हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

गर्मीले सप्तरीमा दुईको मृत्यु

सप्तरी । विगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण सप्तरीमा सोमबार २ जनाको मृत्यु भएको छ । गर्मीले शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार र सोलुखुम्बु जिल्ला नेटा बतासे गाविस–९ बस्ने ४५ वर्षीया लेखमान विकको ज्यान गएको प्रहरीले जनाएको छ । सरदारको अत्याधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने जिल्लाको मोहलीमा बसमा यात्रा गरेको अवस्थामा विकको ज्यान गएको हो । चर्को घाम लागेपछि सरदारको घरमै बेहोस भएर मृत्यु भएको छ भने विकको कटारीबाट धरान जाँदै गर्दा बसमा गर्मीले अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार व्यवसायमा समेत प्रभावित भएको छ । गर्मीले सोमबार झापा, मोरङ, सुनसरी लगायत तराई जिल्ला प्रभावित भएका छन् ।

गर्मीमा सर्पदंशका बिरामी बढ्दै

दमक । पूर्वी नेपालमा गर्मी बढेसंगै सर्पदंशका बिरामीहरु पनि बढीरहेका छन् ।  झापा,मोरङ, इलाम लगायतका  क्षेत्रमा पनि गर्मी बढेसंगै सर्पदंशका बिरामी बढेका हुन् । जेठ महिनाको २४ गते सम्म  नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश केन्द्रमा जेठ महिनाको २४ गते सम्म ८ जना  बिषालु सर्पले टोकेका बिरामीको उपचार पछि घर फर्किएका छन् ।  ती बिरामीहरुलाई तराई क्षेत्रमा पाइने अति बिषालु गोमन र करेत सर्पले टोकेको सर्पदंशका इन्चार्ज  स्वाथ्यकर्मी देवी भण्डारीले बताए ।  २४ दिन अवधिमा १ सय ३१ जना सर्पदंशका बिरामीको उपचार गरेको केन्द्रले जनाएको छ ।  २०७२ बैशाखमा ७ जना बिषालु सर्पका बिरामीले उपचार गराएर घर फर्किएको केन्द्रको अभिलेखमा उल्लेख छ । बैशाख महिनामा ९१ जना सर्पदंशका बिरामीले उपचार गरेका थिए । पूर्वी नेपालको  तराई क्षेत्रमा अति बिषालु  गोमन र करेत सर्प पाइन्छ । पहाड क्षेत्रमा अति बिषालु सर्प हरेउ र गुर्वे रहेका छन् ।  सर्पको टोकाईबाट बच्न घर वरीपरी हुने प्वालहरु बन्द गर्ने , रातको समयमा टस लाइट बालेर हिड्ने र जुत्ता चप्पल लगाएर हिड्नु पर्ने सुझाव केन्द्रको छ  । सर्पले टोकेको मान्छेलाई तलदेखि माथि सम्म नरम कपडाले बेरेर ल्याउने, सर्पले टोकेको बिरामीलाई धामी, झाँक्री लगाउने ,करेन्ट लगाउने जस्ता गलत काम नगरी चांडो नजिकैको सर्पदंश केन्द्रमा लैजान केन्द्रले आग्रह गरेको छ ।

