‘आयोजना सञ्चालनमा समस्या’

विष्णु सुब्बा
केर्खा, ९ साउन/सरकारी अनुदान आउन छाडेपछि झापाको तोपगाछीस्थित रतुवा माई वृक्षारोपण आयोजना धरासायी बन्दै गएको छ ।
वन मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिले २०३५ सालमा आयोजना स्थापना गरी सञ्चालन गरेको पूर्वकै एक मात्र वृक्षारोपण आयोजना पछिल्ला वर्षहरूमा आर्थिक चपेटामा पर्दै गएको छ ।
कार्यालयका प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सरकारी अनुदान आउन छाडेपछि दैनिक कार्यालय सञ्चालनमा समस्या भएको छ । आयोजनाको रोयल्टी समयमै निकासा नहुनु र आयोजना संरक्षण सम्बद्र्धनका लागि सरकारले सहयोगमा चासो नदिएपछि आयोजनाको अवस्था खस्किँदै गएको उनले बताए । आयोजनाका कर्मचारीहरूलाई तलब भत्ता पु¥याउनै समस्या हुन थालेको प्रमुख गौतम बताउँछन् । उनी भन्छन् –‘उत्पादित काठको बजार भाउ छैन, यसले समेत समस्या पारेको छ । ’
पूर्व–पश्चिम राजमार्गको लखनपुरदेखि माइधार क्षेत्रसम्म २ हजार ७ सय ५३.७६ हेक्टर क्षेत्रफलमा फैलिएको सो आयोजनामा २६ जना स्थायी र ४४ जना ज्यालादारीमा कर्मचारी कार्यरत रहेका छन् । आयोजनाले ती कर्मचारीहरूलाई तलब तथा पारिश्रमिकका लागि वर्षमा १ करोड रुपैयाँ खर्च हुने गरेको छ । तर, त्यतिका रकम अहिले आयोजनाले संकलन गर्न छाडेपछि वन रेखदेखका जिम्मा पाएका कर्मचारीहरूलाई तलब भत्ता खुवाउन नै चुनौति बन्दै गएको कार्यालय प्रमुख गौतमको भनाई छ । सरकारको वन क्षेत्र विरुतार गर्ने नीति बनिरहेको अवस्थामा वृक्षारोपणको जिम्मा पाएका यस्ता आयोजनाहरूतर्फ सरकारको ध्यान जानु पर्ने प्रमुख गौतमको भनाई छ ।
झापाको तोपगाछी–७, केर्खा बजारमा अवस्थित रतुवा–माई वृक्षारोपण कार्यालयको हाता । फोटो : पिपुल्स टाइम्स

आर्थिक वर्ष २०६८÷६९ मा आयोजनाले विभिन्न काठपात बिक्री गरेर ८८ लाख आम्दानी गरेको छ । त्यो रकम १९ हजार बढी क्युबिक फिट गोलिया, बल्लाबल्ली काठपात बिक्रीको परिणाम भएको आयोजनाले जनाएको छ । आयोजनामा टिक, मसला, साल, सिरिस जस्ता बिरुवाहरू छन् ।
‘टिक’को बजार छैन
आयोजनाले वर्षमा सरदर २० देखि २५ हजार क्युबिक फिट काठ उत्पादन गरिआएको छ । वयस्क बिरुवा काट्ने र नयाँ बिरुवा वृक्षारोपण गर्ने लगायतका कार्य गरिआएको सो आयोजनामा सबैभन्दा बढी ‘टिक’ जातका काठ उत्पादन हुन्छ ।
आयोजना प्रमुख गौतम भन्छन् –‘पूर्वका बजारमा टिकको मूल्य छैन, सामान्य अवस्थामा बिक्री हुने गरेको छ’ वर्षमा वयस्क काठ प्रति हेक्टर करिब २ सय ओटा निस्कने हुने गौतमको भनाई छ । बजारमा टिकको मूल्य सन्तोषजनक नभएकाले टिकको सञ्चित परिणाम बढेको उनले बताए ।
यसैगरी गएको वर्ष आयोजनाले वन क्षेत्रमा अवैध रुपले वन फडानी गर्न ९ जनालाई मुद्दा चलाएको थियो । आयोजना क्षेत्र आसपासका चिरानका आरा, खुकुरी, साइकल सहित समातिएका ९ जना विरुद्ध जिल्ला वन कार्यालयमा बुझाई मुद्दा चलेको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

बजेट अभावले वृक्षारोपण हुन सकेन

केर्खा, ९ साउन/बजेट अभावका कारण गएको वर्ष नर्सरीमा रहेका ३० हजार बिरुवाहरू रोप्न नसकिएको रतुवामाई वृक्षारोपण आयोजनाले जनाएको छ ।
वर्षेनी खाली क्षेत्रमा वृक्षारोपण गर्दै आएकोमा आयोजनामा हाल ३० हजार बढी बिरुवा वृक्षारोपणका लागि तयारी अवस्थामा रहेको भए तापनि माथिल्लो निकायबाट बजेट नआउँदा सो हुन नसकेको हो ।
प्रमुख गौतमका अनुसार आयोजनाको १ हजार ४ सय ५० हेक्टरमा बाक्लो गरी वृक्षारोपण भएको छ । त्यस्तै, ५ सय ६७ हेकटरमा मसला र टिकका बिरुवा रोपिएको छ । आयोजना हाताको ७ सय ३६ हेक्टर क्षेत्र पूर्ण खाली रहे पनि प¥याप्त बजेटको अभावमा वृक्षारोपण गर्न समस्या भएको गौतमले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment