले बजारमा प्रदर्शनगरी स्वर्गीय व्यक्तिप्रति सामूहिकरुपले श्रद्धा व्यक्त गर्ने वर्षको रुपमा मनाइन्छ । यस दिनलाई गाइजात्रा वा सापारु भनेर नेपाली समाजको मनभित्र जिवित छ । त्यसपछि चालुवर्षको धान रापाई गरिसकेको सन्दर्भमा रोपाई जात्रा मनाइन्छ । रोपाई जात्रामा धानको विरुवा रोपेको अभिनय गर्दै सडकमा रोपाई जात्रा हुन्छ । त्यसपछि कृष्णअष्टमी लगायत धेरै पर्वहरु यस महिनामा भने पितृको वा बुवाको मुख हेर्ने पर्व पनि यसै महिनामा पर्दछ ।
यसै महिनामा सोमबार ब्रत वा शिवप्रति भक्ति प्रदर्शन गर्ने, बाबा धाम दर्शन गर्न जाने । चाड पर्वहरुको प्रारम्भ हुने खेतीपातीहरुको समाप्त तथा महिजारोको छेउछाउ वा हिउँद मौसम यसै महिनादेखि शुरु हुन्छ भन्ने धार्मिक मान्यताहरु छन् । धार्मिक किम्वदन्ती अनुसार गुंला महिनाको कृष्ण प्रतिपदा वा कृष्णपक्ष परेवाको दिन स्वर्गद्वार खुल्ला रहने र स्वर्गीय व्यक्तित्वहरुको नाममा सापारु (गाइजात्रा) को व्यवस्थापन गर्दा स्वर्गमा बास हुन्छ भन्ने मान्यता छ । अर्को पक्ष भनेको यस महिनामा कृष्णअष्टमी पर्व केवल नेवार जाति मात्र नभएर कृष्ण भगवानप्रति श्रद्धा गरी कृष्णलाई मान्ने सबै प्रकारको जातजाति । जनजातिहरुले पनि कृष्ण जन्मअष्टमी धुमधामसँग मनाइन्छ । यो महिनामा काठमाडौं उपत्यका बाहेक नेवारहरुको बाक्लो बसोबास भएको शहरहरुमा करिब एक महिनासम्म लगातार रुपममा दैनिक लाखे नाच प्रदर्शन गरिन्छ । गुंला महिनाको ३ दिन अगाडि शिल्ला महिनाको घण्टा कर्ण चतुर्दशीका दिन ‘गथांमुग चन्हेपुजा गरेपछि उपत्यका बाहिरका भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, धरान, बिराटनगर, दमक, उर्लाबारी, इलाम, इटहरी लगायतका शहरहरुमा लाखे नाच दैनिक जसो देख्न पाइन्छ । कृष्ण जन्मअष्टमीमा कृष्णको जन्म भएको अभिनयपछि माथि उल्लेखित शहरहरुमा लाखे नाच सम्बन्धीको कार्यक्रमहरु चालु वर्षको लागि सम्पन्न भएको मानिन्छ । त्यसपछि गुंला वर्षको अन्तिम दिन अथवा गुंला महिनाको मसान्तको दिन कुसे औसी तथा बुवाको मुख हेर्ने तथा पितृ दर्शन गरेपछि यो महिना समाप्त हुन्छ । यसै महिनामा ‘बोलबम’ जाने विभिन्न जलासयबाट पानी ल्याई शिव मन्दिरहरुमा पानी चढाउने ब्रत बस्ने लगायतका थुप्रै धार्मिक मान्यताहरु बोकेको महिना हो ।
गुंला महिनाभरी नै धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणहरुले सबैजसो जातजाति, जनजातिहरु कुनै न कुनै ढंगल जानेर वा नजानी भएपनि यस महिनाभित्र विभिन्न धार्मिक कार्यहरुमा संलग्न रहन्छन् । महिलाहरुको सन्दर्भमा पनि यो महिना महत्वपूर्ण छ। महिलाहरुले हरियो चुरा लगाउने सोमबारको दिन ब्रत बस्ने शिवजी मन्दिरहरुमा पानी चढाउने गर्छन् भने घरघरमा नागको पूजा गर्ने, नाग टाँस्ने गर्दछन् । ब्राह्मण तथा क्षेत्री अथवा जनै लगाउने समुदायले नयाँ जनै लगाउने गर्छन् । तराईवासी समुदायमा राखी चेलीहरुले माइतीहरुलाई लगाइदिन्छन् । पुह्रेतहरुले, पण्डितहरुले रक्षाबन्धन लगाई दिने देखि नेवार समुदायमा ९ प्रकारका प्रोटिन युक्त गेडागुडीहरु पकाएर आफन्तहरुलाई खुवाउने चलन छ। त्यस्तै मुख्य शहरहरुमा बाजा बजाउँदै लाखे नाच प्रदर्शन गर्ने पर्वहरु मनाउने, हिलो खेल्ने, रंगीविरङ्गी कपडाहरु लगाउने, साहित्यकार, व्यंग्यकारहरु सामाजिक विकृति, विसंगतीहरुको विरुद्धमा हाँस्य ब्यंग्य सृजनाहरु समेत प्रस्फुटन गर्ने महिना भएको हुँदा एक प्रकारले रमाइलो महिना पनि हो । त्यसैगरी महिनाको अन्तिम दिन आफ्नो जन्मदाता बुवाप्रति सम्मान, भक्तिभाव प्रदर्शन गर्दै आ–आफ्नो औकात, गच्छ्य अनुसार उपहार, मीठो मसिनो बुवालाई दिएर सम्मान गर्ने महिना भएकोले गुंला महिनाको पर्वहरुको महत्व बढ्दै गइरहेको छ । 

जननायकप्रति श्रद्धाञ्जलि – असरल्ल

कमन देवान
आज जननायक बीपी कोइरालाको ३० औँ स्मृति दिवस । मलाई थाहाँ छैन, बीपी कोइरालाले जन्माएको पार्टी नेपाली कांग्रेस बीपीबाट प्रतिपादित राजनीतिक–वैचारिक चिन्तक र सिद्धान्तमा निष्ठा राख्छ वा यो निष्ठाको उचाईबाट कांग्रेस सिसिफसको ढुङ्गो झैँ लडिमात्र रहेको छ । प्रसङ्गवस असरल्ल बसाईमा प्रजातान्त्रिक समाजवादको विषय सुस्ताएको यो बखत व्यस्ततालाई धकेल्ने प्रयासमा छु, दुईचार अक्षर फुराउन ।
उसो त अचानक ‘फेरि सुन्दरीजल’ नामक पुस्तकमा बीपीले समेटेका विचारहरु (जो जेल डायरीको संकलित रुप हो ) मा नचाहेरै पनि मन डुलेको छ । यसअघि दुईपटक सरसर्ती पढिसकेकाले बोझलाग्दो राजनीतिक कुराकानी र मनोवादात्मक उनका शब्दहरु उपर उस्तो ध्यान दिएकै होइन । यद्यपी, यतिबेला देशमा जुन असहमति र राजनीतिक निषेधको गम्भीर संकटकाल जारी छ, अनि लाग्यो २०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलापका लागि चालेको कदम बारे सामान्य चिन्तन गर्नै पर्ला । महान् वैज्ञानिक ग्यालिलियोले भनेका छन्– ‘संसारमा सबैभन्दा गाह्रो बिषय सोच्नु हो ।’ मलाई त्यही भाईले गाँजेको छ । देश हाँक्ने जिम्मा लिएका बडेमानका बृद्धि भएका नेतागणले त सोच्न नसकेको र मेसो खुट्याउन नसकेको विषयमा मेरो मथिङ्कल दुख्नुको कुनै तुक छैन ।
समग्र अर्थ कति प्रधान विषय हो, आजको राजनीति यस दिशातिर लम्कन सकेको छैन कि ! भन्ने लाग्छ । त्यसैले २००७ सालको क्रान्तिपछि मुलुकले प्राप्त गरेको प्रजातन्त्र र नेपाली जनताले प्राप्त गरेका अधिकारहरु पूर्णतः संस्थागत हुन सकेका अवस्था छैनन् । यस्तो लाग्छ, देशमा राजनीति, प्रशासन, ऐन, कानुन सबै महत्वपूर्ण अङ्गहरु बेलगाम दौडिएका छन् । देश, राष्ट्र जनता, राष्ट्रियता, समृद्धि विकास जस्ता बिषय ज–जसले भाषणमा जति ओकले पनि फरक पर्दैन । सम्भवतः २०३३ साल पुष १६ गते निर्वासित राजनीतिक जीवन अन्त्य गर्दै राष्ट्रिय मेलमिलापको प्रस्ताव लिएर देश  फर्केका बीपी कोइरालाले उसबेला देखेको मुलुकको सङ्गिन खतराको अवस्था आज पनि टरिसकेको छैन । उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रहरुका बीचको नेपाल राष्ट्र र यसको  सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र समृद्धि भारत स्वतन्त्र भएको र नेपालमा प्रजातन्त्र प्राप्त भएकै दशकदेखि गम्भीर खतरनाक कुटनीतिका रुपमा छ ।
चीन र भारतको आन्तरिक इच्छा शक्तिमा आउने जुनसुकै परिवर्तनले पनि नेपालको बाह्य तथा आन्तरिक सुरक्षालाई असर गर्छ । बीपीले २०३३ सालमा भन्न र बुझाउन खोजेको त्यही उच्च कुटनीतिक यथार्थलाई तत्कालीन पञ्चायती शासनले यति गम्भीर मुद्दा बनायो कि, देश र जनतामा राष्ट्रता रक्षाको जागरण भर्न देश पसेका उनलाई त्यही विषयले सुन्दरी जलको जेल जीवनको उपहार दियो । बीपी उपर भएको धोकाले पनि इंगित गरेको एउटा गम्भीर षड्यन्त्र र पहिचान भएको कटु वास्तविकता भन्नु नेपालमा २४० वर्षसम्म शासकीय बागडोर समहालेर बसेको शाही शासकीय राजतन्त्र कदापी, नेपाली धरातलमा जनसर्वोच्चता स्थापित भएको छ त्यही सर्वोच्चताको जगबाट लोकतान्त्रिक राज्य व्यवस्था जन्मिएको देख्न चाहदैनथ्यो ।
सिङ्गो राष्ट्रको अभिभावकत्व पाएको संस्था नै जनताका इच्छा बिपरीतको शासन लाद्ने मानसिकताबाट ग्रसित रहनुले पनि करिब ४ दशक अ िमुलुक र जनताका लागि जननायक बीपीले देखाएको बाटो पहिल्याउन नसक्दाको परिणतिले नै त्यस यताका थुप्रै राजनीतिक उथलपुथल र हिंसा भए । अन्ततः जनताका आकांक्षा, शक्ति, सामथ्र्य र चाहनालाई लल्कार्ने निरंकुश राजतन्त्रको स्थान र इतिहासको पानामा सीमित भएको छ ।
आज पति निरंकुश र एकात्मक राजसंस्था र यसले कायम गरेका असंख्य विभेद्का अवशेषहरु कायमै रहेको अवस्था छ । अधिनायकत्व सहितको कथित राजकीय शासन कल्पना गरेर पुनः राजगद्धीमा बस्ने दिवास्वप्नहरु मोहमय बन्दै गरेका अवस्थ छन् । धर्म, जाति वा अरु विभिन्न प्रपञ्चबाट राजसंस्था ब्युँताउने प्रयास गरिन्छन् भने अब नेपाली परिवेश त्यसका विरुद्ध परिपक्व भई, मुकाबिला गर्न सक्ने अवस्थाबाट अघि बढेको छ । ढटवारेहरुलाई यसको राजनीतिक हेक्का रहनै पर्दछ । बीपीले देखाएको प्रजातान्त्रिक समाजवादलाई भज्याई खाने मनोरोगको स्थायी उपचार आजको आवश्यकता हो । लोकतान्त्रिक अधिकारको निर्वाद उपभोग गर्दै नेपाली राष्ट्रता मजबुद बनाउने दिशामा मुलुकका सबै दल र नागरिक लाग्न सके जननायक बीपी कोइरालालाई वास्तविक श्रद्धाञ्जलि मिल्ने छ ।

राम्रोलाई राम्रो भनौँ, नराम्रोलाई नराम्रो भनौँ – दोस्रो लेख

निधिरत्न अधिकारी
यो सवाल आज नेपाल राष्ट्रको, २५० वर्षको ढुङ्गेयुगको यात्रालाई छिचोल्दै आजको दुनियाँको अगाडि २१ औँ शताब्दीको यात्रामा प्रवेश गर्ने बामे सराइको शुरुवात गर्न राष्ट्रिय राजनीतिको केन्द्रीय बहसमा घनिभूत रुपमा लागेकै हो भनेर भन्नै पर्ने हुन्छ । यो बुझाईलाई हामीले यसरी बुझेनौँ भने हाम्रो बुझाई गलत हुनेछ । गलत बुझाईको परिणाम हाम्रै लागि घातक सिद्ध हुनेछ । यो मुलुक अहिले अग्रगमन कि पश्चगमन ? समानता कि विपन्नता ? आदर्शवादी कि पराधिनता ? राष्ट्रिय अखण्डता कि औपनिवेशिक परनिर्भरता ? यस्ता यावत प्रश्नहरूको सही उत्तर आज मुलुकले खोज्ने क्रमको ऐतिहासिक अन्तिम घडीमा छलफल र बहसमा छ भनेर भन्न हामीले कञ्जुस्याई गर्नु हुँदैन । तर, यहाँ यो क्रममा सबै राम्रा मात्र छन् भन्न कदापि पनि मिल्दैन । धेरै भन्दा धेरै घटनाहरू नराम्रा छन् । थोरै मात्र राम्रा छन् । त्यसैले नराम्रालाई हामीले नराम्रो भन्नेपर्ने हुन्छ । राम्रा काम कुरालाई पनि हामीले राम्रो छ भन्ने पर्छ । हामी जनताले यसरी छुट्याएर पैmसला गर्ने हैसियत राख्नु हाम्रो मानवियता हो । सदियौँ देखि सबै क्षेत्रमा लथालिङ्ग भएको हाम्रो नेपाल तत्कालै सम्पन्न स्वीट्जरल्याण्ड जस्तो होस् भनेर माग राख्नु हाम्रो मुर्खता हुनेछ । तर, हाम्रो शुरूवात, हाम्रो लक्ष्य, सपना, विकसित, अति विकसित बनाउने तिर हाम्रो वचत र कर्म व्यवहारिक रुपमा इमान्दार भएर लाग, लागौँ भनेर नेताहरूलाई प्रेरित गराउन लाग्नु हाम्रो अधिकार र कर्तव्य हो । किनभने हामीले बनाएको अधिकार सम्पन्न संविधान सभा छ । त्यसैबाट राष्ट्रको संरक्षण र जनताको अधिकार संस्थागत गर्ने खालको नेपाली जनताको जनसंविधान लेखिनुपर्छ । यो तितो सत्य हो । तर, नेपाली राजनीतिको संस्कार माथि देखि तलसम्म यस्तो खराब प्रवृत्ति छ । राम्रो कामलाई पनि नराम्रो भन्ने नराम्रोलाई त नराम्रो भन्नै पर्ने हुन्छ । हाम्रो नेपाली यो खालको सनातनि संस्कारमा पोजेटिभ परिवर्तन ल्याउनु नै पर्छ । त्यसो गर्न सके मात्र नेपालमा राजनीतिक स्थायित्व कायम हुन सक्छ । यो कुरा नेपाली राजनीतिक पार्टीका नेता देखि कार्यकर्ता र जनतासम्मलाई ज्ञान हुनुपर्छ । यो ५ वर्षे संविधान सभाको