प्रेम र जीवन

रुद्र निरौला
प्रेम जीवनको मूलधार हो । बिनाप्रेम जीवनको कल्पना गर्न सकिँदैन । संसार प्रेमकै कारण बाँचेको छ । अंग्रेजी शब्द ीयखभ र नेपाली शब्द प्रेम समानार्थक मानिएका छन् । प्रेम साना मसिना किट पतङ्गदेखि विशाल स्थुलवस्तुसम्म गरिने ममता नै प्यार, प्रेम या माया हो । आज भोलि युवा जमात सहज रुपमा क्ष् ीयखभ थ्यग भन्ने गर्दछन् । कसैप्रति प्रेम देखाउन सद्भावना राख्नु वा पवित्रताको स्मरण गर्नु सचेत प्राणीको गुण हो । त्यसैले, बोलेर वा भावनात्मक रुपले कसैप्रति आत्मीयता प्रकट गर्नु प्राणीको चरित्रभित्र पर्दछ । प्रेमका स्वरुपहरू आ–आफ्नै हुन्छन् । विशुद्ध प्रेम, कामनाका आधारमा गरिने प्रेम, प्रतिक्षण बद्र्धमान भइरहने प्रेम, अविच्छिन्न रहिरहने प्रेम, शुक्ष्मातीशूक्ष्म रहने प्रेम र अनुभवयुक्त प्रेम गरेर जम्मा छ वटा लक्षण मानिएका छन् । शास्त्रोक्त विधिबाट वर्गीकृत गरिएका यी छ वटै प्रेमका लक्षण विशुद्ध भावना भएका व्यक्तिबाट मात्र सम्भव हुन्छ ।
आजको देश दुनियाँ प्रेमका अनेक भावमा प्रस्तुत हुने गरेको देखिन्छ । जो विशुद्ध प्रेमको कसीमा उत्तीर्ण हुन सकेको मानिँदैन । पूर्वीय दर्शनका आधारमा वर्गीकृत गरिएका पे्रमका छ वटा लक्षण जसले देखाउन वा प्रस्तुत गर्न सक्छ, त्यही प्रेम सर्वोत्तम मान्न सकिन्छ । प्रेमको सच्चा रुप गुणसँग सम्बन्ध राख्दैन । यदि कसैले कसैलाई गर्ने प्रेम गुणसँत जोडिएको छ भने त्यो गुणमा अलिकति विचलन आउनासाथ प्रेममा आँच आउन सक्छ । रुप र सौन्दर्यता केलाउने मुख्य वस्तु हाम्रो चैतन्यता हो । कसैले कसैलाई प्रेम गर्दा उसको बाह्य रुपाकृतिमा मात्र सीमित राख्छ भने त्यो आकृतिमा अलिकति उतारचढाव आएमा त्यसप्रति राखिने प्रेममा आँच आउन सक्छ । यदि त्यस्तो भयो भने त्यो प्रेम वास्तविक प्रेम हुँदैन । अर्को प्रेमको लक्षण कामनारहित हुनु हो । प्रेम कामना या काम वासनामा मात्र सीमित राखेर देखाइयो भने त्यो क्षणिक हुन्छ । काम वासना टुक्रिएपछि त्यो प्रेमको कुनै अर्थ रहँदैन । काम वासना निश्चित समयसम्म रहन्छ र त्यो क्रमशः न्यून हुँदै अनिच्छातिर पुग्छ । तर, सच्चा प्रेम त्यसरी न्यूनतातिर पुग्दैन । सच्चा प्रेम त झन्–झन् प्रगाढभएर पो देखापर्छ । त्यसैले, सच्चा प्रेमको बलियो कसी कामवासनातिर निर्दिष्ट हुन सक्दैन । जुन काममा केवल आशक्तता मात्र रहन्छ, त्यो प्रेम असली प्रेम हुँदैन । यसरी नै प्रेमको अर्को लक्षण प्रतिक्षण वृद्धि भइ नै रहन्छ । नदीको उद्गम स्थल प्रेमको बिजारोपण विन्दु मान्दा नदी बग्दै जाँदा बढ्दै जाने, धर्ममा आधारित हुन्छ । जति–जति प्रेमका आधारवस्तुहरू प्रतिस्थापित हुँदै जान्छन्, त्यति त्यति सच्चा प्रेम झाङ्गिँदै र फैलिँदै व्यापक रुपमा रुपान्तरित हुँदै जान सक्छ । बारम्बार वृद्धि भइ रहनु प्रेमको अर्को गुण हो । त्यस्तै अर्को रुप प्रेमको अविच्छिन्नता पनि हो । केही समय रहने र त्यसपछि हराउने वा बिर्सिने प्रेमको वास्तविक लक्षण होइन । जो प्रेम जोसँग स्थापित हुन्छ, त्यो साश्वत हो भने अविच्छिन्न हुन्छ । त्यसैले साँचो प्रेमको अर्को लक्षण यसमा देखिने अविच्छिन्नता हो । यसपछिको प्रेमको अर्को लक्षण शुक्ष्मतामा आधारित हुन्छ । स्थुलवस्तुमा देखापर्ने प्रेम वस्तुको आकृति घट्ने बित्तिकै घृणामा वा नैराश्यमा रुपान्तरित हुन पुग्छ । यदि त्यसो भयो भने त्यो प्रेमको सच्चा लक्षण होइन ।
त्यसैले सच्चा प्रेम अत्यन्त शुक्ष्मदेखि विस्तृत अंशसम्म अविच्छिन्न रुपले रहिरहन्छ । यसैगरी, प्रेमको अन्तिम रुप अनुभवजन्य भएर रहन्छ । प्रेमको वास्तवमा भावनात्मक अभिव्यक्ति हो । यसलाई कुनै रुपाकृति, ओजन, तौल, रङ्ग, स्वाद आदिमा तुलना गर्न सकिँदैन । प्रेम गुण स्वादरहित एक अनुभूतिजन्य हुनाले यो वस्तु तथ्यात्मक रुपमा प्रकट हुन सक्दैन तर अनुभव र अनुभूतिमा यो प्रतिविम्वित भइरहन्छ ।
यस्तै प्रेमको व्यवहारगत विवेचना गर्दा प्रेम एक ऐश्वर्य हो । प्रेमको ऐश्वर्यताबाटै विश्व सृष्टिका यावत वस्तुको सृष्टि भएको छ । प्रेमकै कारण उत्पादित वस्तुको आपसी विनिमय हुने गरेको र अनन्त आवश्यकताहरूलाई त्यही ऐश्वर्यताका आधारमा परिपूर्ति गर्दै व्यवहारोपयोगी बनाउनु प्रेमको अर्को स्वरुप हो । त्यस्तै, सच्चा प्रेममा यश, किर्ती आदिको अस्तित्व कायम भएको हुन्छ । प्रेमकै असल माध्यमबाट मानिसले आफ्नो किर्तिमानी कायम गर्दै जान्छ । कुनै असल, साहसिक तथा स्वालम्बनका कार्यप्रति देखाउने असल प्रेमकै आधारमा उच्च–उच्च किर्तिमानहरू कायम गरेर आफू ऐश्वर्यशाली वा किर्तिमानी बन्ने गरेका कैयन उदाहरणहरू छन्, जो साँचो प्रैमका परिणाम हुन् । साँचो प्रेमबाट प्राप्त हुने अर्को वस्तु धन अथवा आयआर्जन पनि हो । कुनै मानिस धन आर्जनका लागि जीवनभ रहाड घोट्दै हैरान हुछ, तर हात लाग्यो शून्य । तर कसै–कसैले सामान्य लगानी गरेजस्तो देखिए पनि उसैलाई वैभवशाली बनेको हामी देख्छौं । त्यो वास्तविक प्रेमबाट प्राप्त भइरहेको हुन्छ ।
असल प्रेम ज्ञानको प्रतिविम्व भएर देखापर्दछ । कैयन व्यक्तिहरू प्रेम अज्ञानमै गर्ने र क्षणभङ्गुर गराएर पश्चाताम खेपिरहेका हुन्छन् । वास्तवमा प्रेम कच्चा र क्षणिक देखाउन गर्ने वस्तु बनाइने हुँदा परिणाम त्यस्तो आउने गरेको हो । साँच्चै सोचेर र वास्तविक रुपमा गरिने प्रेम त जुठो बयर खाने कृष्णले देखाएको प्रसङ्ग आउँछ । कुब्जाको शरीरलाई साङ्ग बनाइएको प्रसङ्ग अर्को उदाहरण हो । च्यवन ऋषिप्रति सर्यादि सुकन्याले देखाएको सद्भावना हो । त्यस्तै, कृष्णले सुदामाप्रति देखाएको मित्रता अर्को प्रेमको उदाहरण हो । त्यस्तै, वैराग्यभाव देखाएर र त्यागको भाव देखाउने राजा ज्ञिवि, दधिचि मेडम क्यूरी, मोजाक्सहु, सिस्टर निर्मला, लिवर्टी, सिद्धार्थ, राजा जनक, महात्मा गान्धी, अमर शहिदहरू, दुर दृष्टान्त दिन सक्ने युगदृष्टा ऋषि, महर्षीहरू तथा आफ्नो जीवनको उत्सर्ग गरेर पनि आफ्ना दर सन्तानप्रति कर्तव्य परायण आमाहरू तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू सच्चा प्रेमका उदाहरण हुन् । आज हामी प्रेमका नाममा अनेक नाटक मञ्चन भइरहेका देख्छौं । छद्मभेष धारण गरेका अनेक वर्ग छन्, अनेक संघसंगठनहरू भरमार खुलेका छन् । तर खोक्रो र देखावटी प्रेममा आधारित छन् । प्रेम प्रणय दिवसको सस्तो विज्ञापन गुलाफका अनेक रङ्गसँग विनिमय हुने गरेका छन् । देश विदेशका अनेक माध्यमहरू छन्, प्रेम गाँस्ने । सञ्चारका उपकरण आज प्रेम गर्ने लोकप्रिय माध्यम बनेका छन्, तर कति सास्वत सत्य वा देखावटी ? बडो असमञ्जास भएको छ, प्रेम । प्रेम र प्रेमिका केवल काम्यक बनेको छ । अत्यन्त आतुर प्रेमी आफ्नो निहित स्वार्थ पश्चात प्रेम परित्याग गर्न त्यति नै उद्यत रहन्छ । भमराले फुल चुम्बन गर्ने र छोड्ने रीत जस्तै । हामी मान्छे केवल ढुकुरजत्ति धैर्यशाली बन्न सकेनौं । त्यसैले प्रेम हातमा बोकेर विज्ञापन गर्ने विषय हुन सक्दैन, जो आज बन्ने गरेको छ ।
वास्तवमा प्रेम त जीवनका हर तन्तुसँग अक्षुष्ण र अच्यूत भएर गाँसिएको हुन्छ । प्रेमले सुखमा मात्र रमाउने होइन, दुःखद स्थितिमा पनि साथ दिन र मोक्ष गर्न सक्नुपर्छ । देखावटी प्रेम र काम वासनामा आशक्त प्रेम प्रेम होइन । त्यो जीवनको नमेटिने कलङ्क मात्र हो । जो चन्द्रमामा प्रतिबिम्बित भएर देखा पर्दछ । त्यसैले प्रेमका जो कोही पारखीले प्रेमको उचित महत्व बुझेर प्रेम गर्नु राम्रो हुन्छ । लहड र देखासिकीमा गरिने कुनै पनि प्रेम क्षणिक मात्र हुन्छ । वस्तुगत होस् वा जीवनगत होस्, प्रेम सत्य र दीर्घकालीन हुनुपर्दछ । त्यसले मात्रै विश्वजगत प्रेममयी बन्न र दीर्घकालसम्म रहन सक्ने हुन्छ ।

0 प्रतिकृया:

Post a Comment