पहिचानको माग गर्दै हड्ताल – मुख्य समाचार

  • केर्खामा ट्रकमाथि आगजनी
  • आन्दोलन चर्काउने चेतावनी
दमक, ८ जेठ/नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जातीय पहिचानको माग गर्दै आम हड्ताल सुरु गरेको छ । हड्तालको पहिलो दिन देशका धेरैजसो स्थानमा बजार, पसल तथा यातायात बन्द रहे । बन्दका क्रममा लामो तथा छोटो दुरीका सवारीसाधनहरु चल्न सकेनन् । धेरैजसो विद्यालय तथा शैक्षिक संस्थाहरुसमेत बन्द रहे ।
बन्दका क्रममा देशका विभिन्न स्थानहरुमा सभाहरु समेत सम्पन्न गरिए । आदिवासी जनजाती संयुक्त संघर्ष समितिले आईतबार दमकमा सभा सम्पन्न गरेको छ ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का अध्यक्ष मोहन धिमालको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य पारषमणि राई, लिम्बूवान मुक्ति मोर्चाका झापा सचिव सुमन नेम्वाङ्, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को लिम्बुवान महिला परिषद्की झापा सचिव बिष्णु भट्टराई लगायतले बोलेका थिए । उनीहरुले जातीय ऐतिहासिकता र पहिचानका आधारमा राज्यको पुनर्संरचना गरिनुपर्ने अडान राखेका थिए ।
बन्दका क्रममा सुनसान दमक चौक ।  फोटोः पिपुल्स टाइम्स

बन्दका क्रममा झापाका बजार, पसल, उद्योगहरु बन्द रहे । सवारी साधनहरु चलेनन् । मुख्य शहर तथा चोकहरुमा बिहानैदेखि बन्दकर्ताहरु पाल टाँगेर तथा समूह बनाएर बसेका थिए ।
यसैबीच बन्द उल्लंघन गरेको भन्दै झापाको तोपगाछीमा एक ट्रकमाथि आगजनी गरिएको छ । 
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे.१ ख ७४८ नम्बरको ट्रकलाई पूव–पश्चिम राजमार्ग अन्तर्गको केर्खा चोकमा बन्दकर्ताहरुले साँझ ८ बजे तिर आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अघिल्लो भाग जलेको छ । आगो सशस्त्र, जनपथ प्रहरी तथा दमक नगरपालिकाको दमकले नियन्त्रणमा लिएका थिए । सो अघि प्रहरी र बन्दकर्ता बीच यातायात खुलाउने वा नखुलाउने बिषयमा विवाद भएको थियो  ।
सो घट्नामा संलग्न भएको आशंकामा प्रहरीले केहि व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले युवा संघ नेपाल झापा क्षेत्र नम्बर–७ का क्षेत्रीय सदस्य देवु दाहाललाई समेत नियन्त्रणमा लिएको युवा संघले जनाएको छ । युवा संघका क्षेत्रीय अध्यक्ष शम्भु भण्डारीले घट्ना हेर्न गएका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन् । दाहाललाई नियन्त्रणमा लिएको प्रति निन्दा गर्दै उनले तुरुन्त रिहाईको माग समेत गरेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरी खतिवडाले केहि व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको बताएका छन् । घट्ना संलग्न नरहेको पाइए उनीहरुलाई रिहा गरिने उनले जनाए ।
यसैबीच संघर्ष समितिले सुरु गरेको आन्दोलनलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले थप सशक्त पार्ने जनाएको छ ।
आइतबार परिषद्का महासचिव फक्ताङ्लुङ योङहाङले प्रेस बिज्ञप्ति जारी गरी आजबाट आन्दोलन थप कडा पार्ने जनाएका हुन् ।
धरान र तेह्रथुममा परिषद्का कार्यकर्तामाथि दमन गरिएको भन्दै बिज्ञप्तिमा त्यसको निन्दा गरिएको छ । बन्दका क्रममा देशका विभिन्न स्थानहरुमा सञ्चारकर्मी, सञ्चार गृहका सवारीसाधनहरुमाथि आक्रमण गरिएको छ । राजधानीमा रहेका विभिन्न सञ्चारगृहका सवारी साधनहरु तोडफोड समेत गरिएका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माका अनुसार बिहान ८ः३० बजे सिटिजन्स एफएम ९४ मेघाहर्जका पत्रकार दिनेश गौतमलाई फोटो खिचिरहेको अवस्थामा बन्दकर्ताहरुले वौद्ध, टुसालमा रड प्रहार गरी घाइते बनाउनुका साथै बा ४६ प ३४२१ नम्बरको उनको मोटरसाईकल समेत तोडफोड गरेका छन् भने सानेपामा बिहान ७ः४५ बजे एन्टेना फाउण्डेसनका पत्रकार राजन पराजुलीलाई बिहानको कार्यक्रम चलाउन कार्यालयतर्फ जाने क्रममा कुपण्डोलमा १५÷१६ जनाको समूहमा रहेका बन्दकर्ताहरुले पत्रकारको परिचयपत्र देखाउँदा पनि दुव्र्यवहार गर्दै बाटो छेकेर उनी सवार मोटरसाईकलमा आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।
यसैगरी सगरमाथा टेलिभिजनका राधेश्याम दाहाल, रोडम्याप साप्ताहिकका शक्ति कार्की र प्रकाश कट्टेल एवं खेलकुद पत्रकार महासंघका विकु तामाङ समाचार संकलनका लागि बा १० प ७०२३ र बा २२ प २८७८
नम्बरका दुईवटा मोटरसाइकलमा जाने क्रममा कुपण्डोलको सानेपा चोक नजिकै पुग्दा बन्दकर्ताहरुले दुव्र्यवहार र कुटपिट गर्नुका साथै दुवै मोटरसाइकल जलाएका छन् । कुटपिटबाट पत्रकार तामाङ घाइते भएका छन् । लगनखेलमा मुक्तिपत्र साप्ताहिकका सम्पादक उपेन्द्र शर्मालाई दुव्र्यवहार र उनको मोटरसाइकल तोडफोड भएको छ भने चाबहिलमा गोरखापत्र दैनिकका पत्रकारद्वय राजेश चाम्लिङ राई र शम्भुकुमार प्रसाई एवं राजधानी दैनिकका विजय चाम्लिङलाई बन्दकर्ताहरुले अपशब्द प्रयोग गरेको र पत्रकार राईलाई हातपातसमेत भएको छ ।
बन्दकर्ताहरुले हिमालय टेलिभिजनका क्यामेरा पर्सन वाइपी घिमिरेलाई कार्यालयतर्फ जाँदै गर्दा ग्वार्खोचोकमा कुटपिट गर्दै उनको बा २० प ३८९९ नम्बरको मोटरसाइकल जलाएका छन् भने उता कुपण्डोलमा विहानै कारोबार दैनिकका पत्रकार दिपेन्द्र कार्कीलाई दुव्र्यवहार गर्दै उनी सवार बा ९ च नम्बरको मोटरसाइकलसमेत तोडफोड गरेको छन् ।
त्यसैगरी विहानै पत्रिका वितरण गरेर फर्किएको कान्तिपुर पब्लिकेसन्सको बा ९ च ५५३७ नम्बरको गाडीलाई जोरपाटीमा बन्दकर्ताले ढुंगामुढा र लाठी प्रहार गरी तोडफोड गरेका छन् भने उता बुद्धनगरमा कान्तिपुर टेलिभिजनको बा ८ च ७६७७ नम्बरको गाडीमा समेत तोडफोड भएको छ ।