बहस, सरकार गठन प्रक्रियामा गिराउने र बनाउने खेल आजसम्म अनिर्णयको बन्दी त्यसको सिकार हुनुभनेको राम्रो कामलाई राम्रो भन्न नसक्नु र नराम्रोलाई नराम्रो भन्न नसक्नु नै हो । अहिले सम्म पनि त्यस्तै खेल खेल्ने प्रयास भएकै हो । तपाई हामीलाई थाहा छैन र ? स्वदेशी र विदेशी दुवै लागेका छन् । प्रचण्ड प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पुजारी निकालेर नेपाली नागरिकलाई त्यसको पुजारी राखौँ भन्दा त्यसको विरुद्ध ५ हातमाथि उफ्रनेहरू आज राज्य संघीय संरचना गर्दा, राष्ट्रभित्र रहेका नागरिकको पहिचान र सामथ्र्य खुल्ने हिसाबले संघीय राज्य बनाउनु पर्छ, यसमा कुनै नेपाली नागरिकलाई अधिकार विहीन बनाउने खालको राज्य हुन सक्दैन भनेर वकालत गरिरहँदा पनि विरोधै गरिरहेका छन् । यो विरोधका लागि विरोध हो कि ? अरु यथार्थ खोजी गरौँ भन्ने विरोध हो ? त्यसो हो भने यथार्थ के हो ? टेबुलमा विकल्प दिनसक्नुपर्छ । शासकीय स्वरुप कस्तो हुने ? भन्ने प्रश्नमा प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रपति नै राष्ट्रको कार्यकारी अधिकार सम्पन्न हुन्छ । गलत ग¥यो भने नेपाली जनताले नै काबुमा ल्याउँछन् । यो अहिले सम्मको नेपाली राजनीतिक स्थायित्वको लागि नयाँ र अन्तराष्ट्रमा भएको शासन प्रणाली हो भन्दा त्यस्तो हुनुहुँदैन, “यो त निरंकुश हुन्छ” भनेर विरोध नै अहिले सम्म भइरह्यो । निरंकुश भयो भने जनताले मान्छ ? यसो भनेर प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा राष्ट्र र निर्माणमा लाग्नु भन्दा दुईको बीचमा शक्तिको लडाई गर्ने रहर भएको छ । यसो गर्नु राष्ट्रको लागि हितकर छ ? कालान्तरमा फेरि हुने सम्भावना बढेको छ । “साझे की बाजे” भन्ने नेपाली उखान लागू अवश्य हुन्छ ।
एउटालाई अधिकार सम्पन्न बनाएर जनताले पठाउँछन् । राम्रो काम गरे स्वागत गर्छन् । नराम्रो गरे जुत्ताको माला लगाई दिन्छन् । यसमा डराउनु पर्ने कारण के हो ? यो विरोधका लागि विरोध नभइ अरु के हुन सक्छ ? शासनको नाम “गणतन्त्र” भएकोले अधिकार सम्पन्न जननिर्वाचित राष्ट्रपति नै हुनुपर्ने शर्त ठीक हो । तर, प्रचण्डकै पुत्ला जलाइँदैछ । प्रचण्ड प्रधानमन्त्री भएको बखत रुकमाङ्गक काण्डमा यदि त्यसलाई सच्याएर देश र जनता गोली मारा प्रधानमन्त्री भए पुग्छ भनेको भए भारत लगायत अन्य नेपालमा खेल्न पल्केका विदेशी दलालहरूले बिसौँ वर्ष सम्म प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत हुन्थे । तर, देश र जनताको हितको खातिर उनले त्यसो गर्न चाहेनन् । तत्काल देश र जनताको नाममा सम्बोधन गर्दै राजनीनामा दिए । त्यसको प्रतिक्रिया आत्मसमर्पण ग¥यो माओवादीले भनेर प्रचार गरेको अतित लुकेको छैन । रुकमाङ्गकलाई कार्वाही गर्दै विदेशीको प्रोपोगण्डालाई अ–स्वीकार गर्दै प्रधानमन्त्री भइरहने निर्णय गरेको भए नेपालमा ठूलो जनधनको क्षति हुने थियो । त्यो वुद्धिमताले गर्दा त्यसो हुन पाएन। शान्ति र संविधान प्रक्रियालाई अगाडि बढाउनु पर्ने मूल मुद्दा छोडेर बाबुरामको राजनीनामा माग्दै, राष्ट्रिय सहमतिको सरकार समाजको मनोविज्ञानसँग सम्बन्धित जनताको चासोको विषय सेना समायोजन गर्ने प्रक्रियालाई हदै सम्मको लचकता प्रस्तुत गर्दै सेना समायोजन गर्ने काम नेकपा माओवादी र भट्टराई नेतृत्वको सरकारले अति द्रुत गतिमा अगाडि बढाउँदै सेना र हतियार नेपाली सेनाको जिम्मा लगायो । वृहत शान्ति सम्झौताको मर्म र भावना भनेको नेपालको सार्वभौमिकता अखण्डताको रक्षा गर्दै नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउने खालको जनसंविधान जारी गर्नु नै थियो र अहिले पनि त्यो सवाल प्रबल रुपमा हाम्रो अगाडि छ । त्यही कुरा हुन्छ भन्ने विश्वासका साथ जनमुक्ति सेनाको व्यवस्थापन हो । संविधान भनेको त्यही सेनासँग परिपुरक रहेको नेपाली जनताको जनसंविधान लेखिनु हो । यी दुई कुरामा कुनै एउटा कमजोर भयो भने देशमा शान्ति पनि हुँदैन, राजनीतिक स्थायित्व पनि हुँदैन र संविधान पनि सबैलाई अधिकार सम्पन्न बनाउने संविधान पनि लेखिँदैन । त्यही प्राप्त हुने विश्वासमा त्यत्रो लडेको सेना ४ वर्ष सम्म क्यान्टोन्मेन्टमा चुप लागेर बस्यो । समानान्तर रुपमा लडेको सेनालाई सही नेतृत्वकै कारणले ४ वर्ष सम्म मुलुकको अग्रगमनको लागि बहस गर्न पाइयो । यो कुरा सबै पार्टी, नेता, सरोकारवालाहरूले वस्तुगत यथार्थताको आधारबाट बुझ्न सक्नुपर्छ । माओवादीकै एजेण्डामा सबै सरोकारवालाहरू नाचेको यथार्थलाई बिर्सेर माओवादीलाई नै सधै नराम्रो देख्ने प्रवृत्तिले मुलुकले शान्ति र संविधान पाउँदैन ।

किन असफल भयो संविधानसभा ? – पहिलो लेख

कृष्ण अविरल
धेरैलाई लागेको छ, संविधानसभा असफल हुनुको प्रमुख कारण दलका नेताहरूको अकर्मण्यता र अदूरदर्शी ब्यवहार हो । कांग्रेस–एमाले अनि एमाओवादी–मधेसी मोर्चाका नेता, समर्थकहरूले एकअर्कालाई धारे हात लगाउँदै अपजस भिराएर सक्दोश्राप गरिरहेका छन् । कतिपय जनसाधारणचाहिँ नेताहरूले आफू अनुकूल गरेका तिनै कुराको भ्रममा परिरहेका छन् । तर यथार्थ धेरै भिन्न छ । विगत केही वर्षदेखि देशमा जे भइरहेको छ, सबै भारतीय गुप्तचर संस्था ‘रअ’को रणनीतिअनुसार भइरहेको छ ।
सन् २०१२ भित्रमा नेपाललाई आफ्नो सुरक्षा छाताभित्र हुलिसक्ने इन्दिरा गन्धीका पालामा बनेको ‘रअ’को रणनीति केही वर्षअघि पुनरावलोकन गरी सन् २०२० सम्म लम्ब्याइएको छ । त्यही रणनीतिअनुसार भारतीय दूतावासको सक्रियता बढेको छ, अदृश्य लगानी बढाइएको छ । छात्रवृत्ति, स्कुल भवन र एम्बुलेन्स दिने लोभ देखाएर देशका प्रबुद्ध भनिनेहरूलाई लौनचौर धाउने बनाइएको छ । तराईका अवसरवादी चरित्रका नेताहरूमा मधेसवादको मखुण्डो भिराइएको छ । आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेशको नारा उचालिएको छ । बाहुन–क्षेत्रीहरू धैर्यवान भएर मात्रै, उसको योजनाअनुसार हो भने एकसाताअघि नै जातीय भिडन्त शुरू भइसक्ने थियो । काठमाडौंका सडकमा ‘बाहुन–क्षेत्री काटिन्छ आलो रगत चाटिन्छ’ जस्ता नारा लाग्नुका पछाडि प्रचण्ड महोदयको उक्साहटले मात्रै काम गरेको छैन भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ ।
भनिन्छ, ‘रअ’ले नेपालमाथिको आफ्नो पछिल्लो रणनीति कार्यान्वयनका लागि पछिल्ला केही वर्षमा राजधानीमा मात्रै पाँचहजार बढी सुराकी खटाउँदै आएको छ । दलका नेता, सभासदहरूलाई एजेन्ट र मतियार बनाएर खामबन्दीको चास्नी चटाउँदै आएको छ । यस्तो बेलामा उपप्रधानमन्त्री तहको पद ओगटेका विजय गच्छदारले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक हुनु पहिल्यै लैनचौर पु¥याउनु नौलो कुरा पनि भएन । प्रहरी र गुप्तचारका मात्रै होइन, सेनाका गोप्य निर्णयहरू समेत कार्यान्वयन नहुँदै लैनचौर पुग्न थालेको ज्ञानेन्द्रकै पालादेखि हो । तर पनि हामी नेपालीजन यी सब क्रियाकलाप टुलटुलु हेरिरहन विवश छौं । गच्छेदारजस्ता एजेन्टहरूलाई सत्ताबाट हट्ने दवाव पनि दिन सक्दैनौं ।
लैनचौरमा बस्ने भारतको सहसचिव तहको कारिन्दाका वरिपरि हाम्रा बरिष्ठ भनाउँदा नेताहरूको अस्वाभाविक उठबस देखेका धेरैलाई थाहा भएको कुरा हो (उसको आदेश हाम्रा नेताले सिन्को बराबर पनि तलमाथि गर्न सक्दैनन् । विगतका अनुभव र नेताहरूको सत्ता लिप्साले यो तथ्यलाई पटक–पटक सिद्ध गरिसकेको छ । र, पछिल्ला केही सातामा देखिएको राजदूत जयन्तप्रसादको रहस्यमय सक्रियता अनि ‘रअ’का प्रमुख सञ्जिव त्रिपाठीले क्षेत्रीय मामिला हेर्ने आफ्ना अधिकारीसहित जेठ पहिलो साता काठमाडौंको एभरेष्ट होटेललाई मुकाम बनाइ गरेको चलखेलले पनि भन्छ–भारतले चाहेको भए नेताहरूबीच जुँगाको लडाई हुने नै थिएन । नयाँ संविधान निर्धारित समय पहिल्यै जारी हुने थियो ।
अब प्रश्न उठ्छ–के त्यसो भए दलका नेताहरूका बीचमा देखिएका संघीयता, जातीयताका मुद्दा केही होइनन् त ? तर ‘रअ’ प्रमुख त्रिपाठी महोदयको रणनीतिले भन्छ, यी सब नेपालमा अस्थिरता र अनिश्चयलाई अरु चुल्याएर आफ्नो योजना सार्थक पार्न चालिएका गोटी मात्र हुन् । नत्र विश्वको महाशक्ति बन्ने क्रममा रहेको देशको गुप्तचर प्रमुख हाम्रो देशमा गोप्य रुपमा आएर एकहप्तासम्म मुकाम चलाउनु र नेता भनाउँदाहरूलाई घरघरमा भेटेर निर्देशन दिनुलाई सामान्य रुपमा स्वीकार्नै सकिँदैन । लज्जास्पद कुरा त यो हो कि हाम्रा बौद्धिक भनाउँदाहरू समेत जातीय सद्भाव, राष्ट्रिय अखण्डतालाई समेत बिर्सेर ‘रअ’ले थापेको माकुरी–जालोमा निशंकोच हाम्फालिरहेका छन् । देश रहे मात्र जातीयता रहन्छ भन्ने तथ्यलाई पाइतालामा कुल्ची रहेका छन् ।
नेताहरूले राष्ट्रियताका पक्षमा साझा सहमति मात्र बनाउन सकेका भए र लैनचौरका कुरा कति स्वीकार्ने कति नस्वीकार्ने भन्ने कुरामा अलिकति मात्रै विवेक पु¥याइदिएको भए पक्कै यो स्थिति आउने थिएन । तर अहिलेसम्मको घटनाक्रमले भन्छ, ‘रअ’को योजनालाई तुहाउन त्यति सजिलो छैन । केही वर्षभित्रैमा हामी सिक्किम त नभनौं, भुटानभन्दा तल्लोस्तरमा पु¥याइँदैछौं ।
अब के हुन्छ ?
‘फर्किएला त ज्ञानेन्द्रको सत्ता ?’ शीर्षकमा पंक्तिकारले लेखेका थिए–संविधानसभाले सर्वस्वीकार्य संविधान बनाउन सक्तैन । जे जति घटनाक्रम भइरहेका छन्, ज्ञानेन्द्रको सत्ता फर्काइदिने गोप्य रणनीति अन्तर्गत भइरहेका छन् । भारतको रवर स्ट्याम्प हुन ज्ञानेन्द्र राजी भइसकेपछि भारतले अनिश्चय लम्ब्याउने खेल खेलिरहेको छ’ । आदि ।
त्यतिबेला पंक्तिकारले धेरै साथीहरू तथा पाठकको गाली खायो । कथकदाचित ज्ञानेन्द्रको सत्ता फर्कियो भने त्यसको पहिलो सिकार पंक्तिकार स्वयम् हुन्छ भन्नेसमेत थाहा नपाएका कतिपयले ज्ञानेन्द्रको एजेन्ट बनेको भन्नेसम्मको हचुवा लान्छना समेत लगाए । केहीले प्रतिक्रिया दिए, ‘अरु जे भए पनि पारसजस्ता गुण्डाहरू राजा भएको हेर्न नेपाली जनता तयार छैनन् ।’
संविधानसभाको विघटनसँगै ‘रअ’को रणनीति कार्यान्वयका लागि बाटो झनै फराकिलो भएको छ । प्रधानमन्त्री डा । बाबुराम भट्टराईले मधेसी मोर्चासँग मिलेर आगामी मंसिर ७ मा चुनावको घोषणा गर्नु जायज नै भए पनि त्यो मितिमा चुनाव हुन सम्भव छैन । कांग्रेस एमाले नेताहरूमा देखिँदै आएको अदूरदर्शिता र माओवादी एवम् मधेसी नेताहरूमा देखिएको दम्भमुखी अराजक अभिव्यक्तिले नेपालीजनको उत्साह निराशामा झरेको छ । यो कलह र अनिश्चय आगामी दिनमा अरु मडारिने संकेत देखापरेको छ ।
यो अनिश्चयका बीच निरंकुशता जन्मनसक्ने खतरा देख्नेहरू पनि नभएका होइनन् । तर ‘रअ’को रणनीति निरंकुुशता जन्माउने खालको छैन । ऊ त्यो जोखिम मोलेर सर्पलाई दूध पिलाउन चाहँदैन । बरु यो अवधिमा कुनै दूरद्रष्टा राजनेता जन्मिने सम्भावना प्रवल छ । किनकि विश्वका हरेक युगद्रष्टाहरू असहज परिस्थितिमा नै जन्मिएका छन् ।
