हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

गौरादहमा दलित संघ

गौरादह, चैत्र ५/ गौरादहमा शनिबार नेपाल दलित संघको गाउँ समिति गठन भएको छ ।
नेपाली कांग्रेस गाउँ समितिको आयोजनामा भएको भेलाले पदम ठटालको अध्यक्षतामा दलित संघको ९ सदस्यीय गाउँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष मनबहादुर जैरु, सचिव कृष्ण दर्नाल र कोषाध्यक्ष राजु जैरु रहेका छन् । समितिका सदस्यहरुमा अम्बिका बर्देवा, खड्गबहादुर दर्नाल, कमला दर्नाल, गोपाल शिवा र तिर्थकुमारी पाठक रहेका छन् । यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा मिठू दर्नाल, डिल्लीराम बर्देवा र जानुका ठटाल चुनिएका छन् ।
कांग्रेस गाउँ सभापति हेमन्त कार्कीको सभापतित्वमा भएको भेलामा दलित संघका जिल्ला सचिव गजेन्द्र नेपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कांग्रेसका महासमिति सदस्य रोहित शाह, जिल्ला सदस्य यादवराज सेडाई, आमन्त्रित जिल्ला सदस्य पुण्यप्रसाद सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।

भोलन्टीयर्स गठन

दमक, चैत्र ५/ दमक–१० मा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को लिम्बुवान भोलेन्टीयर्स वडा कमिटी गठन गरिएको छ ।
शनिबार सम्पन्न भेलाले दीपक लिम्बु सिनियर प्राइमेरी कमाण्डर र प्राइमेरी कमाण्डरहरुमा प्रनिम तामाङ, सन्तोष लिम्बु, किसन लिम्बु, मनोज खत्री र रोशन धिमाल रहेका छन् ।
यस्तै सदस्यहरुमा निशान राई, रोशन धिमाल, अजय मुखिया, भीम मगर लगायत रहेका छन् । भोलेन्टीयर्सका केन्द्रीय उपकमाण्डर मोहन बेघाको प्रमुख आतिथ्यमा भएको सो भेलामा भोलेन्टीयर्सका इलाम इञ्चार्ज रजन साम्बा, संसदीय लिम्बुवान महिला परिषद्की दमक अध्यक्ष मनिषा एवई ‘महिमा’ संघीय लिम्बुवान राज्य परिषद्का नगर सदस्य लिला थापामगर, भोलेन्टीयर्सका सिनियर दमक नगर कमाण्डर असिम राई लगायतले बोलेका थिए ।

किन ? शान्ति आउँदनिन् कि क्या हो ? – कविता

एन.बी.दाहाल “नवीन”
सरकार र विद्रोही सबै
मिलेर  पनि
 जनलहर उर्लेर पनि
जनताको माग पूरा गर्ने भनेर
सरकारले घोषणा गरेको हुँदा सम्म
किन ? शान्ति आउँदिनन् कि क्या हो ?
हामी पनि प्रतिक्षामा छौँ
अरु सबै आउँदछन् आइरहेका छन्
भन्ने कुरा सबैलाई अनुभूति भइसकेको छ ।
मन, तन, कर्म सबै
शान्तिको कामनामा छ ।
अशान्ति हैन अब शान्ति आउनुपर्छ
गाउँ, घर, शहर बजारवन सबै मानिसहरुका
मन जिज्ञासु भएको छ ।
किन ? शान्ति आउँदिनन् कि क्या हो ?
शान्तिप्रेमी जनताहरुको
आशा छ ।
दिर्घकालीन रुपमा
शान्तिको निकास
अनि मात्र हुन्छ देश विकास
महत्वपूर्ण हुन्छ घर विकास
शान्तिको त्यागि सबै एक छौँ
नेपाली हौँ हामी
अशान्ति चाहदैँनौ
शान्ति हाम्रो लक्ष्य हो ।
र पो त हाम्रो शान्तिको खोजी छ यहाँ
किन ? शान्ति आउँदिनन् कि क्या हो ?
गौतम वुद्ध जन्मेको देश
शहिदको देश
रगतले पोतिएको देश
सबै जात जातिहरुको
बाहुल्यता हुनुपर्दछ ।
धर्म, भाषा–भाषीहरु
विभिन्नतामा एकता
यो देशमा शान्ति आउनै पर्छ
तैपनि सबैको  आकांक्षा
हुँदा–हुँदै पनि
किन ? शान्ति आउँदिनन् कि क्या हो ?
कसैको  बाटो हेर्नु छैन
मुख कसैको ताक्नु छैन
हामी मिलेर शान्ति
ल्याउनु पर्छ
अनि त देश सुन्दर
शान्त र विशाल हुन्छ ।

तिमीलाई “नियाल्दाका अनुभूतिहरु" – कृति समिक्षा

सुमित्रा बाङ्देल ‘चेली’
११ औँ शताब्दीका चिन्तक, दार्शनिक, स्वतन्त्र विचारक उमर खैयाम रुवाई विधाका प्रतर्वक हुन् । अरबमा जन्मिएर फारसमा हुर्किएको यस विधालाई मलजल गरी फारसी भाषा साहित्यमा महत्वपूर्ण स्थान ओगट्न सफल गराउने कार्य यिनैको हातबाट भएको देखिन्छ । आफ्नो मूलथलोमा रुवाईयात नामले प्रसिद्ध यो विधा कालक्रम अनुसार फैलिँदै नेपालसम्म आइपुग्दा मुक्तक, रुवाई आदि इत्यादि नामकरण भई आएको पाइन्छ । पचासको मध्य दशकबाट नेपाल भित्रिएको यो विधा विभिन्न आरोह अवरोहहरु झेल्दै नेपाली माटोमा आफ्नो मौलिक अस्तित्व बोकेर मौलाउँदै फूल्ने फल्ने उपक्रममा जुटेको छ । नेपाली साहित्यकारमा यस विधाबारे विभिन्न मतमतान्तर रही आएता पनि सरल, सरस, सम्प्रेषणित, चतुस्पदीय संरचनामा आधारित रुवाइको आफ्नो छुट्टै पहिचान, विशेषता र अस्तित्व रही आएको पाइन्छ ।
साहित्यको उर्वरभूमि पूर्वाञ्चलको दमकमा “रुबाइ मञ्च नेपाल मूल समितिको पहलमा २०६७ सालमा राष्ट्रिय रुबाइ महोत्सव सम्पन्न भइसकेको छ । पूर्वाञ्चलबाट प्रकाशित दुई दर्जन बढी रुबाइ काव्य संग्रह विभिन्न पत्रपत्रिकामा प्रकाशित विशेषाङ्क, रचनाहरु, विभिन्न सभा, गोष्ठी, समारोह, भाषण, उद्घोषण कार्यक्रमहरुमा वञ्चित, यो विधाको परिधि असिमित रुपमा फैलदै भुटानी साहित्यकारमा प्रवेश गरी अझ सघन बन्दै गइरहेको छ । तसर्थ, यस रुबाइ विधाको लोकप्रियता बारे बखान गरिरहनु नपर्ने स्थिति जगजाहेर नै छ । वास्तवमा वर्तमान साहित्यिक परिवेशमा धेरै लेखिने धेरै वाचन गरिने विधा नै रुवाइ हो भन्दा दुईमत नहोला । कुनै पनि कार्यक्रममा उत्साहपूर्वक हुने मानौ भान्सामा चटनीको काम रुबाइले गरिरहेको छ । रुबाइ विधाबारे यस पंक्तिकारको गहन अध्ययन र दखल नरहेता पनि यस विधाको मोहक, रुप, छटाको आकर्षण र अनुरागका कारण थोरबहुत लेख्ने, पढ्ने कार्य भइरहेको छ । यसैक्रममा झापा दमकका स्रष्टा अशोक बस्नेतको रुबाइ काव्य “तिमीलाई” सर्सति रुपमा पढेर एउटा सामान्य पाठकको हैसियतले स्वयम्ले अनुभूत गरेका भावहरु शब्दमार्पmत सार्वजनिक गर्ने उपक्रममा जुटेकी छु ः–
रुबाइ काव्य “तिमीलाई” पल्टाउँदा यसभित्र तीन खण्डहरु पाए । जीवन, मान्छे र प्रेम । प्रथम खण्ड जीवन– यसमा ३६ ओटा रुबाइ समेटिएका छन् । दोस्रो खण्ड मान्छे जसमा ३२ ओटा रुबाइहरु समेटिएका छन् । अन्तिम खण्ड प्रेम – यसमा ४२ ओटा रुबाइहरु रहेका छन् । प्रथम जीवनबाट मैले मनपरेको एउटा रुबाइ प्रस्तुत गरेकी छु ः–
फूल्नु भनेको ओइलिनु र मर्नु हो
जन्मनु भनेको बाँच्नु र मर्नु हो
अन्यौलमा किन पर्नु विवेकशील मान्छे
जीवनको सार असल काम गर्नु हो
माथि उल्लेखित स्रष्टाले जीवन बोलेका छन् । वास्तवमा हामी मानव मानवता नबाँचेर फकत ढोंग र आडम्बर बाँचिरहेका छौँ । मानव जीवनको साश्वत सत्यलाई बिर्सेर आडम्बरको खास्टोले मोरिएर अहंकारले फूलेर, स्वार्थको हिलोमा लटपटिएर कुरुपता प्रदर्शन गरिरहेका छौँ । आफ्नो उन्नतिमा रमाउँदछौ, अवनतिमा रुन्छौँ । अरुको उन्नतिमा रुन्छौ, अवनतिमा हाँस्दछौ । सुख, सयल, स्वार्थमा लिप्त हामी मानव परोपकार, परार्थ, परिश्रम त्यागेर मृगतृष्णा बाँचिरहेका छौँ । हामीलाई ज्ञात छ हामी पृथ्वीका सर्वश्रेष्ठ प्राणी हौ । हामी जन्मेपछि मर्दछौ जहाँ जीवन छ त्यहाँ मृत्यु अवश्य छ । तथापि, जानाजान अञ्जान बनेर आँखामा पट्टी कसेर कानमा ठेडी कोचेर गन्धारी राग अलापिरहेछौँ । हामी आँखा भएको अन्धो कान भएको बहिरो सम्वेदनविहीन मुटु बोकेर बुख्याँचामा जीवन बाँचिरहेका छौँ । यस परिप्रेक्ष्यमा स्रष्टाले जीवनको साश्वत सत्यलाई सटीक शब्द शिल्पद्वारा कलात्मक रुपमा जीवन बोलेर मानवलाई मानवतामा बाँच्न उत्प्रेरणा दिएका छन् ।
त्यस्तै, दोस्रो खण्ड मान्छेबाट मैले निम्न रुबाइलाई उठाएकी छु ः–
औशीँको रातमा जून खोज्छौ
यहाँ नुन छैन सुन खोज्छौ
आफ्नो भेष, भाषा, संस्कृति बिर्सिएर
नक्कलल गर्दै विदेशी हुन खोज्छौ

वास्तवमा हाम्रो समाज अनि हामीहरु भौतिकवादी सोचले ग्रस्त भएर रुमल्लिएका छौँ । पुराना पुस्ताका अर्ति उपदेशलाई रुढी वादीको संज्ञा दिई नव पाश्चात्य फेसन र जीवन शैली अपनाउन उद्यत भएका छन् । त्यसैले त सुन फल्नेबारी र टारी बाँझै राखेर अरबको भूमिमा भेडीगोठालो हुन मञ्जुर छन हाम्रा नवपुस्ताहरु । आफ्नो भेष, भाषा, संस्कृति क्रमशः त्याग्दै विदेशी भाषा, भेषमा रमाउन चाहन्छन् नवपुस्ता । यसो हुँदा पुराना पुस्ता र नयाँ पुस्ताको सोच अवधारणामा मेल छैन । आफ्नो मौलिक पहिचान के हो ? अनुसन्धान, संरक्षण र सम्वर्धन गर्ने कसले ? घर समृद्ध भए समाज र राष्ट्र समृद्ध हुन्छ भन्ने कुरा ज्ञात हुँदा हुँदै पनि हाम्रो खोक्रो आडम्बरमा रमाउन लालयित भएका छौँ । वास्तवमा नढाँटी भन्नु हो भने हामी अर्काको प्वाँख टाँसेर नक्कली मयुर बनिरहेका छौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् (मुनामदनमा) हातको मैला सुनको थैलो के गर्नु धनले – साग र सिस्ना खाएको बेस आनन्दी मनले । वास्तवमा हो पनि वर्तमान परिवेशमा लाखौँ युवा धन कमाउने बहानामा घरखेत बन्धक राखी अन्यत्र मुलुकमा रगत पसिना खन्याइरहेका छन् । विदेशी मुलुकमा दुःख गरेर आर्जन गरेको सम्पत्तिको सही सदुपयोग हुन सकिरहेको छैन । बढ्दो विलासिताले पारिवारिक विखण्डनको दर उच्च गतिमा बढिरहेको छ । कैयौँ नेपाली, नेपाली नारीहरुले अमानवीय यातना झेलिरहेका छन् । कैयौँले मृत्युवरण गरिरहेका छन् । यिनै जीवनभोगार्ईहरुलाई स्रष्टाले व्यङ्यात्मक रुपमा सटीक तरिकाले हामी र हाम्रो यथार्थ, रितितिथि र नियतिहरुलाई कलात्मक रुपमा पाठकसामु पस्किएका छन् ।
त्यस्तै अन्तिम खण्ड प्रेमबाट एउटा रुबाइ टिपेकी छु ः–
हिड्दा हिड्दै बाटो मोडियो कसरी
बोल्दा बोल्दै नाता जोडियो कसरी
सँगै मर्ने सँगै बाँच्ने कसम खाएर
अचानक नाता तोडियो कसरी

मैले माथि नै उल्लेख गरिसकेकी छु हामी मानव विशुद्ध मानव भएर बाँच्न सकिरहेका छैनौँ । हामी भित्र स्वार्थ छ । ढोंग छ । आडम्बर छ । अनि छ अन्तत मृगतृष्णा । हामी आफूले आफैलाई ठम्याऔँ । हामी कति विशुद्ध छौँ ? हामी कति स्वार्थरहित परार्थम बाँचिरहेका छौँ । म, मेरो भन्ने भावनाबाट कति पर रहेर हामी हाम्रो भन्ने साझा भावनाको विकास गरेका छौँ । हिजो जो–जो हामीहरु हामीसँग थिए । आज ती हामीसँग छैनन् । कारण हामीमा निहीत स्वार्थ । मृगतृष्णा । वास्तवमा हाम्रो यथार्थ यही हो र यात्रा भन्ने कुरो यस्तै हो । हिड्दा अथवा यात्रा शुरु गर्दा सामुहिक रुपमा पाइला चालेता पनि गन्तव्यमा पुग्ने केही हुन्छन् । हामी जुन अटोठ र उद्देश्य प्राप्तिका निमित्त एकबद्धरुपमा अघि बढेका हुन्छौँ, निर्दिष्ट लक्ष्यमा पुग्नुभन्दा अगावै हामी आ–आफ्ना स्वार्थमा त्यतै कतै अल्मलिन्छौँ, अल्मलिन्छौँ र हराउँछौ पनि । मानौ गतिशील संसारको रीत यही हो । यथार्थमा कोही कसैको साथ हुँदैन । साथको एउटा भ्रम मात्र हो । लड्दै, पछारिँदै, ठोकिँदै, घिस्रदैँ यात्रा त एक्लैले तय गर्नुपर्दछ नै ।
प्रथम खण्ड जीवनमा त्यति सटिक जीवन दर्शन बोल्ने स्रष्टाले अन्तिम खण्ड प्रेममा यस प्रकारको प्रश्नवाचक भावहरु दर्शाउनु त्यति सान्दभिक नदेखिएता पनि यसलाई मैले प्रेम कै परिवेशमा राखेर सान्दर्भिकै ठानेकी छु । भनिन्छ नि प्रेम र युद्धमा सब जायज हुन्छ । वास्तवमा “तिमीलाई” रुबाइ काव्य अधोपान्त पढेर पनि आफूलाई छोएको रुबाइहरु टिपेर एउटा पाठकको अनुभूतिहरु बाँड्ने जमर्को गरेकी छु । समग्रमा रुबाइ “तिमीलाई” पठनीय र समयसापेक्ष छ । यस भित्र स्रष्टाले वैचारिकता, सन्देश, प्रेम, नैराश्यता मानवजन्य सम्पूर्ण भावहरु पस्किएका छन् । वास्तवमा साहित्य साधान हो । आजको यो भौतिकवादी परिवेशमा सबैलाई हतारो छ चटारो छ आनन्दले श्वास लिने सम्म फुर्सद छैन । यस्तो परिस्थितिमा समय चोरेर साहित्य साधनामा रत स्रष्टा अशोक बस्नेत प्रति चेलीको तर्पmबाट निरन्तरताको आग्रह सहित उत्तरोत्तर प्रगतिको आशिर्वाद ।
कृति ः तिमीलाई
विधा ः रुबाइ
प्रति ः ११११
आवरण ः बिरु वनेम
कम्प्युटर ः याम थुलुङ
चित्रकला ः किरण गुरुङ (पेले)
मुद्रण ः स्रष्टा छापाखाना, दमक – ११ , झापा

पक्राउ पर्नेलाई अमानवीय कार्य

मीनप्रकाश उप्रेती
कोरिया, चैत्र ५/ कोरियाको मानव अधिकार आयोगले विभिन्न अभियोगमा पक्राउ पर्ने क्रममा अध्यागमन कर्मचारीबाट विदेशी कामदारले मानव अधिकार हननका व्यवहार झेल्नु परेको जनाएको छ । आयोगले गत हप्ता एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । आयोगले सार्वजानिक गरेको प्रतिवेदनमा ३० प्रतिशत कामदारले मानव अधिकार हननको अनुभव झेल्नु परेको जनाएका छन् । ती मध्ये आधा भन्दा बढीले पक्राउका क्रममा भावी कानुनी प्रक्रिया र भाषा अनुवादका लागि सहयोगीको अनुरोध वेवास्ता गरिएको गुनासो गरेको आयोगलाई उद्धत गदै कोरिया हेराल्डले जनाएको छ । आयोगको प्रतिवेदन सन् २०१० जनवरीको अन्तिम हप्ता कोरिया ४ वटा अध्यागमन केन्द्रका ४ सय १२ जना विदेशी कामदारको प्रश्नावलीका आधारमा तयार गरिएको थियो । ति मध्ये ८० प्रतिशत कामदारले छापा मार्ने क्रममा मानव अधिकार उल्लंघन गरिएको प्रतिक्रिया दिएका छन । प्रक्राउका बेला ५० प्रशितलाई गाली, १९ दशमलव १ प्रतिशतलाई शारीरिक दुव्र्यवहार र ३० प्रतिशत कामदार माथी दुव्र्यवहार गरिएको जनाईएको छ । राष्ट्रिय मानव अधिकार आयोगसँग एक कामदारले भनेका छन ‘मलाई प्रक्राउ गरे लगत्तै अनुहारमा कुटियो त्यसपछि हथकडी लगाएर र गाडीमा हालियो । अध्यागमनका कर्मचारी सामान्य पहिरनमा थिए, यूनिफर्म लगाएका थिएनन् । उनीहरुले आप्mनो परिचय सम्म दिएनन ।’ पक्राउ गरिएका ९६ प्रतिशत कामदारलाई हथकडी लगाईएको र ५ प्रतिशतलाई लाठीले कुटिएको एवम् अन्य केहीलाई अचेत गराइएको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यी मध्ये ६० प्रतिशत विदेशीले अध्यागमन कार्यालय पुग्दासम्म गाडीमा हथकडी सहित राखेको बताएका छन ।
२० प्रतिशत महिला कामदारले धडपकडका बेला यौन दुव्र्यवहार झेल्नु परेको र पक्राउका क्रममा पुरुषसँगै लामो समयसम्म राखेर यात्रा गर्नु परेको प्रतिक्रिया दिएको अध्ययनमा उल्लेख छ । पक्राउ परेका महिलालाई शौचालय जान रोक लाईएको समेत उल्लेख गरिएको छ । ‘मलाई अध्यागमन कर्मचारीले परिचयपत्र नदेखाई हथकडी लगाएर गाडीमा राखे । जब मलाई हथकडी लगाएरै शौचालय लगियो मैले हिनताबोध महसुस गरे ।’ एक महिलाले प्रतिवेदनमा भनेकी छन । अर्की महिलाले शौचालय जान दिन गरेको अनुरोधमा अध्यागमन कर्मचारीले उनलाई पाईन्टमा नै पिसाब गर्न भनेको समेत आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विषयवस्तुले मानव अधिकार हननका धेरै घटना सूचिकृत गरेकाले अन्य दुव्र्यवहार रोक्नु पर्ने आवश्यकता रहेको आयोगले निष्कर्ष निकालेको छ ।

नवजात शिशु स्याहार तालिम सम्पन्न

उर्लाबारी, चैत्र ५/ मोरङको उर्लाबारीमा शुक्रबार ७ दिने समुदायमा आधारित नवजात शिशु स्याहार तालिम सम्पन्न भएको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा भएको हो । मधुमल्ला, केरौन, बयरवन, बैजनाथपुर, डंग्राहा, याङसीला, केराबारी, उर्लाबारी लगायतका २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा डा. भवेश थापा, अहेव महेश चौधरी, योगेन्द्र कट्टेल, जनस्वास्थ्य अधिकृत टेकराज कोइरालाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । गत साल छुटेका र सरुवा भई आएका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएको डा. भवेश थापाले बताए ।

इटहरालाई फराकिलो बनाउन थालियो

उर्लाबारी, चैत्र ५/ मोरङको इटहरालाई ब्यवस्थित बनाउनको लागि सडकलाई फराकिलो बनाउने कार्य थालिएको गरिएको छ ।
इटहरा बजार ब्यवस्थापन समितिले इटहरा चौकको सडकमा दुबैतर्फबाट फराकिलो बनाउन थालेको हो । स्थानीय घडेरीवालाहरुसँग रकम सङ्कलन गरी बजार क्षेत्रमा माटो पुराई गरिरहेको समितिका सचिव युवराज कट्टेलले जानकारी दिए । करिब ५ सय मिटरमा क्षेत्रमा माटो पुर्ने काम भईरहेको र ग्राभेल गर्ने लक्ष्य रहेको उनले बताए । दुर्घटना न्यूनिकरण, बजार क्षेत्रलाई व्यवस्थित गर्नको लागि सरोकारवालाहरुसँग नै रकम उठाएर माटो पुरिएको तर स्थानीय निकायबाट भने सहयोग नपाएको उनले बताए । त्यस्तै सो समितिले वृक्षारोपण गर्नुको साथै पशुबजार समेत सञ्चालन गरेको छ ।

गिटीसँगै कुटिदैँछ बालबालिकाको भविष्य

नरेन्द्र बस्नेत
बेलबारी (मोरङ), चैत्र ५/मोरङको बयरबन–९ का १३ वर्षीय बालक दिपेश लिम्बूको सपना पढेर डाक्टर बन्ने अनि गरीब र दुःखीको निशुल्क उपचार गर्ने रहेछ । उनको सपना भनेको नै त्यही हो । उनले आफू ५ वर्षको हुँदा गरीबिका कारण उपचार नपाउँदा आफ्नी आमा गुमाउनु पर्दाको पिडा आफू बुझ्ने भएपछि उनले यसरी सम्हालेका रहेछन् । उनका बाबुले आमाको मृत्यु भएको ६ महिना पनि बित्न नपाँउदै कान्छी आमा भित्र्याएका रहेछन । कान्छी आमाले देखाएको सौतेनी व्यवहार र मानसिक तनावका कारण बाबु आमा छोडेर उनी अन्य साथीभाइसँगै नजिकैको चिसाङ बगरमा गिट्टी कुट्न थालेका रहेछन् ।
 चिसाङ खोलाको बगरमा गिट्टी कुट्दै बालक दिपेश लिम्बू ।

दिपेश कक्षा ३ मा अध्ययन समेत गर्दा रहेछन चिसाङ खोलामै रहेको एउटा प्राथमिक विद्यालयमा उनलाई आफ्नो विद्यालयको नाम समेत थाहा रहेनछ अनि आफ्ना विद्यालयका शिक्षक÷शिक्षिकाको नाम थाहा हुने त कुरै भएन, होस पनि कसरी विद्यालयमा उनको विद्यालयमा हाजिर भएको रेकर्ड महिनामा मुस्किलले फागुनमा ३ दिन रहेछ त्यो पनि एक दिन बिचमै बिरामी भएर घर गएका रहेछन । आमाको मृत्यु अनि बुबाले अर्की आमा ल्याएपछिको सौतेनी व्यवहारले उनले विद्यालय छोडेर चिसाङको बगरमा गिट्टी कुट्न थालेका रहेछन् ।
चैत महिना मध्यान्ह १२ बजेको घाममा पनि ती बालक चिसाङको बगरमा अन्य सहकर्मीसँगै गिट्टी कुटिरहेका थिए । उनले दिनभरी गिट्टी कुटे बापत ३० देखि ६५ रुपैया सम्म कमाउँदा रहेछन । उनले त्यसबापत पाएको रकम बाट नै खाना, लत्ताकपडा र कापी कलम जुटाँउदा रहेछन । तर पनि उनको रात बिताउने निश्चित घर रहेनछ उनी कहिले साथीकोमा त कहिले चौतारा र सडकमै रात बिताँउदा रहेछन ।
पढ्न मन लाग्दैन भन्ने प्रश्नमा उनले पसिना पुच्दै त्यो अवोध अनुहार ७० वर्षको वृद्धको झै खुम्चाएर हातले घाम छेक्दै भने पढन सारै मन छ अनि पढेर डाक्टर बन्ने पनि छ तर के गर्नु म विद्यालय गएँ भने त त्यसदिन म भोकै पर्छु त्यसैले म स्कूल जानु भन्दा गिट्टी कुट्न आउनुपर्छ । फेरि पैसा बिना चुरोट खान समेत पाईदैन नि उनले आफ्ना काला दाँत देखाउँदै भने ।
उनको चुरोट पिउने समेत अम्मल रहेछ, उनको छेउमै रहेका अर्का बाहुनी २ मोरङका ८ वर्षीय बालक रुपेश चौधरीको कथा अलि फरक रहेछ, उनी चाँही साथीहरुको लहैलहैमा गिट्टी कुट्दा पैसा पाईन्छ भन्ने सुनेर घरबाट भागेर खोलाको बगरमा गिट्टी कुट्न आएका रहेछन् । उनको पनि पढ्ने रहर भएपनि छिमेकका अन्य साथीहरु चाँही बोर्डिङ जाने र आफू चाँहि स्कूल जानुपर्ने राम्रा लुगा लगाउन नपाईने भएपछि घर र स्कूल छोडेर भागेका रहेछन् ।
यता मोरङको सुन्दरपुर ९ का ९ वर्षीया सरु राईको वास्तविकता कम दर्र्दनाक रहेनछ । उनका परिवार तेह्रथुमबाट एक महिना अगाडि मोरङ बसाई सरेर आएका रहेछन् । ७ जनाको परिवार धान्न धौ धौ भएपछि उनीहरु भाग्य खोज्दै यहाँ आएका रहेछन, तर जीवन जीउन त्यति सजिलो कहाँ छ र असाक्षर मानबहादुर र रञ्जनाकी जेठी छोरी सरुको दैनिकी मकै र भटमास भुटेर बुढी खोलामा बालुवा चालेर दैनिक गुजारा गर्ने बाबु आमालाई पु¥याउनु र बाबु आमाको काममा सहयोग गर्नु रहेछ । आफ्नै उमेरका साथीहरु किताब कापी च्यापेर विद्यालय जाँदा उनलाई पनि विद्यालय जान मन लाग्छ र पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ रे तर के गर्नु स्कूल जान नै पाँईदैन उनले भनिन् ।
उनीहरु त प्रतिनिधि प्रतिनिधि मात्र हुन मोरङको चिसाङ, मावा, सुनसरीको बुढी लगायतका खोलाहरुमा हजारौ बालबालिकाहरु कापी र कलम बोकेर स्कूल जाने बेलामा हातमा हतौडा बोकेर गिट्टी कुट्न बाध्य छन । उनीहरुको सपना सपनामै सीमित रहेका छन । उनीहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत कठिन भईरहेका बेला उनीहरुका सपना त केबल आकाशको फल आँखा तरि मर भनेझै भएका छन । हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता पूरा गर्नु नैसर्गिक अधिकार भए पनि उनीहरु त्यसबाट वञ्चित बनेका छन् ।
शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले निशुल्क शिक्षा लाग्ू गरेको वर्षौ भईसक्यो तर ती नाराहरु नारामा मात्र सिमित रहेका छन् । ती कलिला हातहरुले गिट्टी कुट्न बाध्य ती हजारौ बालबालिकाहरुको नैसर्गिक अधिकार प्रति राज्य र जिम्मेवार पक्ष संवेदनशील नभएसम्म बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट सदा वञ्चित रहिरहनेमा कुनै दुईमत नहोला ।

