हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

विद्युत चोरी नियन्त्रणमा सुरक्षाकर्मी - मुख्य समाचार

सशस्त्र र जनपथ परिचालित
पिपुल्स टाइम्स समाचार
दमक, चैत ८/पश्चिमी झापा तथा पूर्वी मोरङ्मा हुने बिद्युत चोरी नियन्त्रणका लागि आजबाट सुरक्षाकर्मी परिचालित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण दमक बितरण केन्द्रसँगको समन्वयमा विद्युत चोरी नियन्त्रणका लागि सशस्त्र तथा जनपथ प्रहरी परिचालित भएका हुन् । बितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालले चोरी नियन्त्रणका लागि पुगेका प्राधिकरणका कर्मचारीहरु माथि नैं आक्रमणका घटना हुन थालेपछि सुरक्षाकर्मीसँगको समन्वयमा चुहावट नियन्त्रण अभियान चलाउन लागिएको बताए ।
सशस्त्र प्रहरी र जनपथ प्रहरीसँग यस बिषयमा समन्वय भइसकेको जनाईएको छ । सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति राजेन्द्र शाक्यले विद्युत चोरी नियन्त्रणका लागि सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १३ जना खटिने जानकारी दिए ।  सोसँगै ५ जना जनपथ प्रहरी तथा २० जना सम्म विद्युत प्राधिकरणका कर्मचारी खटिने विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत चोरी नियन्त्रणका लागि मंगलबार मोरङको पथरी–६ स्थित सुन्दरी चोकमा स्थानीयवासी र प्राधिकरणका कर्मचारी बीच विवाद भएको छ । विद्युत चोरी गरेर चलाई रहेको अवस्थामा १४ ओटा पानी तान्ने मोटर जफत गरिए पनि विवादका कारण ६ ओटा मात्र वितरण केन्द्रमा ल्याउन सकिएको टोलीमा खटिएका प्राधिकरणका कर्मचारी बुद्धिमान धिमालले बताए ।
आर्थिक वर्ष २०६६÷६७ मा ४२ प्रतिशत भन्दा बढी विद्युत चुहावट रहेको दमक बितरण केन्द्र मातहतमा हाल करिब २४ प्रतिशत चुहावट रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६६÷६७ मा ४२ दशमलब शुन्य ९ प्रतिशत बिद्युत चुहावट हुने गरेको थियो भने २०६७÷६८ मा ३५ दशमल २२ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा बितरण केन्द्र मातहतमा २३ दशमलब ८८ प्रतिशत चुहावट हुने गरेको कार्यालय प्रमुख जैसवालले बताए ।
विद्युत महसुल नतिर्ने र चुहावट नियन्त्रणका लागि कार्यालयले यस वर्ष बिशेष टोली परिचालन गरेको छ । हाल कार्यालयले विद्युत चोरीमा प्रयोग भएको जनाउँदै पानी तान्ने मोटर करिब २ सय
थान नियन्त्रणमा लिएको छ । यस्तै महसुल नतिर्ने ६ सय १५ विद्युत लाईन काटिएको कार्यालयले जनाएको छ । ति मध्ये ४ सय ५३ लाईन पुन ः जोडे बापत कार्यलयले १ करोड २७ लाख १२ हजार रुपैयाँ महसुल तथा जरिवाना संकलन गरेको छ ।
यस्तै लामो समयसम्म विद्युत महसुल नबुझाउने सरकारी कार्यालयहरुको समेत प्राधिकरणले लाइन काटेको छ । कार्यालय प्रमुख जैसवालका अनुसार लाईन काटिएका मध्ये धेरैजसो सरकारी कार्यालयहरुले भने प्रकृया पूरा गरेर पुन ः लाइन जोडिसकेका छन् । दमक बितरण केन्द्रले कन्काई पश्चिमका दमक नगरपालिका सहित १५ गाविस तथा मोरङको उर्लाबारी सहित ८ गाविसमा बिद्युत सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालयको कार्यक्षेत्र भित्रका स्वास्थ्य सेवा प्रदायक निकायहरुले मात्रै करिब १० लाख रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेको जैसवालले बताए ।
विद्युत चोरी गरेर बाल्नेका कारण नियमित महसुल बुझाउने ग्राहकहरु समस्यामा परेको कर्मचारीहरुले बताएका छन् । प्राधिकरण दमक कार्यालयका लेखा फाँटका कर्मचारी केन्द्र प्रसाईँले चोरी नियन्त्रणका लागि प्राधिकरण अन्तर्गतका सबै कर्मचारी संगठनहरु समेत क्रियाशील रहेको बताएका छन् ।

उपस्वास्थ्य चौकीमा समस्या - उपमुख्य समाचार

दमकस्थित उप–स्वास्थ्य चौकीको विद्युत लाईन काटिएपछि अत्यावश्यकीय खोप सेवा बन्द हुने अवस्थामा पुगेको छ ।
उप–स्वास्थ्य चौकीले विद्युत महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गत साउनमा चौकीको विद्युत लाइन काटेको हो । सो पछि अनिवार्य ‘माईनस डिग्री’ तापक्रममा भण्डारण गर्नुपर्ने खोप तथा भ्याक्सिन सेवा प्रदान गर्न समस्या भएको उप–स्वास्थ्य चौकीले जनाएको छ ।
दमकस्थित आम्दा अस्पतालसँगै रहेको उप–स्वास्थ्य चौकीले हाल सोहि अस्पतालसँग समन्वय गरेर खोप तथा भ्याक्सिन सेवा उपलब्ध गराउँदै आएको ईन्चार्ज दुर्गादत्त गुरुङले बताए । उनले भने– ‘पोलियो, बीसीजी लगायतका केहि खोपहरु माईनस डिग्री तापक्रममा राख्नुपर्छ, बिजुली काटिए पछि ति खोपहरु भण्डारणमा समस्या भएको छ ।’ महशुल भुक्तानीका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा भनिसकिएको उनले बताए ।
बिद्युत प्राधिकरण दमक बितरण केन्द्रले भने उप–स्वास्थ्य चौकीले ३ लाख ४८ हजार रुपैयाँ बिद्युत महशुल भुक्तानी गर्न बाँकी रहेकाले लाईन काटिएको जनाएको छ । अन्य निकायको लाइन काट्ने क्रमसँग उप–स्वास्थ्य चौकीको पनि लाईन काटिएको प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख जैसवालले बताए ।

‘जनमतसंग्रहमा जाऔँ’

बिराटनगर, चैत ८/ एमालेका नेता केपी शर्मा ओलीले सङघीयता सम्बन्धी विवाद समाधान गर्न जनमतसंग्रहमा जानुपर्ने बताएका छन् ।
“ओलीले सङ्घीयता कायम गर्ने 
सम्बन्धमा व्यापक समर्थन र विरोध 
भएकाले जनमतसंग्रह नै उत्तम 
विकल्प रहेको तर्क दिए । ”

एमाले अञ्चल समन्वय कमिटी कोसीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले सङ्घीयता कायम गर्ने सम्बन्धमा व्यापक समर्थन र विरोध भएकाले जनमतसंग्रह नै उत्तम विकल्प रहेको तर्क दिए ।
आफू व्यक्तिगत रुपमा सङ्घीयताको विपक्षमा नरहेको उल्लेख गर्दै सङ्घीयताले राष्ट्रिय एकता र अखण्डतामा असर पर्छ र हिंसात्मक गतिविधि उत्पन्न हुन्छ भने त्यसको समाधान जनमतसंग्रह नै हुने बताए ।
नेता ओलीले शान्ति प्रकृया तथा संविधान निर्माण कार्य समयमा पूरा नगरे वर्तमान सरकार परिवर्तन हुने बताए । वर्तमान सरकारको नेतृत्व गरेर माओवादी पार्टी आन्तरिक द्वन्द्वले कमजोर भएको र सरकार चलाउन पनि सक्ने अवस्थामा नरहेको उनको भनाई थियो ।

भेनसहित काठ पक्राउ

उर्लाबारी, चैत ८/मोरङको पथरीबाट सोमबार राति ८ बजे इलाका वन कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त गस्ती टोलीले गोप्य सूचनाको आधारमा १ सय ६ वटा तयारी चौकटसहित ६६.९६ किबी काठ पक्राउ गरेको छ ।

दमकबाट पथरीतर्फ गइरहेको सो काठसहित को १ च ४१२० नम्बरको  पिकअफ भेनलाई पक्राउ गरिएको इलाका वन कार्यालय उर्लाबारीका प्रमुख यज्ञबहादुर थापाले बताए । भेनका चालक इटहरी–५ का दीपक बस्नेतलाई पनि नियन्त्रणमा दिएको वन कार्यालयले जनाएको छ । सो काठ कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागेको हो भन्ने खुल्न सकेको छैन् । गाडी, चालक र काठ वन कार्यालयको नियन्त्रणमा राखिएको र थप अनुसन्धान गरी कारवार्ही प्रक्रिया बढाइने बताइएको छ । पछिल्लो समयमा तस्करहरुले नयाँ नयाँ तरिका प्रयोग गरी  काठ तस्करी गर्ने गरेका छन् ।

सुकुम्बासी लगत फारम भर्नेको भीड

दमक, चैत ८/सुकुम्बासी समस्या समाधान आयोग झापाले खुलाएको सुकुम्बासी फारम भर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोगले एक महिने म्याद राखेर गएको फागुन १० गतेबाट खुलाएको फारम म्याद सकिन केही दिन बाँकी रहँदा सुकुम्बासी समुदायले फारम भने कार्यमा  तीव्रता आएको छ ।
आयोगका अध्यक्ष कुबेर श्रेष्ठले वास्ताविक सुकुम्बासी पहिचान गर्न खुलाइएको फारम भर्ने कार्यमा उल्लेख्य सहभागिता रहेको जानकारी दिए । आयोगले जिल्लाको ३ नगरपालिका र ४७ ओटा गाविसहरुबाट करिब ३० हजार सुकुम्बासीहरुको लगत संकलन गरिने लक्ष्य लिएको छ ।
यसैबीच मंगलबार झापाको दमक
नगरपालिका कार्यालय परिसरमा समेत लगत फारम भर्ने सुकुम्बारीहरुको भीड लागेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आगामी १० गतेसम्ममा दमक भरका ३ हजार सुकुम्बासी घरपरिवारको लगत विवरण संकलन हुने अनुमान गरिएको बताए । हाल विभिन्न वडाका लागि अलग–अलग टोली मार्फत फारम संकलन भइरहेको खतिवडाको भनाई छ ।

नाबालकसहित तीनको हत्या

भोजपुर, चैत ८/भोजपुरको खार्तम्छा गाविस–१ चाम्लादाङमा एउटै घरमा सोमबार राति तीन जनाको हत्या भएको छ । बिहान अबेरसम्म घर सुनसान भएपछि सोधखोज गर्दा तीन जना मृत अवस्थामा भेटिएको छिमेकीले जनाएका छन् ।
भोजपुर सदरमुकामदेखि १२ कोस उत्तर खार्तम्छा गाबिस–१ चाम्लादाङका पेमदोर्जी शेर्पाको घरमा उनकी श्रीमती सहित दुई जना नाबालकको हत्या भएको स्थानीयबासी पर्शुराम राईले बताए । घटनामा शेर्पाको अढाई वर्षीय काखेबालक देञ्जी शेर्पा, ३० वर्षीय श्रीमती पासाङहेल्मो शेर्पा र छिमेकी ९ वर्षीय आङछिरिङ शेर्पाको हत्या भएको छ ।
मृतक शेर्पाले लगाएको कानको कुन्डल लगायत सुनको गरगहना र पैसा लुटिएको छ । घरमा लत्ता कपडाहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको समेत बताइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक युवनारायण बैद्यले बताए ।  

एसएलसी परीक्षा सुरु

२ परीक्षार्थी सुत्केरी
दमक, चैत ८/मंगलबारदेखि मुलुक भर सुरु २०६८ सालको प्रेविशिका (एसएलसी) परीक्षा झापामा शान्तिपूर्ण तवरले सुरु भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
जिल्लाका ४८ केन्द्रहरुमा परीक्षाको पहिलो दिन सोमबार कुनै अप्रिय घटना नभएको जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव लक्ष्मी तिम्सिनाले जानकारी दिए । उप–सचिव तिम्सिनाले दिएको जानकारी अनुसार परीक्षाको पहिलो दिन जिल्ला भरका सबै परीक्षा केन्द्रहरुमा जिशिकाले अनुगमन गर्ने भनी तय गरिएको कार्यक्रम अनुसार सोमबार झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्रोत व्यक्तिहरु र विद्यालय निरीक्षकहरुको अगुवाईमा जिल्लाभरका सबै केन्द्रहरुमा निरीक्षण गरिएको छ ।
झापाका प्रजिअ नरेन्द्रराज शर्मा नेतृत्वको टोलीले परीक्षा सञ्चालन भइरहेको चन्द्रगढी र भद्रपुर केन्द्रको अनुगमन गरे । त्यस्तै झापाका स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौला नेतृत्वको टोलीले शनिश्चरे र बुधबारे केन्द्र, जिशिअ लक्ष्मी भट्टराई नेतृत्वको टोलीले गौरादह, गौरीगञ्ज,  जुरोपानी, कोहबरा र लखनपुर केन्द्रको अनुगमन गरेका हुन् भने दमक क्षेत्रका केन्द्रहरुमा भने जिशिकाका विद्यालय निरीक्षकहरुले अनुगमन गरेका बताइएको छ ।
त्यस्तै एसएलसी परीक्षाको पहिलो दिन मंगलबार रुकुममा दुई परीक्षार्थीले परीक्षा हलमै बच्चा जन्माएका छन् । रुकुमको तकसेरा परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिइरहेकी रेखा घर्ती र रुकुमकै प्वाङस्थित नायगाड परीक्षा केन्द्रमा कविता बिकले परीक्षा हलमै छोरा जन्माएका हुन् । परीक्षा सुरु भएको एक घण्टामै रेखाले छोरा र विकले छोरी जन्माएका हुन् । परीक्षा हलमा जन्मिएको रेखाको छोराको नाम प्रवेश राखिएको छ भने सविताकी छोरीको नाम प्रवेशिका राखिएको छ । उनीहरु दुवैलाई परीक्षा पूरा गर्न एक घण्टा थप समय दिइएको बताइएको छ ।

आगलागीका कारण ४५ घरमा क्षति

मोरङ, चैत ८/मोरङको डाइनियामा मंगलबार भएको आगलागीमा ४५ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । आगलागिबाट ४० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दक्षिण मोरङको सीमावर्ती गाविस डाइनिया–२ स्थित सिक्टीका बुनेदर मियाँको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मियाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिदा ३० घर जलेका थिए । त्यस्तै अगलागी नियन्त्रणका अन्य १५ घर प्रहरी र स्थानीयले भत्काएका थिए ।
विराटनगरबाट गएको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली र गाउँलेको प्रयासमा मध्यान्नबाट सुरु भएको आगलागी करिब २ घण्टामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी मयागञ्ज वेस क्याम्प मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान पशुपति चौधरी घाइते भएका छन् भने अन्य मानवीय क्षति नभएको जनाइएको छ ।

ठगी गर्ने प्रहरीको फन्दामा

उर्लाबारी, चैत ८/नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाउँदै ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा झापा, शिवगञ्ज–९ का ५२ वर्षीय उत्तम भन्ने छबिलाल ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
ढकालले २०६७ असोजमा मोरङ, राजघाट–८ छिन्ताङे टोलका सुमन लिम्बूसँग सो रकम लिएका बताइएको छ । लिम्बूले राजघाट–७ भोटेपुलकी ३० बर्षीया मैयाँ श्रेष्ठ मार्फत् ढकाललाई रकम दिएको बताए । ‘जागिर पक्का हुन्छ भनेपछि सयकडा दुई रुपैयाँमा ऋण काढेर पैसा दिएँ’ लिम्बूले भने ।  उनले २०६७ असोज २ र ३ गते ५० हजार रुपैयाँ दाहाललाई दिएको बताएका छन् । लिम्बुले भने । ‘सेनामा नाम निस्केको छ, जा गएर हेर’ भनेपछि आफू झापाको चारआलीस्थित सैनिक ब्यारेकमा सूचना हेर्न गएको तर नाम ननिस्केपछि त्यतिकै घर फर्किएको उनले बताए ।
सेनामा जागिर नपाएपछि ढकाल र श्रेष्ठसँग पटक–पटक पैसा फिर्ता माग गरेको तर नदिएपछि  सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उनीहरुविरुद्ध ठगी गरेको आरोपमा उजुरी दिएको लिम्बूले बताए । उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गर्दा आरोपित  मध्ये ढकालले सेनामा जागिर लगाइदिने प्रलोभन देखाउँदै तेह्रथुम, खाम्लालुङका सुरेश लिम्बुबाट समेत ५०  हजार रुपैयाँ ठगी गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

रोजगार व्यवसायी संगठित

दमक, चैत ८/ दमक क्षेत्रका बैदेशिक रोजगार व्यवसायीहरु संगठित भएका छन् ।
पेशागत हकहितका लागि भन्दै चन्द्रबिर नेम्वाङको नेतृत्व सात सदस्यीय बैदेशिक रोजगार व्यवसायी संघ गठन गरेका हुन् । मंगलबार स्थानीय बैदेशिक रोजगार व्यवसायीहरुको भेलाले गठित सो संघका उपाध्यक्षमा राजेश खड्का, सचिवमा यु.के. न्यौपाने र कोषाध्यक्षमा प्रेम श्रेष्ठ रहेका छन् ।
संघका सदस्यहरुमा खेम कार्की, एकराज शेर्मा र हेमन्त दर्लामी रहेका छन् । संघले स्थानीय क्षेत्रमा रहेकारोजगार व्यवसायीहरुलाई मर्यादित बनाउन पहल गरिने अध्यक्ष नेम्वाङ बताउँछन् । दमक क्षेत्रमा २ दर्जन बढी रोजगारी व्यवसायीहरुले काम गरिआएका छन् ।