आयुर्बेदिक स्वास्थ्य शिबिरमा बिरामीको चाप

महारानीझोडा । झापाको महारानीझोडामा एकदिने आयुर्बेदिक निशुल्क स्वास्थ्य शिबिरमा बिरामीको चाप अत्याधिक देखिएको छ । पहिलोपटक भएको आयुर्बेदिक स्वास्थ्य शिबिरमा बिरामीहरुको चाप रहेको पाईएको हो ।
सोमबार झापा क्षेत्र नं. ६ का सभाषद दीपक कार्कीले उद्घाटन गरेको स्वास्थ्य शिबिरमा निशुल्क रुपमा औषधी समेत प्रदान गरिएको थियो । कार्कीले आयुर्बेद स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउनका लागि सबैको पहल आवश्यक भएका बताए । झापामा आयुर्बेद उपचार पद्धतीमा बिश्वास बढ्न थालेपछि र बिरामीको चाप शुरु भएपछि जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले स्वास्थ्य शिबिरको आयोजना गरेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. सुर्यनारायण मेहताले बताए । उनका अनुसार सबै प्रकारका बिरामीहरु उपचारका लागि आएका थिए । २५ जनाभन्दा
बढी आयुर्बेदका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । बैगुन्धरा आर्युबेद स्वास्थ्यलयका प्रमुख कबिराज बेदप्रसाद शर्माका अनुसार सय प्रकारका औषधीहरु पनि निशुल्क प्रदान गरिएको छ । करिब ६ सय भन्दा बढी बिरामीहरु उपचारका लागि आएका छन् । नेपालमा पहिलोपटक आयुर्बेदको स्वास्थ्यशिबिर गर्ने जिल्ला झापा भएको जानकारी दिदै झापाबाट शुरु भएको यो अभियान अहिले देशब्यापी बन्दै गएको समेत बताईएको छ । कबिराज टेकनाथ अर्यालका अनुसार झापामा आर्युबेद स्वास्थ्य शिबिर बर्षमा दुईपटक बिकट गाबिसहरुमा हुदै आएको छ । अर्यालले स्वागत मन्तब्य राख्दै यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।

हिम चितुवाको घाँटीमा स्याटलाइट

फिदिम । विश्वको तेस्रो हिमालका रुपमा परिचित कञ्चनजंघा हिमालको फेदीमा संरक्षणकर्मीहरुले हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरेका छन् । उनीहरुले दुई साताअघि कञ्चनजंघा संरक्षण क्षेत्र अन्तरगत ताप्लेजुङको ओलाङचुङगोला गाविस वडा नम्वर ९ मा अवस्थित याङमा भन्ने स्थानमा हिमचितुवालाई पासोमा पारेर घाँटीमा स्याटलाइट जडान गरेका हुन् । विश्व वन्यजन्तुकोष, प्रकृति संरक्षण, कञ्चनजंघा क्षेत्र विकास आयोजना,दकञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद र स्थानीय हिमचितुवा संरक्षण समितिमा आवद्व पदाधिकारी र प्राविधिकको टोलीले यो काम सम्पन्न गरेको विश्व वन्यजन्तुकोषले सोमवार विज्ञप्ति निकालेर जानकारी गराएको छ । कोषले आफ्नो भाषामा यो कार्यलाई कगअअभककागििथ अयििबचभम धष्तज कबतभििष्तभ(न्एक् तभअजलययिनथ भनेको छ । यसरी हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरिएको यो दोस्रो पटक हो । यसअघि सन २०१३ मा कोषले ताप्लेजुङकै खाम्वाचेन क्षेत्रमा पहिलो पटक यो काम सफल पारेको थियो । यो कामका लागि कञ्चनजंघा संरक्षण क्षेत्रमा चारवटा टोली खटेका थिए । कोषका वरिष्ठ अनुसन्धान अधिकृत अनिल श्रेष्ठले भने –“टोलीले हिमचितुवाको वासस्थान पहिचान भएका क्षेत्रमा थापेका २८ मध्ये एउटा पासोमा करिव वर्ष वर्ष उमेर र ४१ किलो वजनको भाले हिमचितुवा फसेपछि त्यसको घाँटीमा स्याटलाईट जडान गरेर छाडेको हो ।” २८ जनाको टोलीले २५ दिनको मेहनत पश्चात हिमचितुवा पासोमा पारेर स्याटलाइट जडान गरेको पनि श्रेष्ठले वताए । यसरी स्याटलाइट जडान गरिएको हिमचितुवावाट अन्तरिक्षमा रहेको स्याटलाइटवाट उस्को रहनसहन, आचरण र स्वभाव अध्ययन गरिने पनि श्रेष्ठले वताए । श्रेष्ठका अनुसार यो काम धधा का अनुसन्धाताहरुले गर्नेछन । यसपट जडान गरिएको स्याटलाइटले हिमचितुवावारे १८ महिनासम्म सूचना दिने वताइएको छ । एक तथ्यांक अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा ३ सय ५० देखि ५ सय ९० को संख्यामा हिमचितुवा रहेको वताइन्छ ।

‘सहि सूचना दिनु सार्वजनिक निकायको दायित्व’

धनकुटा । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार रहेकाले सही सूचना दिनु सरकारी कार्यालय एवं सार्वजनिक निकायको दायित्व भएको बताएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाले सोमबार गरेको सूचनाको हक सम्बन्धी जिल्लाका सरोकारवालाहरुसंगको अन्र्तक्रियामा बोल्दै पोखरेलले सुचना उपलब्ध गराउँनमा कञ्जुस्याई गर्न नहुँने बताए । अहिले सूचना आयोगले सरकारी कार्यालयका सूचना अधिकारीलाई जिम्मेवार बनाउन र प्रोत्साहन सहितको कार्यक्रम ल्याउने तयारी गरिरहेको पोखरेलले जानकारी दिए । सहज सूचना दिने सस्कृतिको विकास गर्नु पर्ने बेलामा पनि सूचना लुकाउने कार्यालय र कर्मचारीहरुलाई कार्वाही गर्ने कानून निर्माण गर्ने चरणमा रहेको पोखरेलले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले धनकुटामा सूचना लिन अप्ठयारो नभएको दावी गर्दै त्यस्तो रहेमा जानकारी गराउँन आग्रह गरे । स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले पनि सही सुचना उपलब्ध गराउँनुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य सहभागीहरुले सरकारी कार्यालयबाट आर्थिक विवरणको सूचना दिन आनकानी गर्ने गरेको, एनजिओ र आईएनजिओले खर्च सार्वजनिक नगरेको र खर्चको विवरण नदिएको लगायतका गुनासो सुनाएका थिए ।  यसैबिच धनकुटाका २७ वटा सरकारी कार्यालयका सूचना अधिकारीको नाम र फोन नम्बर सहितको फ्लास बोर्ड सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सवै कार्यालयमा सुचना अधिकारीको ब्यावस्था गराईएको प्रमुख जिल्ला अधिकारी बिजयनारयण मानन्धरले बताए ।

स्वास्थ्य शिविरमा डा. चाङ

सुरुङ्गा । डाक्टरको पहुँचमा पुग्न नसक्ने विरामीहरुलाई लक्षित गरी सुरुङ्गामा एक दिवसिय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।    वडा नागरीक मञ्च कनकाई नगरपालिका वडा नं.३ र ४ को आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा सम्पन्न शिविरमा सातसय जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको आयोजक समितिका सदस्य गोविन्द पौडेलले वताए ।
डाक्टर चाङ सुपर स्पेसियलिटी हस्पिटल सिलिगुडीवाट डाक्टर चाङको नेतृत्वमा आएका विशेषज्ञ डाक्टरहरुवाट स्वास्थ्य परीक्षण गरीएको हो । शिविरमा हाड, जोर्नी, नशा, मुटु तथा दाँत रोग सम्वन्धि विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको हो । परीक्षणवाट जटिल समस्या देखिएका विरामीहरुलाई डाक्टर चाङको हस्पिटल सिलिगुडीमा रेफर गरीएको छ । शिविरमा सगुन, सगोल, अग्रसर महिला कृषि सहकारी संस्था लि., कनपा ४ सहप्रायोजकका रुपमा रहेका थिए । नेरेसो उपशााखा सुरुङ्गा, सहकार्य युवा क्लव, ज्ञानज्योती युवा क्वल, मार्गदर्शन नेपाल, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्र लगायतका सामाजिक संस्थाहरुको सहयोगी भुमिका रहेको आयोजक समितिका सदस्य यदु अधिकारीले वताए ।  दप प्रज्वलन गर्दै डाक्टर चाङले शिविरको उद्घाटन गरेका हुन् । वडा नागरीक मञ्च वडा नं. ४ का संयोजक राम घिमिरेको सभापतित्व एवं वडा नं. ३ का संयोजक यामनाथ सेढाईले स्वागत गरेको कार्यक्रममा चन्द्र मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाले शिविर सफलताको शुभकामना दिएका थिए ।

