सञ्चार र विकासलाई एकैसाथ अघि बढाउन जोड

सुरुङ्गा । सूचना, सञ्चार र विकास एकै साथ अगाडि बढाउँदै कनकाई नगर क्षेत्रलाई नमुनाको रुपमा विकसित गराउन यस क्षेत्रका सञ्चारकर्मी र नागरिक अगुवाहरु एक मत भएका छन् । शनिबार सुरुङ्गा प्रेस क्लबको आयोजनामा भएको ‘स्थानीय निकायको विकासका निम्ति सञ्चारको भूमिका’ विषयक गोष्ठीमा सहभागीहरुले यस्तो विचार राखेका हुन् । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरुङ्गा जेसीजको सभाहलमा भएको गोष्ठीबाट ८ बुँदे सुरुङ्गा घोषणा पत्र जारी गरिएको छ । गोष्ठीका लागि तय गरिएको विषयमाथि जिल्लाका अग्रज पत्रकार मदन ढकाल र पत्रकार गोपाल काफ्लेले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्य पत्रमाथि पत्रकार राजु अधिकारी, साहित्यकार कोमलप्रसाद पोखरेल र नारी सञ्चार गृहकी जिल्ला अध्यक्ष सावित्रा दाहालले टिप्पणी गरेपछि निष्कर्षका रुपमा सुरुङ्गा घोषणा पत्र जारी गरिएको हो । घोषणा पत्रमा कनकाई नगरपालिका तथा नगर क्षेत्रका हरेक गतिविधिलाई पारदर्शी बनाउनका लागि पत्रकारहरु आफ्नो उत्तरदायित्व प्रति जवाफदेही रहने उल्लेख गरिएको छ । त्यस्तै विकास निर्माण लगायतका अन्य गतिविधि, सांस्कृतिक,प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारको यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र पत्रकार बीच कार्यगत एकता कायम गरी संस्थागत रुपमा अगाडी बढ्ने उल्लेख छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा झापाका अध्यक्ष भीम नेम्बाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजप्रसाद आचार्यको विशिष्ट आतिथ्य रहेको थियो । 
कार्यक्रममा यस क्षेत्रका अग्रज व्यक्तित्वहरु, राजनीतिकर्मी हिरा थापा, कोमलप्रसाद पन्त, नेत्र चिमरिया, लक्ष्मीप्रसाद गुरुङ, संघसंस्थाको प्रतिनिधिहरु भीमप्रसाद अधिकारी, प्रभाखर कडरिया, बालकृष्ण मैनाली, हिम्मत नेम्बाङ, जनार्दन उप्रेती, केदारप्रसाद गिरी, टंकप्रसाद कार्की, झलक सिटौला, सीता बस्नेत, आइपी भट्टराई, देवीप्रसाद खरेल, यामनाथ सेढाईं, लीलाप्रसाद चिमरिया, लीलाप्रसाद भेटवाल, यदुनाथ अधिकारी, राजकुमार कट्टेल लगायतले स्थानीय निकायको विकासमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने जनाए । 

0 प्रतिकृया:

Post a Comment