एमाले नेताले भने नयाँ सरकार चाहिन्छ

बिर्तामोड÷ नेकपा एमालेका नेताहरुले शान्ति प्रकृया टुङ्ग्याउन र नयाँ संविधान जारी गर्न नयाँ सरकारको खाँचो रहॆको बताएका छन् ।
आजबाट बिर्तामोडमा हुने युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहिबार झापा आइपुगेका उनीहरुले अलग-अलग कार्यक्रममा यस्तो बताएका हुन् ।
बिर्तामोडमा भएको पत्रकार भेटघाटमा अध्यक्ष झलनाथ खनालले माओवादी इमान्दार नभएकाले शान्ति प्रकृयाले गति लिन नसकेको आरोप लगाए । नयाँ संविधान जारी गर्न र शान्ति प्रकृया टुङ्ग्याउन अहिलेको सरकार असफल भएको समेत उनले बताए ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले राष्ट्रिय स्वरुप पाउने सम्भावना नरहेको बताएका छन् ।
अहिलेको मन्त्रीमण्डल नै जम्बोजेट भएकाले थप मन्त्री र दलहरु समावेश हुन नसक्ने उनको भनाई छ । झापाको दमकमा बिहिबार साँझ पत्रकारहरुसँग कुरा गर्दै उनल्ो शान्ति प्रकृया र संविधान निर्माणका लागि नयाँ सरकारको विकल्प नरहेको दावी गरे । आगामी सरकारमा एमाले सहभागी हुने तर नेतृत्वको दावी नगर्ने उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सेना र हतियार सहितको माओवादीलाई संसद्मा ल्याउनु र निर्वाचनमा जानु गलत भएको उल्लेख गरे । माओवादीमा लडाकु र हतियार रहेकै समयमा संविधान जारी गर्नु अर्को गल्ती हुने भएकाले तिनको व्यवस्थापन अहिलेको मुख्य प्राथमिकता भएको उनले बताए ।
सो अघि उनले युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा दमकमा आयोजीत द्वीप प्रज्वलन कार्यक्रमको उद्घाटन गरेका थिए । आजबाट शुरु हुने भेलालाई पार्टी अध्यक्ष खनाल वरिष्ठ नेता नेपाल नेता केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो अघि युवा संघले बिर्तामोडमा पत्रकार सम्मलेन गरी भेलाको तयारी पूरा भएको जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले एमालेलाई युवामैत्री पार्टी बनाउने विषयमा भेलाको बन्द शत्रमा छलफल हुने बताए । पार्टीले शुरु गरेको पार्टी एकता तथा जनपरिचालन अभियान अन्तर्गत युवा संघको राष्ट्रिय कार्यकर्ता भेला हुन लागेको हो । भेला पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउन र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका थप बलियो बनाउन सफल हुने नेताहरुले बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment