सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर

उर्लाबारी, १२ साउन/लागू औषध प्रयोगकर्ताहरूको उपचार गर्दै आएको विराटनगरमा रहेको न्यू लाईफ फेलोसिप सुधार गृहले विराटनगरमा पहिलो पटक विहिबार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
श्री हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा डाक्टर दिनेश न्यौपाने र स्त्री रोग विशेषज्ञ डाक्टर प्रेरणा दाहाल नेत्रृत्वको स्वास्थ्यकर्मी टोलिले स्वास्थ्य परीक्षण गर्नुका साथै विरामीको उपचार गरेर निःशुल्क औषधि वितरण गरेको हो ।
मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले लुकेर बसेका बिरामीहरूले समेत शिविरमा आएर आफ्नो रोग प्रष्फुटन गराउने अवसर पाएको बताए । कतिपय बिरामीहरू आर्थिक अवस्था लगायतका कारणले पैसा तिरेर उपचार गर्न जान असमर्थ भइरहेको अवस्थामा सुधार गृहले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर उदाहरणीय कार्य गरेको जिल्ला एड्स समन्वय समितिका संयोजक झमक घिमिरेले बताए ।
सुधार गृहका संस्थापक संरक्षक मुकेश बुढाथोकीले लागुऔषधको कुलतमा फसेका र उपचारको पहुँच सम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । सुधार गृहका अध्यक्ष रविन खत्रीले एक दिने शिविरमा डेढ सय बढी सर्वसाधारण र लागु औषधको कुलतमा फसेर विभिन्न सुधार गृहमा उपचार गराइरहेका ५३ जनाले स्वास्थ्य परीक्षण गराएका बताए ।

0 प्रतिकृया:

Post a Comment