आक्रोश, आवेग र अराजकता – पहिलो लेख

नरपति पाण्डे
“आºनो अपनत्व भएको संविधान, शान्ति सुरक्षाको प्रत्याभूति, मुल्य नियन्त्रण” आदि आन्दोलनमा भूमिका निभाउने नागरिकहरुको चाहना थियो । “सुख–सुविधाको न्युनतम अपेक्षा” भूमिहीन किसान र ज्यालामा ठगिएका श्रमिकहरुको तीव्र आशा थियो । “देश भित्रै रोजगारको अवसर” शैक्षिक बेरोजगारहरुको माग थियो । “राष्ट्रियपू“जीको सुरक्षा र प्रबद्र्धन” उद्योगपति र व्यवसायीहरुको पर्खाइ थियो । “राष्ट्रिय अखण्डताको जगेर्ना” सबै नेपालीहरुको मुल प्राण थियो । “अपराध र दण्डहीनताको पूर्ण समाप्ति” सम्पूर्ण आन्दोलित नागरिकहरुको एजेण्डा थियो । तर राजनीतिक आवेगजालले सबैको शान्ति र समृद्धिको ब्यग्र चाहनालाई आजसम्म लपेटी राखेको छ । गतिशील शान्तिको आम चाहनालाई विद्रोहको नक्कली फ“डाले तर्साइ राखेको छ ।
शान्ति स्थापनाका दृढ सङ्कल्पित बाह्र बु“दे हु“दै संविधानसभासम्म प्रमुख भूमिका खेल्दै गरेका तीन भिन्न दर्शन र शैली भएका राजनीतिक दलहरुको काम पारदर्शी छैन । यी मध्ये पनि संबिधानसभाको ठूलो राजनीतिक दल आफै शंकास्पद परिघटना भित्र आफूलाई हराइ राखेको देखिन्छ । जनताको भूमिका र जनताहरुमा रहेको व्यापक मानव शक्तिलाई मैत्री राजनीतिको माध्यमद्वारा उद्घाटिक गर्नुपर्ने आवश्यकतालाई नबुझ्नु आश्चर्य हु“दै आएको छ । समाजमा आएको मानव प्रवृतिको नया“ भूमिका र चाहनालाई ऐतिहासिक घटनाहरुस“ग तुलना गरेर फरक बाटो र शैली अपनाउन नमान्ने हठधर्मी अराजकताले मुलुकलाई चुर्लुम्म बनाएको छ ।
थोरै व्यक्तिहरुले बनाएका गुप्त संगठन, सशस्त्र शक्ति, षड्यन्त्र र आक्रमणलाई निर्णायक ठानेर आम नागरिकहरु र उनीहरुको वर्गीय चेतनाको भूमिकालाई पूर्ण तिरस्कार गर्नु ऐतिहासिक भौतिकवाद नभएर चरम अवसरवाद र उपभोक्तावादी बाटो हो । जनतामा आएको उत्पीडन विरोधी जागरणलाई सही मार्ग निर्देशन र नेतृत्व गर्नुको साटो अग्रगामी राजनीतिक परिवर्तनको लागि अनुकुलतालाई लतार्नु २०० वर्ष अघिको ब्लांकीवादी प्रवृतिको प्रयोग हो । निन्दा, विरोध, चित्कार, विलाप, अधैर्य र झोंकको कालीदह नै आक्रोश हो । आक्रोश राजनीतकि रक्तश्रावको रोग हो । बुद्धि, विवेक, धैर्य, सावधानी, कुटनीति जस्ता सीप र शैलीहरु आक्रोशले जलाई दिन्छ । आजसम्म यहीं भइराखेको छ । भर्खरै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले “काम गर्न पनि नसक्ने, गर्न चाहनेलाई वातावरण निर्माण पनि नगर्ने” भन्दै आºनै साथीहरु र प्रतिपक्षहरुलाई झोंक पोखे । यो उनको भनाइमा निरासा, हिनताबोध र अनिच्छाको मिश्रण छ । गाउ“–गाउ“मा पुलपुलेसा, संचारका संरचनाहरु, गाविस भवनहरु, विद्यालय