‘जेसीजको क्षेत्र ‘क’ सम्मेलन विर्तामोडमा शुरु’

बिर्तामोड/‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको बिर्तामोडमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वीरता लेडी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीज ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३८ वटा शाखाका पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
विर्तामोडमा शुरु जेसीजको सम्मेलनका अतिथिहरु
नेकपा एमाले नेता भरतमोहन अधिकारीले सम्मेलनको उद्घाटन गरेका छन् । उनले माघ ८ गते संविधान बन्ने वातावरण तयार नभएको बताए । अधिकारीले संविधानका केही जटिल मुद्दा समाधान नभएकाले संविधान बन्नेमा ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरे । ‘संविधान निर्माणका लागि प्रमुख तीन दल जिम्मेवारीका साथ अघि बढ्नुपर्छ’अधिकारीले भने –‘उनीहरुले खुट्टा कमाए माघ ८ मा संविधान जारी हुन सक्तैन ।’ संविधान लेखनका केही मुद्दामा सहमति गरी अघि बढ्नुपर्ने बताउँदै उनले नयाँ संविधानमा लोकतन्त्र, गणतन्त्र र संघीयताको मुद्दालाई मूल आधार बनाउनु पर्ने बताए । संविधान निर्माणका लागि युवा दवाव आवश्यक रहेको उनको भनाई छ  । ‘युवा नै देशका शक्ति हुन्’ उनले भने –‘युवा समाज र मानवताको विकासमा लाग्नुपर्छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीले महिला र पुरुषबीचको विभेद अन्त्य नभएसम्म मुलुक आर्थिक
सम्वृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताए । ‘अव बन्ने संविधानले सम्वृद्धिको ढोका खोल्नुपर्छ’ उनले भने ‘तव मात्र देशको विकास हुन्छ ।’
कार्यक्रममा जेसीजका राष्ट्रिय अध्यक्ष सुशीलबाबु श्रेष्ठ, नेपाली कांग्रेस झापाका कार्यवाहक अध्यक्ष देउमान थेबे, शान्ति समिति झापाका अध्यक्ष सूर्यनारायण गणेश, एमाले नेता कुन्दन भट्टराई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भीम नेम्वाङ, विशाल थापा, राधा सुब्बा, मीरा बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्वती बिमली, श्रद्धा पोखरेल, गोमा भट्टराई, तिलरुपा श्रेष्ठ लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन शुक्रबार साँझ ‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ विषयक अन्तरक्रिया हुँदैछ । कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापा र एमाओवादीका युवा नेता गणेशमान पुनले समसामयिक राजनीतिक विषयमा चर्चा गर्नेछन् । सहभागीले उठाएका विषयमाथि दुई नेताबीच अन्तरक्रिया गरिने छ । त्यस्तै शुक्रबार राती साँस्कृतिक कार्यक्रमसमेत हुने जनाईएको छ । जेसीज शुक्रबारदेखि ५० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

0 प्रतिकृया:

Post a Comment