मंगल प्रणामी एम्बुलेन्स सेवा शुरु

सुरुङ्गा/ श्रीकृष्ण प्रणामी मन्दिर माईधाम कनकाई नगरपालिका–४ कोटीहोमद्वारा सञ्चालित मंगल प्रणामी एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको छ । इजरायलमा कार्यरत प्रणामी सम्प्रदायको अगुवाइमा त्यहाँका नेपालीहरुद्वारा ९ लाख २५ हजार रूपैयाँ सहयोग संकलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।
एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानीले प्रणामी मन्दिर आश्रममा रहेका अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई टेवा पुगोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइएको छ । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका २० जना अनाथ बालबालिका र १३ जना वृद्धबृद्धाहरु आश्रित रहेका छन् । २०५२ सालदेखि शुरु गरिएको उक्त आश्रम मुष्ठीदानबाट सञ्चालन हुँदै आएको आचार्य महाराज मोहनानन्दले बताए ।
सो एम्बुलेन्स व्यवस्थित रुपमा सञ्चालन गर्नका निम्ति ७ सदस्यीय एम्बुलेन्स सञ्चालक समिति समेत गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा भक्तिप्रसाद संग्रौला, सचिवमा छवि थपलिया, कोषाध्यक्षमा केदार पाठक र सदस्यहरुमा भवानी मैनाली, विष्णु संग्रौला, विनोद थपलिया र निलम सिटौला रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment