‘धरासयी बन्दै इलम प्रशिक्षण केन्द्र’

विष्णु सुब्बा
दमक, १२ साउन/दमकको इलम प्रशिक्षण केन्द्र धरासयी बन्दै गएको छ । सम्झौता अनुसारको सहयोग नपाएपछि पूर्वकै ट्रेड स्कूलको रुपमा स्थापित हुने लक्ष्य बोकेको केन्द्र दिनानुदिन नाजुक बन्दै गएको हो ।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को संयुक्त लगानीमा दमक सहित देशभर खुलिएका १० ओटा त्यस्ता ट्रेड स्कूलहरू अधिकांश बन्द हुने अवस्थामा छन् । २०६१ सालमा पहिलो चरणमा पाँचै ओटै विकास क्षेत्रहरूमध्ये दमक, नुवाकोट, कञ्चनपुर, सुर्खेत, नवलपरासीमा एकैसाथ स्थानीय स्तरमा ती ट्रेड स्कूल सञ्चालनमा आएका थिए । पछि थप ५ ओटा ट्रेड स्कूलहरू स्थापना भएका बताइएको छ ।
अर्ध शिक्षित, बेरोजगार, गरीब तथा आर्थिक विपन्नता भएका युवापुस्तालाई सीपमूलक तालिम दिएर दक्ष र स्वरोजगार बनाउने हेतुले साझेदारीमा खोलिएका ट्रेड स्कूलहरूले पछिल्ला वर्षहरूमा सरोकारवाला निकायहरूबाट सहयोग नपाएपछि समस्या झेल्दै आएका छन् ।
दमक–१३ स्थित अलपत्र बनेको इलम प्रशिक्षण केन्द्रको एक तले पक्की भवन । फोटो : पिपुल्स टाइम्स

दमकको इलम प्रशिक्षण केन्द्रका प्रमुख वेदु गौतमले सरोकारवाला निकायले सहयोग नगरेका कारण संस्थालाई नियमित चलाउन समस्या आएको बताए । आफ्नै स्रोतबाट केन्द्र चल्न सक्ने अवस्था छैन, सरकारको सहयोग रोकिएपछि नियमित कामकाज नै प्रभावित बन्न पुगेको प्रमुख गौतम बताउँछन् । उनले भने –‘दक्ष जनशक्ति उत्पादन गर्ने अवधारणा सहित राज्यका विभिन्न निकायले अनिवार्य सहयोग गर्ने सम्झौता अनुसार स्कूल खुले, अहिले सहयोगी निकाय चुपचाप बस्दा सञ्चालन गर्नै समस्या परेको छ । ’ मुख्यगरी उच्च स्तरीय ती निकाय सहित स्थानीय तहमा जिविस, नगरपालिका र सरकारले सञ्चालन गर्ने विभिन्न निकायका सीपमूलक तालिमहरू गराउने र सहयोग पु¥याउने भनिए पनि पछिल्ला वर्षहरूमा कसैको सहयोग नआएको केन्द्रले जनाएको छ ।
केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले सरोकारवाला निकायहरूले सहयोग नगरेका कारण केन्द्रको अवस्था नाजुक बन्दै गएको बताए । उनले प्रारम्भिक चरणदेखि २०६४ सालसम्म सरकारबाट छुट्ट्याइएको २५ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघ मार्फत पटक–पटक गरी १९ लाख रुपैयाँ आएपनि त्यसपछि थप बजेट नआएको जनाए । ‘स्थानीय तहमा केन्द्र सञ्चालनको दिगो स्रोत छैन’ उनले भने –‘यसले गर्दा केन्द्र सञ्चालनमा कठिनाई बन्दै गएको हो’ । केन्द्रबाट विभिन्न रोजगारमुखी सीपहरू सिकाउने गरिन्छ ।
दमक–१३ मा रहेको केन्द्रले एक हप्ते साधारण देखि ९ महिने अवधिका तालिमहरू सञ्चालन गरी आएको छ । कतिपय सरकारी तथा अन्य संघ संस्थाहरूले समेत त्यस्ता तालिमहरू निःशूल्क रुपले चलाउँदै आएकाले पनि केन्द्रका तालिमहरूप्रति आकर्षण कम भएको गुनासो आएको छ । केन्द्रका प्रमुख गौतम भन्छन् –‘सरकारको स्थानीय निकायबाट उपलब्ध हुने सोही प्रकृतिको तालिममा भत्ता सहित तालिम दिने भएकाले यस्ता तालिम शिक्षालयमा भने जति सहभागीको संख्या न्यून छ’ ।
यसैबीच, पहिलो चरणमा खुलेका ट्रेड स्कूलहरूलाई सरोकारवाला नियकाहरूले स्थापनाका अवस्थामा ५ वर्ष सहयोग गर्ने भनिएको र पछि पुनः थपिएको ५ वर्षको अवधि समेत सकिन लाग्दा पनि थप सहयोग भने प्राप्त नहुँदा यस्ता स्कूलहरूको भोलिको अवस्था के हुने भन्ने जिज्ञासा उठेको छ ।
यस्ता केन्द्रहरूको कार्यक्रममा सघाउ पु¥याउने विभिन्न सरकारी निकायहरूले चासो नपु¥याएकै कारण धरान, सुर्खेत लगायतका ट्रेड स्कूलहरू बन्द भइसकेका छन् । यस्ता ट्रेड स्कूललाई व्यवस्थित गराउन विषयमा सरोकारवालाहरूले चासो नदिएपछि स्थानीय तहमा उद्योग वाणिज्य संघहरूले आप्mनो क्षमता अनुसार सञ्चालन गरिआएका छन् ।
महासंघले गठन गरेको सरकारको सचिव स्तरीय अनुगमन समिति र स्थानीय तहमा गठित व्यवस्थापन समितिहरूले केन्द्रको समस्या बारे छलफल गर्न समेत पहल गरेका छैनन् । स्रोत भन्छ –‘महासंघका केन्द्रस्तरको अनुगमन समिति दुई वर्षदेखि बैठक बस्न सकेको छैन भने स्थानीय तहको समिति वर्षदिन यता बैठक बस्न सकेको छैन’ ।
केन्द्रबाट १४ सय उत्पादन
इलम प्रशिक्षण केन्द्र दमक सञ्चालनमा आएपछि यसले हालसम्म करिब १४ सय बढीलाई रोजगारमुखी तालिम दिइसकेको छ ।
८ वर्षका अवधिमा केन्द्रबाट १४ सय जनाले स्वरोजगार मूलक तालिम पाएका केन्द्रका प्रमुख गौतम बताउँछन् । ती मध्ये ७० प्रतिशतले अहिले स्वदेश वा विदेशमा रोजगारी गरिआएका गौतमको भनाई छ । ‘बढी इलेक्ट्रिसियन, प्लम्बिङ्ग, वाइरिङ्ग लगायतका भोकेशनल ट्रेनिङ्गहरूमा आकर्षित छन्’ प्रमुख गौतमले भने –‘केन्द्रका अनुसार तीन ओटा विषयमा भने सिटीइभिटीबाट परीक्षा हुने गरेको छ । ’ टी.एस.एल.सी.मा विभिन्न परीक्षा चलाउने पूर्वमा दमको सो ट्रेड स्कूल भएको गौतमले जनाए । सो टी.एस.एल.सी.मा हालसम्म ३ सय परीक्षार्थीहरूले उत्तीर्ण भई प्रमाणपत्र लिएका छन् । टीएसएलसीमा कम्प्युटर अपरेटर, विल्डिङ्ग इलेक्ट्रीसियन र मेसन जस्ता ३ ओटा प्राविधिक विषयमा परीक्षा लिने गर्दछ । वर्षमा दुई पटक हुने सो परीक्षामा परीक्षार्थीहरूले बढीमा २५ सय रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ । अन्य गाउँमा काम गरी आएकालाई विषयगत तालिमको मान्यता प्राप्त प्रमाणपत्र दिन टीएसएलसी परीक्षा लिने गरिएको छ । प्राविधिक विषयमा सो परीक्षा उत्तीर्ण गरे एसएलसी सरहको मान्यता प्राप्त हुने बताइएको छ । असार ३ देखि ८ सम्म पछिल्लो पटक चलेको सो परीक्षामा केन्द्रबाट ५० जनाले परीक्षा दिएका छन् ।