त्यस्तै बन्दकर्ताहरुले समाचार संकलनका लागि हिँडेको एवीसी टेलिभिजनको बा ६ च ५०७२ नम्बरको गाडीलाई चावहिलमा तोडफोड गरी स्टेरिङ्ग भाँचिदिई गाडीको साँचो समेत नियन्त्रणमा लिएका छन् भने उता ग्वार्खोमा एवीसी टेलिभिजनकै बा ३६ प ७८०१ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । त्यस्तै बन्दकर्ताले तीनचुले बौद्धमा एभिन्यूज टेलिभिजनको बा ९ च ४५५८ नम्बरको गाडीमा समेत तोडफोड गरी क्षति पु¥याएका छन् ।
यसैगरी गौशाला चोकमा मध्यान्ह १२ ः०० बजे नयाँ पत्रिका दैनिकका पत्रकार प्रकाश गुरागाईलाई  दुव्र्यवहार गर्दै बन्दकर्ताले उनको ना १२ प ५७१० नम्बरको मोटरसाइकल तोडफोड गरे भने चावहिलमा माउन्टेन टेलिभिजनका पत्रकार रोहित भण्डारीलाई कुटपिट र उनको क्यामेरासमेत खोसेका छन् । चावहिलमै समाचार सकंलन गरी फर्किएको नेपाल वान टेलिभिजनको बा ७ च १६०० नम्बरको गाडी तोडफोड र गाडीमा रहेका पत्रकार कविता अधिकारी र क्यामेरा पर्सन मंगल लामालाई दुव्र्यवहारका साथै क्यामेरा पर्सन लामामाथि कुटपिट पनि भएको छ । क्यापिटल एफएमका पत्रकार शम्भु दंगाललाई समाचार संकलनका लागि साइकलमा गइरहेको अवस्थामा ललितपुरको धोविघाटमा बन्दकर्ताले ‘दंगाल भनेको बाहुन कि नेवार भनेर सोध्दै बाहुनले हाम्रो समाचार लेख्दैन भन्दै पत्रकार दंगाललाई लाठी प्रहार गर्नुका साथै साइकलमा समेत क्षति पु¥याएका छन् । लाठी प्रहारबाट पत्रकार दंगालको घुँडामा चोट लागेको छ ।
यस्तै सगरमाथा टेलिभिजनका पत्रकारहरु सरल गुरुङ, सतिश सुवेदी, अक्कल कुँवर र पुण्य धमलामाथि बन्दकर्ताले हातपात गर्नुका साथै उनीहरु सवार बा २७ प ६८३२ नम्बरको मोटरसाइकल कुपण्डोलमा जलाए भने बा २५ प ३७४७ र बा २५ प ८८५४ नम्बरको मोटरसाइकल र दुई थान क्यामेरासमेत तोडफोड गरेका छन् ।
यसैबीच मोरङमा समाचार सकंलन गरी फर्किएका पत्रकारहरु गणेश निरौला, धुरव भट्टराई र सुरेश नेपालीलाई बन्दकर्ताहरुले आफू अनुकूलको समाचार प्रकाशन नगरेको भन्दै पत्रकारत्रयलाई ४५ मिनेट नियन्त्रणमा लिनुका साथै उनीहरुको प्रेस कार्डसमेत खोसेका छन् भने सुनसरीको तरहरामा पत्रकार दामोदर गुरागाईलाई बन्दका बेला मोटरसाइकल चलाएको भन्दै दुव्र्यवहार गरेका छन् । सिन्धुलीमा बन्दको समाचार प्रकाशित नगरेको निहुँमा बन्दकर्ताले सिन्धुलीबाट प्रकाशित हुने जनबोली दैनिक पत्रिका जलाउनुका साथै मोबाइलबाट पत्रिकाको कार्यालयमा फोन गरी तामाङसालिङ पार्टी कार्यालयमा आई लिखित स्पष्टीकरण दिन र नदिएमा कालोसूचीमा राख्ने र कारबाही गर्ने धम्की दिएका छन् । त्यस्तै नेपालगञ्जबाट बुटवल पत्रिका पु¥याएर फर्किएको नागरिक दैनिकको भे १ च १०८३ नम्बरको गाडीमा बन्दकर्ताबाट तोडफोड भएको छ ।
महासंघका महासचिव शर्माद्वारा आईतबार जारी विज्ञप्तिमा अधिकारका लागि भएको भनिएको आन्दोलनमा प्रेसजस्तो नागरिकलाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने आमसञ्चारकर्मीलाई आक्रमण गर्नु र सञ्चारसंस्थाका सवारी साधनमा क्षति पु¥याउनु चिन्ताको विषय भएको उल्लेख छ ।

0 प्रतिकृया:

Post a Comment