हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सुन्तलाबाट २८ करोड आम्दानी

इलाम, १३ पुष/जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन ५ प्रतिशत बढेको छ । उत्पादन बढेसँगै किसान यस वर्ष सुन्तला बिक्रीबाट २८ करोड रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार सुन्तलाखेती किसान बढेपछि उत्पादन विस्तार भएको हो ।
जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलबाट ४ हजार १ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयका वुद्धिराम भट्टराईले जानकारी दिए । सुन्तलाको उत्पादनबाट यस वर्ष जिल्लामा २८ करोड ७० लाख रुपैयाँ भित्रिएको छ । व्यक्तिगत रूपमा किसानले एउटै बगानबाट ३ लाख रुपैयाँसम्ममा सुन्तला बिक्री गरेको बताएका छन् ।
जिल्लामा हाल ७० रुपैयाँ प्रतिकिलोमा सुन्तला किनबेच भइरहेको छ । अघिल्लो वर्ष इलाममा ३८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि कार्यालयको तथ्यांक छ । कार्र्यालयले व्यवसायिक सुन्तलाखेती गरिँदै आएका जिर्मले, नामसालिङ, कन्याम, बरबोटे, पशुपतिनगर, सोयाक र गोदक गाविसलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।
उत्पादित सुन्तला झापा हुँदै छिमेकी भारतमा समेत निकासी हुने गर्छ । सुन्तला बगानमै भारतीय व्यापारी आई बोटसमेत किन्ने गरेको जिर्मलेका याम अधिकारीले बताए । सुन्तलाबाहेक जिल्लामा ५३ हेक्टरमा ५ सय ५५ मेट्रिकटन जुनार र ६२ हेक्टरमा ६ सय ३० मेट्रिकटन कागती उत्पादन भएको छ ।
बाँसखर्कबाट ३ करोडको सुन्तला बिक्री
पर्वत सुन्तला उत्पादनमा पश्चिमाञ्चलकै उत्कृष्ट सुन्तला पकेट क्षेत्रका रूपमा मानिँदै आएको पर्वतको बाँसखर्क गाविसबाट यस वर्ष गतवर्षको तुलनामा दोब्बर आम्दानी भएको छ । गतवर्षभन्दा यस वर्ष बढी सुन्तला उत्पादन भएपछि किसानले दोब्बर आम्दानी गरेका हुन् ।
गतवर्ष झन्डै डेढ करोडको सुन्तला निर्यात भए पनि यस वर्ष ३ करोडभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने स्थानीय सुन्तला कृषक यामबहादुर पुर्जाले जानकारी दिए । पश्चिमाञ्चलमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने बाँसखर्कका कृषकले बोटमै ४० देखि ८० रुपैयाँ प्रतिकिलोग्राममा बिक्री गर्दै आएका छन् । बाँसखर्कका सुन्तला पोखरा, काठमाडौं, नारायणगढ, भैरहवालगायत स्थानमा पुग्ने गरेका छन् ।
बाँसखर्कका २ सय ५६ घरधुरीका स्थानीयले सुन्तलाखेतीलाई व्यावसायिक रूप दिई प्रमुख आम्दानीको स्रोत बनाउँदै आएका छन् ।

श्रीमान् पक्राउ

विराटनगर, १३ पुष/मोरङको केरावारी–८ की जयन्ती तामाङको रहस्यमय ढंगले मृत्युभएपछि उनकै श्रीमान् विजय लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लिम्बूलाई अनुसन्धानका लागि बुधबारराति नियन्त्रणमा लिएको हो ।
केरावारी–८ मा स्थानीय छिन्ताङ्गे भन्ने र विजय लिम्बूबीच झगडा भएको जानकारी पाएर गएको प्रहरी टोलीले लिम्बूको श्रीमती मृत अवस्थामा भेटेपछि नियन्त्रणमा लिएको हो । झगडा भएको भनेर गएपनि सुतिरहेको अवस्थामा श्रीमान् उठाउँदा उठेको र श्रीमती मृत फेला परेपछि विजयलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । यता जयन्तीमा माईतीपक्षले भने विजयले कर्तब्य गरी हत्या गरेको आरोप लगाएका छन् ।

मानसरोवरमा अखिल (क्रान्तिकारी)

दमक, १३ पुष/एकीकृत माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले दमक–१४ स्थित मानसरोवर कलेजमा इकाई कमिटी गठन गरेको छ । बिहीबार कलेजमा भएको भेलाले योजन भट्टराईको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा योगराज कार्की, सचिवमा सुष्मा न्यौपाने, सह–सचिवमा विनोद पौडेल, कोषाध्यक्षमा रेनु अर्याल र सदस्यहरूमा केवल राई, उज्ज्वल राई लगायत रहेका छन् । संगठनका सिटीइभिटी पूर्वाञ्चल क्षेत्रीय समितिका संयोजक संजिव राई र सह–संयोजक अनिल सुवेदीले बोलेका थिए ।

राप्रविसंको विज्ञान संकायमा कमिटी

दमक, १३ पुष/राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) दमक बहुमुखी क्याम्पस इकाई कमिटीले विज्ञान संकायतर्फ स्नातक दोस्रो वर्षमा कमिटी गठन गरेको छ । बिहीबार सम्पन्न भेलाले सुदिप आचार्यको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरेको हो । गठिति कमिटीको उपाध्यक्षत्रयमा आकाश रेग्मी, विकास रेग्मी, राजु घिसिङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवद्वयमा सञ्जित भण्डारी, विक्रम पोखरेल, कोषाध्यक्षमा सञ्जिव कार्की र सहकोषाध्यक्षमा विक्की कार्की चुनिएका छन् । संगठनका अध्यक्ष किरण भण्डारी र सचिव महावीर सुर्खेतीले संयुक्त विज्ञप्ति मार्फत सो कमिटी गठन गरिएको जनाइएको छ ।

विद्यालय हिँडेकी बालिका वेपत्ता

उर्लाबारी, १३ पुष/विद्यालयमा काम छ भनेर हिडेकी एक बालिका एक साता देखि बेपत्ता भएकी छिन् । राधिका मावि उर्लाबारी–४ मा कक्षा–५ मा अध्यनरत सरस्वती सुवेदी एक साता देखि बेपत्ता भएकी वाबु निखिल सुवेदीले जानकारी दिए । विद्यालयमा काम छ भनेर विद्यालयको पोसाकमा घरबाट हिडेकी थिई बाबु निखिलले भने–दिनरात खोज्दैछु अझै सम्पर्कमा आएकी छैन् । होटल मा भाडा मस्काएर जिवीकोपार्जन गर्दै आएका बाबु निखिलले छोरीको खोजीमा सहयोग पु¥याउन संघ संस्था सञ्चारकर्मी वुद्धिजीवीहरूलाई अनुरोध गरेका छन् । यता इलाका प्रहरी कार्यालय उर्लाबारीले सरस्वतीको खोजी भइरहेको जानकारी दिएको छ ।

भगवती उमाविमा ओडारी

शिवगञ्ज, १३ पुष/झापाको शिवगञ्ज–९ स्थित भगवती उच्च माविको विद्यालय व्यवस्थापन समिति चयन भएको छ ।
बुधबार विद्यालयमा सम्पन्न एक भेलाले समितिका अध्यक्षमा गजबहादुर सोडारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, समितिका सदस्यहरूमा मणिकुमार माझी, श्रीप्रसाद चापागाईँ, निर्मला कार्की र सदस्य सचिवमा विद्यालयका प्राचार्य पदमप्रसाद दाहाल छन् । समितिले एक शिक्षक प्रतिनिधि र थप तीन सदस्य मनोनित गर्ने प्राचार्य दाहालले बताए ।

नागरिक सहायता भवन निर्माण गरिने

दमक, १३ पुष/झापाको दमकमा नागरिक सहायता कक्षको भवन निर्माण गरिने भएको छ ।
भवन निर्माणका लागि इलाका प्रहरी कार्यालय दमकमा भएको भेलाले रोमनाथ ओलीको अध्यक्षतामा नागरिक सहायता कक्षनिर्माण समिति गठन समेत गरेको छ । समितिको सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक गंगा राई, सदस्यहरूमा गंगा सिटौला, प्रकाश प्रसाई, ढुण्डी भण्डारी, सन्तोष राई लगायत छन् । समितिले ६ महिनाभित्र इलाका प्रहरी कार्यालय दमक परिसरमा भवन निर्माणको काम शुरू गर्ने बताइएको छ ।
यसैबीच सामुदायिक प्रहरी सेवा केन्द्र दमकले आकस्मिक कोष स्थापना गरेको छ । केन्द्रको भेलाले सवारी दुर्घटना र अन्य आकस्मिक घटनामा परेकाहरूको उद्दारका लागि कोषको स्थापना गरेको हो । समितिको अध्यक्षमा रोमनाथ ओली, सदस्यहरूमा प्रहरी निरीक्षक हरि खतिवडा, सदस्य सचिव गंगा राई लगायत छन् । कोषमा इलाका प्रहरी कार्यालयले ५ हजार, सन्त किराँतीले २ हजार, सन्तोष राईले एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

“मोफसलको फिल्मलाई माया गरिदिनुस्”

गोविन्द मोते – झापा दमकका व्यवसायी तथा चलचित्रकर्मी हुन् । दमकबाट आजदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘भविष्य’ का निर्माता उनी यस फिल्मबाट राम्रो व्यापार हुने विश्वासमा छन् । दमक–११ मा लामो समयदेखि पूजा टेलर्स चलाई आएका निर्माता मोतेले ‘भविष्य’ पछि ‘सती’ नामक चलचित्रको निर्माणका तयारीमा छन् । प्रस्तुत छ – मोते फिल्मस् प्रा.लि. ब्यानर तथा सीता मोतेको प्रस्तुति रहेको ‘भविष्य’ का निर्माता मोतेसँग गरिएको कुराकानी –

‘भविष्य’ फिल्म प्रदर्शनको तयारीमा छ, यो कस्तो फिल्म हो ?
मोफसलबाट निर्मित यस फिल्म एक विशुद्ध मनोरञ्जनात्मक नेपाली फिल्म हो । यसमा रोबोटको प्रस्तुति छ । दर्शकलाई भरपुर मनोरञ्जन दिलाउन यसले पक्कै दर्शकको मन जित्ने छ भन्ने विश्वास लिएको छु । पूर्वका फिल्मी क्षेत्रमा निश्चय पनि यो फिल्मले छुट्टै स्थान ओगट्ने छ र दर्शकको माया पाउने छ ।
यस चलचित्रले व्यवसायिक सफलता पाउने छ ?
निश्चय पनि । यो फिल्मी समग्र रुपमा मोफसलको फिल्म क्षेत्र छुट्टै स्थान र पहिचान बोकेको छ भन्ने लाग्छ । व्यवसायिक रुपमा यो फिल्मले सफलता पाउने छ ।
फिल्म क्षेत्र निर्माणमा उत्तिकै जोखिम पनि छन्, तपाईलाई के लाग्छ ?
हरेक क्षेत्रमा जोखिमका अवस्था अवश्य छन् । तर यो फिल्मबाट लगानीको जोखिम सहनु नपर्ला कि भन्ने लागेको छ । किनकि दमकका गहना र यहाँको परिचयका लागि समेत यस फिल्मले समेटेको छ । आधा बढी भाग दमकमा छायाङ्कन भएकाले विशेषत दमकेलीले यसलाई मन पराइदिनुहुने, माया गरिदिनुहुनेछ भन्ने विश्वास लागेको छ । त्यस्तो त यसै क्षेत्रका कलाकारहरूको प्रतिभालाई उजागर गराउन समेत यसले निश्चय पनि सघाउ पु¥याएको छ ।
तपाईले के देखेर फिल्मी क्षेत्रमा आउनुभयो ?
फिल्मी क्षेत्रबाट समाजका लागि केही गरौँ भन्ने उत्साहका कारण पनि फिल्मी क्षेत्रमा आएको हुँ । नाटक, गीत, सङ्गीत क्षेत्रमा विद्यालय स्तरमा जन भूमिका थियो, त्यसले पनि यो क्षेत्रमा केही गरौँ भन्ने दृढता चलचित्र निर्माणमा लागेको हुँ ।
तपाईको फिल्ममा कलाकारहरूलाई पारिश्रमिक दिनुहुन्न रे ?
होइन । मोफसलको हैसियतमा एउटा कलाकारलाई दिनुपर्ने पारिश्रमिक उपलब्ध गराएको छु । किनकि कलाकार होस् या अन्यले उसले काम गरेपछि न्यूनतम रुपमा पारिश्रमिक पाउनै पर्छ । मेरो फिल्ममा कलाकारहरूलाई पारिश्रमिक उपलब्ध गराएको छु ।
मोफसलमा फिल्मी क्षेत्रको समस्या के–के हुन् ?
धेरै समस्या खेप्नु परेको छ । प्रविधि कलाकारहरूको हिसाबले मोफसलमा अनेकौँ चुनौति छन् । प्रविधिमा ठूलो समस्या झेल्नु परेको छ, त्यस्तै, स्तरीय कलाकार मोफसलमा नपाउँदा उत्तिकै समस्या छन् । सारांशमा मोफसल राजधानी बाहिर ओझेलमा परेको छ ।
अन्तमा केही भन्नु छ ?
‘भविष्य’ आजबाट प्रदर्शनीको आरम्भमा छ । मोफसलका कलाकार, छायाङ्कन भएकाले मोफसलबाट मिर्मित नेपाली फिल्मलाई माया गरेर हौसला दिनुहोला भन्ने अनुरोध गर्दछु । ‘भविष्य’ पछि ‘सती’ फिल्मको निर्माणको अन्तिम तयारीमा छु । अझै यस्ता फिल्म निर्माण गर्ने कार्यमा हौसला पाए, केही गर्न सकिन्छ भन्ने लागेको छ ।

चासोक तङ्नाम र यसका प्रभाव

भूपेन्द्र खुदाङ लिम्बू
चाडपर्वहरू सामाजिक सद्भाव र रीतिथिति संस्कार संस्कृति निरन्तरताको द्योतक हुन् । सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तन अनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन पाइन्छ । खास गरेर लिम्बू समुदाय बसोवास गर्ने पूर्वी नेपाल लिम्बूवान क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोवास गर्ने लिम्बू जातिले सामूहिक रुपमा चाडपर्व मान्दै आएका छन् । लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले सम्पन्न जाति हो । लिम्बू जाति प्रकृतिक पूजक हुन् । हाल विभिन्न पेशा र जीवनशैली अपनाए ता पनि मुलतः लिम्बू चाडपर्व कृषिमा आधारित छन् । ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका
अर्थ झल्कन्छ ।
लिम्बू समुदायले महान चाडको रुपमा मान्दै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई लिम्बू भाषामा न्वागी पनि भनिन्छ । मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ । किरात याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किरात चाड एक परिचय पुस्तकमा उल्लेख अनुरुप मुन्धुमअनुसार कृषियुग शुरु हुनुअघि लिम्बूहरूका आदिम पूर्खा सावा येत्हाङहरूले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रर्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेना÷माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए । त्यसैलाई छरपोख गरी उब्जाएर खानु भन्दा अगाडि माङलाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी)पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा हुन् भनी लिम्बूजातिले मान्दछन् । यीनै माङ र तागेरानिवाभु माङलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरूलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

