हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

चियामा कर वृद्धिको विरोध

इलाम/तयारी चियाका लागि जिल्ला निकासी करमा अत्यधिक वृद्धि गरिएको भन्दै इलामका चिया व्यवसायी विरोधमा उत्रिएका छन् ।
जिल्लाका अधिकांश कारखानाले कर वृद्धिले व्यवसाय सङ्कटमा पर्ने जनाएका छन् । जिल्लाका २९ सानाठूला चिया कारखानाले मङ्गलबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।
एकै पटक सय प्रतिशत कर वृद्धि गर्दा चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएको विरोधपत्रमा उल्लेख छ । गएको वर्ष तयारी चियामा प्रतिकिलो एक रूपैयाँ निकासी रहेकामा यो वर्ष प्रतिकिलो दुई रूपैयाँ तोकिएको छ ।
जिल्ला विकास समितिले भने १० वर्षदेखि कर वृद्धि नभएकाले यो पटक वृद्धि गरिएको जनाएको छ । ‘१० वर्षदेखि मूल्य नबढाइएकाले एक रूपैयाँ मात्र वृद्धि गरेका हौँ’– जिविसका लेखाअधिकृत दिनेशकुमार पोखरेलले भने – ‘जिल्ला विकास योजना र परिषद्का समयमा बोलाउँदा नआउने, अहिले निकासी कर बढ्यो भन्नु भएन नि त ।’
चिया व्यवसायीले प्रतिकिलो ४० पैसा मात्र तिर्न सक्ने बताएका छन् । एउटै कारखानाले ठूलो परिणाममा चिया उत्पादन गर्दा
कर तिर्न मुस्किल हुने अन्तु टी प्रोड्युसर्स प्रालिका ओम काफ्लेले बताए । जिल्लामा वार्षिक ३५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । उद्योगीले पनि करको बहानामा हरियो चियापत्तीको मूल्य कम दिने गरेको किसानको गुनासो छ । वृद्धि गरिएको कर पुनः मूल्याङ्कन नगरिए चिया व्यवसायीले कारखाना बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सुपारीको मूल्य बढ्दा किसान मालामाल

विर्तामोड/झापाको प्रशिद्ध नगदे बाली सुपारीको मूल्यमा चार गुणाले बृद्धि भएपछि जिल्लाका सुपारी कृषक उत्साहित बनेका छन् । अर्थमन्त्री रामशरण महतले बजेट मार्फत तेश्रो मुलुकबाट आयात हुने सुपारीको राजश्वमा वृद्धि गरेपछि नेपाली सुपारीले राम्रो मूल्य पाउँदा कृषक उत्साहित बनेका हुन् ।
सिंगापुरबाट नेपालमा सुपारी आयात हुँदै आएको थियो । भन्सार मूल्यकर वृद्धि भएपछि तेश्रो मुलुकबाट आयात नहुँदा सुपारीको मूल्यवृद्धि भएको हो । पाउँदै आएको मूल्यभन्दा चारगुणा बढी मूल्य पाएपछि लामो समयदेखि उचित मूल्य नपाएका नेपाली कृषकको मुहार नै फेरिएको छ । सोचेभन्दा बढी मूल्य पाएका उनीहरु सुपारी खेतीतर्फ आकर्षित बनेका छन् ।  यसअघि भन्सारले सुपारीमा ३० प्रतिशत कर लगाउँदै आएको थियो । तर, आर्थिक वर्ष २०७१÷०७२ मा नेपाल सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटमा सुपारीको मूल्य प्रतिकिलो ४५ रुपैयाँ र १३ प्रतिशत कर लगाउने व्यवस्था गरेपछि स्वदेशमै उत्पादित सुपारीले चारगुणा बढी मूल्य पाएको हो ।  भन्सारले मूल्य तोकेरै सुपारीको कारोबार गर्ने नयाँ व्यवस्था गरेको पूर्वको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय प्रमुख मुक्ति पाण्डेले जानकारी दिए । सिंगापुरे सुपारी आयात हुन छोडेपछि झापामा सुपारी कारोबार घटेको व्यापारीको भनाई छ ।
सिंगापुरबाट नेपाल ल्याइएको सुपारीलाई नेपालमा उत्पादन भएको टाँचा लगाउँदै भारतमा निर्यात गर्दा व्यापारीले मनग्यै आम्दानी लिँदै आएका थिए । नेपालमा उत्पादित सुपारीले नेपाली बजार थेग्नै नसक्ने जनाउँदै सिंगापुरबाट आयातीत सुख्खा सुपारी व्यापारीले भन्सारपछि विभिन्न माध्यमबाट सोझै भारतमा निर्यात गर्दै आएका छन् । उनीहरुले सिंगापुरे सुपारीमा नेपाली सुपारी मिसाउँदै चोरीको मार्गबाट भारत पु¥याउने क्रममा झापामा प्रहरी र सुपारी तस्करबीच वेलावेलामा झडप हुँदै आएको थियो । सुपारी तस्करी नियन्त्रण गर्न जिल्ला, अञ्चल तथा सीमा सुरक्षा बल काँकरभिट्टाको शसस्त्र प्रहरीलाई ड्युटीमा खटाउँदै आएको छ । नाका क्षेत्रमा पर्ने तस्करीको मूख्य चोर बाटो नकलबन्दा, बाहुँनडागी रोड लगायतका ठाउँमा हरेक सय मिटरको अन्तरमा एक जना प्रहरीलाई खटाएको छ ।
तस्करसँगको मिलेमत्तोमो काँकरभिट्टामा खटेका प्रहरी इञ्चार्जले लाइन खुलाए, अञ्चलबाट खटेको प्रहरीको टोली तथा शसस्त्र प्रहरीले नियन्त्रण गर्ने र अञ्चल प्रहरीले लाइन खुलाउँदा नेपाल प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रण गर्ने क्रममा कयौं पटक झडप सिर्जना भई प्रहरीले गोली नै चलाउँदै आएको घटना धेरै छन् । सोही विषयलाई लिएर व्यापारीले जिल्लाका उच्च प्रशासन प्रमुखदेखि तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदारसम्म सुपारीको लाइन खुलाउन आग्रह गरेका थिए । जिल्लामा नयाँ प्रहरी प्रमुख र सिडियो आउने  बित्तिकै शुरुमा सुपारीमै नजर पुग्ने गरेको छ । नयाँ प्रमुख आएपछि सुपारीको सेटिङ नमिलुन्जेल तस्करलाई हैरान नै हुने गन्थ्र्यो । एक सुपारी व्यावसायीले भने –‘जे–जति कमाउनुथ्यो, पहिले नै कमायौँ, अव विगतको जस्तो छैन –‘ व्यावसायीले सिंगापुरबाट कमसल मूल्यमा सुपारी आयात गर्ने र प्रतिकिलो ४० रुपैयाँबढी मूल्यमा बिक्री गर्दै आएका छन् ।
सुपारी उत्पादनमा केन्द्रित हुँदा धेरै आम्दानी लिन सकिने व्यवसायीको सुझाव छ । व्यावसायीले सुपारीको फूल हेर्दै कृषकलाई पेश्की दिन थालेका छन् । अघिल्ला वर्षमा नेपालमा उत्पादित सुपारीले राम्रो मूल्य नपाउँदा कृषक चिन्तित बनेका थिए । केही सुपारी कृषकले त्यसको विकल्प सोच्दै विरुवा र बोट नै मास्न थालेका थिए । तर, यसअघि २०५६ सालमा कृषकले उत्पालन गरेको सुपारीको मूल्य वृद्धि भएपछि धेरैको ध्यान सुपारी खेतीमा परेको थियो । पछि एक्कासी उत्पादित सुपारीको मूल्य घटेर प्रतिकिलो ५ रुपैयाँसम्म भएपछि कृषकले खेतीको विकल्पमा अन्य खेती गर्न शुरु गरेको उनीहरुको भनाई छ  । तर, ३५ सयदेखि ५ हजारसम्म लिँदै आएको सुपारीबाट हाल २० हजार पाएपछि आफू उत्साहित बनेको मेचीनगर –२ का ललीत भट्टराईले बताए ।
झापाका कृषकको घर–आँगनमा सुपारीको बोट हुन्छ । जिल्लामा ३ हजार ६ सय, ३१ हेक्टर क्षेत्रफलमा सुपारी खेती हुँदै आएको छ । वार्षिक ९ हजार ७ सय १३ मेट्रिक टन उत्पादन हुने गरेको  नेपाल सुपारी खेती विकास संस्थानका महासचिव निलकण्ठ तिवारीले बताए । उनका अनुसार संस्थाले सुपारी प्रशोधन केन्द्र स्थापना गरी स्वादेशमै प्रशोधित सुपारी उत्पादन गर्न थालेको छ । हाल सुपारीको मूल्यवृद्धि भएपछि एउटा सुपारीको बोटबाट कृषकले ४ सय रुपैयाँसम्म आम्दानी लिने गरेको तिवारीको भनाई छ । जिल्लामा दर्जनबढी सुपारी प्रशोधन केन्द्र स्थापना भएका छन् । तिवारीले भने–‘प्रशोधन केन्द्र स्थापना हुनुअघि नेपाली सुपारीको बजार राम्रो थिएन । तर, प्रशोधन केन्द्र स्थापनापछि कृषक ठगिएका छैनन् ।’ उनीहरुले प्रशोधन केन्द्रले तोकेको मूल्य पाउँदै आएका छन् । एउटा प्रशोधन केन्द्रमा ५ देखि तीनदर्जन सर्वसाधारणले रोजगारी पाएको तिवारीको भनाई छ ।

लिङदेन इजरायल प्रस्थान

दमक/संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन एक हप्ते राजनैतिक भ्रमणको सिलसिलामा इजरायलतर्फ लागेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायल प्रवास समितिको विशेष निमन्त्रणामा लिङदेन त्यसतर्फ प्रस्थान गरेका हुन् । यही अगष्ट १५ तारिखका दिन इजरायलको तेलअभिवमा सम्पन्न हुने २० औं आदिवासी जनजाति दिवस कार्यक्रमको विशिष्ट आतिथिका रूपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनले जाँदाजाँदै बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुम्बाङ्लाई पार्टीको काबा. अध्यक्षको जिम्मेवारी दिएका छन् । सो एक हप्ते बसाईमा मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रवास कार्य समिति इजरायलको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ब्रम्हाकुमारी राजयोगलाई जग्गा प्रदान

उर्लाबारी /मोरडको मधुमल्लामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले भवन निर्माणका लागी जग्गा पाएको छ ।
मधुमल्ला ३ तोरीबारीका टेकबहादुर पौडेलले भवन निर्माणका लागी जग्गा दिएका हुन् । करिब ६ लाख रुपैयाँ मुल्य पर्ने एक कट्ठा जग्गा निशुल्क प्रदान गरिएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मधुमल्लाकी प्रमुख बबिता बेहन्जीले जानकारी दिइन् ।  केन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रहरु हुँदै आएका छन् ।

कचहरी नाटक ‘घरेलु हिंसा’

उर्लाबारी/कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को सहयोगमा मोरङको उर्लाबारीस्थित मेलमिलाप केन्द्रले समाजको हिंसाजन्य घटनालाई मेलमिलापमार्फत समाधान गर्ने कुरालाई उजागर गर्न कचहरी नाटक ‘घरेलु हिंसाु प्रदर्शन गरेको छ ।
घरेलु तथा महिला हिंसा र जातीय विभेद सम्बन्धि कचहरी नाटक उर्लाबारी –६ स्थित मंगलबारेमा मंगलबार प्रदर्शन भएको छ ।  केन्द्रले महिला तथा घरेलु हिंसा सम्बन्धि गाउँ टोलका समस्यालाई मेलमिलापको माध्यमबाट न्यायोचित हिसावले समाधान गर्न सकिने आफ्नो लक्ष्यलाई उजागर पार्न सो नाटक निर्माण गरेको केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी भण्डारीले बताइन् । उनले यसखाले नाटकको माध्यमबाट घरेलु समस्यालाई समाधान गर्दै आएको केन्द्रको उदाहरणलाई नाटकका माध्यमबाट समाजमा प्रस्तुत गरी हिंसा रहित समाज निर्माणमा पहल गर्ने बताइन् ।
दलित परिवारकी छोरी विवाह गरेका कारण पण्डित बाबुले घरबाट निकाला गरिदिन्छन् । डेरामा बसेर जागिर खोज्दा पनि जागिर नपाएको र गाउँ समाजले दलित केटी छोडिदिन दवाव दिएपछि केटाले रक्सि खाएर आई श्रीमती पिट्ने गरेको कथालाई नाटकमा समेटिएको छ ।
पत्रकार एवम् नाटककार भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशन रहेको सो नाटक यसअघि शुक्रबार उर्लाबारी चोकमा समेत प्रदर्शन भएको थियो ।
नाटकमा, भूपेन्द्र तिम्सिना, सुवास खरेल, कमला लुईटेल गुरागाईं, विनोद पौडेल, शालिकराम सापकोटा र लक्ष्मी भण्डारीको अभिनय रहेको छ ।  कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को सहयोगमा मोरङको उर्लाबारीस्थित मेलमिलाप केन्द्रले समाजको हिंसाजन्य घटनालाई मेलमिलापमार्फत समाधान गर्ने कुरालाई उजागर गर्न कचहरी नाटक ‘घरेलु हिंसाु प्रदर्शन गरेको छ ।

दमक बाल उद्यान र नगरपालिका - सम्पादकीय

झापाको दमकमा अत्यावश्यक मानिएको शान्ति बाल उद्यान निर्माणको काम बिगत छ वर्षदेखि अलपत्र परिरहेको छ । नगरमा हुने र भइरहेको विभिन्न खाले पूर्वाधार लगायत अन्य विकासका श्रृंखलाहरुको चढाइबढाइ चर्चा गर्ने निकाय दमक नगरपालिका कार्यालय, नगरपालिका कार्यालयमा सल्लाहकारका रुपले आमन्त्रित हुने राजनीतिक दल र तिनका नेता वा प्रतिनिधि लगायत सरोकारवालाहरुले दमक(१५ को शान्ति बाल उद्यानलाई चाँहि पूर्वाधार निर्माणका दृष्टिले हेर्न नचाहेको हो भने त भन्न सकिन्न तथापि यो योजनामा भइरहेको लापर्बाही र हेपाई वास्तवमै निन्दनीय छ । दमकमा बसोबास गर्ने इमानदार नागरिकहरुले यसतर्फ गम्भीर ध्यान दिन जरुरी छ । वास्तवमा यस्तो किन भइरहेको छ ?
पूर्वाधार विकासका दृष्टिले दमक(१५ मा निर्माण गर्दागर्दै लथालिङ्ग अवस्थामा छाडिएको बाल उद्यानको वास्तविकता के हो ? यो योजनाले दमक क्षेत्रको सामरिक महत्वलाई कति प्रभावकारिता प्रदान गर्न सक्दछ ? यतातर्फ ध्यान दिन सकेको भए छ वर्षदेखि यो योजना हाँसोको विषय नभइ चासोको विषय हुन सक्थ्यो । त्यति मात्रै नभएर यसको निर्माण कार्य समयमै सम्पन्न भएर दमक र आसपासका क्षेत्रका बालबालिकाहरुका निम्ति यो सबै भन्दा आकर्षणको केन्द्रविन्दु हुन सक्थ्यो । स्थानीय दाताहरुले डेढ बिगाह बढी जमिन बाल उद्यान निर्माणका लागि नगरपालिका कार्यालयका नाउँमा दान गरेको वास्तविकता जति महत्वपूर्ण र सान्दर्भिक छ, यो योजनामा गरिएको सरकारी बेवास्था र लाचारी उत्तिकै भत्र्सनायोग्य विषय हो । सम्बन्धित निकायहरुले हेक्का राखुन् । जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएको र त्यसमा पनि भोलिका भविष्य मानिने बालबालिकाहरुको अधिकारलाई समेत कुण्ठित गर्ने नियतको परकाष्ठ नबनोस् बाल उद्यान निर्माणको योजना ।
आवश्यक समयमा आवश्यक बजेट विनियोजन गरेर बाल उद्यान निर्माण गर्न दमक नगरपालिका कार्यालयलाई कुनै पक्षबाट रोकावट छ भने त्यसको हरसम्भव उपचार खोज्न आवश्यक छ । समाजका सबै निकाय, तह र तप्काले त्यस कार्यमा नपा कार्यालयलाई सघाउन सक्छ । तर, स्थानीयहरुको आक्रोश अन्य विषयहरुमा केन्द्रीत नभई नगरपालिकाकै ढिलासुस्ती र बेवास्थाप्रति लक्षित छ । यसको वास्तविकता के हो ? नगरपालिका जस्तो जनताको आशा, विश्वास र सरोकारको निकाय तथा राज्यको उपस्थिति हुने मध्येको सबै भन्दा आधारभूत इकाइ वा स्थानीय सत्ताबाटै जनतालाई उपेक्षा र हेयको दृष्टिकोण राखिनु किमार्थ जायज विषय होइन । यस्ता कमजोरीहरु सच्चिन जरुरी छ । समाजका सचेत नागरिकहरुले यस्ता कमजोरीहरु उपर औंला उठान कञ्जुस्याइँ गर्नु हुँदैन ।
बाल उद्यानको विषयले प्रष्ट पार्न खोजेको विषय अर्को पनि छ कि नगरवासी जनताले उनीहरुले तिरेको करको सही सदुपयोग उनीहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि खर्च हुन सकेको छैन । अथवा त्यसो गर्ने थालनीमा समेत हर किसिमले बखेडा झिकेर बिथोलिएको वा अवरोध पु¥याइएको छ । यस्तो गर्नु भनेको नगरपालिका कार्यालयलाई इमानदारिताका साथ कर तिर्ने मानिसहरुको हकलाई अंकुश लगाउने दुष्प्रयास पनि हो । न्यायका दृष्टिले पनि यो कार्य गलत छ ।
तथापि दमकको बाल उद्यान निर्माणका सन्दर्भमा सही विचार र विवेक प्रयोग गरेर कसले बोल्ने ? अहिलेसम्म, अथवा छ वर्षसम्म यस्तो बोलीको अपेक्षा र आशा गरेर यो उद्यान लथालिङ्ग भविष्यका साथ उपेक्षित छ । नगर र आसपास क्षेत्रका बालबालिकाहरुलाई प्रत्यक्ष लाभ मिल्ने, उनीहरुले विद्यालय विदाका समयमा खेल्न, पिकनिक मनाउन वा अन्य रचनात्मक कार्य गर्न तथा उनीहरुको व्यक्तित्व विकासका लागि समेत यो उद्यानको निर्माण पहिलो शर्त हो । सरोकारवाला निकायहरुलाई यसतर्फ गम्भीर बनेर लाग्न आग्रह र अनुरोध छ । गर्ने दायित्व पनि उसैको हो ।


गाईवस्तु पशु नभई मान्छे नै हुँदैछन्

टंक पाठक