आगामि केही वर्षमा त्यस्तो राजनेता जन्मन सक्यो र ‘रअ’को रणनीतिलाई योजनाबद्ध एवम् सौहाद्र्ध तरिकाले तुहाउन सक्यो भने मात्र–नत्र रवर–स्ट्याम्प राजतन्त्र फर्किनबाट अब कसैले रोक्न सक्दैन । त्यो राजतन्त्र ज्ञानेन्द्र, हृदयेन्द्रका नाममा पनि हुनसक्छ वा अरु नाममा पनि । तर पारसका नाममा चाहिँ हुने संकेत देखिँदैन ।

निर्वाचनको विकल्प छैन – सम्पादकीय

संविधानसभा विघटनसँगै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले आगामी मंसिर ७ गतेका लागि संविधानसभाको लागि पुनः निर्वाचनको मिति तोकेको छ । पुनः निर्वाचन गर्नेबारेको सरकारी निर्णय असंवैधानिक भएको आरोप लगाउने एउटा पक्ष र पुनः निर्वाचनमा जाने निर्णय सही छ भन्ने अर्को पक्षबीच चलेको जुहारीले पछिल्लो नेपाली राजनीतिक घटनाक्रम धानेको छ । संविधानको संरक्षकका हैसियतले राष्ट्रपति रामवरण यादव समक्ष मुलुकमा छाएको संवैधानिक रिक्ततालाई सम्हाल्न कांग्रेस–एमाले लगायतका दलले अनुरोध र बिन्ती बिसाइसकेको एउटा जटिल अवस्थाबाट देश गुज्रिरहेको छ । जेठ १४ गते मध्यरातसम्म संविधन जारी गर्न दबाव दिँदै सडकमा उत्रिएका जनता वर्तमान परिस्थितिमा अवाक बनेका छन् । जनताले चाहेको कुरा प्राप्त हुन सकेको अवस्था नरहेकै बेला प्रमुख राजनीतिक दलका बीचमा भने राष्ट्रिय सहमतिका नाउँमा सत्ताकै भागबण्डाको विषयले प्रमुखता पाउन थालेको छ । अहिले एकीकृत माओवादी पार्टी सकभर आफ्नै नेतृत्वको सरकारले आउँदो निर्वाचनसम्म मुलुक हाँक्न पाउनुपर्ने र उस्तो नभए अरु नै दलको नेतृत्वमा बन्ने सरकारमा आफ्नो भाग सुरक्षित गर्ने रणनीतिमा लागेको छ । यता कांग्रेस–एमाले भने सरकारको नेतृत्व जुनसुकै तवरले पनि माओवादी कब्जाबाट मुक्त पारर आ–आफ्नै पोल्टामा पार्ने दाउपेचको राजनीतिमा जुटेका छन् । एकीकृत माओवादीले आफ्नो लोकप्रियता जमाउन अग्रगमनको नारा र जाति, क्षेत्र, वर्ग, लिङ्गका सवाल उठाउने कार्य पुनः प्रारम्भ गरिसकेको छ । कांग्रेस एमाले भने कामचलाउ सरकारको हैसियतलाई मुद्दा बनाएर माओवादी लोकप्रियता माथि घुमाउरो ढङ्गले धावा बोलिरहेका छन् । यिनै चलखेलका बीच नेपाली राजनीतिले पुनः आकार लिँदै गरेको आभाष भएको छ । यद्यपि, प्रमुख राजनीतिक दलहरुको विगतदेखि आजसम्मको व्यवहारमा नआएको परिवर्तन भन्नु उनीहरु देश र जनताका आवश्यकतालाई कहिल्यै प्राथमिकता दिँदैनन् तर सदैव सत्ता प्राप्तिका लागि भने ज्यानै दिन पछि पर्दैनन् ।
आगामी निर्वाचन एक मात्र विकल्प हो, जसले पुनः जनमत मार्पmत संविधान निर्माण कार्यलाई पूर्ण गर्ने हैसियत राख्ने छ । त्यसका लागि एकीकृत माओवादीको प्रस्ताव र हाँक दुवैलाई यस अवस्थामा ‘बोल्ड डिसिजन’ का रुपमा स्वागत गर्नैपर्दछ । त्यस्तै, नेकपा एमाले र विभिन्न जातीय संघीयताका पक्षधर संगठनहरु समेत आगामी निर्वाचनको कार्यदिशा तर्पm आकर्षित देखिएका छन् । मुलुक धेरै दिन अनिर्णयको बन्दी बनिरहन सक्दैन । यतिबेलाको रिक्ततालाई छिटो भन्दा छिटो निकास दिने जनपक्षीय माध्यम निर्वाचन हो । मंसिर ७ गते तोकिएको निर्वाचनका लागि मुलुकले नै तयारी थाल्नुको विकल्प छैन ।

लगातारको बन्द, हड्तालले पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त हुँदै – मुख्य समाचार

कमन देवान
दमक, १२ जेठ/विभिन्न जातीय राजनीतिक संगठनहरुले जातीय पहिचानसहितको स्वायत्त राज्य लगायत विभिन्न माग राख्दै आन्दोलन जारी राखेकाले पूर्वको जनजीवन थप अस्तव्यस्त बन्दै गएको छ ।
