विराटनगर चक्रपथ निर्माणमा पाँच करोड रकम फ्रिज

उर्लाबारी/टेन्डर प्रक्रियामा ढिलाइ एवम् क्रसर उद्योगको आन्दोलनले गर्दा विराटनगर चक्रपथ निर्माणको लागि छुट्याइएको रु पाँच करोड रकम फ्रिज भएको छ ।
विभिन्न विवाद तथा टेन्डर प्रक्रियामा भएको ढिलाइले लखन्तरी देखि झोराहाट सम्मको चक्रपथ ट्रयाक खोल्ने र कटहरीदेखि झोराहाट सम्म सडकको स्तरउन्नति गर्ने काम सम्पन्न हुन नसकी उक्त रकम फ्रिज भएको हो ।
आर्थिक वर्ष २०७०÷७१ मा लखन्तरीदेखि झोराहाट सम्मको ट्रयाक खोल्नुपर्ने र कटहरी देखि झोराहाट सम्मको स्तरउन्नति गर्नु पर्नेमा फागुनमा मात्रै टेन्डर भएकाले निर्माण सम्पन्न हुन नसकी सो रकम फ्रिज भएकोे हो ।
ट्रयाक खोल्ने काम ७० देखि ७५ प्रतिशत सम्म सम्पन्न भए पनि झोराहाट क्षेत्रमा भने स्थानीय बासिन्दाको विवादका कारण काम सम्पन्न हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले मोरङले जनाएको छ ।
झोराहाट क्षेत्रको विवाद अहिले साम्य भए पनि कटहरी देखि झोराहाट सम्मको स्तरउन्नति गर्ने कार्य वर्षाको मौसम सकिए पछि मात्र सुरु गर्ने विभागले जनाएको छ ।
बयालीस किलोमिटर चक्रपथ     (रिङरोड)को लम्बाइमध्ये साढे ४१ किलोमिटरको ट्रयाक खोलिसकेको र अब झोराहाटमा मात्रै आधा किलोमिटरको ट्रयाक खोल्न बाँकी रहेको छ ।
आर्थिक वर्ष ७०÷७१ मै ट्रयाक खोल्ने कार्य सम्पन्न हुनुपर्नेमा झोराहाटको विवादले गर्दा पूरा हुन नसकेको विभागले जनाएको छ । ट्रयाक खोल्न रु छ करोडको बजेट छुट्याइएकोमा रु एक करोडको मात्रै काम भएको रु पाँच करोड बजेट फ्रिज भएको विभागका प्रमुख रोशन श्रेष्ठले बताएका छन् ।
चक्रपथको बाँकी रहेको ट्रयाक खोल्नका लागि रु ६८ लाख र सडक स्तरउन्नतिका लागि एक करोड १२ लाखमा सम्झौता भएको थियो । सम्झौतामा असार २५ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको भएपनि त्यो भने हुन सकेन ।
सभासद् अमृत अर्यालले निर्माणाधीन अवस्थामा रहेको चक्रपथमा भएको ढिलाइतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउँदै यसलाई समयमा सम्पन्न गर्न सम्बन्धित निकायमा दबाब दिने बताए ।
विभागले मुख्य काम भनेकै ठेक्का लगाउने काम भएकाले त्यो काम पूरा भइसकेकाले निर्माणको काम अब भने तदरुकताका साथ अगाडि बढ्ने र आउँदो असोज सम्ममा सम्पन्न हुने जनाएको छ ।
अबको एकदेखि डेढ वर्षको अवधि सम्ममा चक्रपथ ग्राभेल बनिसक्ने विभागको भनाइ रहेको छ । विसं २०६४ देखि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले विराटनगर चक्रपथ निर्माणको जिम्मा लिएको हो ।

0 प्रतिकृया:

Post a Comment