भवनहरु, स्वास्थ्य चौकी तथा अन्य सेवा र सुविधा धमाधम बन्दै र बनाउ“दै गरेको समयमा अचानक आक्रमक राजनीति शुरु गर्ने शक्तिका दोस्रो सञ्चालक पनि डा. बाबुराम भट्टराई हुन् । अहिले देशको प्रमुख कार्यकारी पदका प्रमुख पनि उनै छन् । आºनै दल भित्र झाङ्गिएको विरोध र विद्रोहको ब्लांकीपंथ डा. बाबुराम भट्टराई अर्थात प्रधानमन्त्रीलाई गलपासो हु“दै छ ।
आक्रोशले आक्रमक बनाउ“छ र धैर्य गुमाउ“न पुग्दछ । माक्र्सवादको आवुतिमा दण्डहीनताको राजनीतिबाट क्रान्तिकारी रुपान्तरण दुनिया“मा कहीं भएन । मुलुकले सहमति, सहकार्य, प्रतिस्पर्धा, एकता र मैत्री राजनीतिको माग गरेको २५ औं वर्ष भैसकेको छ । वाम राजनीति मुलुकको मुलधार बन्दै आएको थियो । विद्रोह र विध्वंसबाट परिवर्तन सम्भव नहुने माक्र्सवादी चिन्तनको पूर्ण अवज्ञाले मुलुक थिलथिलो भएको थियो । सहज राजनीति वातावरणका लागी बाह्रबु“दे र विस्तृत शान्ति सम्झौता भएको थियो । ति सहमति र सम्झौता षड्यन्त्र वा झुक्याउन गरिएको थियो भने त्यो जनता प्रति गद्दार गरेका प्रमाणित हुनेछ । अग्रगामी राजनीतिक रुपान्तरणको लागी एउटा निश्चित विचार वा बटमलाइन “शान्ति र संविधान” सबै राजनिितक दलहरुको साझा कार्यभार हो । यो प्राप्तिको माध्यम संविधानसभा नै हो । यो अवसरलाई ओझेलमा पारेर सत्ता टिकाउन विदेशीहरुस“को हिमचिम अनि “५० औं हजार मानिस मर्न सक्ने” हिंसात्मक अभिव्यक्ति मुलुकको कार्यकारी प्रमुखले दिनु तानाशाही क्रिडा हो ।
अर्काले राम्रो गर्दै गरेका कामलाई देखिनसहनेले आफू पनि राम्रो काम गर्न सक्दैन । राजनीतिक पीडाको जलनले जनता र देश जलाउनेहरु न देशभक्ति हुन्छन् न नागरिक मैत्री । बेथितिको सञ्जाल नै सुशासनको वैरी हो । बेथितिमा अपराधीहरु सबभन्दा शक्तिशाली र निर्णायक हुन्छन् । अटेरी, रुखो, मत्ता, लापर्वाही आदि अराजकका पर्याय हुन् । मानसिक उत्तेजनाले समाजवादी आन्दोलन सफल हु“दैन । यो आन्दोलन सफल भएन भने गरीब, निर्धन र श्रमिकहरुको हितको भविष्य पनि कमजोर नै रहन्छ । मुलुक र जनताको अवस्था बुझेर मात्र दृष्टिकोण, चिन्तन र अडान बनाउनेहरुले क्रान्तिकारी रुपान्तरणको कार्यभार पूरा गर्दछन् । आक्रोश, आवेग र अराजकताबाट होइन ।
शान्तिपूर्ण, अखण्ड र समृद्ध नेपाल निर्माण गर्ने औसर अझै टरेको छैन । विगतका सहमति र सम्झौताका आधारहरु अझै शक्तिशाली रुपमा छन् । तिनीहरुको अनुसरण र अनुकरण शान्ति स्थापना र जनताको अपनत्व भएको संविधान बनाउन अझै महत्वपूर्ण छ । पीडा र धम्कीको मानसिक सिजोफ्रेमिक रोगबाट मुक्त भइ राजनीतिक साझेदारहरुको मन जित्नुमा मुलुकको हीत छ ।
navinnp35@gmail.com