गर्मीका कारण जनजीवन अस्तब्यस्त

दमक । केही दिनदेखि बढेको गर्मीका कारण झापा सहित तराईका जिल्लाको जनजीवन अस्तब्यस्त हुन थालेको छ । बिहान सवेरैदेखि हपहपी गर्मी सुरु भएपनि मानिसहरुको चहलपहल समेत घटेको विर्तामोडका एक ब्यवसायीले बताएका छन् । दिनभर ग्राहक नै नआउने भन्दै बिहान र बेलुकी पखमात्र चहलपहल हुने गरेको उनले बताए । गर्मीका कारण बालबालिका, बृद्धबृद्धाका साथै मजदुर बढी मारमा परेका छन् । चर्को गर्मीका कारण मानिसहरु दिनभर शितल ठाँउमा भेला भएर बस्ने गरेका छन् ।
जेठ पहिलो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण पश्चिम तराईका जिल्लाहरु बढी प्रभावित भएपनि केही दिनदेखि पूर्वमा पनि त्यस्तै पिरलो थपिएको छ । गर्मीले तापक्रम बढेसँगै मानिसमा टाउको दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, झाडा पखला लगायतका समस्या पनि देखा पर्न थालेका छन् । गर्मी बढेसंगै झापाका प्रमुख ब्यपारीक शहरहरु विर्तामोड, दमक, काकडभिट्टा, दमक लगायत शहर,बजारमा मानिसहरुको चहलपहल घटेको छ । घाम त्यति धेरै चर्को नलागेपनि हपहपी हुने गर्मीले गर्दा धेरैको अनुहारमा खलखली पसिना देखिन्थ्यो । यसले पनि के पुष्टि गर्छ भने झापामा पनि गर्मी निकै बढेको छ । यसैबीच देशभर गर्मी बढ्दै गएकाले खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । गर्मीमा धेरै पसिना आउने र पसिनाको माध्यमबाटै नुनिलो पदार्थ बाहिर निस्कने भएकाले शरिरमा पानीको मात्रा कम हुन्छ । गर्मीका कारण झापाका अस्पतालमा बिरामीको सड्ख्या बढेको छ । गर्मीकै कारणले हुने विभिन्न रोगका कारण अस्पतालमा आउने बिरामीहरुको चाप अत्याधिक बढेको चिकित्सकहरुले बताएका छन् ।

तराईमा गर्मी अझै बढ्ने

काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताए । मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने सम्भावना रहेको उनको भनाई छ । उनका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै फाटफुट पानी परे पनि दिउँसो अझै केही दिन चर्को घाम लाग्ने सम्भावना छ । काठमाडौंको ताप शनिबार तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो । आइतबार पनि त्यसकै हाराहारीमा रहेको थियो ।

७ सय ४१ सम्पदामा क्षति

काठमाडौ । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पनले विभिन्न जिल्लाका ७ सय ४१ सम्पदामा क्षति पुगेको छ । त्यसमध्ये १ सय ३३ सम्पदा पूर्ण रूपमा क्षति भएको छ । बाँकी ६ सय ८ सम्पदा भने आंशिक र सामान्य रूपमा क्षति भएको पुरातत्व विभागले जनाएको छ । क्षति अझै कम वा बढी पनि हुन सक्छन् : विभागका प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले भने: यो हालसम्म प्राप्त तथ्यांकको आधारमा थाहा हुन आएको हो । विभागका अनुसार २० जिल्लाको सम्पदामा क्षति पुगेको हो । भूकम्पले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित १४ जिल्लाका सम्पदा बढी प्रभावित पारेको छ । भूकम्प बढी प्रभावित क्षेत्र वरपरका जिल्लामा रहेका सम्पदा समेत क्षति भएका छन् । विभागका अनुसार नुवाकोट, दोलखा, रसुवा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, बारा, जनकपुर, घादिङ, तनहुँ, लमजुङ, कास्की र मुस्ताङका सम्पदामा क्षति पुगेका छन् । बाँकी केहि जिल्लामा फाट्टफुट्ट प्रभाव परेको रिर्पोट आएको छ : कुँवरले भने । विश्वसम्पदा सूचीमा परेकोको काठमाडौं, भक्तपुर, ललितपुरका सम्पदामा बढी क्षति भएका छन् । उपत्यका बाहिर गोरखा, नुवाकोट, रसुवा, दोलखा, धादिङ आदि जिल्लामा बढी क्षति भएका छन् । काभ्रेको पनौती र काठमाडौंको कीर्तिपुर क्षेत्रमा रहेका सम्पदामा भने क्षति भएका छैनन् । त्यहाँ सामान्य क्षति भएको मात्र पायौं ः कुँवरले भने । विभाग र युनेस्को मिलेर सम्पदा नव निर्माण तथा पुननिर्माणका लागि काम गरिहेको छ । ‘हामीले विदेशबाट आएका टोली र युनेस्कोसँग समन्वय गरेर काम गरिरहेका छौं,’ कुँवरले भने ।

चट्याङले ठुलो जनधनको क्षति, २ को मृत्यु

बिर्तामोड । शुक्रबार राती पानीसँगै परेको चट्याङ लागेर झापामा ठुलो मात्रा धनजनको क्षति भएको छ । दुईजनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । चट्याङ लागेर चौपायादेखि बिभिन्न इलेक्ट्रीक लगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको र उनको उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मुत्यु भएको हो । त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कन्काई अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
 चट्याङ लागेर भद्रपुर १० का बिर ब. राजबंशीको एउटा गाई, जलथल ६ का श्रीप्रसाद ओलीको एउटा गाईको बाछी, हल्दीबारी ८ की सुमित्रा लुईटेलको एउटा भैसी, शनिअर्जुन ४ का हरी गिरीको एउटा लैनो भैसी र गौरादह ९ का शुकु राजवंशीको एउटा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले धेरै सर्बसाधारणको घर, पसलमा जोडिएका टेलिभिजन, फ्रिज, इन्भर्टर, फ्यान, इन्टर्नेट जडानका सामान क्षति भएको छ । चट्याङका कारण एक दर्जन बढी सर्बसाधारण घाइते भएको र ती उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

घैला छाप तेलमा अखाद्य बस्तु भेटियो

दमक । घैला छाप तोरीको तेलमा अखाद्य वस्तु भेटिएको छ । दमक ११ स्थित आरपि किराना स्टोरबाट किनेर लगेको ५ लिटरको जारमा लेदो भेटिएको हो । आम उपभोक्ताका तर्फबाट झापाको लखनपुर ५ का डोमनाथ तिवारीले शनिबार इलाका प्रहरी कार्यलयमा निबेदन दिएर तेल उत्पादक चन्द्रशिव राइस एण्ड आयल मिल्स प्रालि बिराटनगरलाई तत्काल कारबाही गर्न माग गरेका छन् । तिवारीले तेलमा भेटिएको अखाद्य वस्तुको तत्काल अनुसन्धान गर्न पनि माग गरेका छन् । तिवारीले इलाका प्रसासन कार्यलय दमक  र दमक उद्योग बाणिज्य संघलाई पनि बोधार्थ दिदै तेलमा अखाद्य वस्तु मिसावट गरेर आम उपभोक्ताको श्वास्थ्यमा खेलवाड गर्ने उत्पादकलाई अविलम्ब कारबाही गर्न माग
 गरिएको छ । अखाद्य वस्तु मिसिएको तेल इलाका प्रहरीलाई बुझाएको तिवारीले बताए । इलाका प्रहरी कार्यलय दमकका सई दिरेन्द्र कोइरालाका अनुुसार उपभोक्ताले बुझाएको तेल बिराटनगर स्थित खाद्य प्रविधि कार्यलयमा अनुसन्धानका लागि आइतबार  पठाइने छ । कार्यालयबाट आएको प्रतिवेदनका आधारमा कानुनी कारबाही अघि बढाइने कोइरालाले बताए ।

‘राष्ट्रिय सहमतिय सरकारको आवश्यकता’

बिर्तामोड । झापाका क्रियाशील राजनीतिक दलका नेताहरुले सहमतिय संविधान र मुलुकको विपद व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औंल्याएका छन् । उनीहरुले संविधान सभाभित्र र बाहिरका समेत दलहरुको सहभागितामा राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।
शनिवार संवाद समूहको सचिवालय बिर्तामोडमा भएको छलफलमा नेताहरुले त्यस्तो बताएका हुन् । छलफलमा सभासद तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रबिन कोइरालाले  सहमतिको संविधान निर्माण गरी यथाशिघ्र जारी गर्न संविधानसभाभित्र र बाहिरका दलको सहभागितामा राष्ट्रिय सरकार आवश्यक रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर सबैको स्वामित्वमा संविधान जारी गर्न सके भरपर्दो र दिगो हुने धारणा समेत राखे । सरकारको नेतृत्व जसले गरेपनि हुने बताउँदै उनले सबै दल यो बेला एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
नेपाली कांगे्रस झापाका उपसभापति देउमान थेवेले संविधान जारी गर्ने र सबैको सहमति हुने ग्यारेन्टी भए राष्ट्रिय सरकार गठन गर्नु ठीक हुने बताए । यतिबेला सरकारले सबैदलको सहयोग र समर्थन लिएर अघि बढ्नु पर्ने दायित्व रहेको बताउँदै उनले अहिलेकै सरकारको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु पर्नेमा जोड दिए ।
 एकीकृत माओवादीका नेता ज्योतिसिंह दर्लामीले सहमतिमा संविधान बनाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै त्यो सरकार सँग मुलुकमा परेको विपद व्यवस्थापन गर्ने गुरु योजना समेत हुनु पर्ने बताए । भूकम्पपछिको उद्धार र राहत संघीय राज्यको आवश्यकता र औचित्य अझ बढाएको बताउँदै उनले संघीयता सहितको संविधान निर्माणको लागि हरेक पार्टी पार्टीभन्दा माथि उठेर एकताबद्ध भई अघि बढ्नु पर्ने धारणा राखे । संवाद समूहको सचिवालयले ‘राष्ट्रिय सहमतिको सरकार, संविधान निर्माण र विपद व्यवस्थापनमा राजनीतिक दलहरुको धारणा’ विषयमा गरेको छलफलमा  अधिकांशले मूलुकको हितको लागि दिलीय स्वार्थ त्यागेर सहमतिको साथ अघि बढ्नुपर्नेमा  जोड दिएका थिए । नेकपा–माओवादी झापाका सेक्रेटरी रोशन कन्दङ्वाले अहिलेको बेला राष्ट्रिय
स्तरमा राजनीतिक समझदारी कायम गरी संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिए । स्थानीय शान्ति समिति झापाका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले सहमतीय संविधान निर्माणका लागि राष्ट्रिय सरकार नै अहिलेको विकल्प रहेको बताए ।
नेकपा मालेका सचिव नवराज खरेलले भने ‘वर्तमान सरकारले नै पूर्व सहमति बमोजिम संविधान जारी गर्नुपर्ने अनि त्यसपछि मात्र राष्ट्रिय सरकार गठनको प्रक्रियामा जानु पर्ने धारणा राखे । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य त्रिनारायण राजवंशीले राष्ट्रिय सहमतिको सरकारको वहश संविधान नबनाउने खेल भएको बताए । फोरम लाकतान्त्रिकका अध्यक्ष भरत राजवंशीले यो बेला दलहरु मिलेर एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिँदै मुलुकका वर्तमानका समस्या हल गर्न राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताए । संघीय समाजवादी झापाका इञ्चार्ज धनप्रसाद गुरुङले संविधान निर्माणका लागि पहिला राष्ट्रिय सहमति जुटाएर राष्ट्रिय सरकार निर्माणको चरणमा अघि बढ्नुपर्ने बताए । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष धनवहादुर पन्धाक सुब्बाले तत्काललाई मुलुकको विपद व्यवस्थापान गर्न सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताए । उनले संविधानसभा बाहिरका दलहरुलाई समेत उनीहरुको हैसियत अनुसार सहभागिता सुनिश्चित गरी राष्ट्रिय सहमतिको सरकार बनाएर सहमतीय संविधान निर्माणमा अग्रसर हुनु पर्ने धारणा समेत राखे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ताद्धय दिपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।