लगातारको बन्दले गर्दा दैनिक उपभोग्य बस्तुको बजार भाउ आकासिएको छ भने लामा तथा छोटा दूरीमा चल्ने सवारी साधन ठप्प छन् । कतै स्वायत्तताको माग, कतै स्वायत्त राज्यको राजधानी बनाउनुपर्ने माग त कतै प्रदेश विभाजनका नाउँमा जिल्ला टुक्राउन पाइन्दैन भन्ने जस्ता मागले पूर्वाञ्चल ठप्प प्रायः बन्दै गएको छ ।
संखुवासभा जिल्लालाई दुई प्रदेशमा टुक्राउन पाइन्दैन भन्ने मागसहित एक सातायता आन्दोलन जारी छ भने धनकुटा र विराटनगरमा प्रादेशिक राजधानीका लागि दबाव दिने आन्दोलन चर्किदा समस्या थपिएको छ । केही दिनयता भोजपुरमा समेत आन्दोलनको रन्को छुटेको छ ।
लगातारको बन्दले पूर्वाञ्चलका उद्योग, व्यापार र बजार ठप्प बनेका छन् । बन्दका कारण पूर्वाञ्चलमा उद्योग तर्फ दैनिक ७ करोडको हाराहारीमा घाटा भइरहेको छ भने व्यवसाय झनै संकटमा परेको पूर्वाञ्चल उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द बस्नेत बताउँछन् । उपाध्यक्ष बस्नेत भन्छन् –‘एक दिनको बन्दले मात्रै पूर्वाञ्चलमा उद्योग र व्यवसाय तर्फ गरी ९ करोड रुपैयाँको हाराहारमिा नोक्सानी हुन्छ भने यतिबेलाको अवस्थालाई कसरी मूल्याङ्कन गर्ने’ उनले थपे ‘लोडसेडिङ्गले त हैरानी पारेकै थियो अहिले बन्द समेत थपिँदा हामी उद्योगी र व्यवसायी थप मारमा परेका छौं ।’
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार जेठ १ गते विभिन्न आन्दोलनका नाउँमा निरन्तर भएका बन्द हड्तालले यातायातका साधन चलेका छैनन् । कन्काई यातायात व्यवसायी संघका सदस्य सचिव गंगाप्रसाद सिटौलाका अनुसार लगातारको बन्दले यातायात व्यवसाय धरासायी बन्दै गएको छ । उनी भन्छन् –‘सरकारले भरपर्दो सुरक्षा व्यवस्था लागू नगरेसम्म यातायात सुचारु गर्न सकिने अवस्था छैन ।’
 आकस्मिक सेवाका सवारीहरु एम्बुलेन्स, प्रेस सम्बद्ध सवारी साधन, दूध बोक्ने गाडी, दमकल, विद्यालय र कलेज बसहरुलाई निर्वाध सञ्चालनमा छुट दिइएको भनिए पनि बन्दकर्ताहरुले अकलझुकल यस्ता प्रकृतिका सवारी साधनहरुमा समेत रोक लगाउने, आक्रमण गर्ने र क्षति पु¥याउने प्रयास जारी राखेकाले समस्या थप जटिलता तर्फ उन्मुख भएको छ ।
बन्दकर्ताले प्रेसमाथि गरेको आक्रमणले असुरक्षा बढेको भन्दै सो को विरोधमा झापा जिल्लाबाट प्रकाशित हुँदै आएका ७ ओटा दैनिक अखबार र एक दर्जन बढी साप्ताहिक पत्रपत्रिका जेठ १० र ११ गतेका लागि बन्द नै गरिए । झापाका अग्रज पत्रकार तथा पूर्व सन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहालले भने –‘विगतको  द्वन्द्वकाल, संकटकाल र १९ दिने जनआन्दोलनका बेला समेत यति असुरक्षित महसुस भएको थिएन ।
आन्दोलनकारीका मागलाई वार्ताका माध्यमबाट सरकारले समेत सुनुवाई गरेको अवस्था छ, तर पनि पूर्वाञ्चलमा कुनै न कुनै समूहका नाउँमा बन्द र हड्तालको स्थिति भने यथावत छ । बन्द–हड्तालकै कारण  विद्यालयहरुको समेत हालत उस्तै छ । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष टीका पूरीका अनुसार पूर्वका अधिकांश तराई क्षेत्रका निजी तथा आवासीय विद्यालयहरुमा पठन–पाठन हुन सकिरहेको छैन भने पहाडी जिल्लाका सदरमुकाम र बजार क्षेत्रका विद्यालय लगातारको बन्द–हड्तालका कारण समस्याग्रस्त
बन्दै गएका छन् । उपाध्यक्ष पूरीले भने –‘शान्ति क्षेत्रको नारा, नारा मात्र बनिरहँदा विद्यार्थीहरुको भविष्य अन्योल तिर धकेलिँदै छ । कहिले बन्द भनिन्छ त कहिले खुल्ला, अभिभावक समेत हैरान छन् ।’