यसखेर लिम्बू समुदाय बसोबास रहेको लिम्बुवानको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई किरात लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । सोहि समयमा पहाडि भागको माथि खर्कतिर लगिएको गाईगोठहरू पनि तल बस्तितिर झारिन्ने गरिन्छ । पहिला घरघरमा न्वागी तथा चासोक पुजा गरि रमाउने लिम्बू समुदायले हाल आएर सामुहिक रुपमा यसलाई महान उत्सवको रुपमा मान्दै आएको छ । लिम्बू समुदाय रहेको लिम्बुवान बाहेक काठमाडौँ उपत्यका तथा विदेशमा समेत यसलाई सामुहिक पुजा तथा खुसियाली मनाउदै आएको छन् । वर्षमा एक पटक आउने यो पर्वमा खुसियाली साटासाट गर्ने तथा वर्षभरी भेट नभएको आफ्न्तजन तथा साथिभाइहरूसँगको भेटघाटको अवसर मानिन्छ । यस्तै यो अवसरमा विभिन्न मेलाको आयोजना गरी शुभकामना आदानप्रदान तथा मौलिक गीतसङ्गीत सहितको सांस्कृतिक कार्यक्रम, (यालाङ, केलाङ)धान तथा च्याब्रुङ नाच पनि नाचिन्छ ।
यसरी मनाईने किरातहरूको महान चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उधौलीलाई चासोक तङ्नामको रुपमा मान्छन् भने अन्य किरात वंशका शाखाहरूमध्ये राईले उधौली साकेला, याक्खाले चासुवा, सुनुवारले फोलष्याँदरको रुपमा मान्ने गर्दछन् । नेपाल सरकारले यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात मङ्सिर पूर्णिमाका दिन सार्वजनिक विदा २०५८ सालदेखि दिँदै आएको छ । सबै चाडपर्वहरूको आफ्नै महत्व रहेको हुन्छ । यस पर्वले राष्ट्रमा मेलमिलाप तथा भाइचाराको सम्बन्ध स्थापित गरेको छ । यसलाई सही रुपमा ग्रहण गरी मान्ने, मनाउने निरन्तरता दिनु आजको दायित्व हो । चाडपर्व सही रुपमा अगाडि नबढेमा मौलिक चाडहरू माथि विकृति विसङ्गति हावी नहोला भन्न सकिन्न । आफ्नो पहिचान मौलिक रीतिरिवाज, संस्कार, कला संस्कृति, भेषभूषा, भाषा, लिपि आदिले सम्पन्न छन् लिम्बूजातिहरू । अहिले मौलिक कला संस्कृतिहरू जस्तै यालाःङ (धाननाच), केलाःङ (च्याब्रुङ नाच) स्टेज कार्यक्रम हुन पुगेको छ । जुन कलाकारले मात्र नाच्न र गाउन सक्छन् । यसको अर्थ आज स्टेजमा भएको चिज भोलि सङ्ग्राहलयमा नपुगोस् यसैले लिम्बूजन्य सामाजिक सङ्घ–संस्थाहरू सामाजिक जागरण, अभियानमार्फत् कला संस्कार, संस्कृतिको कार्यक्रमहरू लिम्बू समुदायमा लगेर यी विषयवस्तुको बारेमा जानकार बनाउन आजको आवश्यकता बनेको पाइन्छ । आधुनिकताको नाममा संस्कार, संस्कृतिहरू लोप हुने अवस्था पुगेकोले सचेत हुन जरुरी छ । यसरी नै हाम्रो मौलिक चाडपर्वहरूको पनि संरक्षण, सम्बद्र्धन, व्यवस्थापन गर्दै निरन्तरता दिइएन भने मौलिक परम्पराहरू लोप हुनेछ । कुनै पनि चाडपर्वहरू सामाजिक चलन तथा समयको परिवर्तनसँग सम्बन्धित ग्रहण गर्ने र मान्ने मनाउने शैलीहरू परिवर्तन भएता पनि पहिचान झल्कनु पर्दछ ।

