आदिवासी जनजाति पार्टी खोल्ने तयारीमा

चितवन, १० साउन/आदिवासी जनजाति नेताहरूले राजनीतिक पार्टी खोल्ने तयारीमा जुटेको सार्वजनिक घोषणा गरेका छन्।
उनीहरूले माओवादी, कांग्रेस र एमालेबाट जनजातिको पक्षमा अधिकार नमिल्ने आरोप लगाउँदै पार्टी खोल्नुको विकल्प नभएको मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा घोषणा गरे । जनजाति नेताहरूको भनाईमा आगामी साउन २५ सम्ममा नयाँ पार्टी खुल्ने छ ।
यसका लागि देशका प्रमुख ठाउँमा सबैको राय बुझ्न र जनजातिका कार्यकर्तालाई एकीकृत गर्न भेला भइरहेको उनीहरूले बताए । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले भने –‘देशले जनजातिको हितमा काम गर्ने नयाँ पार्टी खोजिरहेको छ । ’ उनले ठूला भनिएका दलहरूले जातीय मुद्दा छोडेकाले सबैलाई समेटेर पार्टी गठन गर्न लागिएको उनले बताए । लेखीले साउन २५ गते विश्व आदिवासी दिवसमा आफूहरूको पार्टी घोषणा गर्ने जानकारी दिए ।
 महासंघका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार पासाङ शेर्पाले पार्टी निर्माणका क्रममा बनाइएको नौ सदस्यीय कार्यदलले नयाँ पार्टीको विचारधारा, दर्शन, उद्देश्य, नीति र कार्यक्रमबारे राजधानीमा वुद्धिजीवि, पूर्वप्रहरीप्रमुख, पूर्वसेनाप्रमुख लगायतसँग छलफल तीव्र पारेको जानकारी दिए । उनले साउन २५ गते केन्द्रीय तदर्थ समिति सहित पार्टी घोषणा गरी तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन गरिने बताए । संविधानसभाको विघटनपछि आदिवासी जनजाति आन्दोलनको दिशा तथा यसको स्वरूप विषयक बृहत् भेलामा सहभागी हुन लेखी लगायतका जनजाति नेताहरू जिल्ला दौडाहामा निस्किएका महासंघले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment