जननायकप्रति श्रद्धाञ्जलि – असरल्ल

कमन देवान
आज जननायक बीपी कोइरालाको ३० औँ स्मृति दिवस । मलाई थाहाँ छैन, बीपी कोइरालाले जन्माएको पार्टी नेपाली कांग्रेस बीपीबाट प्रतिपादित राजनीतिक–वैचारिक चिन्तक र सिद्धान्तमा निष्ठा राख्छ वा यो निष्ठाको उचाईबाट कांग्रेस सिसिफसको ढुङ्गो झैँ लडिमात्र रहेको छ । प्रसङ्गवस असरल्ल बसाईमा प्रजातान्त्रिक समाजवादको विषय सुस्ताएको यो बखत व्यस्ततालाई धकेल्ने प्रयासमा छु, दुईचार अक्षर फुराउन ।
उसो त अचानक ‘फेरि सुन्दरीजल’ नामक पुस्तकमा बीपीले समेटेका विचारहरु (जो जेल डायरीको संकलित रुप हो ) मा नचाहेरै पनि मन डुलेको छ । यसअघि दुईपटक सरसर्ती पढिसकेकाले बोझलाग्दो राजनीतिक कुराकानी र मनोवादात्मक उनका शब्दहरु उपर उस्तो ध्यान दिएकै होइन । यद्यपी, यतिबेला देशमा जुन असहमति र राजनीतिक निषेधको गम्भीर संकटकाल जारी छ, अनि लाग्यो २०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलापका लागि चालेको कदम बारे सामान्य चिन्तन गर्नै पर्ला । महान् वैज्ञानिक ग्यालिलियोले भनेका छन्– ‘संसारमा सबैभन्दा गाह्रो बिषय सोच्नु हो ।’ मलाई त्यही भाईले गाँजेको छ । देश हाँक्ने जिम्मा लिएका बडेमानका बृद्धि भएका नेतागणले त सोच्न नसकेको र मेसो खुट्याउन नसकेको विषयमा मेरो मथिङ्कल दुख्नुको कुनै तुक छैन ।
समग्र अर्थ कति प्रधान विषय हो, आजको राजनीति यस दिशातिर लम्कन सकेको छैन कि ! भन्ने लाग्छ । त्यसैले २००७ सालको क्रान्तिपछि मुलुकले प्राप्त गरेको प्रजातन्त्र र नेपाली जनताले प्राप्त गरेका अधिकारहरु पूर्णतः संस्थागत हुन सकेका अवस्था छैनन् । यस्तो लाग्छ, देशमा राजनीति, प्रशासन, ऐन, कानुन सबै महत्वपूर्ण अङ्गहरु बेलगाम दौडिएका छन् । देश, राष्ट्र जनता, राष्ट्रियता, समृद्धि विकास जस्ता बिषय ज–जसले भाषणमा जति ओकले पनि फरक पर्दैन । सम्भवतः २०३३ साल पुष १६ गते निर्वासित राजनीतिक जीवन अन्त्य गर्दै राष्ट्रिय मेलमिलापको प्रस्ताव लिएर देश  फर्केका बीपी कोइरालाले उसबेला देखेको मुलुकको सङ्गिन खतराको अवस्था आज पनि टरिसकेको छैन । उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रहरुका बीचको नेपाल राष्ट्र र यसको  सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र समृद्धि भारत स्वतन्त्र भएको र नेपालमा प्रजातन्त्र प्राप्त भएकै दशकदेखि गम्भीर खतरनाक कुटनीतिका रुपमा छ ।
चीन र भारतको आन्तरिक इच्छा शक्तिमा आउने जुनसुकै परिवर्तनले पनि नेपालको बाह्य तथा आन्तरिक सुरक्षालाई असर गर्छ । बीपीले २०३३ सालमा भन्न र बुझाउन खोजेको त्यही उच्च कुटनीतिक यथार्थलाई तत्कालीन पञ्चायती शासनले यति गम्भीर मुद्दा बनायो कि, देश र जनतामा राष्ट्रता रक्षाको जागरण भर्न देश पसेका उनलाई त्यही विषयले सुन्दरी जलको जेल जीवनको उपहार दियो । बीपी उपर भएको धोकाले पनि इंगित गरेको एउटा गम्भीर षड्यन्त्र र पहिचान भएको कटु वास्तविकता भन्नु नेपालमा २४० वर्षसम्म शासकीय बागडोर समहालेर बसेको शाही शासकीय राजतन्त्र कदापी, नेपाली धरातलमा जनसर्वोच्चता स्थापित भएको छ त्यही सर्वोच्चताको जगबाट लोकतान्त्रिक राज्य व्यवस्था जन्मिएको देख्न चाहदैनथ्यो ।
सिङ्गो राष्ट्रको अभिभावकत्व पाएको संस्था नै जनताका इच्छा बिपरीतको शासन लाद्ने मानसिकताबाट ग्रसित रहनुले पनि करिब ४ दशक अ िमुलुक र जनताका लागि जननायक बीपीले देखाएको बाटो पहिल्याउन नसक्दाको परिणतिले नै त्यस यताका थुप्रै राजनीतिक उथलपुथल र हिंसा भए । अन्ततः जनताका आकांक्षा, शक्ति, सामथ्र्य र चाहनालाई लल्कार्ने निरंकुश राजतन्त्रको स्थान र इतिहासको पानामा सीमित भएको छ ।
आज पति निरंकुश र एकात्मक राजसंस्था र यसले कायम गरेका असंख्य विभेद्का अवशेषहरु कायमै रहेको अवस्था छ । अधिनायकत्व सहितको कथित राजकीय शासन कल्पना गरेर पुनः राजगद्धीमा बस्ने दिवास्वप्नहरु मोहमय बन्दै गरेका अवस्थ छन् । धर्म, जाति वा अरु विभिन्न प्रपञ्चबाट राजसंस्था ब्युँताउने प्रयास गरिन्छन् भने अब नेपाली परिवेश त्यसका विरुद्ध परिपक्व भई, मुकाबिला गर्न सक्ने अवस्थाबाट अघि बढेको छ । ढटवारेहरुलाई यसको राजनीतिक हेक्का रहनै पर्दछ । बीपीले देखाएको प्रजातान्त्रिक समाजवादलाई भज्याई खाने मनोरोगको स्थायी उपचार आजको आवश्यकता हो । लोकतान्त्रिक अधिकारको निर्वाद उपभोग गर्दै नेपाली राष्ट्रता मजबुद बनाउने दिशामा मुलुकका सबै दल र नागरिक लाग्न सके जननायक बीपी कोइरालालाई वास्तविक श्रद्धाञ्जलि मिल्ने छ ।

0 प्रतिकृया:

Post a Comment