कविता

तिमि नै बाँच संविधान 

खिलेन्द्रप्रसाद सुवेदी
म मरे पनि तिमी नै बाँच संविधान नहेर मलाई
बाँच्ने हक तिमं्रै यहाँ दुनिया तिम्रै हो
संविधान जस्तो बाँचेर हिँड्नु बेकार मात्रै हो
जो आफै मरे जस्तो छ यहाँ त्यसैलाई मार्दछौँ
संविधान भनेको के हो त्यो थाहा छैन थप्पड हान्दछौ
तिमी नै बाँच यो देशमा संविधान
निमुखा जनतालाई दिएर बलि महान् बन्दछौ
तन्त्र र वाद जे सुकै भन संविधान तिमी के ठान्दछौ
गरीबीहरु मर्नु र बाँच्नु संविधान तिम्रो खेल हो
ज्येष्ठ चौध सम्म पनि तिमी बनेनौँ भने सिंहदरबार तिम्रो जेल हो
अन्याय गर अपराध गर जे गर्न चाहन्छौ
बोल न बोल संविधान तिमी यो देशका ढाँट्नमा महान छौ
नियम तिम्रो कानुन तिम्रो हतियार पनि तिम्रो हो
हातमा लिई तिमीले लेख्ने मसी कहाँको हो
तिमी नै बाँच यो देशमा संविधान
सदाको दिन तिमीलाई मात्र उज्यालो भएछ
ज्येष्ठ १४ गते पर्खेर बस्छु के हुँदो रहेछ
हिम्मत साँची पर्खन सके  यो रात जाला कि
शान्तिको सास फेरेरु यहाँ सबै बाँच्न मिल्ला कि
पसिना र रगत नबगाए सम्म तिमी बन्दैनौ
तिमी नै बाँच संविधान अब कसैलाई गन्दैनौ
तिमीले ग¥यौ आन्दोलन तिमीले फुटायौ टाउको
पट्टि फुकाउन सकिएन चोट धेरै लाग्यो घाउको
भिरबाट हाम फाल्न सक्दैनौ तिमी सधैँ भरी अब रुनेछौ
तिम्रो नाम लिएर यो देशका जनता धेरै दुःखी भए
म मरे पनि तिमी  नै बाँच संविधान म त खुशी भए
तोडफोड भए गाडी जले संविधान तिम्रो नामले
म त बिदा लिँदैछु जे–जे गर्न  छ गर अब तिम्रो कामले
महङ्गी बढ्यो, तरल पदार्थ पढ्यो त्यो सबै तिम्रो भोटले
के–के बोल्नु पर्छ बोल्दै गर संविधान तिम्रो त्यो कलिलो ओठले
म मरे पनि तिमी नै बाँच संविधान नहेर मलाई
भाषण गर्दा तिम्रो नाम अघि आउँछ लेखाइबाट सकियो आजलाई
सुनाइीदनु यी कुरा तिम्रो त्यो सिंहदरबारका जहान परिवारलाई
कोरोबारी–१, तुलाचन झापा (नेपाल)




 





हजार सपना र मनमाया 
विमला तुम्खेला
यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज

उनले कुल्चिएर गएका पाइलाको खत
कसरी हरायो
कतै.....
समुन्द्रको तुफान भएर
पीरले पोतिएको उनको कालो अनुहार
पृथ्वीको कुन सीमामा पर्छ
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
तुफान जस्तो
जङ्गलका यी चोर बाटोहरुमा ।

हिजोजस्तो केही छैन
लोग्नेको मृत्युसँगै
आफ्नो भन्नु ट्यारलीङ्गके रातो साडी छ
उसलाई
जतनसाथ राखेकी छे काठको पुरानो बाकसमा ।

धर्ममा बाँधिएर मानिस कसरी दास बन्छ

पुरै
पुरै जीवन स्मृति जस्तो
लोग्नेको धमिलो तस्वीर हेर्दै बितरे जान्छ ।

उसको अस्तित्व भनौँ
उसले हेर्ने आकाश
आर्मी नं. १२१५४३१ गोर्खा इन्जिनियरको विधुवा पत्नी
‘मनमाया लिम्बू’
मूलढोकाको शिरमा सजिएको केही पुरानो तक्मा
अब,
उसको आँखा क्षितिज भएको छ ।

रातो सिन्दूरसँगै
उसको आफ्नो छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागर जस्तो
कालो जीवन भोगेर
कसरी उभिइरही उ एक्लै यो ठाउँमा
छातीमा दोस्रो विश्वयुद्धको पुरानो चोट लिएर
कसरी बाँची यस समयसम्म ?
उसको पीरले पोतिएको यो वनजङ्गल
पृथ्वीको कुन सीमामा पर्छ ?

भन्छे–
यो मन पत्थर भइसकेको छ
तर,
यस धर्तीमा पहिलो पल्ट आँखा खोल्दा
यस धर्तीमा पहिलो पल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई

जीवनको ६० वर्ष
आर्मी नं. १२१५४३१ गोर्खा ईन्जिनियरको विधवा पत्नी भएर बिताई ।

जवाफ देऊ
जवाफ देऊ उसले भोग्न नपाउँदै गुज्रिएर गएको जीवनको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खाोचमा ?
धेरै प्रश्नहरु उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
मनमाया उभिएकी छे,
यो राज्यको व्यवस्थाको अघि
यो आकाशको मुनी
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ।

0 प्रतिकृया:

Post a Comment