हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

लायन्स क्लव अफ दमकको पद हस्तान्तरण

दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका वीच लायन्सको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । लायन्सका निवर्तमान अध्यक्ष बबरजङ थापा (किरण) ले नवनिर्वाचित अध्यक्ष अजय अग्रवाललाई पद हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा निवर्तमान अध्यक्ष थापाले वार्षिक गतिविधिहरु जानकारी गराएका थिए ।
पद हस्तान्तरण कार्यक्रममा सहभागीहरु ः सो कार्यक्रममा लायन्स दमकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लायन्सको मार्ग प्रति सधैँ अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । उनले काठमाण्डौँस्थित लायन्सले सञ्चालन गरेको दमकको पाथीभरा नेत्रालयको स्तरोन्नतिमा भरपूर सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । अग्रवालले आखाँ उपचारको  सेवालाई सुबिधा सम्पन्न बनाउन आफनो क्षेत्रबाट सधैँ सहयोग पु¥याउने विश्वास दिलाएका थिए ।
लायन्सका डिस्ट्रिक ३२५ ए.आई.का गभर्नर भीम घिमीरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै घिमीरेले सामाजिक क्षेत्र र युवाको ब्यक्तित्व विकासमा लायन्सकर्मीहरु सधैँ अगाडी भएको जोड दिए ।
त्यस अवसरमा विभिन्न क्षेत्रका वक्ताहरुले सामाजिक क्षेत्रमा पु¥याँउदै आएका योगदानको चर्चा गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौँका अध्यक्ष बाबुलाल अग्रवाल, डिस्ट्रिक ३२५का कोषाध्यक्ष राजन खत्री, सेक्रेटरी लीला ढुङगेल, दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, शसस्त्र प्रहरी वल पाथीभरा गणका गणपति महेश श्रेष्ठ लगायतले लायन्स मानवीय सेवामा समर्पीत भएको उल्लेख गरेका थिए ।

मंगल प्रणामी एम्बुलेन्स सेवा शुरु

सुरुङ्गा/ श्रीकृष्ण प्रणामी मन्दिर माईधाम कनकाई नगरपालिका–४ कोटीहोमद्वारा सञ्चालित मंगल प्रणामी एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको छ । इजरायलमा कार्यरत प्रणामी सम्प्रदायको अगुवाइमा त्यहाँका नेपालीहरुद्वारा ९ लाख २५ हजार रूपैयाँ सहयोग संकलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।
एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानीले प्रणामी मन्दिर आश्रममा रहेका अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई टेवा पुगोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइएको छ । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका २० जना अनाथ बालबालिका र १३ जना वृद्धबृद्धाहरु आश्रित रहेका छन् । २०५२ सालदेखि शुरु गरिएको उक्त आश्रम मुष्ठीदानबाट सञ्चालन हुँदै आएको आचार्य महाराज मोहनानन्दले बताए ।
सो एम्बुलेन्स व्यवस्थित रुपमा सञ्चालन गर्नका निम्ति ७ सदस्यीय एम्बुलेन्स सञ्चालक समिति समेत गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा भक्तिप्रसाद संग्रौला, सचिवमा छवि थपलिया, कोषाध्यक्षमा केदार पाठक र सदस्यहरुमा भवानी मैनाली, विष्णु संग्रौला, विनोद थपलिया र निलम सिटौला रहेका छन् ।

पूर्वमा टेलिकमको जेनेरेटर बिग्रियो

दमक/नेपाल टेलिकमको जेनेरेटरमा खराबी आएपछि पूर्वाञ्चलमा तीन दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । बिजुली आएका बेला सिस्टमले काम गरे पनि लोडसेडिङ हुँदा जेनेरेटरले काम नगरेपछि उपभोक्ता मारमा परेका छन् ।
लोडसेडिङ हुनासाथ ल्याण्ड लाइन टेलिफोन, जिएसएम मोबाइल, सिडीएमए टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने गरेका छन् । टेलिकमका दुईवटा जेनेटरमा खराबी आएपछि सेवा अवरुद्ध हुन पुगेको हो । लोडसेडिङका बेला सिस्टम सञ्चालन नभएपछि पूर्वाञ्चलका १२ लाख जिएसएम, २ लाख सिडीएमए र १ लाख एडिएसएल प्रयोग गर्ने उपभोक्ता मारमा परेका छन् । सेवा अवरुद्ध हुन पुग्दा इन्टरनेट प्रयोगकर्ता सबैभन्दा धेरै समस्यामा परेका छन् ।
विद्युत आपूर्ति गर्ने जेनेरेटरमै खराबी उत्पन्न भएपछि सम्पूर्ण सेवा प्रभावित भएको नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरले जनाएको छ । ‘मोबाइल कन्ट्रोल सिस्टम नै बन्द हुन पुगेपछि पूर्वाञ्चलमा टेलिकमको सेवा अवरुद्ध भएको छ, टेलिकमका पूर्वाञ्चलका क्षेत्रीय निर्देशक चेतनरत्न कंशाकारले बताएका छन् ।
पूर्वमा गएको शनिबारदेखि शुरु भएको विद्युत आपूर्तिको कमीका कारण धेरै समयसम्म जेनेरेटर चलाउनु पर्दा लोड थाम्न नसकेर खराबी आएको कंशाकारले बताए ।
‘जिएसएम र ल्याण्डलाइन चल्न सक्ने गरी विद्युत प्रबन्ध हँुदै छ कंशाकारले भने, राजधानीबाट नयाँ जेनेरेटर आएपछि अवरुद्ध सबै सेवा शुचारु हुनेछन् । टेलिकमको मोबाइल कन्ट्रोल सिस्टममा विद्युत आपूर्ति गर्ने ३५० केभीएका दुईवटा जेनेरेटर केही समय पहिले मात्र ९ लाख रुपैयाँ खर्च गरी मर्मत गरिएको थियो ।

अदालतमा वयान फेर्नेहरु जेल चलान

इलाम/ मानव वेचविखनमा उजुरी दिएर मुद्धा चलिरहेका बेला बयान फेर्ने दुई जना जेल चलान भएका छन् ।
पुनरावेदन अदालत इलामले बयान फेरेको भन्दै तीन महिना जेल सजाय सुनाएका दुई जनालाई प्रहरीले झण्डै एक वर्षपछि हालै पक्राउ गरेको हो । अदालतले जेल सजाय सुनाएकोमध्ये पीडित एक युवती भने फरार रहेकी प्रहरीले जनाएको छ ।
एक युवती र उनका आफन्तलाई भने कारागार पठाइएको हो । २०६८ असारमा नवमीडाँडाका दुई युवतीलाई बिक्रीका लागि सिलगुडि पु¥याएको आरोपमा पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि जिल्ला अदालत पाँचथरमा मुद्धा चलेको थियो ।
सुरुवाती बयानको क्रममा पीडित दुई युवती र जाहेरवाला आफन्तले बेचबिखन गरेको बताएका थिए । जिल्ला अदालतले २०६९ बैशाख २५ गते पीडकलाई सफाइ दिएपछि मुद्धा पुनरावेदनमा पुगेको थियो । तर पछि बकपत्रमा वयान साटेको भन्दै पुनरावेदनले दुई पीडित र पीडकका एक आफन्तलाई  तीन महिनाको कारावास सजाय सुनाएको थियो ।
२०७० असार १० गते पुनरावेदन अदालत इलाममा मुख्य न्यायाधीस गोविन्द उपाध्याय र न्यायाधीस उदयप्रसाद चापागाईँको संयुक्त इजलासले बयान फेरेकोमा जाहेरीवालालाई नै सजाय सुनाएको थियो । अदालतको आदेशका आधारमा प्रहरीले पीडित र उनका एक आफन्तलाई प्रक्राउ गरी जिल्ला अदालतमा बुझाएको थियो ।
प्रतिवादीहरुलाई भने पुनरावेदन अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो । दुई युवतीलाई काममा लगाइदिने भन्दै बिक्री गर्न सिलगुडि पु¥याएको भन्दै लुम्फावुङ –१ की मनकुमारी लावती, सिवा–५ कि विन्दुकुमारी लावती, फाक्तेप नरवहादुर नेम्वाङ, फाक्तेपकै सुरेन्द्र नेम्वाङ र अर्का नाम नखुलेका व्यक्तिविरुद्ध उजुरी परेको थियो ।