निर्माणाधीन भवन अलपत्र

दमक, १२ साउन/राज्यबाट स्कूल सञ्चालनका लागि दिइएको सहयोग आउन बन्द भएपछि दमकको इलम प्रशिक्षण केन्द्रको निर्माणाधीन भवन अलपत्र बनेको छ । वर्षेनी आउँदै गरेको रकम २०६४ सालदेखि बन्द भएपछि भवनको निर्माणाधीन काम रोकिएको हो ।
दमक–१३ मा स्थानीय दाता श्याम श्रेष्ठ र तिर्थकुमारी श्रेष्ठले १० कठ्ठा जग्गा केन्द्रलाई उपलब्ध गराएपछि निर्माण थालिएको भवनको काम ५ वर्षदेखि पूर्णरुपमा ठप्प भएको छ । ‘इलम प्रशिक्षण केन्द्र बन्दा धेरैलाई तालिम र रोजगारी मिल्ला भनेर जग्गा दियौं, तर सरकारले ध्यान नदिँदा दुःख लागेको छ’ –दाता श्रेष्ठले भने । उनले निर्माणाधीन दमक चक्रपथसँग जोडिएको ३ सय ६० फिट मुख भएको सो परिमाणको जग्गा केन्द्रका लागि दान दिएका हुन् । केन्द्रका प्रमुख गौतमले रकम
 अभावका कारण निर्माणाधीन भवनको काम रोकिएको बताए । चारकोठे पक्की निर्माणाधीन भवनमा ११ लाख बढी रकम खर्च भइसकेको गौतमको भनाई छ । २०६५ सालमा नै भवन पूरा गर्ने लक्ष्य भए पनि रकम अभावले पूर्वकै नमूना ट्रेड स्कूलको भवन लथालिङ्ग अवस्थामा छ ।
व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले भवनको काम ८० प्रतिशत पूरा भए पनि अन्य घेराबेरा सहितका संरचना निर्माणमा रकम नभएकाले काम रोकिएको बताए । निर्माणाधीन भवनमा कम्पाउण्ड वालका लागि थप १९ लाख रकम महासंघ र जिविस लगायतका निकायमा गतवर्ष सहयोग माग गरिए पनि माग सुनुवाई नभएको गुनासो समितिका अध्यक्ष प्रसाईको छ ।     ‘घेराबेरा बिना कार्यालय नियमित गराउन सुरक्षित हुँदैन’ अध्यक्ष प्रसाई भन्छन् –‘दुवै काम पूरा नभएसम्म केन्द्रको नयाँ भवन सञ्चालनमा समस्या छ । ’ केन्द्र अहिले दमक उद्योग वाणिज्य संघको भवनमा सञ्चालनमा रहेको छ ।

0 प्रतिकृया:

Post a Comment