अब संयम र धैर्यताको खाँचो – पहिलो लेख

राम प्रधान
हिजो आज सबै नेपालीहरूको ध्यान संविधान सभाको निर्णयप्रति फर्किएको छ । कुन नेताले कहिले, कहाँ, के कुराहरू बोले, के निर्णयहरू गरे, कुन जातिको पक्षमा निर्णयको व्याख्या हुन्छ ? यस्ता कुराहरूले सबै समुदाय, सबै जाति, सबै संस्कार, सबै धर्मका जनसमुदायहरूले फरक–फरक ढङ्गले मूल्याङ्कन, व्याख्या, अपव्याख्या, लान्छना, आरोप, प्रत्यारोपहरूको बाढी चलिरहेको छ । नेपालका सबै मुख्य सडक र चौकहरूमा प्रत्येक दिन बेग्लाबेग्लै नामबाट कतिपय एउटै अनुहारका साथै फरक अनुहार रुपका मानिसहरू भेला भै नानाथरीका गाली गलौजहरूले सामाजिक सद्भावहरू बिथोल्न सबै जात जातिका टाढाबाढा, लोभी, पापी र स्वार्थीहरू अग्रपंक्तिमा देखिन्छ । प्राय सबै समुदाय, धर्म जात जातिका तोडफोड, आगजनी लगायतका विनासकारी कार्यका लागि सबै उदृत देखिन्छ । हामीले हाम्रो अन्तरहृदयको धैर्यता र सद्भावना गुमाउन खोजी रहेका छौँ । हाम्रो हजारौँ वर्षदेखिको सामाजिक संरचनाा सम्बन्धहरू, सहिष्णुताहरू दिनप्रतिदिन क्षयीकरण भैरहेको छ । हामीले हाम्रो वास्तविकताहरूलाई भुलेर, छोडेर, काल्पनिक र अवास्तविक समाजको सृजना गर्न खोजिरहेका छौँ । हामीले खोजेको, चाहेको र कल्पना गरेको संसार आजभन्दा सुन्दर व्यवहारिक शान्त संयम हुन्छ भन्ने ग्यारेण्टी छैन । मैले मेरोमात्र अधिकारको सुनिश्चित गराउने क्रममा म जस्तै मेरो समाजको अन्य सदस्यहरूको अधिकारहरू हरण गर्न हुँदैन भन्ने चेतना र विवेक मैले गुमाउनु हुँदैन । मेरो जातिको मात्र अधिकार सुनिश्चिित र स्थापित गर्दा अरु समुदायहरूको अधिकारहरू विस्थापित गर्दा गराउँदा जन्मने परिस्थितिहरू जिम्मेवारी को हो ? आजको समयमा कसैले कसैको अधिकारमाथि हस्तक्षेप गर्ने, निषेध गर्ने, संघर्ष, विद्रोह, क्रान्तिहरूलाई वर्जित गर्ने हैसियत कसैको छैन । फेरि एउटा समुदाय, एउटा जातिले मात्र विशेष अधिकार प्राप्त गर्दा पनि त्यस जातिभित्रको शोषक, सामन्ती, जालीझेली, दलाल तथा सामन्त चरित्र प्रवृत्ति बोकेका मानिसहरू सोही जातिकाा गरीब, निमुखा वर्गका व्यक्तिहरूमाथि गरिने अन्याय अत्याचार शोषण जस्ता मानवताका विरोधी कार्यहरूको अन्त्य हुँदैन । सबै जातमा सबै जातिमा आर्थिक हिसाबले वर्गीय चरित्रको अवश्य हुन्छ । वर्गीय स्वभाव चरित्र, चिन्तन र प्रवृत्तिहरूले शोषण, दमन उत्पीडन गर्ने कार्यमा जाति चिन्दैन मात्र वर्ग चिन्छ ।
त्यसैले हाम्रो संरचना, सद्भाव, संस्कृति र सामाजिक सम्बन्धहरूलाई खलबलाउन दिनु हुँदैन । नेपाल नेपालीहरूको सामाजिक सम्बन्ध हजारौँ वर्षदेखि निरन्तर रुपमा चलि आएको छ । हामी एक जाति बहुल अस्तित्व र अरु जाति अस्तित्वहीन अवस्थामा छैनौँ । हाम्रो समाजमा प्राय जसो सबै जाति अस्तित्व सन्तुलित अवस्था रहेको छ । हो राजनीतिक नेतृत्वमा, ब्यूरोक्रेसीमा कम बेसी भने अवस्य छ । सबैले जातीय सद्भाव, सम्बन्ध र सहिष्णुतालाई अक्षुण राखेर अब नेपालको संविधान समानुपातिक नेतृत्व र समानुपातिक ब्यूरो क्रेसीहरूमा सहभागी गीता हुनुपर्छ । सामाजिक सम्बन्धहरूमा आँच पु¥याउने कुनै पनि कदम गर्नु हुँदैन । इतिहासमा हामीले पढेको, सनुको, जातिहरूको जातीय राज्यहरू पतनको कारणहरू आफ्नै जातिमाथि आफ्नै जातिका शोषक, सामन्त, दलाल, नोकरशाही अभिजात वर्गका शोषण दमन, उत्पीडनबाट मुक्त हुन त्यस बेला पनि स्वयं आफ्नै जातिहरूको विद्रोहको कारण तत्कालीन जातीय राज्यहरू पतन भएको हो । जातीय राज्यहरूमा जातीय मुक्ति हुन्छ । गरीबी मुक्ति हुन्छ । आर्थिक समानता हुन्छ । शोषण, दमन, उत्पीडन हुँदैन भन्ने अनुभव महसुस गरेका भए काठमाडौँ उपत्यकाका मल्ल शासकहरूको जरो उखेल्न त्यहाँ नेवारहरूले पृथ्वीनारायण शाहलाई साथ दिने थिएन । जातीय शासक हुँदा पनि सबै शासकहरूले आफ्नो जातीय आर्थिक समानता गरेको वा गराएको केही उदाहरण छैन । तर, पहिचान र सामथ्र्य विकास तथा वृद्धि हरेक जातिको नैसर्गिक अधिकार हो । पहिचान बिना जाति हुँदैन भने सामथ्र्य बिना विकास पनि हुँदैन ।
आज सबै जात, जाति, समुदाय, संघ संस्था, दल, राजनीतिक पार्टीहरू र तिनका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकहरू एक अर्कामा लुछाचुँडी, बन्द, हड्ताल, विनास, ध्वंस, नष्ट गर्नमा उद्धृत देखिन्छन् । चौक, सडकहरू, भेलाहरू, आसभाहरूको भाषण, प्रवचन, प्रशिक्षणहरूमा अत्यन्तै उत्तेजित, वैरभावपूर्ण कुराहरूले हाम्रो सामाजिक सद्भाव, सम्बन्ध, संरचना तथा सहिष्णुताहरू नष्ट गर्ने, हत्या हिंसाको श्रृङ्खलाहरूको कहाली लाग्दो संहारको स्थिति आउने हो कि भन्ने त्रास फैलिएकाो छ । कहिँ कतैबाट मावनीय धैर्यताहरू टुटेमा नेपालीहरूको भाग्इ र भविष्यमाथि कहिल्यै बिर्सन नसकिने कलंक लाग्न सक्छ । होला सबैले आ–आफ्नो तरिकाले आशा र अपेक्षा गरे अनुसारको संविधान बन्न सक्दैनन् । तैपनि विगतभन्दा वर्तमान र भविष्य शान्त, सुन्दर र उज्यालो अवश्य हुनुपर्छ ।
अहिले सम्मको लडाइ संघर्ष, क्रान्ति, आन्दोलन लगायत परिवर्तनका पहलहरू अन्तिम होइन । यो भौतिक पृथ्वीमा नेपालको मानचित्र ध्वस्त नभएसम्म समयको माग अनुसार परिवर्तनकारी कदमका संघर्ष, क्रान्ति, जनआन्दोलनहरू लगातार तथा निरन्तर रुपमा चलिरहने छ । फरक यतिमात्र हो कि कहिले सुस्त र कहिले तिव्र गतिमा चल्छ । वर्तमान वस्तुस्थितिलाई मुल्याङ्कन गर्दा अब नेपालीहरूको मन, वचन, कर्म, विवेक, वुद्धिमा संयम र धैर्यताको ठूलो खाँचो छ । नेपालीहरूको हृदयबाट संयम र धैर्यताको बाँध फुटेर सर्वत्र भताभुङ्ग, लथालिङ्ग, रगतको पोखरी, लासहरूको बिस्कुन बनाएर मानवीय वुद्धि र विवेकमा डढेलो लागेर हाम्रो नेपाल, नेपाली र भावी सन्तानहरूको भाग्य खरानी बनाउने वुद्धि कसैमा नआवोस् ।

0 प्रतिकृया:

Post a Comment