बौद्ध संस्कारमा एक रुपता बनाउन पहल

दूधे/मगरको बौद्ध संस्कारमा एकरुपता विषयक तीन दिने गोष्ठी सतासीको माईधारमा सम्पन्न भएको छ ।
आप्mनो संस्कारमा एकरुपता नभएकैले मगर समुदाय पछि परेको निष्कर्ष निकाल्दै आयोजना गरिएको सो कार्यक्रममा मगर समुदायका अगुवाहरूले देशैभर संस्कारमा एक रुपता लिनुपर्नेमा जोड दिएका थिए । नेपाल मगर बौद्ध सेवा समिति झापाको आयोजना र जिल्ला मगर संघ झापाको सहयोगमा भएको सो कार्यक्रममा नेपाल मगर बौंद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष बिपि रखेल मगरले मृत्यु संस्कारमा सात दिनमा काम सकिनु पर्नेमा जोड दिए ।
उनले भने सात दिनमा बार नदोहोरिने भएकाले यो बैज्ञानिक हुने र अहिलेको व्यस्त जीवनका लागि पनि उपयोगी हुने बताए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष तथा अगुवा शिवशंकर थापा, नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला अपाध्यक्ष खेम कुमारी मगर समुदायका युवाहरूमा आधुनिक रहनसहनको प्रभाव बढेकोले बाल्यकालमै आप्mनो संस्कारमा भिजाउन सकेमात्र संस्कार जीवित रहने उल्लेख गरे । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा झापा, मोरङ्ग र सुनसरीका बौद्ध गुरुहरूको पनि सहभागिता रहेको थियो । मगर संघ केन्द्रले आप्mनो संस्कारमा एकरुपता ल्याउन देशैभर यसता अन्तरकृया कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संघीय लिम्बुवानको कमिटी

पथरी/पूर्वमा भर्खरै एकता भएका ५ लिम्बुवान संगठनहरूको पार्टी संघीय लिम्बुवान पार्टी नेपालको मोरङ जिल्ला कार्यसमिति बुधबार गठन भएको छ ।
नव गठित पार्टीमा दिलु लिङ्देनको अध्यक्षमा १३ सदस्य कार्यसमिति गठन भएको हो । यस्तै शेरबहादुर साँवा सह–अध्यक्ष, विवेक लिम्बू वरिष्ठ उपाअध्यक्ष, दुखाराम माझी, भवानी लिम्बू, राजेश याक्सोक, राज पयाङ्गु र जीवन खेवा उपाध्यक्ष रहेका छन् । यस्तै विशाल इक्सा, योगेन्द्र चोङबाङ्, खगेन्द्र तामाङ सचिव र हेमराज भण्डारी रहेका छन् । यसैगरी अर्थसचिवको पद विसेन्द्र नाल्वोले जिम्मा लिएको छ । भेलामा पार्टी समायोजन समितिका संयोजक रामभक्त कुरुङवाङ र सदस्यहरू विसेन्द्र चेम्जोङ, टुपेन्द्र एकतेन, दिपक नेन्याङ्वो, तेन्दोहाङ मिभक र प्रेमदिप थाम्सुहाङ उपस्थीत रहेका थिए । नव गठित पाटीले मोरङ जिल्ला अधिवेशन चाँडै गर्ने बताएका छन् । अधिवेशन चाँडै गरेर नयाँ शसक्त जिल्ला कार्यसमिति गठन गरिने वरिष्ठ उपाअध्यक्ष विवेक लिम्बूले बताए । संघीय लिम्बुवान राज्य प्राप्तिको मूल नारा लिएर पूर्वी नेपालमा क्रियाशिल मुख्य पाँच वटा छुट्टाछुट्टै लिम्बुवान पार्टी एकीकरण भएको छ ।

