समिति बने पनि अनशन रोकिएन

बेलडाँगी, वैशाख १७/भुटानी शरणार्थीहरुको पुनर्दर्ता प्रक्रियाका लागि समिति गठन गरे पनि पाँच दिनदेखि  अनशनमा बसेका भुटानी शरणार्थी महिलाहरुले अनशन तोडेका छैनन् ।
गृह मन्त्रालयले मन्त्रालयका उप–सचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेपनि अनशनकारीहरुले प्रकृया शुरु भएपछि मात्र अनशन रोक्ने बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न शनिबार अनशन स्थलमा पुगेको अधिकारकर्मीहरुको टोलीलाई उनीहरुले सो बताएका हुन् ।
नेपाल बार एशोसिएसन झापाका अध्यक्ष टंक उप्रेती, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक केपी सुवेदी, हुरेक्ड झापाका अध्यक्ष नारायण भट्टराई, ईन्सेक झापाका संयोजक लक्ष्मी निरौला तथा भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिका संयोजक डा. भम्पा राईसहितको टोलीले अनशनकारीको अवस्था गम्भिर भएको भन्दै उनीहरुलाई मानवोचित व्यवहार गर्न आग्रह गरेका छन् ।
अनशनकारी एवम् परिचयपत्र तथा राहत बञ्चित शरणार्थी महिला समूहकी संयोजक दूर्गादेवी विष्टले शरणार्थीको पुनर्दर्ता प्रकृया शुरु भएपछि मात्र अनशन रोकिने बताइन् ।
गृहमन्त्रालयले गठन गरेको समितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख यज्ञ आचार्यले पुनर्दर्ताका लागि गठित समितिको कार्यालय ३ दिन भित्रमा नैं स्थापना गरिने र प्रकृया शुरु गरिने बताए । उनले शरणार्थी महिलाहरुलाई अनशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment