हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

के हो ‘सडेन इन्फेन्ट डेथ सिन्ड्रोम’ ?

सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा अमेरिकाका २४ राज्यमा सन् २००४ देखि २०१२ सम्म भएका सडेन इन्फेन्ट डेथ सिन्ड्रोम मामिलाको अध्ययन गरिएको जनाइएको छ ।
अमेरिकाको रोग नियन्त्रण केन्द्रले शिशुको मृत्युको प्रमुख तीन कारणलाई यसरी छुट्याएको छः सडेन इन्फेन्ट डेथ सिन्ड्रोम (सिड्स), अज्ञात कारण र ओछ्यानमा दुर्घटनावस सास लिन नपाउने । एकदेखि चार महिनाका शिशुमा सडेन इन्फेन्ट डेथ सिन्ड्रोम बढी देखिने भए पनि एक वर्ष नपुगेका जसलाई पनि यो समस्याको खतरा रहन्छ । ओछ्यानमा सुत्दा शिशुको मृत्यु हुने जोखिम उमेर समूह अनुसार फरक हुने भएकाले अनुसन्धान टोलीले दुई समूह शून्यदेखि तीन महिना र चारदेखि १२ महिना, बनाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान अवधिमा आठ हजार २ सय ७ शिशुको मृत्यु भएकोमा ६९ प्रतिशत शिशुले अभिभावकसँगै सुतेको अवस्थामा ज्यान गुमाएका थिए ।
अनुसन्धान टोलीले सडेन इन्फेन्ट डेथ सिन्ड्रोमजस्ता दुर्घटनाबाट जोगाउन जहिले पनि शिशुलाई उतानो पारेर सुताउनुपर्ने सुझाव दिएको छ । कोल्टे पारेर सुताएमा शिशु आफ्नो पेटको बलमा घोप्टिने खतरा हुन्छ । यस अतिरिक्त शिशुलाई न्यानो राख्ने भनेर धेरै लुगा लगाउने र ठूलो कम्मलले ओढाएर सुताउनु हुँदैन । कोठाको तापक्रम पनि आरामदायक राख्नुपर्छ ।

शिशुलाई कसरी सुताउने ?
– शिशुलाई हल्का नरम ओछ्यानमा सुताउने ।
– धुवाँ नहुने स्थानमा सुताउने ।
– शिशुलाई सुताउन वयस्क मानिसको ओछ्यान, कुर्सी, सोफा, तकिया आदि प्रयोग नगर्ने ।
– शिशुको ओछ्यानमा ठूला कम्मल, खेलौना, अतिरिक्त तकिया आदि नराख्ने ।
– आमाबाबुले शिशुलाई सँगै नसुताउने ।
– आमाले आपूmले सुतेर बच्चालाई कोल्टे पारी स्तनपान नगराउने । बसेर शिशुलाई काखमा राखी स्तनपान गराउनु पर्छ ।
– गर्भावस्था र बच्चा जन्माएपछि आमाले धूमपान नगर्ने वा धुवाँ हुने वातावरणबाट आपूmलाई टाढा राखेर पनि शिशुलाई सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट जोगाउन मद्दत मिल्छ ।
– शिशुलाई मसाज गर्दा शिशुलाई धेरैबेर घोप्ट्याएर राख्नु हुँदैन ।
– शिशु ब्युँझेको बेला उसलाई आफ्नो निगरानीमा केहीबेर पेटको बल रहन दिएमा उसको शारीरिक विकासमा सहयोग पुग्छ ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग

बिर्तामोड/बहराइनमा रहेका नेपालीहरूको संस्था लालीगुराँस सेवा समाजले झापाको बिर्तामोडस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको गरेको छ ।
नेपालमा रहेका अपाङ्ग, अनाथ तथा असहायहरूका लागि विभिन्न किसिमका सहयोग पुर्याउँदै आएको समाजले आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच केन्द्रलाई सहयोग रकम प्रदान गरेको हो । समारोहमा समाजका उपाध्यक्ष प्रकाश पाठकले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई सहयोग रकम प्रदान गरेका हुन् । कार्यक्रममा पार्वता बिमली, लोकनाथ पौड्याल, गणेश ढुङ्गाना, राम खरेल, जीवन पाठक, मनकुमारी सुब्बा, रेश्मा राजवंशी, विष्णु आचार्यलगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । शनिअर्जुन नगरपालिका, कप्तानवारीमा सञ्चालित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा अहिले ६ देखि १३ वर्षसम्मका १८ जना बालबालिका रहेको सरोकार केन्द्रकी उपाध्यक्ष उर्मिला खरेलले जानकारी दिइन् ।