वास्तविक सवाल र चुरे संरक्षणको विषय – सम्पादकीय

यतिबेला सरकारले खोलानालाबाट बालुवा, गिटी, ढुङ्गा दोहनमा रोक लगाएको अवस्था छ । यसले चुरे संरक्षण कार्यक्रमको सन्दर्भमा कति महत्व राख्छ त्यो एउटा पाटो हो । सँगसँगै मुलुकको प्रकृतिक स्रोतको व्यवस्थापनका लागि पनि महत्वपूर्ण निर्णय गर्न सक्ला । त्यो अर्को महत्वपूर्ण उपलब्धि हुन सक्छ । तथापि नारा मात्रको चुरे संरक्षणको विषय खेलाँचीपनाको पनि चरम मनोमनी बन्दै गएको यथार्थ आजको लज्जाजनक विषय हो । चुरे संरक्षणलाई मुलुकमै पहिलो पटक स्थापित संस्था राष्ट्रपतिको कार्यालयको गरिमा समेतलाई जोडिनु आफैमा गर्वको विषय हो । कुनै समय सरकारी स्वामित्वका वनहरुको नामाकरण र अधिकरण रानीवनका रुपमा राज्यले एकलौटी दवदवा कायम गरेको तथ्य हाम्रालागि नौलो विषय होइन । त्यस्तै चारकोशे झाडीका रुपमा नेपालको वन सम्पादामाथि सत्ता पक्षले एक्लौटी दादागिरी जमाएको पञ्चायती अवस्थाका बारे पनि नेपाली जनताले नबुझेको विषय केही पनि छैन । तथापि नेपालको वन सम्पादाको संरक्षणमा राज्य पक्षले दावी अनुसारको उपलब्धि प्राप्त गर्न सकेन । तत्कालीन सत्ताले यस कार्यमा ठोस उपलब्धि हात पार्न सकेन । जसको फलस्वरुप मुलुकमा तस्करहरुको दादागिरी र मनोमानी बढेर गयो ।
यतिबेला चुरे संरक्षणको सवालमा पनि राष्ट्रपतिको नामाकरण गरिएको अवस्था छ, तर यो अवस्थामा खोलानाला दोहनको विषय दिनानुदिन गम्भीर बहसको विषय बन्दै गएको छ । चुरे संरक्षणका विषयमा जति हल्ला बजारमा आएको छ, यथार्थ त्यो मात्रै सत्य होइन । चुरे संरक्षण हुनु हुँदैन भन्ने विषयमा कसैको पनि विमति छैन । तथापि चुरे विनाश भएको सत्यका अर्थमा खास विषय र मुद्दा के हो ? कसले यस प्रकरणमा चलखेल गरिरहेको छ ? यो यथार्थको खोजी आजको आवश्यकता हो ।
नदीनाला, खोलामा बालुवा, गिटी, ढुङ्गा उत्खननमा राज्यले रोक लगाएको एउटा विषय जायज हुन सक्छ । तथापि, यो कार्यको रोकटोकले आम मजदुर वर्गलाई कस्तो असर परिरहेको छ ? त्यस बारे गहन विश्लेषण हुन जरुरी छ । रोजीरोटी नै खोनानालामा बाुलुवा र गिटी उत्खनन गरेर र ढुङ्गा बटुलेर चलाउने वर्गलाई यो सरकारी निर्णयले पारिरहेको असर आज मूल्याङ्कन हुन सकिरहेको छैन । समस्या चुरेको जोखिम मात्रै प्रमुख होइन । समस्या रोजीरोटीको पनि हो । आधारभूत तहका जनतालाई मार्कामा पारेर र उनीहरुको पेटमा लात हानेर सरकारले गरेको निर्णयको तुक छैन । सर्वप्रथम आधारभूत जनताको आर्थिक अवस्थालाई बेवास्था गरेर नाराका भरमा खोलानाला नियन्त्रण र कब्जा गर्ने सरकारी नीति गलत छ । यो कार्य सर्वत्र विरोधको विषय हो ।
चुरेको संरक्षणको सवाल राष्ट्रपतिको नाम जोडे पनि महत्वपूर्ण हो नजोडे पनि त्यसलाई उत्तिकै महत्वमा राखेर नीति निर्माण गर्न तथा योजना तय गर्न सकिने विषय हो । अर्कोकुरो भारतमा हुँदै गरेको बालुवा, गिटी र ढुङ्गा निकासीको कार्यलाई राज्यले कडाई गर्न सक्दा चुरे संरक्षणको सवाल आफैमा आधा भन्दा बढी नियन्त्रण भएर जाने विषय हो । यसर्थ पनि यो विषयलाई सरकारी पक्षले गहन विश्लेषण गरेर नीति निर्माण गर्न जरुरी छ ।
चुरेको संरक्षणका नाउँमा पहुँच हुने र सक्नेले मनोमानी गर्ने अनि आधारभूत स्तरका जनतालाई चाँहि मारमा पार्ने सरकारी नीति जायज छैन । वास्तवमै चुरे क्षेत्रको संरक्षणलाई गम्भीर रुपले लिएर सरकारी पक्षले यो नीति लिएको हो भने सर्वप्रथम खोला क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्ने जनताको हितमा नीति निर्माण हुन जरुरी छ । उनीहरुको चित व्यवस्थापनपछि मात्रै अन्य विषयमा गरिएको सरकारी निर्णयले सार्थकता पाउने निश्चित छ । यो विषयमा सरकारले गम्भीर हुने कि !