उधौली चाड, किराती र प्रकृति

आदिम युगदेखि प्रकृतिलाई नै इश्वर मान्ने तथा प्राकृतिक नियमानुसार जीवन शैली निर्वाह गर्ने किरातीहरू प्रकृति पूजक समुदाय हुन् । किराती समुदायका लागि प्रकृतिका अन्तरवस्तुहरू महत्वपूर्ण पक्ष हुन् । किराती समुदायले सभ्यताको विकास क्रमदेखि नै प्रकृतिसँग मिल्दोजुल्दो जुन संस्कृतिलाई आत्मसाथ गरेर आएका छन्, आजको युगमा समेत त्यसले महत्व राखेको छ ।
यतिबेला उठेका ग्लोबल वार्मिङ, कार्बन रिडक्सन, जलवायु र प्रकृति संरक्षण जस्ता विषयहरूलाई सहज समाधान गर्न पनि प्रकृतिपूजक आदिवासीय जीवन पद्धतिले महत्व राख्ने विज्ञहरूले बताइरहेका छन् । यस अवस्थामा किराती समुदायले प्रकृतिसँगको आफ्नो जीवन शैली र गतिविधिलाई जसरी अक्षुण राख्दै आएका छन् । यो उनीहरूको महानता समग्र मानव जगत र सृष्टिका लागि पनि महत्वपूर्ण छ ।
किराती समुदायले मुख्य गरी कृषि युगको सुरुवाती चरणलाई आत्मसाथ गरेर उद्यौली र उभौली चाडहरू मनाउँदै आएका छन् । वर्ष सुरुवातसँगै नदीनालाहरूमा पानीको वहाव बढेसँगै माछाहरू उक्त वहाव चिर्दै ठीक विपरित उभोतर्फ जाने हुँदा तयसलाई उभौली भन्ने चलन छ । यो मिथकिय मान्यताले किराती समुदाय जस्तो सुकै अवस्थामा पनि आफ्नो जीवन पद्धतिप्रति निरनतर संघर्ष गरिरहन्छ भनने अर्थ राख्दछ । उभौलीमा अन्नबाली लगाउनका लागि उपयुक्त मौसमको आशा गर्दै प्रकृतिसँग प्रार्थना गर्दै धुमधामका साथ विभिन्न सांस्कृतिक नृत्य र पूजाआजा समेत गरेर जेठको समयमा मनाउने प्रचलन छ ।
त्यस्तै हिउँदयाम सुरु भएसँगै नदीनालामा पानीको वहाव घट्दै जाने र माछाहरू उधो झर्ने प्राकृतिक नियमका आधारमा यसलाई उधौलीको संज्ञा दिइएको छ । यो पाुषको महिनामा पर्दछ । यसबेला अन्न बाली उमारेर, फलाएर घरमा भित्र्याइसकेपछि आफूले ग्रहण गर्न अघि उनै सर्वश्रेष्ठ ‘माङ‘ (प्रकृति) लाई चढाएर मात्र आफूले ग्रहण गर्ने प्रचलन छ । सरल भाषामा किरातीहरूले यसलाई ‘न्वाङ्गी‘ पर्व समेत भन्दछन् । किराती समुदायको संस्कार, संस्कृति र वेदीय शास्त्र ‘मुन्धुम‘ का ‘कथ्य‘ वा ‘लेखकीय‘ पक्षले पनि उधौली चाडलाई महत्व प्रदान गरेको छ । मानव जीवन निर्वाहका लागि उत्पादनको स्रोत र यसप्र्रतिको सहकार्य र व्यवस्थित निरन्तरता आवश्यक छ । वास्तवमा प्रकृति भन्दा पर अर्को शक्तिशाली पक्ष छैन । तसर्थ उनै प्रकृतिप्रति गहिरो आस्थाका साथ मनाइने किरातीहरूको उधौली चाड (चासोक तङनाम् ÷ साकेला ÷ चासुवा ÷ फोलषाँदर) प्रकृतिलाई मान्ने तमाम मानव जगतका लागि सामुहिक र सामाजिक चाड हो ।
किराती समुदायका लिम्बू, राई, याक्खा र सुनुवार जातिले आजसम्म पनि प्रकृतिप्रतिको आस्था, प्रेम, जिम्मेवारी र दायित्वलाई भूलेका छैनन् । त्यस्तै आदिवासी जनजाति समुदायले प्रकृतिलाई नै आफ्नो परमपूज्य शक्तिका रुपमा मान्दै आएको अवस्था छ । प्रकृतिसँग सम्बन्ध रहेका, आर्थिक, सामाजिक र सांस्कृतिक जीवन पद्धति जोडिएका किरानी समुदाय र समग्र आदिवासी जनजाति समुदायप्रति राज्यले न्यायोचित र सौहार्दताको व्यवहार गर्न जरुरी छ । आजसम्म प्रकृतिलाई संरक्षण गर्ने कुरामा उनीहरूको योगदान, सीप, क्षमता र जैविक पद्धतिहरूलाई राज्यले मूल प्रवाहमा ल्याउन सके मात्र उनीहरूमाथिको वास्तविक सम्मान झल्कने छ । अन्यथा क्रमशः यी जाति र उनीहरूले आदिम कालदेखि विकास गर्दै ल्याएको प्रकृतिलाई संरक्षण मिल्ने किसिमका कार्यहरू लोप हुँदै नजालान् भन्न सकिन्न ।