एमाले गुटको बिल्ला, अधिवेशन सम्पन्न

टंक पाठक
 नेकपा एमालेको नवौं अधिवेशन सकिएको छ । केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीले विजय हात पारे भने अन्य पदका लागि खासै कुनै एक प्यानल नभई मिश्रित रुपमा विजय भएका छन् । अधिवेशनको दुई–तीन महिना अगाडिदेखि नै नीति र नेतृत्वको लागि रातदिन छलफल मात्रै होइन, रस्साकस्सी गर्दै थुतुनो चलाउन कसैले पनि बाँकी राखेनन् । खासमा माधवकुमार नेपाल र केपी शर्मा ओली नै एक अर्कामा गाली गलौजका नराम्रा शब्दहरू शब्दकोषमा भएसम्म शब्दहरू छानी–छानी र चोर औंलो ठाडो पारेर बोल्न बाँकी राखेनन् । यदि छलफल र बहसको उन्नत विधि र प्रणाली स्थापित गर्नु थियो भने अलग–अलग भेला गरेर भेला गरेर हिलो छ्यापाछ्याप गर्नु कथाचित राम्रो पक्ष होइनथ्यो । औपचारिक बहस र छलफलका लागि कार्य विधि र उन्नत प्रकारको लोकतान्त्रिक संस्कृति चाहिन्छ । त्यस्तो हुन नसकि उन्नत गुट तयार गरी मतपत्रमा समेत गुटको व्यवस्था गरी अधिवेशनमा होमियो । शुरूकै दिन अधिवेशन हलमा मात्रै नभए काठमाडौं गल्ली–गल्लीमा हुँदै अधिवेशन स्थल बाहिर महाभारतको युद्ध जस्तोबाट शुरू भयो त्यो अधिवेशन । आमन्त्रित स्वदेशी विदेशी पाहुनाले पनि महाभारतबाट तयार पारेका केही लड्डु, पेडाका उपहार पनि पाए । लाखौं लाख खर्च गरेर सजाइएका ब्यानर, तुल, गेट सबै ध्वस्त पारियो । काठमाडौंका प्रहरीले राम्रो काम पाए । यो मुलुकमा धेरै पार्टीहरू छन् । तर यस्तो ठूलो र हरेक जनआन्दोलनमा होमिँदै आएको पार्टी नेताले गुटबन्दी गरेर चुनावमा होमिनु र प्रहरीको सुरक्षामा मतदान गराउनु एमालेका लागि आगामी दिनका लागि त्यति राम्रा लक्षण नहुन सक्छ । अर्कोतर्पm हेर्ने हो भने २०४७ सालमा जितेर गएका सभासदहरू भुक्के चप्पल र एकसरो सामान्य पोशाकमा पुगेका यस पार्टीका मान्छेहरू आज पजेरो र महलका मालिक भएका देखिन्छ । अमेरिका र भारतलाई धारे हात पारेर सराप्नेहरू तिनै देशको ताल, चय र सुरमा नाचिरहेका छन् । सदनलाई बुर्जुवाहरूको गफ गर्ने अखडा भन्ने तिनीहरू बुर्जुवाहरूका मालिक बनिसकेका छन् । सर्वहाराको पक्षपाति हौं भन्ने आज अरब पति बनेका छन् । माक्र्सवाद र लेनिनवादका अनुयायी हौं भन्ने यस्तो महान् पर्वमा उनीहरूका फोटा समेत राख्न छाडेका छन् । कम्युनिष्ट हौं भन्नेहरू कमाउनिष्ट भएका उदाहरण झल्किँदै छन् । यो नवौं अधिवेशनलाई हेर्ने हो भने प्रचारबाजीदेखि हरेक क्रियाकलापमा प्रत्येक व्यक्तिले लाखौं लाख रुपैयाँ छुट्याएका छन् । कुनै आचारसंहिताको ख्याल छैन । बोल्ने शैली नकचरोपनको देखिनु, भोज भतेरदेखि सर्ट, टिसर्ट, टोपी वितरण गर्नुले पनि कम्युनिष्टहरू नभएर कमाउनिष्ट रहेछन् भन्ने देखिन्छ । नत्र भने सर्वहाराको नेतृत्व गर्नेसँग त्यस्तो सम्पत्ति कहाँ हुन्छ र ? जब ती सर्वहाराले एक छाक खाना खान धौ–धौ छ, अधिवेशन गराउनमा मात्र मासु भात खान एकदिनको मात्र पच्चिसदेखि तीस लाख खर्च भएको कुरा सार्वजनिक भएको पाइन्छ । त्यस्तै, अधिवेशन सक्दासम्मको खर्च सुने अनुसार साढे छ करोड भएको छ । बसाईमा मात्र एघार लाख खर्च भएको सुनेको छु । एक करोड आवास खर्च । जम्मा नौ दिनको मात्र खर्च करिब तीन करोड खानामा । त्यसबाहेक अन्य खर्च कति हो कति । त्यसपछि प्रत्येक व्यक्तिको लाखौं लाख खर्च । अब भन्नुहोस्, यस्ता खर्चको स्रोत के होला ? यस्तो किसिमको आन्तरिक पार्टीभित्र करोडौं करोड खर्च हुन्छ भने स्थानीय स्तरदेखि संसदीय तहसम्म चुनाव गर्दा के कसैले आर्थिक भार थाम्न सक्छ होला ? कम्युनिष्ट पार्टीभित्र त यस्तो खर्च हुन थाल्यो भने सामन्ती पार्टीहरूले झन् कति खर्च गर्छन् होला ? जुन यो अधिवेशनमा नेकपा एमालेले रङ्गीन पर्दामा यो दृश्यहरू देखायो । हुनसक्छ, माक्र्सवाद र लेनिनवादलाई र त्यस्तो सिद्धान्तलाई छाड्दै गर्दा र मदन भण्डारीबाट प्रतिपादित जबजलाई स्वीकार्दै लोकतान्त्रिक र समाजवादी आउनका लागि उपज परिणाम पनि हुन सक्छ । त्यस्तै, कुनै एक ठुट भारतमुखी भएको देखाउनका लागि पनि यसो हुनुपर्छ । नत्र भुक्के चप्पल लगाएर चिउरा मुरही खाँदै राजनीति गरेको सबैले देखेको छ, कसरी यस्तो दृश्यहरू झल्कियो होला ? मेरो मान्यता अधिवेशन गर्नु हुँदैन भन्ने होइन । खर्च पनि गर्नु हुँदैन भन्ने होइन । झैं–झगडा पनि हुँदैन भन्ने होइन तर प्रगतिशीलहरूले यस्तो तामझाम, महाभारतको लडाई, गुटको देखावाटी बिल्ला, करोडौंको खर्च, नराम्रा आक्षेप र गाली गलौज देख्दा कुरी–कुरी भयो भन्न मात्र खोजेको । बधाई छ, केपी जी र सबै जीत हात पार्ने नेताजीहरूलाई । यहाँहरूको कार्य सफलताको शुभकामना छ । तपाईहरूको विगतका क्रियाकलापहरूले आगामी पार्टीभित्र चुनौति आउन सक्छन्, बेलैमा सचेत हुन जरुरी छ । पुनः एकताको सुत्र बाँधियोस् । कुनै पनि पार्टी फुट्नु भनेको मुलुकले थप चुनौति व्यहोर्नु हो । यस्तो कसैको पनि नहोस् ।

'अल्कोहोलिक' साझा समस्या – सम्पादकीय

आज अल्कोलिक समस्या साझा समस्या बन्दै गएको छ । साधारणतया जाँड,रक्सीको लतलाई हामी सामान्य प्रकृतिको एक प्रकारको नसा मात्र हो भनेर विश्लेषण गछौं । यो हाम्रो समाजको बुझाई पनि त्यही नै हो । यो दृष्टिू संगै हाम्रो सांस्कृतिक चालचलन निकटताका कारणले समेत जाँड,रक्सीको सम्बन्धलाई जोड्न पुगेको छ । धेरै जाति,जनजातिहरुले जाँड,रक्सीको प्रयोगलाई संस्कृति संग जोडिएका तथा मान्दै पनि आएका छन् । तर ,त्यो संस्कृतिको सम्बन्ध यतिखेर चर्को सामाजिक समस्या समेत बन्दै गएको छ ।
हाम्रो समाज यो वेला लागूऔषधको अम्मल भन्दा डरलाग्दो समस्याका रुपमा ‘अल्कोहोलिक’ बनेको छ । लागूऔषधलाई नेपालको कानुनले निषेध गरेको छ । लागूऔषध सेवन गर्नु , बिक्री गर्नु तथा ओसारपसार गर्नु अपराध मानिन्छ । लागूऔषध ऐनले यी औषध प्रयोग तथा बिक्री गर्ने नियत मात्र देखिए ,कडा सजाय सम्मको सजाय तोकेको छ । तर,लागूऔषधका रुपमा सहजै पाईने घरेलु तथा अन्य प्रकृतिका जाड,रक्सीको उच्च प्रयोगका बारे न त कानुन न त हाम्रो समाज नै प्रष्ट रुपमा उभिन सकेको छ । यो बिस्तारै समाजलाई क्रमिक रुपमा विनास गराउने  पथमा लम्कीरहेको छ । हुन त जाँड,रक्सीको गलत प्रयोगले गर्दा नै अनेकौ समस्या झेल्नुपर्ने अवस्था बनेको छ ।
लागूऔषध भन्दा कैयौ गुणा असर जाँड,रक्सीले निम्ताएको  छ । एउटा ब्यक्ति ,परिवार संगै बिस्तारै सिङो समाजलाई यो समस्याले गाज्दै आएको छ । जाँड,रक्सीको बढ्दो सेवनले समाज नै प्रताडित छ । देशका कैयौ युवाहरु जाँड,रक्सीको लतले आफनो स्वास्थ्य  मात्र विगारेका छैनन् , अकालमा ज्यान संगै धनसम्पति नास गर्न बाँध्य छन् । समाजशास्त्रीहरुले अल्कोहोलिक समस्याले देश नै गाज्दै गएको र यस्तै अवस्था नरोकिए यसले देशको आर्थिक विकासमा नै असर पुग्ने चेतावनी दिदै आएका छन् ।
आज जाँड,रक्सीले अकालमा नै मानिसलाई मृत्युको मुखमा पु¥याउदै गएको छ । यसको परनिर्भरताले मानिसको स्नायु र पाँचन प्रणालीलाई कमजोर पु¥याँउने हुदाँ स्वास्थ्य उपचारका लागि पनि यो रोगले लाखौ धन खर्च गर्दे आएको छ । क्षणिक मनोरञ्जनको शुरमा हुर्किएको यसको सेवन अन्य लागूऔषधका झै एकै नै हो । जाँड,रक्सी होस या अन्य प्रतिबन्धित लागूऔषध किन नहोस,ती सेवन कुलत लत हो भनेर मानिन्दै आएको छ । यद्यपि , जाँड,रक्सीलाई सांस्कृतिक रितीरिवाज संग जोडेर त्यसको बढ्दो गलत प्रयोग नियन्त्रण गराउन जरुरी भईसकेको छ । किनकी जाँड,रक्सीको गलत प्रयोगबाट निस्कने भयाभह समस्या रोक्न राज्य तथा अन्य सरोकारवालाहरुको ध्यान जानु पर्छ ।

विपी स्मृति दिवसमा विभिन्न कार्यक्रम

पिपुल्स टाइम्स समाचार
दमक/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३३ औँ स्मृतिको अवसरमा झापाको दमक सहित देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएका छन् । दिवसमा कांग्रेस र उनका भगिनी संघ, संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना  गरि मनाएका समाचार प्राप्त भएको छ ।
नेपाली कांगे्रस क्षेत्र नम्बर ७ झापाले दमकमा अन्तरसंवाद सहित वृक्षारोपण गरेको छ । क्षेत्रीय समितिले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले कांगे्रसले वीपी कोइरालाको चिन्तनलाई भुल्दै गएको गुनासो गरेका थिए । सहभागीहरुले कांग्रेस भित्र एकता बन्न सकेमात्र वीपी को आदर्श पूरा हुने जोड दिएका थिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति पूर्णनन्द दाहालले वीपीको आदर्शको त्यागलाई कांग्रेसका नेता, कार्यकर्ताहरुले अनुशरण गर्नुपर्ने जोड दिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य शुरेश सुब्बा, राजन ढुङ्गाना, सरस्वती उच्च माविका प्राचार्य दिलीप श्रेष्ठ, नेविसंघ झापाका सभापति रोशन विष्ट, कांगे्रस दमक सभापति ढुण्डीराज भण्डारी लगायतकाले बोल्दै वीपीको विचारलाई ब्यवहारिक रुपमा मान्न सकेमात्र कांग्रेस बलियो हुने उल्लेख गरेका थिए ।
सोही अवसरमा दमक–१४ स्थित  सरस्वती उच्च माविको हातामा विभिन्न जातका विरुवा रोपिएका थिए । सिरीस, टिक, सिसौँ जातका विरुवाहरु रोपिएका क्षेत्रिय सभापति शेर बहादुर भट्टराईले जानकारी दिए ।
यसैगरि इटहरी सहकर्मीका अुसार नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
विराटनगर बरगाछी स्थित गुराँस पुस्तकालयद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यबाहक सभापति पौडेलले अग्रगामी परिवर्तनका नाममा वामपन्थीले जनतामाझ भ्रम छर्ने काम गरेको आरोप लगाए ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनका अनुयायीले आफ्नो विवेक प्रयोग गरेर हरेक समस्याको समाधान खोज्नुपर्छ भने । उनले अब शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कायम गर्न बिपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने बताए ।
कांगे्रस मोरङका सभापति एवम् सभासद् अमृत अर्यालले बिपीको मेलमिलाप नीतिको कारण कांग्रेस जनतामा लोकप्रिय बन्दै गएको हो भने । पुस्तकालयका सभापति दीपक चापागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, मीनकुमार श्रेष्ठ सीमा आभास, विवश पोखरेल, गोकुल अधिकारी लगायतले बिपीको स्मरणमा कविता वाचन गरेका थिए ।
यसैबीच, विराटनगर स्थित पार्टी कार्यालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कार्यबाहक सभापति पौडेलले बिपीको विचार अनुसार कांग्रेसले नेपालका निम्नमध्यम परिवारलाई मध्यमस्तरमा पु¥याउन चार हजार गाउँमा रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानीको सेवा पु¥याउन लागेको जानकारी दिए ।
बिपीको विचार यात्रा मंगलबारदेखि प्रजातन्त्र
 प्राप्तिका लागि आन्दोलन शुरु भएको विराटनगर रानीको हडताली हाटबाट शुरु भई भदौ २४ गते सुन्दरीजलमा सम्पन्न हुने पनि उनले बताए ।