सहकारीमा सुविधाहरू र राज्यलाई कर योगदान

नेत्रप्रसाद घिमिरे

यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ ।

 ---------------------------------------------------------------------------------------------------------------------
सहकारी संस्थाहरूको विकास मुलुकको विद्यमान आर्थिक आइडोलोजीमा निर्भर रहन्छ । नेपालमा सहकारी सहितको तीन खम्बे अर्थनीति अवलम्बन गरिएको छ । कुनै मुलुकमा सहकारी संस्थाहरू स्वःस्फूर्त रुपमा सञ्चालन भएका छन् भने कुनै मुलुकमा सरकारको सक्रियतामा र छुटसुविधाका नीतिहरू मार्फत प्रोत्साहन गरेर सञ्चालन भएका छन् । कुनै पनि व्यवसायलाई प्रोत्साहन गर्ने कि नगर्ने भन्ने कुरा राज्यको कर प्रणालीमा निर्भर गर्दछ । खास गरेर नेपाल जस्तो विकासशील मुलुकहरूमा सहकारी संस्थाहरूलाई कर सुविधा, आर्थिक सुविधा, मूल्य नीति मार्फत सुविधा र पूर्वाधार सुविधाहरू उपलब्ध गराइ सहकारीहरूलाई प्रोत्साहन गरेको पाइन्छ । सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई छुट सुविधा प्रदान गरिएको छ । जसअन्तर्गत अचल सम्पत्ति लेनदेन, खरिद बिक्रि गर्दा रजिष्टे«शन दस्तुर पूर्ण रुपमा छुट दिन सकिने तथा सहकारीले सञ्चालन गरेका उद्योगहरूका लागि चाहिने आवश्यक सामान वस्तुहरू, कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क, अन्तःशुल्कको समेत छुट दिन सकिने उल्लेख छ ।
आयकर ऐन, २०५८ को दफा ११ बमोजिम सहकारी ऐन अन्तर्गत दर्ता भई सञ्चालित कृषिमा आधारित सहकारीहरू, साना तथा कुटीर उद्योग सञ्चालन गर्ने सहकारीहरू र नगरपालिका बाहिरका बचत तथा ऋण सहकारीहरूलाई समेत २० प्रतिशत आयकर छुट तथा ५ प्रतिशतमा लाग्ने लाभांश कर समेत छुटको व्यवस्था गरिएको छ । सहकारी कानुनले सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको हितका लागि एवम् समाज, देश विकासका लागि शिक्षा, स्वास्थ्य सुविधाहरू प्रदान गर्न, एक आपसमा भाइचारा, सद्भाव, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आदि कार्य सञ्चालन गर्न अनिवार्य रुपमा विभिन्न उपसमिति गठन गरी त्यसमार्फत त्यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यस्ता कार्यका लागि संस्थाले बाध्यात्मक रुपमा विभिन्न कोषको व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा हाल करिब ३० हजारको संख्यामा सहकारी संस्थाहरूमध्ये करिब ५० प्रतिशत सहकारी संस्थाहरूले प्यान दर्ता नगरी अर्थात करको दायरामा नआई सञ्चालन हुँदै आएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले बताउदँछ । यसरी प्यानमा दर्ता नगर्ने सहकारी संस्थाहरू प्राय ग्रामीण भेगमा छन् । आन्तरिक राजस्व विभागबाट दुई वर्षको आयविवरण पेश गरी बिना जरिवाना प्यान लिन यही मंसिरसम्म (२०७१) छुट सुविधा सहकारीलाई दिइएको निर्देशन जारी गरेको छ । सबै सहकारीहरूलाई करको दायरामा ल्याउन प्यान दर्ता गराउन मनासिब देखिन्छ । प्यानमा दर्ता हँुदैमा कर तिर्नै पर्दछ भन्ने बुझाइ गलत हो । नगरपालिका बाहिरका सहकारी संस्थाहरूले टीडीएस करकट्टी ( ले.प.शुल्क कर लगायत) बाहेक अन्य कर तिर्नुपर्दैन । सहकारी संस्थाहरू आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सरकारले समाज, देश विकास गर्ने तथा जनताप्रति गर्नुपर्ने दायित्व, जिम्मेवारीलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक खम्बा हुन् भन्नेमा दुईमत नहोला । सहकारी ऐनको मनसाय नै सहकारी संस्थाहरू नाफा आर्जन गर्ने व्यापारिक संस्था मात्र नभई त्यो भन्दा महत्वपूर्ण समुदायको हितलाई सर्वोपरि राखी विशुद्ध सेवाको भावनाबाट कार्य सञ्चालन गर्नुपर्दछ भन्ने हो । निम्न आयवर्गका मानिसको सामाजिक, सांस्कृतिक, शैक्षिक विकास गर्ने र रोजगारी तथा गरीबी निवारणको क्षेत्रमा सहकारीले काम गर्ने भएकाले सरकारबाट अन्य व्यवसायिक नाफामूलक निकायहरूलाई गरेसरह नीति नियम लागू गर्नु पक्कै पनि उचित देखिँदैन ।
