वैदेशिक रोजगारी र समस्या – सम्पादकीय

नेपाली श्रम बजार कहिले स्थापित हुने हो ? अझै टुङ्गो छैन । तर, नेपाली जनशक्तिको उचित सदुपयोग विदेशमा हुँदै आएको यथार्थ भने हाम्रा लागि अनौठौ विषय होइन । मूलत, नेपाली श्रमशक्ति दुई कारणले विदेशमा बिक्ने गरेको छ । एउटा कारण इतिहास देखि जोडिएको छ र परम्पराकै रुपमा त्यसले नियमितता प्राप्त गरेको त्यो भनेको विदेशी राष्ट्रिय सेनामा गरिँदै आएको भर्ती नै हो, जो दोस्रो विश्वयुद्ध शुरु हुनु अगावै देखि हालसम्म निरन्तर छ । साथै, यही परम्परासँग जोडिएका अन्य विविध कारणले नेपाली जनशक्ति विदेश पुगेका छन् । अर्को महत्वपूर्ण कारण पनि छ, जो स्वदेशमा रोजगारीको स्थिति सृजना नहुनुले उब्जाएको समस्या नै हो । मुलुकका पुराना उद्योग धन्दा धमाधम बन्द भइरहेका छन् । राज्यले त्यसतर्फ ध्यान दिन सकिरहेको छैन भने अर्कातिर विभिन्न मुलुकहरुमा कुटनीतिक प्रयास र श्रम मन्त्रालय मार्पmत जनशक्ति निर्यात गर्ने  कार्य डेढ दशकभन्दा अघि देखि शुरु भएको भए तापति समानुकूल सम्झौताहरु परिपक्व नभइरहँदा विदेशी भूमिमा श्रम गर्न गएका नेपाली नागरिकहरुको आवधिक रोजगारीमा विश्वसनियता कायम हुन सकिरहेको छैन ।
नेपाली कामदारहरुको चाप बढ्दो अवस्था रहेका खाडी मुलुकहरुमा विशेष गरी नेपाली कामदारहरु विभिन्न कारणले समस्या झेलिमात्रै रहेका छैनन्, काम गरेर पनि कामको उचित दाम नपाउने देखि कामबाटै निकालिने, धपाइने जस्ता अपमानजनक  समस्यामा पर्दै आएका छन् । हाम्रो मुलुकमा सरकार छ, विभिन्न मुलुकहरुमा नेपाली दुतावास छन्, राजदूतहरु नियुक्त भएर गएका छन्, श्रमसहचारीहरु कार्यरत छन् । सरकार पटक वैदेशिक रोजगारीकै रटान दोहो¥याइ रहन्छ र रेमिट्यान्सको अवलामा मुलुकको वार्षिक बजेट समेत तयार गर्न पछि पर्दैन तर आफ्ना नागरिकले विदेशी भूमिमा खेप्दै आएका पीडा, यातना, समस्या र बाधा अड्चनहरुका सम्बन्धमा सरकार अन्धो बनेर बसेको छ । यो उदासीको अन्त्य कहिले सम्म जारी रहने हो ? यसको अन्त्यको कुनै गुञ्जायस सम्म छैन ।
एक साता यता मलेसिया, कतार, दुवई लगायतका मुलुकहरुबाट ३ सय बढी नेपाली कामदारलाई सम्बन्धित मुलुकका रोजगारवदाता कम्पनीहरुले फिर्ता पठाउँदै छन् । केही हप्ता अघि मात्रै पनि ठूलो संख्यामा नेपाली कामदारहरुलाई फर्काइएको घटनाले नेपाली सञ्चार माध्यमहरुलाई तताएको थियो । विदेशीने क्रममा रोजगारदाता र नेपाली कामदारबीच गरिएको श्रम सम्झौताको पालना नहुने, सरकार यी सबै विषयमा मूर्ति मात्र बन्ने जस्ता कारणले आज नेपाली कामदारको श्रम मूल्यमा गिरावट मात्रै आएको छैन । रेमिट्यान्सले थेगेको हाम्रो मुलुकको अर्थतन्त्र धरासायी  बन्दै गएको समेत स्पष्ट छ । स्वदेशमा भन्दा बढी सुविधा भोग गर्न, धेरै आम्दानी गर्न घरखेत साहूलाई जिम्मा लगाएर विदेशीएका नेपाली युवाहरु मध्ये कतिपय यस्ता अभागीहरु पनि छन् जो विदेश जाँदा थुप्रै रहर, अभिलाषा र योजना बोकेर उड्छन् तर फर्कँदा भने मृत शरीर बन्द बाकसमा लाश बनेर मात्र आइपुग्न् ।
नेपाल सरकारले जब सम्म आफ्नो परराष्ट्र नीतिलाई युग अनुकूल सच्चाउन सक्दैन, बलियो अडान र विश्वासिलो हैसियत कायम गर्न सक्दैन तब सम्म वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको भविष्य सुरक्षित छैन । राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक तथ्याङ्क अनुसार १७ लाख बढी नेपाली नागरिक विदेशीएका छन् । यदी नेपाली परराष्ट्र नीति यसरी नै अन्यौलग्रस्त रहिरहने हो भने उनीहरुको भावी दिन सुखमय नबन्ने निश्चित छ । तसर्थ, यो राष्ट्रिय चासो र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषयमा राज्य गम्भीर बन्न आवश्यक छ । अहिले पनि दैनिक जसो राहदानी थाप्न परराष्ट्र मन्त्रालय अघि उभिने लाम, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको दृष्य देखि मुलुकभर सञ्चालनमा रहेका विभिन्न मेनापवर र वैदेशिक रोजगारीसँग सम्बन्धित व्यवसायिक संस्थाहरुमा नेपाली युवाको आकर्षण र दौडधुप देख्दा नेपाली नागरिकको विदेश मोहलाई सामान्य होइन, बरु थप झाँगिदै गएको संकेत मिलेको छ । त्यसैले नागरिकका पक्षमा उपयुक्त परराष्ट्र नीति र नेपाली जनशक्तिका पक्षमा हुने श्रम सम्झौता गर्न सरकार इमान्दार बन्न जरुरी छ ।

0 प्रतिकृया:

Post a Comment