यसैगरि काँकड्भिट्टा सहकर्मीका अनुसार वि. पि. स्मृति दिवसको अवसरमा वृक्षरोपण तथा अन्तरकृया कार्यक्रम काँकड्भिट्टा स्थित विपी स्मृति  वाटिकामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मेचीनगरको आयोजना र वडा इकाई १० को संयोजनमा भएको  कार्यक्रममा करिब एक सय वटा विभिन्न प्रजातिका बोटबिरुवाहरु  स्मृति  वाटिकामा वृक्षरोपण गरिएको थियो । सोही अवसरमा पार्टीले आयोजना गरेको अन्तकिृया कार्यक्रममा प्रमख अतिथि राम  कट्टेल, क्षेत्रिय सभापति मणि उप्रेती, महासमिति सदस्य प्रेम राई, तमोर राई, हस्त आङ्गदेम्वे, गिरिराज धमला, कान्ता श्रेष्ठ, अर्जुन राई, गोपाल शिवाकोटी, सुरेन्द्र बुढाथोकी लगायतले वि. पि. विचार, आदर्श र समाजबादका बारेमा विचार व्यक्त गरेका थिए ।
कार्यक्रम प्रेम सम्वाहाम्फेको सभापतित्व भएको थियो ।
यसैगरि इटहरी सहकर्मीका अनुसार  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहमा अध्ययनरत कम्युनिटी हेल्थ नर्सिङ विद्यार्थीको सक्रियतामा धरान–१७ रेलवे क्षेत्रमा सोमबार एकदिने आँखा शिविर सञ्चालन गरियो ।
सो विभागले यो वर्ष ज्येष्ठ नागरिकको स्वास्थ्य सरोकार भन्ने मूल नाराका साथ प्रतिष्ठानसँगै जोडिएको धरान–१७ को बस्तीलाई अध्ययनको प्रमुख केन्द्र बनाएर ३५० घर परिवारलाई अध्ययन गरेका थिए ।
विशेषगरी आदिवासी जनजाति र दलित समुदायको सघन बसोबास रहेको त्यो वडाका धेरै मानिस बिपी प्रतिष्ठान नजिकै भएर पनि उपचारमा नजाने, धेरै मानिसमा विभिन्न प्रकारका रोगका सङ्क्रमण रहेको तथा धुम्रपान मद्यपान र लागुऔषध सेवनकर्ता अधिक रहेकाले मिर्गौला पीडितको सङ्ख्या पनि अधिक फेला परेको टोली नेत्री सरिता अधिकारीले जानकारी गराईन् ।
उच्च रक्तचाप, मधुमेह, एचआइभी पोजिटिभ तथा आँखा, नाक, कान, घाँटी र मातृ मृत्युदर बढी र घरमा नै सुत्केरी गराउने जस्ता समस्याले ग्रस्त सो वडावासीले स्वास्थ्यमा पहुँच पु¥याउन आँखा शिविर गरिएको टोलीमा संलग्न जमुना भट्टराईले बताईन् ।
निःशुल्क आँखा शिविरमा ६० वर्षमाथिका उमेर समूहका १३० जनाको आँखाको रोगका जाँच गरिएको थियो । तीमध्ये नौजनाको आँखामा लागेको मोतियाबिन्दुका शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई प्रतिष्ठानमा नै शल्यक्रिया गरिने छ । शिविरमा आएका ५० जनालाई नियमित आँखाको जाँचका लागि राखिएको बताइएको छ ।

दुर्घटनामा एक मृत्यु एक घाइते

दमक/झापाको दमकमा मंगलबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवगञ्ज–५ का ३१ बर्षिय गणेश भण्डारी रहेका छन् । साँझ करीब साढे सात बजे पश्चीमबाट पूर्व तर्फ आइरहेको मे २ प ३०४३ नम्बरको मोटरसाइकल चलाईरहेका भण्डारी विपरीत दिशाबाट आइरहेको को ६ प ९५७५ नम्बरको मोटरसाइकलमा ठोक्किँदा मृत्यु भएको हो ।
 दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि अस्पताल तर्फ लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रविकुमार पौडेलले जानकारी दिए । सो दुर्घटनामा मोरङको मृगौलीया १ का २९ बर्षिय पारसकुमार भगत गम्भीर घाइते भएका छन् । घाइतेको उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल तर्फ पठाइएको जनाइएको छ ।