कर सुविधाः– सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई सहकारीको मुनाफामा, सदस्य लाभांशमा, घरबहालमा र स्थानीय करमा छुट सुविधा प्रदान गरिएता पनि सहकारीमा गैर सदस्य कारोबार भएको देखिएकाले वि.सं. २०५८ को आयकर ऐनले तोकिएका ठाउँका निश्चित सहकारीहरूलाई विभिन्न किसिमका कर लाग्ने प्रावधान गरिएको पाइन्छ । सो कर प्रणालीलाई हरेक वर्षका बजेटसंगै आउने आर्थिक ऐनहरूले अद्यावधिक गर्ने प्रचलन रहेको छ । सहकारीहरूले आर्थिक व्यवसायबाट कमाएको मुनाफामा शुरुमा ३० र हाल २० प्रतिशत आयकर र सोमा थप २ प्रतिशत स्थानीय सेवा शुल्क कर तथा ५ प्रतिशत सदस्य लाभांश कर, बैंकबाट प्राप्त गर्ने ब्याजमा १५ प्रतिशत संस्थागत ब्याज कर, ग्रामीण क्षेत्रमा सदस्यले वार्षिक २५ हजार भन्दा बढी ब्याज प्राप्त गरेमा शुरुमा ६ र हाल ५ प्रतिशत ब्याज कर तर शहरमा यो सीमा छैन, शुरुमा १० र हाल १३ प्रतिशत मूल्य अभिवृद्धि कर, शुरुमा १५ र हाल १० प्रतिशत घरभाडा कर, स्रोतमा कर कट्टी टीडीएस (जस्तै १५ प्रतिशत लेखापरीक्षण शुल्क कर, १५ प्रतिशत पारिश्रमिक कर, १ प्रतिशत सामाजिक सुरक्षा कर आदि) जस्ता कर सहकारीले राज्यलाई योगदान गर्नुपर्दछ । यी नगरपालिकामा बचत तथा ऋणको कारोबार गर्ने सहकारीले सबै किसिमका कर तिर्नुपर्दछ भने ग्रामीण क्षेत्रका र उत्पादनमूलक सहकारीले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरेपुग्दछ । जस्तै कृषि उद्योग, फलफूल उद्योग, पशुपालन, डेरी उद्योग, कुखुरा तथा मत्स्यपालन, तरकारी खेती तथा प्रशोधन उद्योग, उन्नत बिउबिजन उत्पादन उद्योग, मौरीपालन, रबर खेती, जडिबुटी खेती तथा प्रशोधन उद्योग र ग्रामीण बचत तथा ऋणको कारोवार गर्ने आदि सहकारी समेतले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरे पुग्दछ अन्य कर तिर्नु पर्दैन तर प्यानमा दर्ता भने अनिवार्य हुनुपर्दछ अन्यथा कारवाहीको भागी बन्नुपर्दछ । यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ । राज्यलाई कर योगदान गर्ने प्रणालीले सहकारीहरूलाई पारदर्शी र जबाफदेही बन्न प्रेरणा समेत प्रदान गर्दछ ।
आर्थिक सुविधाहरूः– सहकारी ऐनले सहकारीले अचल सम्पत्ति बाहेक गरेका कारोबार सम्बन्धी लिखित रजिष्टे«शन गर्नु नपर्ने, अचल सम्पत्तिको लेनदेन वा खरीद बिक्रि सम्बन्धी कागजपत्र वा कुनै किसिमको लिखतमा आय टिकट दस्तुर र रजिष्टे«शन दस्तुर नलाग्ने जस्ता छुट सुविधा दिइएको छ । आयकर ऐनले सहकारीले उत्पादन र सेवा प्रयोजनका लागि आयात गर्ने मेसिन, उपकरण, कृषियन्त्र, कच्चा पदार्थ, कार्यालय उपकरण र ढुवानी साधनहरूमा लाग्ने भन्सार महशुल वा बिक्रिकर तथा सहकारीले उत्पादन गरेका माल सामानमा लाग्ने अन्तःशुल्क समेत सहकारी सिद्धान्तभित्र रहेर कार्य गरेका सहकारीलाई प्रचलित कानुन बमोजिम पुरै वा आंशिक रुपमा छुट दिन सकिने व्यवस्था गरेको छ । सहकारीले औद्योगिक व्यवसाय गरेमा कानुन बमोजिम उद्योगले पाए सरहको अन्य छुट सुविधा संरक्षण समेत सहकारीले पाउने प्रावधान गरिएको पाइन्छ । यस्ता व्यवस्थाले सहकारी अभियान निकै लाभान्वित हुन सक्दछन् । सेयर सदस्यलाई कर्जा लगानी गर्दा धितोको दृष्टिबन्धकमा सेवा शुल्क बाहेक रजिष्टे«शन दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।
मूल्य नीतिः– सर्वसाधारण उपभोक्ता र किसानहरूलाई गुणस्तरीय सरल र सहज मूल्यमा रासायनिक मल, चिनि, नून जस्ता वस्तुहरू सहकारी मार्फत निश्चित अनुदानमा निर्धारित कम मूल्यमा सहकारी मार्फत विक्रि वितरण गर्नुपर्ने नीति हाल सरकारले लिएको देखिन्छ ।
सहरी इलाकाका केही सहकारीहरूले सहकारीको भावना, मर्मविपरित आफ्ना सेयर सदस्यहरू तथा समाजलाई समेत लाभ, सुविधा नदिई दुई चार जना व्यक्तिहरूको स्वार्थ पूर्ति गर्ने उद्देश्यले मात्र सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । यस्ता संस्थालाई गल्ती अनुसार कारबाही गर्नुपर्दछ वा थप कर लगाउनु पर्दछ । तर त्यस्ता सहकारीहरूलाई आधार बनाएर आयकरको व्यवस्था गरिएको हो भने सहकारी भावना मर्म र सिद्धान्त अनुसार सञ्चालित बहुसंख्यक सहकारीहरूलाई न्याय भएको पक्कै मानिदैन । कर नै अनिवार्य गरिने हो भने सहकारी सिद्धान्तको परिपालना, ठाउँ र कारोवार अनुसार सहकारीहरूलाई वर्गीकरण गरी उचित र न्यायसंगत कर प्रणाली लागू गरिनु पर्दछ भन्ने वास्तविक सहकारीकर्मीको भावनालाई सम्बोधन गर्न जरुरी भैसकेको देखिन्छ । आगामी दिनमा एउटाले विराउने सारा पिराउने प्रवृत्ति अन्त्य गर्ने हो भने सरकारी सहकारी प्रशासनलाई प्रभावकारी र गतिशील बनाइ सहकारीमा विधिको शासन स्थापना गर्न ढिलाइ गर्ने हो राज्यले महंगो मूल्य चुक्ता गर्नुपर्ने स्थिति देखिन्छ । हाम्रो मुलुकमा जनतामाथि हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्य राखेर स्वःस्फूर्त रुपमा सहकारी संस्थाहरू स्थापना भइ सञ्चालन भैरहेका छन् । सहकारी अभियान समाज समुदायमा भईरहेका र हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी प्रजातान्त्रिक समाजको स्थापनामा संलग्न भईरहेका समुदायमा आधारित सहकारीहरूको आयमा सामाजिक न्यायको दृष्टिकोणबाट पनि कर, शुल्क, छुट दिनु न्यायसंगत हुने देखिन्छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)

सरकारलाई बुझाए मेची सहकारीले ३० लाख कर

दमक/झापाको दमकको मेची सहकारी संस्थाले सरकारलाई कर तिर्ने जिल्लाभरको पहिलो सहकारी संस्था भएको दाबी गरेको छ । संस्थाले २९ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ कर बुझाएको जनाएको छ ।
बुधवार संस्थाले पत्रकार सम्मेलन गर्दै जिल्लामा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्था र धेरै कर तिर्ने सस्था भएको दाबी गरेको छ । संस्थाले ४० करोडको कारोबार गरेको छ ।  संस्थाको १८ औँ बार्षिक उत्सव तथा २० आँै साधरणसभाका बारेमा जानकारी दिन गरिएको कार्यक्रममा क्यान्सर पिडित सदस्यहरुलाई सहयोग, सदस्यका सन्तान प्राविधिक बिषय अध्ययनका लागी सरल कर्जा दिने निति अबलम्बन गरिएको संस्थाका अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए ।
संस्थाले ज्येष्ठ सदस्य, एकल महिला सदस्यहरुलाई बिगत देखि भत्ता प्रदान गर्दै आएको छ । त्यस्तै सदस्यहरुलाई दुर्घटना बिमा, एम्बुलेन्स छुट सेवा पनि दिइँदै आएको संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले
जानकारी दिए । संस्थाले यसै बर्ष देखि संस्थाका पूर्व अध्यक्ष गणेश बस्नेतको स्मृतिमा सहकारी अभियान्ता पुरस्कार र पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । यस बर्षको पुरस्कारबाट मोरङ इटहराका सहकारीकर्मी केशव पोखरेल र  सप्तरङगी एफ एफ दमकका सम्पादक चेतन अधिकारी आगामी भदौ १२ गते  पुरस्कृत हुने भएका छन् ।
त्यसैगरि बुधवार नै संस्थाले साधरणसभाको प्रतिवेदन सदस्यहरुका बीच सार्वजानिक गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी संघका निबर्तमान सदस्य रामचन्द्र उप्रेतीले सहकारीका आयाम सहकारी व्यवस्था लगायतका बिषयमा  बोलेका थिए ।  जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँले सहकारीका माध्यमबाट समाजिक सेवा र आर्थिक उपार्जन गर्नका लागी मेची सहकारी उदारहण भएको बताए ।
सहकारीको २० औँ साधरणसभा तथा १८ औँ बार्षिक उत्सवका अबसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य होमबहादुर थापा, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तुलाराम न्यौपाने, सहकारी समन्वय समिति क्षेत्रनम्बर ७ का संयोजक प्रेम कोइराला लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष रोमनाथ ओलीले प्रतिवेदन सार्वजानिक गरेका थिए ।
साधरणसभाकै अबसरमा   भएको कार्यक्रममा महिलाहरुको पाठेघर खस्ने समस्याका बिषयमा अन्तकृया समेत गरिएको छ । आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी प्रमुख सकुन्तला चापागाइँले सहजीकरण गरेकी थिइन् ।  कार्यक्रममा महिलाहरुको पाठेघर सम्बन्धी समस्या र उपचारका बिषयमा जानकारी गराइएको थियो ।