पाडाजुङ्गीदेखि विशेष गरी माइधारसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी साधनबाट बढी दुर्घटना भई राखेको कुरो हामी सर्वसाधारण जोकोहीले सुन्ने गरेकै छौं । दुर्घटना पनि दैनिक जसो भइराखेको छ । दुर्घटनामा केही लापर्बाही सवारी चालकबाट पनि भयो नै होला, तर बढी मात्रामा दुर्घटना हुने कारण पूर्व पश्चिम राजमार्ग दक्षिणपट्टिका गाउँ टोलमा बसोबास गर्ने मानिसका पाल्तु जनावरबाटै भएको कुरो प्रष्ट छ । भर्खरै मात्र मेरो एउटा विशेष कामले चन्द्रगढी जाने काम प¥यो र दमकदेखि कुनै एक बसमा चढी यात्रातिर लागेँ । जब पाडाजुँगीको सशस्त्र क्याम्प अगाडि पूर्वतिर बस लाग्यो राजमार्ग उत्तरतिरको वनमा गाईवस्तु बाख्रा खसी चराउनको लागि खुल्ला रुपले ती चौपायाहरूलाई लखेटेको देख्न थालियो । गोठालाका रुपमा पाँच छ वर्षदेखि वृद्धसम्मका र कोही निकै टाठाबाठासम्म देखिने महिला पुरुष देखिन्थे । ती बालबच्चालाई आफ्ना गाईवस्तु राजमार्ग कटाउन हम्मे हम्मे सम्म परेको देखिन्थ्यो । राजमार्गको आसपासमा अरु सुँगुर पाठाहरू पनि देखिन्थे । यो समय करिब बिहानको ९ बजेको अनुमान गर्न सकिन्थ्यो । गाडीको रफ्तार अगाडि बढ्दै थियो, विपरित दिशाबाट पनि विभिन्न किसिमका सवारी साधन ती चौपायालाई जोगाउँदै हुत्तिँदै आउने क्रम थियो । पूर्व जाने पनि अन्य सवारी साधन प्रशस्तै देखिन्थे । जब डुँडामारी के आउन लागेको मात्र थियो म चढेको गाडी एक्कासी ब्रेक लाग्यो । सबै पछिल्तिरका मान्छे हुत्तिए अगाडि आए, केही उत्तानो परेर पछारिए । केही घाइते भए भने चालक किंकर्तव्य मुढमा देखिन्थे । म चाँहि सीटमा बसेको हुँदा सामान्य दखलमात्र भोग्न पुगेँ । किन यस्तो भयो भन्ने हलचल हुँदा अलि अगाडितिर विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल उत्तानो परी लगेको र त्यसमा सवार गर्ने एक बालक र महिला सडकमा रक्ताम्मे भएर लडेको दृश्य देखियो र चालकको हात फ्याक्चर भएर होला, त्यो मोटरसाइकल अन्य मान्छेले उठाउँदै गरेको र ती घाइतेलाई अस्ताल लग्न अन्य सवारीसाधनलाई त्यहाँ उपस्थित केही मानिसद्वारा हार गुहार गरेको देखिन्थ्यो । त्यो घटना तिनै चौपाया पशुबाट भएको देखिन्थ्यो भने आफू चढेको गाडी पनि झण्डै पल्टेको त्यही कारण थियो । अनि बसमा असर परेका यात्रुबाट के आवाज गुञ्जिरहेको थियो भने, यहाँका पशुपालक मान्छे अपराधी हुन् । गाईवस्तु होइनन्, यहाँका मान्छे पशु हुन् । गाडीहरू आएको देख्दा देख्दै गुडुडु गाईवस्तु लखेट्तै बाटो कटाउने र अवरुद्ध पार्ने । गाई वस्तु सबैले पाल्छन् तर दुनियाँलाई दुःख दिएर किन पाल्नु ? बुद्धि सुद्धि सकिएकाहरू । एकजनाको मात्रै यस्तो भनाई थिएन, प्रायः सबै यात्रीहरूको आवाज एउटै थिथयो । मेरो पनि ती यात्रीहरूको भनाईप्रति मौन सहमति थियो । हाम्रो सवारी सधान प्रत्येक गौडा–गौडामा पशुहरूको अवरोधलाई जोगाउँदै माईधार पुग्यो र त्यसपछि गाडीले अलि रफ्तार लियो । अन्यत्र यस्तो पशुको अवरोध कतै पनि देखिँदैन थियो । घर दमकमा परेकोले चन्द्रगढीबाट तीन बजेको गाडी चढेर घरतर्पm आइयो । अन्यत्र कतै छैन, झिलझिले कटेपछि तिनै गाईवस्तु राँगा घरतिर फर्काउँदै गरेको दृश्य देखिन्थ्यो । अनि आफूलाई केही हिनताबोध हुँदै डर त्रास लाग्थ्यो, घर नपुगी कहीँ कतै दुर्घटना त हुँदैन ? मनमा घटनाका रङ्गीन तरङ्गहरू आउने गर्दथ्यो । 
