हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

कहिले सम्म भत्कने ? – सम्पादकीय

नेपाल सरहद भर राजमार्ग, सहायक राजमार्ग, विभिन्न स्तरका सडकहरु, फुटपाथ र सडक किनाराका नाला समेत अतिक्रमण गरेर भौतिक निर्माण कार्य गर्ने, पसल फिजाँउने र अन्य विभिन्न कारणले अतिक्रमण गर्ने कार्य दिनप्रतिदिन बढ्दै गएको छ । मूलतः दश वर्षे द्वन्द्वका समयमा सुरक्षा संवेदनसिलतालाई ध्यानमा राखेर राजमार्गहरुमा सुरक्षा–चेकजाँचका लागि सेना र प्रहरीले विभिन्न स्थानहरुमा ढाट राखेको थियो । तर, लोकतन्त्र प्राप्तिपछिका दिनमा भने राज्यले राजमार्गका कुनै पनि खण्डमा ढाट राख्न नपाइने व्यवस्था लागू गरिसकेको छ । राजमार्गमा यातायात आवगमन सहज पार्न र अप्रत्यासित किसिमले बढ्दै गएका चक्काजाम लगायतका घटनालाई निरुत्साहित पार्न राजमार्ग विशेष छुट्टै ऐन समेत बनेको छ । त्यस्तै, सडक र बाटोघाटो सार्वजनिक सम्पत्ति हुन् । सबैका लागि र सधैंका लागि साझा र निर्वाद हिँडडुलका लागि खुल्ला रहनु पर्दछ सडक भन्ने आममान्यता त छँदैछ, सँगै सडक लगायत सबै सार्वजनिक भौतिक सम्पत्तिहरुको रक्षा गर्ने दायित्व पनि सबैको हुने भनिएको छ । तर अपवाद बाहेक व्यवहारमा यस्तो भएको देखिँदैन । तथापि स्थिति हेर्दा भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ कै अवस्था छ भन्दा फरक पर्दैन । राजधानीकै कुरा गर्ने हो भने पनि फुटपाथ पसले र फुटपाथमा मोटरर्साकल चलाउनेहरु माथि उपत्यका ट्राफिक प्रहरीले केही महिना अघि कडाईका साथ कार्बाही समेत थालेको थियो । तर राजनिितक र अन्य विभिन्न कारणले सो अभियान लामो समय अघि जान सकेन ।
वर्तमान अवस्थामा पनि स्थिति उस्तै छ । बढ्दो शहर–बजारका सडक दिनानुदिन साँघुरिदै गएका छन् भने सवारी साधनको चाप थेगिनसक्नु छ । राजमार्गले चर्चेको जमिनमा सडक बन्नु र यातायात गुड्नु पर्ने हो, तर त्यसो हुन सकेको छैन । कालोपत्रे सडक बाहेकका ठाउँमा अनाधिकृत ढङ्गले पसल र व्यवसाय सञ्चालन भएका छन् भने सडकमै घर तथा अन्य निर्माण सामग्री थन्क्याउने देखि विभन्न प्रयोजनका लागि सडक खन्ने जस्ता गतिविधि तीव्र बन्दै जाँदा सवारी दूर्घटनाको जोखिम त बढेकै छ सँगै लाखौं रकम खर्चिएर निर्माण गरिएका सडक पूर्वाधार भत्किएका छन्, क्षतविक्षत बनेका छन् । तर, यस्ता क्रियाकलापहरु दिनप्रतिदिन बढिरहँदा समेत राज्य र मातहतका निकायहरु भने देखे–नदेखे झैं गरिरहेका छन् । सडक बनाउन पेट काटेर लगानी गर्ने उपभोक्ताहरुको लगानी माथि विभिन्न बहानामा यसरी नै ताण्डव्य मच्चिरहने हो भने थुप्रै स्थानहरुमा सडक बनाउने उपभोक्ता र सडक भत्काउने पक्षबीच झडपको स्थिति सृजना हुन सक्ने खतरा टाढा देखिँदैन ।
झापाको दमकमा हालसालै मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले दमकस्थित दमक–बेलडाँगी सडक खण्डको करिव १ किलोमिटर कालोपत्रे सडक धमाधम खन्ने र भत्काउने काम गरिरहेको छ तर भत्काएको संरचना पुनर्निमाण गर्ने कुनै गुञ्जायस देखिँदैन । उपभोक्ताले लाखौं रकम संकलन गरेर नगरपालिकासँगको साझेदारीमा निर्माण गरेको सडकमा जथाभावी किसिमले खन्ने र भत्काउने कार्यले यातायात आवगमनमा समस्या उत्पन्न भए सँगै भौतिक संरचना ढुट्टिएको छ । केही दिन यता यो गतिविधि दमक क्षेत्रका लागि रमिता मात्रै बन्दै गएको छ । शहर र सडकसँग सरोकार राख्ने केही उपभोक्ता र स्थानयिले यस गतिविधिका विरुद्ध बोल्ने प्रयत्न त गरे तर राज्य मातहतका निकायहरुले यसलाई बेवास्था गरेका कारण समस्याको निकास भने प्राप्त भइसकेको देखिँदैन । प्रमुख दलका नगरस्थित प्रतिनिधिहरुले आफूहरुसँगको परामर्श बिनै सडक संरचना भत्काइएको प्रति विरोध जनाएका छन् । तर, साँच्चै सडकलाई माया नै गर्ने र लाखौं रुपैयाँ खर्चेको संरचना जोगाउने हो भने अब कुनामा बसेर विरोध मात्रै गर्ने वा काम रोकन निर्देशन दिने तर काम रोकिएको छ÷छैन सो बारे अनुगमन नगर्ने हो भने त्यो जिम्मेवारी प्रतिको उच्चतम लापर्वाही बाहेक अरु हुने छैन ? जनतालाई विकास, सेवा, सुविधा र आधुनिकता चाहिएको छ । तर सुविधा वा विकासकै नाममा भइरहेका लादौं मूल्यका पूर्वाधार नष्ट गरिनु किमार्थ सही होइन । तसर्थ, यस्ता विभिन्न बहानामा विना उचित विकल्प सडक वा जुनसुकै भौतिक संरचना भत्कने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिन्छ ।

प्रवेशिका परीक्षाको तयारी धमाधम – मुख्य समाचार

                                           झापामा ४८ केन्द्राध्यक्ष नियुक्त
विष्णु पौडेल
भद्रपुर, चैत्र ५/ दुईदिनपछि (चैत्र ७ गतेदेखि) सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) को तयारी धमाधम भइरहेको छ । जिल्ला शिक्षा कार्यालय झापाले जिल्लामा यस वर्ष तय भएका ४८ वटै केन्द्रहरुमा आवश्यक पर्ने केन्द्राध्यक्षहरुको नियुक्ति गरिसकेको जनाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको एसएलसी परीक्षा समन्वय समितिको बैठकले केन्द्राध्यक्षहरु नियुक्त गरेको शिक्षा कार्यालयका उपसचिव लक्ष्मीप्रसाद तिम्सिनाले जानकारी दिए । केन्द्राध्यक्षहरुका लागि आज जिल्ला विकास समितिको सभाकक्षमा परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने सम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन हुने बताइएको छ ।
गत वर्ष ४७ वटा परीक्षा केन्द्र रहेकोमा यो वर्ष एउटा केन्द्र बढाइएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । ति केन्द्रहरुमा जिल्लाका एक सय ओटा सामुदायिक, १ सय ३५ ओटा संस्थागत, ८ ओटा भुटानी शरणार्थी शिविर र २ ओटा खुल्ला विद्यालयका गरी १३ हजार ९ सय ६५ नियमित तथा एक्जाम्टेड तर्फ २ हजार २ सय ७५ जना विद्यार्थीले परीक्षा दिने जनाइएको छ ।
झापाका देवी मावि अनारमनी र हिमालय उच्चमावि दमकको खुल्ला विद्यालयका विद्यार्थीहरु पनि प्रवेशिकामा सहभागी हुनेछन् । यसै वर्षबाट ‘प्राईभेट’ परीक्षाको व्यवस्था हटाईएको तिम्सिनाले जानकारी दिए । गत वर्ष एक्जाम्टेड परीक्षा दिएर अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि भने एउटा अलग्गै परीक्षा केन्द्र तोकिएको उनले बताए ।
जिल्ला शिक्षा कार्यालयले परीक्षाको तयारी द्रुत गतिमा भइरहेको जनाएको छ । परीक्षाका लागि आवश्यक सम्पूर्ण उत्तरपुस्तिकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकिएको र प्रश्नपत्र समेत जिल्ला प्रहरी कार्यालय मार्फत् सम्बन्धित परीक्षा केन्द्र अन्तर्गतका सुरक्षा इकाईमा पठाउने कर्य भइरहेको उपसचिव तिम्सिनाले जानकारी दिए ।
यसै बीच परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो चैत ७ देखि सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्लामा पु¥याइसकिएको जनाएको छ । परीक्षाका लागि आवश्यक सबै विषयको प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षाका लागि आवश्यक सबै सामग्री पु¥याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । यसवर्ष परीक्षा दिने पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थीका लागि आवश्यक सबै विषयको कूल ९६ लाख एकसय थान प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेको थियो ।

होम सेन्टर नपाइने – उपमुख्य समाचार

होम सेन्टर नपाइने
परीक्षा प्रणालीलाई मर्यादित र ब्यवस्थित पार्ने प्रयास स्वरुप यस वर्षबाट झापामा परीक्षा केन्द्र रहेका विद्यालयहरुमा सो विद्यालयका परीक्षार्थीहरु सहभागी हुन नपाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
केहि जिल्लाहरुमा अघिल्ला वर्षहरुमा नैं प्रयोग गरिएको यो व्यवस्था ति जिल्लामा सफल भएपछि झापामा पनि यस वर्षबाट लागु गर्न लागिएको हो । जिल्ला शिक्षा कार्यालयका उपसचिव तिम्सिनाका अनुसार परीक्षा केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरुलाई नजिकैको अर्को परीक्षा केन्द्रमा पठाइने छ ।
यस व्यवस्थाले परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परीक्षामा चिट चोर्नहरुलाई केन्द्रको नीति अनुसार सशक्त कार्वाही गरिने तिम्सिनाले जानकारी दिए ।

निजीमा स्थायी छैनन्

निजी तथा आवाशीय विद्यालयहरुमा कार्यरत झापाका कोहि पनि शिक्षक केन्द्राध्यक्ष नरहने भएका छन् । शिक्षा नियमावली तथा परीक्षा सम्बन्धी निर्देशिका अनुसार केन्द्राध्यक्ष हुन निजी विद्यालयका शिक्षकहरुले पनि पाउने व्यवस्था छ । तर सो का लागि उनीहरु स्थायी शिक्षकको रुपमा कार्यरत रहेको हुनुपर्नेछ ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव तिम्सिनाका अनुसार जिल्लामा रहेका कुनै पनि निजी विद्यालयहरुले स्थायी शिक्षक राखेको नपाइएका कारण केन्द्राध्यक्षमा निजी विद्यालयका शिक्षक नियुक्त हुन नसकेका हुन् । तिम्सिनाले भने–‘केन्द्रध्यक्ष हुन निजी विद्यालयका मावि तथा उच्च मा.वि शिक्षकहरुलाई पनि अधिकार छ तर विद्यालयले उहाँहरुलाई स्थायी नियुक्ति दिएको हुनुपर्दछ ।’
झापामा रहेका निजी विद्यालयहरुमध्ये १ सय ३५ वटाले एसएलसी परीक्षामा सहभागिता जनाउँदैछन् । ति मध्ये कुनैपनि विद्यालयले मा.वि. तथा उच्च मा.वि. तहमा स्थायी शिक्षक राखेको अभिलेख नरहेको जनाइएको छ ।

वैद्यपक्षद्वारा सरकार ढाल्ने घोषणा

काठमाडौ, चैत्र ५/माओवादी उपाध्यक्ष मोहन वैद्यपक्षले शनिबार पार्टी नेतृत्व तथा सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । दुई महिनायता मत्थर जस्तो देखिएको माओवादी भित्रको विवाद फेरि चर्किएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन नगरेको भन्दै वैद्यपक्षले संघर्षको कार्यक्रम ल्याएको जनाएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत वैद्यपक्षीय नेता तथा पार्टी सचिव सीपी गजुरेलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । उनले सडक, सदन र पार्टी तीन वटै मोर्चाबाट सरकारलाई फिर्ता बोलाउन दवाब दिइने बताए । गजुरेलले वर्तमान सरकार राष्ट्र र जनविरोधी भएकोले सरकार ढाल्नुपर्ने नीति लिइएको जनाए ।
शान्ति प्रक्रिया टुंगिने लागेको बेला र संविधानसभाको म्याद छोटिन लागेको बेला वैद्यपक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री भट्टराईको राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको तयारी  गरिने गजुरेलले बताए । ‘सरकार ढाल्ने विषयमा अन्य दलहरुसंग छलफल भइरहेको छ’ गजुरलले भने ।
भारतसँग वर्तमान सरकारले गरेको कतिपय राष्ट्रघाती सम्झौताहरु खारेज गरिनुपर्ने वैद्यपक्षको माग छ । पार्टी फुटको निम्ती तयारी नगरिएको दावी गर्दै पत्रकार सम्मेलनमा गजुरेलले भने–‘हामी पार्टी फुटाउन चाहदैँनौ । क्रान्तिकारी पार्टी फुटाएर नेपालमा क्रान्ति सम्भव हुँदैन हामीलाई थाह छ ।’
संघर्ष घोषणा गरिए पनि संघर्षको कस्तो रुप हुने र कहिलेबाट सुरु हुने बारे प्रष्टायाइएको छैन । गजुरेलले विचार मिल्ने अन्य दलहरुसँग पनि छलफल भइरहेको र ति दलहरुसँगको सहकार्यमा आन्दोलनको कार्यक्रम अघि बढाइने बताए ।

‘प्रचण्ड पुत्र प्रकाश नयाँ पारस बन्न खोजे’

काठमाडौं, चैत्र ५/नेपालमा नयाँ पारसको उदय भएको भन्दै विद्यार्थी नेताहरूले माओवादी अध्यक्ष प्रचण्डको छोरा प्रकाशलाई पुराना पारस शाहको हालत बनाउने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी युवासंघ नेपाल र अनेरास्ववियुले प्रचण्ड पुत्रलाई नयाँ पारसको रुपमा उदय गराउने प्रयत्न भइरहेको दावी गर्दै नयाँ पारसलाई समाप्त पार्ने चेतावनी दिएका हुन् ।
अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले सरकारले राज्यको ढुकुटी मोजमस्तीका लागि प्रचण्ड पुत्रलाई दुई करोड रुपैयाँ दिने भनि गरेको निर्णय राष्ट्रघाती, भएको आरोप लगाउँदै सरकारको त्यस्ता जनघाती निर्णयलाई सडकबाट परास्त गर्ने चेतावनी दिए । उनले सो निर्णय २४ घण्टा भित्र फिर्ता नलिए सशक्त सडक संघर्ष गरेर सरकार ढाल्ने चेतावनी दिए ।
नेकपा एमाले दमक नगर कमिटीको शनिबार बसेको बैठकले समेत सो निर्णयको कडा बिरोध जनाएको बताइएको छ ।

दुवईमा मृत्यु

सतासीधाम, चैत्र ५/दुईवर्ष अघि वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्सको दुवई सहर पुगेका सतासीधामका एक युवाको मृत्यु भएको छ ।
सुरक्षा गार्डको काम गर्न गएका सतासधिाम–झिलझिलेका २३ वर्षीय सन्तोष तामाङ २४ दिन अघि कम्पनीमा नै मृत फेला परेका बताइएको  । उनको शनिबार सतासीधाम–९ मा अन्त्येष्टी गरिएको स्थानीय सरस्वता दाहालले जानकारी दिइन् ।

