बोलबम मेलामा २० हजारद्वारा जलार्पण

धरान/प्रत्येक वर्ष साउनमा धरानस्थित पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबम मेलामा यस वर्ष साउनको पहिलो सोमबार करिब २० हजार भक्तजनले जल चढाएका छन् ।
सुनसरीको चतरा स्थित सप्तकोशीबाट जल बोकेर पैदल ल्याई पिण्डेश्वरमा चढाउने परम्परा छ । साउनमा भारत बिहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै ०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको शुरुवात गरिएको हो ।
यद्यपि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला भने यसैसाता धरानको पिण्डेश्वरको साटो तीर्थब्रतका लागि    स–परिवार विहारको देवघर पुगेका छन् । तर, नेपालीहरु भने स्वदेशमै बोलबम मेलामा सहभागी हुने क्रम बढेको छ ।
अहिले नेपालमा मुख्य शिवालयमा बोलबम मेला लाग्ने गरिए पनि सर्वप्रथम पिण्डेश्वरबाट बोलबम मेलाको शुरुवात गरिएको थियो । गेरुवस्त्र लगाई सप्तकोशीको पवित्र जल बोकेर खाली खुट्टा पैदल आएर जल चढाउने गरिन्छ ।
साउन शिवजीको प्रिय महिना भएकाले यो महिनाभरि शिवालयहरुमा शिवभक्तहरुको घुइँचो लाग्ने गर्दछ । सोमबार शिवको बार भएकाले पनि साउनको सोमबार शिवालयमा मेला लाग्ने गरेको हो । यस्तो मेला धरान लगायत श्रीपशुतिनाथ काठमाडौं, हलेसी महादेव खोटाङ, मधुगंगा सिन्धुली र चितवनको देवघाटमा लाग्ने गर्दछ ।
साउनको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । धरानको पिण्डेश्वर अमृतको अंशवाट स्थापित भएकोले पनि यहाँ पवित्र जल चढाउँदा अमृतको प्रभाव पाइने स्कन्ध पुराणमा उल्लेख भएको बताइन्छ । यस वर्षको पहिलो सोमबार बोलबम भक्तजनलाई उछिन्दै स्थानीय भक्तजनको भीड बढेको थियो ।

0 प्रतिकृया:

Post a Comment