तेल अभावले गाडी कटौतीको अवस्था – मुख्य समाचार

गोपाल झापाली
दमक, वैशाख १७/एकमहिना भन्दा लामो अभावका कारण झापामा मागको आधा पनि पेट्रोलियम पदार्थको आपूर्ति हुनसकेको छैन । डिलरहरुले समेत सवारी साधनको ‘रुट दुरी’ तथा संवेदनशीलताका आधारमा तेल बिक्री गरिरहेका छन् । माग अनुसार पेट्रोलियम पदार्थ पाउन नसकेपछि यातायात व्यवसायीहरु भने सवारी साधन कटौती गर्ने अवस्थामा पुगेका छन् ।

पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ पाउन नसके पछि आफूहरु दैनिक सञ्चालन हुने सवारी साधनको सङ्ख्या घटाउने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । लामो समयसम्म लाईनमा बस्नुपर्ने र नियमित तेल लगाउने पेट्रोल पम्पहरुबाट मात्र पेट्रोल तथा डिजेल पाइने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली पम्पहरुले सवारी साधनलाई बाँडेर तेल दिने गरेको र माग अनुसारको पाउन नसकेको बताउँछन् । कतिबेला कहाँ पुगेर गाडी रोकिने हो भन्ने चिन्ता नमानी सवारी साधन सञ्चालन गर्नु परेको उनले बताए । ‘प्रत्येक पम्पमा १०÷१० लिटर तेल हाल्दै जानुपर्छ’ उनले भने– ‘एउटै पम्पबाट चाहे जति तेल नपाउँदा लामो दुरीका सवारी साधन सञ्चालन गर्न त झनै समस्या भएको छ, कतिबेला गन्तव्यमा पुगिने हो टुङ्गै हुँदैन ।’ नेपालमा बारम्बार नेपाल आयल निगमको घाटा देखाएर पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिए पनि अभाव नहटेकोमा उनको आक्रोश छ । तेल आयात हुने मुलुक भारत र नेपालमा प्रति लिटर २० रुपैयाँसम्मको फरक रहेको उल्लेख गर्दै फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढे आफूहरु पनि सवारी साधनको भाडा बढाउन बाध्य हुने उनले बताए । हाल मेची अञ्चलबाट दैनिक काठमाण्डौका लागि ४० ओटा यात्रुबाहक बस जाने गरेका छन् । यसैगरी नेपालगञ्ज, पोखरा, धनगढी, भैरहवा लगायतका स्थानमा समेत गरी ८० ओटा भन्दा भन्दा बढी यात्रुबाहक बस लामो सेवाका लागि छुट्ने गरेको मेची यातायात व्यवसायी संघले जनाएको छ । झण्डै दुई महिना देखि नै पेट्रोलियम पदार्थ माग अनुसारको पाउन नसकिए पनि अभाव चर्किएको दुईसाता भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
पेट्रोलियम पदार्थको अभावकै कारण छोटो तथा मध्यम दुरीका सवारी साधन समेत कटौती हुने अवस्थामा पुगेका छन् । नियमित रुपमा तेल हाल्ने गरेका पम्पहरुबाट मात्र डिजेल तथा पेट्रोल पाईने गरेको यातायात व्यवसायीहरु बताउँछन् । कन्काई यातायात व्यवसायी संघका सचिव गंगा सिटौला झापा भित्रका तथा बिराटनगर, धरानसम्मका लागि दैनिक ४ सय जति यात्रुबाहक बस सञ्चालन हुने गरेको बताउँछन् । ति बसहरुले बिहान, साँझ तथा तेल आएको कुनै पनि समयमा लामो समयसम्म लाईन लाग्नुपर्ने गरेको उनले बताए । ‘तेल आएकै समयमा पुगिएन भने त रित्तै पनि फर्कनुपर्छ’ उनले भने– ‘बाहिरबाट आउने गाडी थपिए भने त झनै अभाव चर्कन्छ ।’
पेट्रोलियम पदार्थका व्यवसायीहरुले भने आयल निगमबाट नै माग अनुसार तेल नआएका कारण बजारमा पर्याप्त पेट्रोलियम पदार्थ उपलब्ध हुन नसकेको बताएका छन् । मेची पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष टीकाराम पिठाकोटे निगमलाई अग्रिम भुक्तानी गर्दा समेत माग अनुसारको तेल पाउन नसकिएको बताउँछन् ।
उनले भने– ‘हामीले नै माग अनुसारको तेल पाउन सकेका छैनौं, हामीले पनि भए त बजारमा उपलब्ध नगराउने त कुरै आउँदैन नि ।’ उनका अनुसार मेची अञ्चलमा रहेका करिब ५० डिलर तथा पम्पहरुले मागको आधा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुनसकेको छैन । निर्माण कार्य बढी हुने अहिलेको समयमा मेचीमा दैनिक ३ लाख लिटर भन्दा बढी डिजेल र डेढ लाख लिटर पेट्रोलको माग हुने गरेपछि करिब आधा मात्र उपलब्ध गराउन सकिएको व्यवसायीहरुले बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment