सरकार बन्ने भए मात्र उम्मेद्वार सार्वजनिक

काठमाडौं, १० साउन/कांग्रेस एमाले नयाँ सरकार बन्ने टुङ्गो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेद्वार को भन्ने सार्वजनिक नगर्ने सहमति गरेका छन्।
सरकार बन्ने टुङ्गो नभई प्रधानमन्त्रीको उम्मेद्वार तोक्नु ठीक नहुने भन्दै यस विषयमा सार्वजनिक टिकाटिप्पणी पनि नगर्ने निष्कर्ष निकालेका छन् ।

केही दिन यता एमाले नेताहरूले कांग्रेसले उम्मेद्वार तय नगर्दा समस्या भएको उल्लेख गर्दै आँट नगर्ने हो भने एमालेले विकल्प दिने धारणा सार्वजनिक गरेका थिए । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र केपी ओलीले पनि पहिलो प्राथमिकता कांग्रेस नै भएको तर तयार नहुने हो भने एमालेले विकल्प दिने धारणा पार्टीका र सार्वजनिक कार्यक्रम मार्फत अघि सारेका थिए ।
यसै सन्दर्भमा कांग्रेस नेताहरू सहमति, सरकार र आन्दोलन लगायतका विषयमा छलफल गर्न मंगलबार दिउँसो एमाले मुख्यालय बल्खु पुगेका थिए । बैठकमा दुई दलले सहमति निर्माण र नयाँ सरकार गठन लगायतका विषयमा बुधबार माओवादीसँग छलफल गर्ने भएका छन् । माओवादीसँगको छलफलपछि मात्र कसरी अघि बढ्ने टुङ्गो लगाउने बैठकपछि दुवै दलका नेताहरूले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने –‘मुलुकलाई कसरी निकास दिने भन्ने सम्बन्धमा हाम्रो कुराकानी भएको हो, माओवादी अब कसरी अघि बढ्छ त्यसपछि मात्र हाम्रो राणनीति तय हुन्छ । ’ उनले राजनीतिक सहमति नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेद्वार तोक्नु आवश्यक नरहेको बताए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले भने सार्वजनिक रूपमा कसले नेतृत्व गर्ने भन्ने सम्बन्धमा टिप्पणी नगर्ने सहमति भएको जानकारी दिए । उनले भने –‘यो सरकार संवैधानिक छैन त्यसले कसरी अघि बढ्ने, सहमति खोज्ने भन्नेमै हामी छलफलमा बसेका हौं । ’ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सार्वजनिक रूपमा नबोल्ने कुरा भएको उल्लेख गर्दै गौतमले अब पनि सहमतिको दिशामा नजाने हो भने आन्दोलन चर्काउँदै लैजाने धारणा राखे ।

0 प्रतिकृया:

Post a Comment