विद्युत उत्पादन आयोजना बन्द

इलाम/करिब एक दशकदेखि बिजुली बालेका उत्तरी मावुका बासिन्दाले त्रिवेणी लघु जलविद्युत् आयोजना बन्द गरेका छन् । मेसिनरी सामग्री र टर्वाइनसम्म ल्याइएको कुलोमा बारम्बार आउने समस्याका कारण खर्च धान्न नसकेपछि पूर्वाञ्चलकै नमुनाका रुपमा रहेको सो विद्युत् आयोजना बन्द गर्न उपभोक्ता बाध्य भएका हुन् ।
आयोजना बन्द भएपछि त्यहाँ कार्यरत दुई कर्मचारीलाई बुधबार नै बिदा दिइएको उपभोक्ता समितिले जनाएको छ । आफ्नै जग्गा कृषि विकास बैंकमा धितो राखेर ऋणबाट सञ्चालन गरिएको आयोजना बन्द गरिएपछि स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन् । घरलौरी चन्दा उठाएर मावु र माइमझुवाका करिब चार सय उपभोक्ताले ५० किलोवाट क्षमताको विद्युत् आयोजना सञ्चालन गर्दै आएका थिए । उपभोक्ताले बिजुली बाल्दा बैंकमा राखेको ऋण तिर्न नसकेपछि लिलामको स्थितिमा पुगेको थियो, तर मावुमा सञ्चालित अपरमाई हाइड्रोपावरले रु १५ लाख तिरेर सात महिनाअघि मात्र उपभोक्ताको धनीपुर्जा बैंकबाट उकासिदिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष ढालबहादुर गुरुङले कुलो र टर्वाईनमा आइरहने समस्याले आयोजनाको ऋण थाम्न नसकिएपछि बन्द गर्न बाध्य भएको बताए ।  स्थानीयबासीको लगानी, वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र (इसाब) को अनुदान तथा नाम्सालिङ सामुदायिक विकास केन्द्रको सहजीकरणमा पूर्वाञ्चलमै पहिलो पटक स्थानीय प्रयासमा विद्युत अयोजना सञ्चालन गरिएको थियो । आयोजनाको कुल लागत ८५ लाखमध्ये उपभोक्ताले रु ५० लाख  खर्च गरेका थिए भने इसाबमार्फत् रु ३५ लाख  अनुदान प्राप्त थियो ।

0 प्रतिकृया:

Post a Comment