मेचीले डिपार्टमेन्ट चलाउने
दमक/ झापाको दमकस्थित मेची सहकारी संस्थाले छुट्टै डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्ने तयारी गरेको छ । आफना शेयर सदस्यहरु मार्फत संस्थाले सुविधासम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्ने तयारी गरेको छ । आफना शेयर सदस्यहरुलाई बढी भन्दा बढी सेवा सहुलियत रुपमा बिक्री गराउन सहकारीले ब्यवस्थित डिर्पाटमेन्टल स्टोर्स
सञ्चालन गर्न योजना अघि ल्याएको हो । दैनिक किनमेलमा आफना शेयर सदस्यहरुलाई एकै ठाँउमा खाद्य सामाग्री उपलब्ध गराउन संस्थाले पहल थाल्ने संस्थाका अध्यक्ष रोमनाथ ओलीले जानकारी दिए । उनले भने–‘आफना शेयर सदस्यहरुलाई लक्षित गरि यस्ता कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’
संस्थाले यो वर्ष २ करोड रुपैयाँ विनीयोजन गरेको छ । विनीयोजित रकम आसन्न साधारणसभामा प्रस्तावका रुपमा लैजाने संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।  डिपार्टमेन्टल स्टोर्स तर्फ आम उपभोक्ताहरुको आर्कषण बढीरहेको वेला सहकारीले नयाँ अवधारणामा डिर्पाटमेन्टल स्टोर्स चलाउन पहल थालेका हुन् ।

छिट्टै पार्टी एकीकरण : नेता परियार

दमक/राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी कमिटी सदस्य राम परियारले संघीय समाजवादी पार्टी संग छिट्टै पार्टी एकीकरण हुने बताएका छन् । पार्टीले गठन गरेको वार्ता टोलीका सदस्य समेत रहेका नेता परियारले दुवै पार्टी एकीकरणका लागि अन्तिम तयारी थालिएको बताए ।
 ‘दुवै पार्टीको मुद्दा एकै प्रकृतिका भएकाले पार्टी एकीकरणको पहल लगभग पूरा हुन लागेको उनको भनाई थियो । जनमुक्ति समाजवादी संग बिलय हुन लागेको हो त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता परियारले भने –‘दुवै पार्टी भित्र एकीकरणको अन्तिम तयारीमा पुगेका छौँ, त्यसलाई विलय भन्नु हुदैन् ।’ उनले संघीयता, धर्म निरपेक्षता जस्ता मूल मुद्दा जनमुक्ति पार्टीले उठाएको चर्चा गर्दै अहिले त्यस एजेण्डा सवै पार्टीको मुख्य एजेण्डा भएको जिकीर गरे ।
बुधबार दमकमा जनमुक्ति पार्टी नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता परियारले राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न मूल मुद्दा एकै बोकेका पार्टीहरुमा एकता जरुरी समेत भएको प्रष्टयाए । पार्टीका जनसंगठन राष्ट्रिय दलित मोर्चाका
केन्द्रिय अध्यक्ष समेत रहेका नेता परियारले बैकल्पीक शक्ति निर्माण गर्न पार्टी एकताको पक्षमा पार्टी उभिएको स्पष्ट पारे । झापाको सुरुङामा आज हुने पार्टीको वैठकमा सहभागी हुन् आएका नेता परियारले मोर्चाले आउँदो भदौ १७–१९ सम्म राष्ट्रिय महाधिबेशन नवलपरासीको बर्दाघाटमा हुन लागेको समेत जानकारी दिए । त्यस अवसरमा पार्टीका संघीय परिषद सदस्य पदम जवेगु, नगर सचिव सुक बहादुर सोदेम्बा लगायतको सहभागीता रहेको थियो ।