निशानामा प्रेस

प्रधानमन्त्रीद्वारा खेद व्यक्त
काठमाडौं, ८ जेठ/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजातिले आह्वान गरेको बन्दका क्रममा प्रेसमाथि गरिएको आक्रमणप्रति खेद ब्यक्त गरेका छन् । उनले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलिफोन गरी खेद ब्यक्त गरेका हुन् ।
गाउँलेका अनुसार प्रधानमन्त्री भट्टराईले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको पनि उल्लेख गरेको छ । साथै महासंघका तर्फबाट क्षतिको विवरण पठाउन आग्रह गर्दै प्रधानमन्त्रीले राज्यले क्षतिपूर्ति दिने बताएका छन् ।
यसैबीच अध्यक्ष गाउँलेले प्रेसमाथि गरिएको धम्की र आक्रमणले आक्रोशित बनाएको उल्लेख गर्दै सबै सञ्चार माध्यमहरु बन्द गरिन सक्ने उल्लेख गरेका छन् । ‘यस प्रकारको घट्नाप्रति खेद ब्यक्त गर्दछु’ उनले भने, ‘सरकारसँग प्रेस र पत्रकार सुरक्षाको ब्यवस्था मिलाउन र क्षतिपूर्ति दिलाउन माग गर्दछौं ।
‘घुसपैठ भयो’–लेखी
काठमाडौं, ८ जेठ/ नेपाल आदिवासी जनजाति महासंघले बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको दाबी गरेको छ ।
महासंघ अध्यक्ष राजकुमार लेखीले आइतबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको देखिएको छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका कार्यकर्ता तथा सर्वसाधारणलाई लखेट्ने, गिरफ्तार गर्ने काम प्रहरीले गरेको छ भने अवांछित कृयाकलाप गर्नेलाई प्रत्यक्ष संरक्षण दिएको देखिएबाट सरकारी संरक्षण प्राप्त भिजिलान्तेहरुको घुसपैठको पुष्टि हुन्छ ।’
लेखीले संचारकर्मीको मोटरमाथि आक्रमण गर्न खोज्ने एक समूहलाई नयाँ बानेश्वरमा आदिवासी जनजाति महिला महासंघकी सचिव टोमा लामा नेतृत्वको टोलीले लखेटेको विज्ञप्तीमा जनाएका छन् । ७२ घन्टे नेपाल बन्दको क्रममा जनताको असुविधालाई ध्यानमा राखेर काठमाडौंमा बिहान पाँचबजेदेखि अपरान्ह पाँच बजेसम्म मात्र बन्द कार्यक्रम संचालन हुने लेखीले जनाएका छन् ।

0 प्रतिकृया:

Post a Comment