पाँच करोड दिन हुन्न : किराती

दमक/एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किराँतीले निर्वाचित क्षेत्रमा सभासदहरुलाई ५ करोड रुपैयाँ कुनै पनि हालतमा बिनियोजन हुन नदिने बताएका छन्  । उनले स्थानिय निकायमा बजेटलाई थप गरि बिकासका काम गर्नुपर्नेमा जोड दिए । मंगलवार  झापाको दमकमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिबसका अबसरमा माओवादी अध्ययन केन्द्र  दमकले गरेको अन्तरकृयामा बोल्दै किराँतीले त्यसरी बजेट दिइदाँ सभासदहरुको व्यापारमा मात्र वृद्धि हुने र त्यसको ठेकेदारी सभासदहरुले गर्ने आरोप लगाए । 
माओवादी अध्ययन केन्द्रले दमकमा गरेको अन्तरकृयामा सहभागीहरु
फरक प्रसङ्गगमा किराँतीले नेकपा एमालेका अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले प्रतिक्रान्तिको मात्र नेतृत्व गर्न सक्ने तर मुलुकको नेतृत्व गर्ने क्षमता नभएको   बताए । नवौँ महाधिवेशनबाट अध्यक्षमा  निर्बाचित ओली सँग संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट प्रतिष्पर्धी समेत रहेका उनले ओलीले धाँधली गरी जनतालाई झुक्याएर
 मात्र निर्वाचनमा जित हासिल गरेको आरोप लगाए । कार्यक्रममा एकिकृत माओवादी निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष अखिलेश्वर लाल दासले पुष्पलाल कम्युनिष्टहरुको आदर्श र महानायक भएको बताए । उनले पुष्पलालको जिवनी माथि प्रकाश पारेका थिए ।
माओवादीका नगर इन्चार्ज रमेश गुरागाइँले नेपालमा कम्युनिष्ट आन्दोलन र समाजवादी क्रान्तीको कार्यदिशा बिषयक कार्यपत्र पेश गरेका थिए ।  कार्यपत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, क्रान्तीकारी कार्यदिशा, आन्दोलन, बर्गिय अवस्थाका बारेमा उल्लेख गरिएको छ । उनले  कार्यपत्रमा सम्पुर्ण बिभेदहरुको अन्तका लागी समाजवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।  कार्यक्रममा धेरै जसो टिप्पणीकर्ताहरुले मुलुक अर्ध सामन्ती उपनिवेशिकवाद हटीसकेको हुँदा अव समाजवादी क्रान्तिमा जानु पर्ने बताएका थिए । तर टिप्पणीकर्ता  नेकपा एकीकृत झापा अध्यक्ष गजेन्द्र निरौलाले मुलुकमा अर्धसामन्ती उपनिवेशिकवाद कायम रहेको हुँदा त्यसको अन्त गरेर मात्रै समाजवादी क्रान्ति आवश्यक रहेको बताए । टिप्पणी गर्नेहरुमा एमाओवादी झापा अध्यक्ष धर्मशिला चापागाई, एमाले जिल्ला सदस्य राधाकृष्ण खनाल,  संघीय समाजवादी झापाका अध्यक्ष धिरेन सुब्वा, नेपाली काँगे्रसका हरि सुवेदी,  नेकपा माओवादीका बिमल आचार्यले देश समाजवादी आधुनिक प्रविधिमा अघि बढनु पर्ने बताए ।
 
                       पुष्पलालको स्मृतिमा रक्तदान सम्पन्न
दमक/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा मंगलवार झापाको दमकमा रक्तदान गरिएको छ ।
माओवादी अध्ययन केन्द्रले दमक चौकमा रक्तदान गरेको हो । एकिकृत नेकपा माओवादीकी जिल्ला अध्यक्ष धर्मशिला चापागाइँले रक्तदान गरेर उद्घाटन गरेकी हुन् । रक्तदानमा ७ महिला सहित २७ जनाले रक्तदान गरेका थिए ।


