खानीडाँडा विमानस्थल पहिरोको खतरामा

खोटाङ, ९ साउन ÷कल्भर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलपानीको कटानका कारण खोटाङको खानीडाँडा बिमानस्थल पहिरोको खतरामा परेको छ । भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा खाल्लेस्थित बिमानस्थल पहिरोको खतरामा परेको हो ।
वर्षाको भलपानी निकासा गर्ने टावर नजिकैको कल्भर्ट थुनिएपछि धावनमार्ग हुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन थालेको खाल्लेका स्थानीय निवर्तमान गाविस उपाध्यक्ष नन्दप्रसाद घिमिरेले बताए । धावनमार्गमाथिबाटै बग्ने भलपानीले माटो कटान गरेपछि विमानस्थलको दक्षिणी छेउका तीन ठाउँमा ठूलो खाल्डो परेको र भत्किएको घिमिरेको भनाई छ । छेउबाट कटान हुँदै बिमानस्थलबीचको सेतो मार्किङ लाईनसम्म खाल्डो बनेको हो ।
तत्काल कल्भर्टको माटो हटाएर भलपानीलाई कल्भर्ट मार्फत निकासा गर्ने व्यवस्था नगरे बिमानस्थल पहिरोको जोखिममा पर्ने एक स्थानीयले बताए । विमानस्थलमाथिबाट झर्ने भलपानीलाई अन्यात्रै निकासा गर्ने कुलो नबनाएका कारण पनि विमानस्थल कटानमा सहयोग पुगेको स्थानीयबासीको भनाई छ । पछिल्लो समय अनुगमन नगरिएका कारण यसबारेमा थाहा नभएको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दूर्गा घिमिरेले बताए ।

0 प्रतिकृया:

Post a Comment