आत्मनिर्भरताको रोजाई : कृषि शिक्षा

गोपाल झापाली
लखनपुर, चैत्र ५/झापा धरमपुर–२ का भोलाप्रसाद दाहालको परम्परागत पेशा खेती–किसानी हो । श्रीमती तथा दुई छोरा सहितको उनको परिवार धान्ने मुख्य आधार यहि हो । पुस्तौंदेखि धान रोप्दै र मकै छर्दै आए पनि बल्ल उनलाई थाह भयो, जति मेहनत गरे पनि किन उत्पादन बढाउन सकिएन भनेर ।

उनी अहिले झापा लखपुर–८ को सरस्वती माविमा कृषि विषयको ‘टि एसएलसी’ पढ्दैछन् । महारानीझोडामा डेरा लिएर पढ्दै आएका उनलाई गत वर्ष आफ्ना खेतमा गरेका आलु खेतीको उत्पादन घट्नुको कारण पनि थाह भयो, बिउ–मलको मात्रा पुगेनछ भनेर ।
इलाम बरबोटेका मोहन अधिकारीकी दिदीले पनि यसै विद्यालयबाट ‘टि एसएलसी’ तहको अध्ययन गरिन् । बिषय फलदायी हुने ठानेर मोहन पनि यस वर्ष विद्यालय नजिकैको दिदीको घरमा बसेर आलु गोड्न र काँक्रालाई मल लगाउन सिकिरहेका छन् । इलामबाटै प्रवेशिका पास गरे पनि पुनः कृषि बिषयमा सोहिस्तरको अध्ययन गरिरहेका उनले भने– ‘भेटे त जागिर खाउँला भन्ने हो तर राम्ररी पढियो भने जागिर नै खानु पर्छ भन्ने छैन । खेती गरेर पनि राम्रै आम्दानी लिन सकिन्छ भन्ने लागेको छ ।’
मेची अञ्चलमा नै पहिलो पटक यस विद्यालयले गत वर्षबाट कृषि विषयमा ‘टि एसएलसी’ तहको अध्यापन शुरु गरेको हो । वर्षेनी ४० जनाको दरले पठन–पाठन हुँदै यस तहमा छात्र भन्दा छात्राको संख्या बढिरहेको छ । गत वर्ष समेत छात्राको संख्या बढी रहेकोमा यस वर्ष समेत १४ छात्र र २६ छात्राले अध्ययन गरिरहका शिक्षक एकराज प्याकुरेलले बताए । सैद्धान्तिक र व्यवहारिक रुपमा बराबर शिक्षा दिने गरिएकाले यस तर्फ विद्यार्थीहरुको आकर्षण बढेको उनको भनाइ छ ।
डेरा बसेर अध्ययन गर्दै गरेकी झापा बनियानीकी सुमित्रा भट्टराईले अध्ययनको ६ महिनामा नैं परम्परागत रुपमा र पढेर खेती गर्नुको अन्तर बुझिन् । पढेर जागिर नभेटे पनि परिवार र छिमेकमा भए पनि पढाईको शिक्षा उपयोग गर्न सकिने उनले बताइन् । कृषि पेशालाई व्यवसायीक बनाउन सके
आत्मनिर्भताका लागि अन्य बिकल्पहरु खोजी रहन नपर्ने उनलाई हिम्मत पलाएको छ । यस्तै अन्यत्र उच्च तहको अध्ययन गरेर पनि कृषि बिषयको अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । लखनपुर–४ का प्रेम पोखरेलले १२ कक्षासम्मको अध्ययन पूरा गरेका छन् । तर पनि उनी कृषि बिषयको प्रवेशिका तह अध्ययन गरिरहेका छन् । सैद्धान्तिक मात्र अध्ययन गरेका अन्य व्यक्तिहरु आफू भन्दा बढी पढेर पनि बेरोजगार हुनुपरेको देखेपछि उनी यस तर्फ तानिएका हुन् ।
विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि विद्यालय परिसरको साढे ५ बिगाह क्षेत्रफलमा बिभिन्न खेती गर्ने गरिएको छ । अहिले बिद्यार्थीहरुले शिक्षकहरुको निर्देशन अनुसार टमाटर, प्याज, काँक्रा, घिरौला लगायतका तरकारी खेती गरेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्को प्राविधिक सहयोगमा विद्यालयले यो तहको अध्ययन शुरु गरेको प्रधानाध्यापक दुर्गाप्रसाद सेडाईले बताए । लोकसेवा आयोगमा ‘जेटिए’ परीक्षा उत्तीर्ण गरेर सरकारी जागिर खान, बैदेशीक रोजगारीमा र आत्मनिर्भरताका लागि यो तह उपयुक्त रहेको उनले बताए । ‘टी एसएलसी’ तहको अध्ययनसँगै तरकारी तथा फलफूलको खेतीबाट विद्यालयलाई आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढलकबहादुर पन्तले बताए ।

चुम्लुङ झापाको नयाँ नेतृत्व

बिर्तामोड, चैत्र ५/ किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा पुनः पूर्णमान लावती चुनिएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले लावतीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आगामी ३ वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा टेकबहादुर आङ्देम्बे, सचिवमा विष्णु सुब्बा, सहसचिवमा नक्कलमान शेर्मा र कोषाध्यक्षमा हरिदेवी लावती चयन भएका छन् ।

सदस्यहरुमा पविमाया आङ्देम्बे, इन्द्रकुमार नेम्वाङ, डिबी सुब्बा, सन्चमाया इङ्नम, अमृता नेम्वाङ, प्रेमकुमार
कन्दङवा, टेकमान सुब्बा, पूर्ण कन्दङ्वा रहेका छन् । यस्तै एसएन मेन्याङ्वो, फुङवाहाङमा लिम्बु, राजेश जवेगु र टेकबहादुर चेम्जोङ रहेका छन् । २२ सदस्यीय रहने जिल्ला समितिको थप ५ सदस्यमा समितिले मनोनयन गर्ने बताइएको छ ।
सो अधिवेशनमा निर्वाचित समितिलाई सोही अवसरमा सपथ ग्रहण गराएका थिए । अधिवेशनको उद्घाटन सत्रमा चुम्लुङका केन्द्रीय सदस्य नरपति फोरुम्वो, केन्द्रीय सदस्य धिरेन लावती, ताजपुरिया समाज कल्याण परिषद्का पर्शुराम ताजपुरिया, नेवा दवयुका अध्यक्ष कृष्ण उदास, मगर संघका चन्द्रबहादुर मगर लगायतले बोलेका थिए । उद्घाटन सत्रमा वक्ताहरुले लिम्बु जातिका ऐतिहासिक धर्म, संस्कृति, भाषा लिपीको संरक्षण बिना मुलुक समृद्ध नहुने भएकाले ति जातिहरुले उठाएका अधिकारका माग सम्बोधन हुनुपर्ने बताएका थिए ।
सो अधिवेशनको बन्दसत्रमा चुम्लुङका अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

राशप्रपाको वडा समिति

दमक, चैत्र ५/राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले दमकको १८ नम्बरमा वडा समिति बिस्तार गरेको छ ।
इन्द्रबहादुर बिष्टको अध्यक्षतामा आयोजित भेलाले खेमबहादुर दाहालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । त्यस्तै समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः गान्धी भयडारी, भेषराज मिश्र, योगेन्द्र कटुवाल र विकास बिष्ट रहेका छन् । समितिका सदस्यहरुमा विशाल राउत, खेम मिश्र, टीकाप्रसाद भण्डारी, मनोज पौड्याल छन् ।
त्यस्तै भेलाले नगर प्रतिनिधिहरुमा क्रमशः पदम राउत, भूमिका आचार्य र इन्द्रबहादुर बिष्टलाई चयन गरेको छ भने
सल्लाहकारहरुमा राजकुमार अधिकारी र प्रेम कटुवाल छन् ।
पार्टीका जिल्ला सदस्य रामबहादुर डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य प्रविण चाम्लिङ्ग, हरि न्यौपाने, भीष्म भण्डारी, कृष्ण कोइराला, प्रकाश सुवेदी समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा पदम राउतको सञ्चालन रहेको थियो ।