राजनीतिक सुधारको खाँचो

झापा जिल्लाका क्रियाशील राजनीतिक दलहरु तथा सामाजिक संघसंस्थाका अगुवाहरुले दिगो शान्ति स्थापना र द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षको पहिचान सुनिश्चितता सहितको संविधान आवश्यक रहेको औल्याएका छन् ।
बुधबार झापाको दमकमा सम्पन्न ‘दिगो शान्ति स्थापनाका लागि गोलमेच सम्वाद’ कार्यक्रमका सहभागीहरुले आ–आफ्ना दलगत र संस्थागत विचार प्रस्तुत गर्नेक्रममा विभिन्न खाने धारणाहरु राखे । समग्रमा उनीहरुको धारणाको सार भन्नु सबैको पहिचान र आत्मसम्मान सहितको भेद्भाव रहित समाज र राज्य निर्माण हुनुपर्दछ भन्ने नै थियो । अर्थात् फेरि पनि मुलुकमा जुनसुकै नाउँमा जो कसैलाई विभेद् गर्ने, किनारा लगाउने, राज्यको मूलधारबाट हटाउने वा नीति निर्माण गर्ने तहमा पुग्न र आफ्ना धारणा राख्ने अवसरबाट बञ्चित गर्ने जस्ता कार्यको अन्त्य भए मात्र समाज भित्र व्याप्त द्वन्द्व न्यूनिकरण हुँदै जाने सहभागीहरुको भनाई थियो । समाजमा जारी थुप्रै प्रकारका द्वन्द्वहरु समाधान भइसकेपछि मात्र दिगो शान्ति कायम गर्न सम्भव हुने सहभागीहरुको धारणा थियो ।
केन्द्रीय राजनीतिक माहौल सत्ताको हत्तामा कसको पहुँच पुग्ने ? भन्ने विषय तिर लम्किरहेको अवस्थामा जिल्ला र स्थानीय तहका जनतामा शान्ति र संविधानको सुनिश्चितता थप प्रवल आवश्यकताको विषय बन्दै गएको छ । नेपाली जनतालाई सहज र आत्मसम्मान सहितको समाज आवश्यकता छ । राज्य पक्षबाट उत्पीडनमा पारेका तथा विभिन्न कारणले शोषण र दमन खेपिरहेका जनतालाई यो संक्रमणकालीन अवस्थामा शान्ति, सुरक्षा, मानव अधिकारको प्रत्याभूत गरेका सबै खाले अधिकार तथा अग्रगामी समाजको पक्षमा छन् । तर, जनआकांक्षा अनुरुप मुलुकको राजनीतिले सही गति लिइरहेको अवस्था छैन । नेपाली जनता वास्तवमा भन्ने हो भने राजनीतिक अस्थिरता र सत्ता झगडाकै कारण पीडित छन् ।
झापामा दिगो शान्ति स्थापनाका लागि किरात राई यायोक्खाले गरेको सम्वादमा बोलिएका जनविचारले राष्ट्रिय परिस्थितिमा कति महत्व पाउला नपाउला त्यो फरक विषय हो । तर, मुलुक चल्ने र जनताले खोजेको शान्तिका लागि अब राजनीतिक सुधार आवश्यक भइसकेको छ ।

0 प्रतिकृया:

Post a Comment