व्यवसायीक माछा खेतीमा आकर्षण

पथरी/ मोरङमा माछा खेतीमा ब्यवसायीक आकर्षण बढ्दै गएको छ । पछिल्लो समयमा दुई करोड रुपैयाँ भन्दा माथिको लगानीमा माछा पालन सुरु गरिएको छ ।
व्यवसायिक रुपमा सञ्चालित फार्मबाट उत्पादित माछाले भारतीय आयात प्रतिस्थापनमा बल पुग्ने अपेक्षा किसानको छ । ठूला लगानीका माछापालनमा युवाको लगानी अधिक छ ।

मोरङको शनिश्चरे ९ मा दुई करोड रुपैयाँको लगानीमा साढे तीन बिघा क्षेत्रफलको पोखरीसहित बहुउद्देश्यीय माछा फार्म सुरु भएको छ । यहाँ काठमाण्डौंका तीनजना युवाले लगानी गरेका हुन् । मासिक चालिस हजार केजी मासु उत्पादन गर्ने उद्देश्यसहित माछा फार्म सुरु गरिएको लगानीकर्तामध्येका एक बिष्णु चौलागाईंले जानकारी दिएका छन् । उनले भने, ‘बंगुर र कुखुरापालन पनि सँगसँगै गरिरहेका छौं ।’ माछा फार्ममा काठमाण्डाँैकै नवराज लामिछाने र सुरेश गिरीले पनि लगानी गरेका छन् ।
लगानीकर्ताका अनुसार पोल्ट्री फार्मबाट भने उत्पादन समेत शुरु भइसकेको छ । ५ सय माउ बंगुर पाल्ने खोर तयार भएका छन् । ६ महिना अघि शुरु गरिएको यो फार्मको पूर्वी शहर विराटनगर, धरान, इटहरी, पथरी र दमकमा आफ्नै फ्रेस हाउस राख्ने लक्ष्य छ । लगानीकर्ता नवराज लामिछाने भन्छन्, ‘उपभोक्तालाई जिउँदो माछा फ्रेस हाउसबाटै उपलब्ध गराउने र किसानलाई मर्कामा पार्ने बिचौलिया हटाउने उद्देश्य पनि हो ।’ आफ्नै ब्राण्डमा माछा, कुखुरा र बंगुरको मासु बजार सम्म लग्ने योजना भएकोले लगानी अझै बढ्ने उनले बताए ।
यो समूहले काठमाण्डौँको सुन्दरीजलमा माछापालन र नेशनल माउन्ट भ्यू एण्ड ग्रीन पिस एण्ड रिसोर्ट पनि सञ्चालन गरिरहेको छ । काठमाण्डौँ बाहिर लगानी गर्न आउनुको कारणबारे चौलागाईंले भने, ‘पूर्वमा पनि माछा पालनको अधिक संभावना छ । यहाँ खाली जमिन पनि धेरै भएकोले पूर्वलाई रोजिएको हो ।’ शनिश्चरेमा पनि एग्रो टुरिजम गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
६ वर्षसम्म अष्ट्रेलिया बसेर त्यहाँको पीआर पाएका विराटनगर १५ का श्रीजन प्याकुरेलले मोरङको टंकीसिनवारीमा माछा पालन शुरु गरेका छन् । एकवर्ष अघि सोह्र बिघा जग्गा भाडामा लिएर उनले माछापालन शुरु गरेका हुन् । लगानी दुई करोड नाघिसक्यो । प्याकुरेल भन्छन्, ‘माछासँगै हाँस, कुखुरा फाराम, बाख्रा र गाई पालन पनि गर्दैछु ।’
आफ्नै देशमा केही गरौँ भन्ने लक्ष्यकासाथ पिआर त्यागेर नेपाल फर्किएका उनी कृषिक्षेत्र भन्नासाथ नपढेकाहरुले मात्र गर्ने हो भन्ने मानसिकता परिवर्तन गर्न र कृषिलाई उद्योगको रुपमा विकास गर्न यसमा लागेको बताउँछन् । प्याकुरेलको पनि आफ्नै फार्ममा उत्पादन हुने माछा र मासुलाई आफ्नै ब्राण्ड दिएर बजारसम्म लग्ने योजना छ । लगानी अझ बढाउने उनको तयारी छ ।
प्याकुरेल सन् २००६ मा स्टुडेन्ट भिसामा अष्ट्रेलिया गएका थिए । उनले सन् २००८ मा त्यहाँको युनिभर्सिटी अफ साउर्थन क्वीन्सल्याण्ड सिड्नी सेन्टरबाट प्रोफेसनल एकाउन्टीङमा स्नाकोत्तर पूरा गरे  । विवाह पनि उतै भयो । सन् २००९ मा पीआर पाउन अप्लाई गरेका उनले एकवर्ष पछि त्यसको अनुमति पाएका थिए ।
एमएम नेचुरल्स प्रालिको नामबाट सञ्चालित उनको फार्ममा चाईनिज हाँस, विकासे कुखुरा, होलस्टेन गाई, अफ्रिकन ब्रिड बोयर जातको बाख्रा पालिएका छन् । उत्पादित माछाकोे विराटनगर र स्थानीय बजारमा बिक्री हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय मोरङकी मत्स्य विकास अधिकृत नेल्सन पोख्रेलकाअनुसार जिल्लामा ठूला लगानीमा माछापालन गर्ने क्रम शुरु भइसकेको छ । उनी भन्छिन्, ‘ठूला व्यवसायिक प्रतिष्ठानले लगानी बढाइदिँदा बजार आफैँ निर्माण हुने भएकोले त्यसबाट साना किसानलाई पनि फाइदा पुग्छ ।’ कृषिमा व्यवसायिक प्रतिष्ठानलाई लगानी गर्न प्रोत्साहित गर्ने सरकारको लक्ष्य नै रहेको उनले बताइन् ।
मोरङमा पोखरीको कूल जलासय क्षेत्र ४९० हेक्टर रहेको छ । पाखरीको संख्या २ हजार ५३४ छ । जिल्लामा बर्सेनि १ हजार ७१५ मेट्रिक टन माछा उत्पादन हुन्छ । सरदर प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।


0 प्रतिकृया:

Post a Comment