आगलागी र सचेतना – सम्पादकीय

सुख्खायाम र हावाहुरी जस्ता कारणले प्रत्येक वर्ष यतिबेलाको समयमा आगलागीको जोखिम उच्च रहने गर्दछ । प्राकृतिक कारणले पनि यतिबेलाको मौसम आगलागीजन्य घटनाका लागि जोखिमपूर्ण मानिन्छ । तथापि, अधिकांश स्थानहरुमा हुने आगलागीका घटनामा मानवीय त्रुटी र लापर्वाही प्रमुख कारक तत्व बन्ने गर्दछन् । यसर्थ, सर्वप्रथम मानिस आफैले अपनाउने सचेतनाले मात्रै आगलागीको जोखिम न्यूनिकरण गर्न सम्भव हुने देखिन्छ ।
केही महिना यता आगलागीका विभिन्न घटनाहरु विभिन्न स्थानहरुमा हुँदै आएका छन् । पछिल्ला दिनहरुमा यस्ता घटनाहरुबाट मानवीय क्षति भएका त छैनन् तर लाखौँ मूल्य बराबरको धनमाल भने नष्ट हुँदै आएका छन् । ग्रामीण भेगका बस्तीहरुमाा विशेषतः परालका कुन्युहरुबाट आगलागी शुरु हुने गरेका देखिन्छन् भने शहर–बजारमा विद्युत सर्ट लगायतका कारणले आगलागी हुने गरेको पाइन्छ । त्यस्तै, वन जङ्गल क्षेत्रमा चुरोट–बिडीँ सेवन गरेर वा आगो बालेर असावधानीपूर्वक आगो छाडिने जस्ता कारणले डढेलो जाने गरेको पाइन्छ । तसर्थ, आगलागीको जोखिममा सबैभन्दा बढी जिम्मेवार पक्ष मानिस हुने गरेको पाइन्छ । हुन त आगलागीजन्य घटनालाई न्यूनीकरण गर्न तथा आगलागी हुँदा क्षति हुन नदिन राज्य, राज्यमातहतका विभिन्न निकायहरुले विभिन्न प्रकृतिका उपाय र कार्यक्रमहरु अवलम्बन गर्ने गरेका छन् । तर प्रत्येक वर्ष सुख्खायाममा हुने आगलागीका घटनाहरुको बढ्दो तथ्याङ्कलाई हेर्दा राज्य मातहतका निकायहरुको यस्ता उपायहरु बेदखल बन्दै गएका पुष्टि हुन्छ ।
यातायात सुविधा सहज भएका अधिकांश नगरपालिकाहरुमा विभिन्न दातृ निकायको सहयोगमा आगलागी नियन्त्रणका लागि प्रयोग गरिने वारुणयन्त्रको व्यवस्था छ । तर, ठीट लाग्दो पक्ष के छ भने, शहर, गाउँ वा बस्तीका घर–टहराहरु जलिरहेका बेला यस्ता वारुणयन्त्रहरु उपलब्ध हुन मुस्किल छ । आगो निभाउने वारुणयन्त्र अथवा दमकल आफै बिरामी परेर थन्किएका थुप्रै हाँस्यास्पद घटनाहरु अब हाम्रा लागि अनौठा विषय बनेनन् ।
गत फागुन १८ गते मात्र दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आगलागी भयो । ५३ ओटा छाप्रा खरानी बने भने शरणार्थी जीवनको स्मृति र आशा थन्किएका छाप्राहरु जलेसँगै उनीहरु विस्थापित बने । हाल विभिन्न दातृ निकायहरुको सहयोगमा अग्नि पीडित शरणार्थीहरुलाई पुनस्र्थापित गर्ने कार्य भएको छ । तर, त्यस घटनाले पु¥याएको मनोवैज्ञानिक क्षति र नोक्सानी पूर्ताल गर्न अझै थुप्रै समय लाग्ने निश्चित छ । शरणार्थी शिविर बेलडाँगीको घटना एउटा सामान्य उदाहरण मात्रै हो । समाजमा यस्ता प्रकृतिका असंख्य आगलागीजन्य घटना भइरहेका छन् । त्यसैले मानवीय कमजोरीकै कारण हुने यस्ता प्रकृतिका घटना न्यूनिकरण गर्न मानवीय सचेतना पहिलो आवश्यक सर्त हुन आउँछ । आगलागीको जोखिमबाट बच्ने एकमात्र उत्तम उपाय भन्नु आगोको सही सदुपयोगमा ध्यान पु¥याउनु नै हो । दूरुपयोगले निम्त्याउने परिणाम सकरात्मक र हितकर हुनै सक्दैन । यो पक्षलाई समाज र राज्यले गहनताका साथ बुझ्न जरुरी छ । आगलागी दुःखद् र अप्रत्यासित घटना हो । यसबाट संसारभर ठूल्ठूला मानवीय र भौतिक क्षति हुने गरेका छन् । अप्रत्यासित घटनाहरुको निराकरण मानिसको पहुँच भन्दा परको कुरो हुन सक्छ, अथापि, सावधानी, होसियारी र पूर्वतयारी जस्ता उपायको अवलम्बन गर्दा ठूल्ठूला क्षति टरेका थुप्रै इतिहासहरुबाट पाठ सिक्न जरुरी छ । सुख्खायामको यस मौसममा आगोको दुरुपयोग नगर्ने आचरणमा हाम्रो ध्यान पुग्नु जरुरी देखिन्छ । एक व्यक्तिका मानिसको असावधानी र लापर्वाहीको सजाय सिङ्गो पर्यावरण र समाजलाई दिन मिल्दैन । यस तर्पm हामी सचेत बन्नै पर्दछ ।