‘गणतन्त्र दिनवस अविस्मरणीय बनाउनुहोस्’

काठमाडौ, ८ जेठ/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र दिवसलाई जनस्तरमा अविस्मरणीय बनाउने गरी आयोजना गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आफ्नै अध्यक्षतामा राष्ट्रिय योजना आयोगको प्रेक्षालयमा आइतबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सबै नेपालीले गर्व गर्न लायकको गणतन्त्र दिवस कार्यक्रम हुनुपर्छ भने ।
संविधान बनाएर मनाइने प्रथम गणतन्त्र दिवसको ऐतिहासिक महत्व छ, त्यसलाई उपलब्धिमूलक बनाउन सबैको रचनात्मक सहयोगको आवश्यकता छ’–गणतन्त्र दिवस समारोहलाई सिर्जनशील ढङ्गले मनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने । जेठ १४, १५ र १६ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउन सरकारले विभिन्न समिति गठन गरेको छ ।
श्रृङ्गार र सरसफाइका निम्ति काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकाले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवम् ब्यानरले नगरको शोभा बढाउनुका साथै सरसफाइ गर्नेछन् ।
जेठ १४ गते गणतन्त्र दिवस भव्यताका साथ मनाउन सञ्चार माध्यमहरुबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकामा गणतन्त्र विशेषाङ्क स्मारिकाका रुपमा प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने लेख रचनाको प्रकाशन, नेपाल टेलिभिजन, रेडियो नेपाललगायत निजी क्षेत्रको सञ्चार माध्यमबाट गणतन्त्रको महत्वबारे परिसंवाद कार्यक्रम सञ्चालन गर्ने तथा रेडियो नेपालबाटै चेतनामूलक दोहोरी गीत प्रतियोगिता आयोजना गरिने छ ।
जेठ १५ गते गणतन्त्र दिवस मूलसमारोह समितिका अध्यक्ष तथा सदस्यहरु, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, महिला, सामाजिक सङ्घसंस्थासँग सम्बद्ध पदाधिकारीका साथै नागरिक समाज एवम् उद्योगी व्यवसायी र सर्वसाधारण सैनिक मञ्च टुडिखेलमा उपस्थित भई गणतन्त्र दिवस मनाइनेछ ।
सैनिक मञ्चको उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न हुने गणतन्त्र दिवस समारोहको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
विदेशस्थित नेपाली दूतावास तथा वाणिज्य दूतावासमा पनि विविध कार्यक्रम आयोजना गरी तीनदिनसम्म गणतन्त्र दिवस मनाइने छ भने ती तीनै दिन साँझ दीपावली गरिने छ ।
गणतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुको आत्माको चिरशान्तिका लागि विभिन्न मठ, मन्दिर, चर्च, मस्जिद बुद्ध, बिहार गुरुद्वारलगायत धार्मिक स्थलमा पूजापाठ एवम् प्रार्थना गरिने छ ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका जिल्ला र स्थानीय तहमा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा गणतन्त्र दिवस समारोह जिल्ला समिति गठन गरी प्रभातफेरी, खेलकुद, प्रवचन, सङगोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
त्यस्तै गाउँ विकास समिति तथा उपमहानगरपालिका, नगरपालिकाहरुमा सम्बन्धित स्थानीय निकायको अग्रसरतामा स्थानीय सामाजिक एवम् राजनीतिक सङ्घसंस्थाका साथै समाजका सबै वर्ग र व्यवसायका क्षेत्रमा प्रवचन, साहित्यिक गोष्ठी, खेलकुदलगायत विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने छ ।
गणतन्त्र दिवस समारोहको प्रचार प्रसारका लागि सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको संयोजकत्वमा १५ सदस्यीय प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख केदारबहादुर अधिकारीको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

0 प्रतिकृया:

Post a Comment