काठमाडौं । संविधान निर्माण तथा राष्ट्रिय सरकार गठनका विषयमा बालुवाटारमा सोमबार बिहान मुख्य दलहरुबीच छलफल भए पनि कुनै निश्कर्ष निस्कन सकेन । संविधान लेखनका विवाद र राष्ट्रिय सरकार गठनको विषयलाई सैद्धान्तिक रुपमा सोमबार टुंगो लगाउने भनिए पनि दलहरुका फरकफरक अडानका कारण बैठक निश्कर्षमा पुग्न सकेन । बैठक फेरि मंगलबार बिहान बस्ने भएको छ । बैठकपछि बाहिरिएका मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले राज्यको पुनरसंरचना लगायत संविधानका विवाद र राष्ट्रिय सरकार गठनका विषयमा छलफल सकारात्मक भएपनि निर्णय केही नभएको संचारकर्मीसँग बताए । आन्तरिक छलफल र वार्ता गरेर सहमतिको वातावरण बनाउने र मंगलबार बिहान पुनः शीर्ष बैठक बसेर राज्य पुर्नसंरचना लगायतका संविधानका विवादित विषय र राष्ट्रिय सरकार गठनका बारेमा एउटा निश्कर्षमा पुग्ने समझदारी भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दस प्रदेश अडानमा केही तलमाथि भएपनि पहिचान पूर्ण रुपमा छोड्न नसकिने बताएका थिए । एमाओवादी नेतृत्वको गठबन्धनले पहिचान र अधिकारमा आधारित दस प्रदेशको अडान राख्दै आएको छ । बैठकमा कांग्रेस एमालेले भने पहिचानलाई आधार मान्न नसकिने अडान राखेका थिए । कांग्रेस एमालेले छ देखि सात प्रदेशको खाका राख्दै आएका छन् । छलफलमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत तीनै दलका वरिष्ठ नेताहरुको सहभागिता थियो ।
पदको लोभ गर्ने बेला होइन : ओली

0 प्रतिकृया:
Post a Comment