अदालतको फैसलाप्रति एमाओवादीको आपत्ति

बिर्तामोड/पुनरावेदन अदालत इलामले आफ्ना छ जना कार्यकर्तामाथि ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लगाउँदै गरेको कैद सजायको फैसलाप्रति एकीकृत नेकपा माओवादी झापाले आपत्ति प्रकट गरेको छ ।
पुनरावेदन अदालतले झापा बुट्टावारीका निरज गिरीको ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा सञ्जय लामा तामाङ, राजु लिम्बू, इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई पाँच–पाँच बर्षको कैद सजायप्रति एमाओवादीले आपत्ति प्रकट गरेको हो । एमाओवादी झापा उपाध्यक्ष राजु आचार्य अग्नीले मंगलवार विज्ञप्ति जारी गरी अदालतको फैसला त्रुटीपूर्ण रहेको बताए । २०६४ सालको संविधानसभा अघि बुट्टावारी स्थित नविन ट्रेड कन्सर्न(पेट्रोल पम्प) का सञ्चालक कृष्णकुमार गिरीका कान्छा छोरा निरज र वाइसीएल कार्यकर्तावीच भएको कुटपिटलाई
पुनरावेदन अदालतको केही दिन अघिको फैसलाले ज्यान मार्ने उद्योगमा सजाय तोकेको छ । झापा जिल्ला अदालतले कुपपिट भन्दै गरेको फैसलालाई पुनरावेदनले उल्ट्यार ज्यान मार्ने उद्योगको सजाय तोकेको हो । 
तत्कालीन समयमा निरज गिरीले बिर्तामोडमा पेस्तोल देखाउँदै व्यापारीलाई आतंकीत पारेको बिषयमा प्रशासनले सुनुवाई नगरेपछि वाईसीएल नेपालका कार्यकर्ता समक्ष उजुरी गरेका थिए । उजुरीका आधारमा छलफल गर्न जाँदा आफ्ना कार्यकर्तामाथि निरजले पेस्तोल देखाउँदै आक्रमण गरेपछि सुरक्षाका लागि प्रतिरोध गर्दा झडप भएको बिज्ञप्तिमा उल्लेख छ । संक्रमणकालीन राजनीतिक समयमा भएको घटनालाई सत्ता र शक्तिको दुरुपयोग गरी ज्यान मार्नेसम्मको उद्योग गरेको आरोपमा नियोजित रुपमा आफ्ना कार्यकर्ताबिरुद्ध मुद्धा दर्ता भएको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा उपस्थित नै नभएका इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई दोषी भएको आरोप लगाउने कार्यले अदालतको न्यायिक कार्यमा प्रश्न उठेको उल्लेख गरिएको छ । आफुलाई माओवादीले आक्रमण गरेको कागजात पेश गरी निरज घटनाको केही महिनापछि देखि नै शरणार्थीको रुपमा स–परिवार अष्ट्रेलियामा बस्दै आएका छन् । राजनीतिक कारण देखाएर बिदेशमा शरणार्थी हुने गिरीको सत्ता, शक्ति र पैसाको भरमा मुद्धा प्रभावित भएको एमाओवादी झापाको ठहर छ । निरज गिरी र उनका परिवारले चिया बगानमा काम गर्ने मजदुरको हत्या गरी पानीट्यांकीमा फालेको घटनामा सत्ता र शक्तिको भरमा निर्दोष सावित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले आफ्ना कार्यकर्तालाई षड्यन्त्रपूर्वक ढंगले ज्यान मार्ने उद्योगमा फसाउने कार्यबिरुद्ध कानुनी, सामाजिक तथा राजनीतिक लडाईं लड्ने समेत चेतावनी दिएको छ । त्यसका लागि नागरिक समाज, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी लगायत सबैसँग सहयोगको अपिल गरेको छ ।

ढकाल पुरस्कृत हुने

बिर्तामोड/यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार झापाका पुराना पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । त्यस्तै पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार लेखनाथ परदेशी शिवाकोटीकी श्रीमती कृष्णकला शिवाकोटीलाई प्रदान गर्ने निर्णय भएको छ ।
पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा बिर्तामोड स्थित महासंघको कार्यालयमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार संस्थापक परिवारका तर्फबाट भाष्कर शर्मा, २०७० सालमा पुरस्तकृतहरु मोहन
काजी र लीला राईसहितको छनोट समितिले यस वर्षको उक्त दुई पुरस्कार ढकाल र शिवाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको बताइएको छ ।
 ११ हजार रुपैयाँ नगद र सम्मानपत्रसहितको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारका लागि छनोट हुनु भएका ढकाल ३७ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । झापाको बिर्तामोड नगरपालिका–१ निवासी ढकाल हाल पूर्वाञ्चल दैनिकको डेस्क सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

मेचीमा समस्या बन्दै ‘अल्कोहलिक’

इलाम/एक दशक अघि झापाको विर्तामोडमा स्थापित ‘नयाँ आशा फाउण्डेशन’ नामक रिह्याविटेसन सेन्टरले स्थापनाको चार वर्षसम्म ड्रग्स प्रयोगकर्ताहरुको मात्र उपचार ग¥यो । त्यसयता रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक छन् । ५० जनालाई उपचार गर्ने क्षमता भएको नयाँ आशा फाउण्डेशनमा २५ देखि ३० जना टुट्दैनन् । त्यसमध्ये धेरै जना अल्कोहलिक हुने गरेको सेन्टरले जनाएको छ ।
मादक पदार्थ सेवनलाई समाजले पनि स्वीकारेकाले अहिले रिह्याव सेन्टरमा जानेमध्ये धेरै अल्कोहलिक हुने गरेको अध्यक्ष बलराम पनेरुको भनाई छ । ‘रक्सीको सेवनलाई समाजले पनि स्वीकारेको छ, कानुनी मान्यता पनि दिइएको छ’ उनले भने, ‘त्यसैले अल्कोहलिकको समस्या बढ्दै गएको छ ।’ मादक पदार्थ र लागूऔषध दुबै नशालु बस्तु भएकाले यसको एउटै समस्या भएको रिह्याव सेन्टरमा कार्यरत धिरेन्द्र देउजा बताउँछन् । ‘यी सबै चिज नशाको लागि प्रयोग हुने हो’ उनले भने, ‘अहिले मादक पदार्थबाट नशा लिने समस्या विकराल बन्दैछ ।’
२०५९ सालयता झापामा मात्रै ६ वटा रिह्याव सेन्टर स्थापना भएका छन् । लाइफलाइन ग्रुप विर्तामोड, नयाँ आशा फाउण्डेशन, विसडम फाउण्डेशन दमक, रि–वर्थ फाउण्डेशन विर्तामोड, सनराइज फाउण्डेशन धुलाबारी अहिले सञ्चालनमा छन् । झापाकै दमकमा महिलाहरुकै लागि मात्र ह्याप्पी नेपाल नामको रिह्याव सेन्टर स्थापना भएको छ । झापामा भएको रिह्याव सेन्टरमा अत्यधिक मादक पदार्थ सेवन गरेर क्रोनिक भएकाहरु धेरै जना छन् । मेचीको पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ्गमा रिह्याव सेन्टर छैनन् । तीन जिल्लाबाट धेरै जना झापामा रहेको रिह्याव सेन्टरमा जाने गरेको नयाँ आशा फाउण्डेशनका अध्यक्ष पनेरुले जानकारी दिए ।
नेपाल र भारतको अन्य ठाउँमा भएका रिह्याव सेन्टरमा जाने पनि निकै छन् । डाक्डर, इञ्जिनियर, सरकारी कर्मचारीहरु समेत रिह्याव सेन्टरमा पुग्छन् । कुलतका कारण धेरै शिक्षकहरु रिह्याव सेन्टरमा जाने गरेको सञ्चालक बताउँछन् । बालबालिकाहरु भने डेन्ड्राइड सुँघ्ने कुलतमा फस्दै छन् । झापामा स्थापना भएका रिह्याव सेन्टरले तीन महिना राखेर उपचार गराउने गरेका छन् । नयाँ आशा फाउण्डेशनले स्थापना देखि हालसम्म २१ सय जनाको उपचार गरिसकेको छ । त्यसमा धेरैजसो अल्कोहलिकको संख्या रहेको छ । ड्रग्स किन्न महङ्गो पर्ने र यसलाई कानुनी वन्देज लगाइएकाले प्रयोगकर्ता सीमित रहेको उनीहरु बताउँछन् । तर, मादक पदार्थ किन्न सस्तो पर्ने र जताततै  पाइने भएकाले धेरै सेवनकर्ताहरु क्रोनिक भइसकेको रिह्याव सेन्टर सञ्चालकहरु बताउँछन् । ‘ड्रग्सलाई एक डोजका लागि तीन÷चार हजार रुपैयाँ पर्छ’ रिह्याविटेसन सेन्टरमा काउन्सिलिङ्ग गर्दै आएका धिरेन्द्र देउजाले भने, ‘मादक पदार्थ पाँच रुपैंयाूको पनि पाइन्छ, सस्तोमा पाइने भएकाले धेरै र नियमित प्रयोग हुन्छ ।’
रिह्याव सेन्टरहरुले दैनिक ६ घण्टाको कक्षा लिन्छन् । योग लगायतका अन्य काममा ब्यस्त बनाउँछन्, परामर्श दिन्छन् र लागूऔषध तथा मादक पदार्थ सेवनकर्तालाई लतबाट छुटाउँछन् । रिह्याव सेन्टरबाट फर्किएर फेरि प्रयोग गर्नेहरुको समस्या बल्झिने रिह्याव सञ्चालक बताउँछन् ।