केर्खा बजार कट्ने बित्तिकै हुँदै दिशातर्पmबाट आएका सवारीसाधन रोकिराखेका देखिन्थे । एउटा नेता जस्तो देखिने व्यक्ति अगाडि हात उठाउँदै अघि बढ्दै थियो । त्यहाँ पाँच सात जना कानमा मुन्द्रा लगाएका लामा लामा कपाल भएका युवा जस्ता देखिने मानिस गाडी रोक्दै थिए । हाम्रो गाडी पनि अलि पछि रोकियो । आवाज आउँदै थियो, चक्काजाम, चक्काजाम । किन के रहेछ भनी अलि अगाडि आएर म लगायत केही हाम्रा बसका यात्रीले हेर्न जाँदा एउटी महिलाले गाडीले मारेको एउटा बाख्राको पाठी लिएर कराइराखेकी थिईन् र यस्तो भनाई पनि आइरहेको थियो “यस पाठीको मोल पन्ध्र हजार तिर्ने भए गाडी खोलिन्छ, नत्र खोलिँदैन” । एक जना यात्रीले भने किन यस्ता मुला पाठीको दाम के को पन्ध्र हजार, पुलिस बोलाउनु पर्छ अब ?” ती महिलाले सबैले सुन्ने गरी भनिन्, मलाई मेरो पाठीको दश हजार ती गाडी रोक्ने भाईहरू नचिने पनि पाँच हजार मागेका छन् । अनि यो पाठीले कति बोका जन्माउँछ र ती बोकाको दाम कति हुन्छ ? म त्यसै छाड्दिनँ ? हामी त्यही हुँदाहुँदै एउटा भ्यानमा पुलिस आएको देखियो । त्यहाँ के भनाई सुनिन्थ्यो भने चक्काजाम गरेको २० मिनेट भयो, बल्ल पुलिस आए । यस्ता पुलिसले अनि के जनताको सुरक्षा दिन्छन् ? ढिलै पुलिस आएपनि मार्ने गाडीका चालकलाई के कति रुपैयाँ जरिवाना गराएर पाठी तिनै महिलालाई जिम्मा लगाएर डाङ्ग डुङ्ग गर्दै गाडी खोलेपछि हाम्रो गाडी पनि पश्चिमतर्पm बढ्यो र म पनि घर आइपुगेँ । स्मरण रहोस्, वास्तवमा यस प्रकारको घटना दिनानुदिन केही न केही, कुनै न कुनै प्रकृतिबाट ती स्थानहरूमा घटिरहेको चर्चा सुन्न पाइन्छ । यो वास्तविक र यथार्थ हो । यो क्षेत्र किन यस्तो छाडा पशुको व्यवहारले विभिन्न दुर्दशा व्यहोर्नुपर्ने ? वन विभागले आफ्नो सरकारी वनलाई गौचरनमा रुपान्तरित गर्दैछन् ? किन गाउँलेसँग कमिसनको खेती वन विभागले गरेको त छैन ? किन त्यहाँका मान्छे आफै पशु बन्दैछन् ? प्रत्येक दिनको घटना तिनीहरूले बुझेको छैन र ? किन सडक विभाग र प्रशासन मौन छ ? जब यस्ता घटना हुँदै गर्दा ? ती पशुपालन गर्ने महासयहरूले अरुलाई दुःख दिएर पशुपालन गर्दा मन सधैं शान्त हुन्छ ? सबैले पशुपालन गरेका छन्, पाल्नु पनि पर्छ तर आफ्नो क्षेत्राधिकार भित्र रहेर पाल्नुपर्छ । के त्यस्ता ठाउँको समाजको विवेक हुँदैन ? के त्यहाँ केही लेखपढ गरेका र यसो नेता हौं भन्ने जस्ताको अभाव छ ? गोठालाहरूको त त्यति बुद्धि नहोला, गोठका धनीको त केही ज्ञान होला नि, कि छैन ? कि एउटा जनावर म¥यो, त्यसलाई ठगी खाने भाँडो बनाइयो, अब पनि त्यस्तै होइन ? पशुले गर्दा कतिको ज्यान जोखिममा परेको छ र सवारी साधन तोडफोड भएको छ, त्यो ज्ञानको बिर्को कसले र कसको खुल्ने ? स्मरण रहोस्, विदेशतिर कुनै छाडा पशुले सवारी साधन र बाटो अवरोध गरे, राज्यले तुरुन्तै त्यस्ता पशुहरूलाई लगेर ढाट या अन्य कुनै व्यवस्थाबाट नियन्त्रण गर्छ । यो देशमा यसका लागि नियम छैन ? किन सरकारी वनमा छाडा मान्छे र पशुको रजाई ? अब हुने जोखिम र दुर्घटनाको जिम्मेवारी को हुने ? यसलाई सम्बन्धित सबैपक्षबाट यसको छिट्टै जिम्मेवार राज्य पक्षका सम्बन्धित निकाय र पशुपालकहरूले लिनुपर्छ । गाईवस्तु नभएर पशुपालक नै पशु भएको भनाईलाई सावित नहोस् । पशु पशु नै हो, मानिस उत्तम र चेतनशील, विवेकी प्राणी हो ।

संविधान निर्माण गर्दा खेल्नुपर्ने मुख्य भूमिका

निधिरत्न अधिकारी
नेपाली जनताको जनसंविधान लेख्नका लागि नै हो भनेर २०५२ सालदेखि २०६२ सालसम्म नेपाली जनताले सामन्तवादी राज्य व्यवस्थाको विरुद्धमा हतियार उठाए । यसको नेतृत्व तत्कालीन नेकपा माओवादीले ग¥यो । संवैधानिक राजतन्त्रको आड लागेर नेपाली कांग्रेस नेकपा एमाले र अन्य साना पार्टीहरू मिलेर प्रजातन्त्र नामधारी शासन चलाइरहेका थिए । २०४६ सालपछि प्राप्त नेपाली जनताको बलिदान त्यागबाट प्राप्त प्रजातन्त्रले यदि जनताको संविधान जनताकै नाममा गरिने राष्ट्रको भौतिक समृद्धि थियो भने तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म चलाएको जनयुद्धबाट २० औं हजारको बलिदान, हजारौं वेपत्ता र अङ्गभङ्ग हुनुपर्ने बाध्यता यो बुद्धको जन्मस्थल, तपोभूमि शान्तिभूमिमा निम्तिने थिएन । यो कुरा हामी सारा नेपाली र विश्व जनसमुदाय, सरकारलाई प्रष्ट थाहा छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा पठाएको अनमिन साक्षी बसेर नेपाली माओवादीले चलाएको जनयुद्ध यो कुनै खेलाँची, कसैको लहडमा, कसैको व्यक्तिगत सम्पत्ति जफत गर्न चलाएको युद्ध होइन, नेपाल जनताले सदियौंदेखि आफ्नो सम्पूर्ण अधिकार प्राप्त गर्न गरेको बलिदान जनता र देशको पूर्ण समृद्धिको लागि हो रहेछ भनेर प्रमाणित गर्न साक्षी बसेको कुरा नेपाली राजनीतिको रातो खातामा टिपोट भई सकेको छ । यसैको आडमा रहेर नेपाली जनताको पूर्ण अधिकार प्राप्त गर्न र नेपाली धर्तीको सर्वाङ्गिण विकास गर्ने गरी वृहत शान्ति सम्झौता भयो । त्यसको आडमा धेरै नेपाली राजनीति भित्र पटक–पटक धेरै बुँदे समझदारी भए । सहमतिहरूमा सबै पक्षबाट आफ्नो प्रतिबद्धता जाहेर भयो । यसैलाई मूल आधार बनाएर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर संविधानसभाको निर्वाचन गर्ने भन्ने सबै राजनीतिक पक्षहरूको बीचमा सहमति भयो । त्यसपछि २०६४ साल चैत्र २८ गते नेपालमा ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । जुन निर्वाचनले नेपाल र नेपालीको समृद्धशाली बन्ने भूमिका खेल्दथ्यो । किन यसको महत्व यत्रो थियो भने राजा र रैतिको नाता–राजतन्त्र र जनताको बीचमा थियो । राजतन्त्रलाई थोरै बङ्ग्याएर प्रजातन्त्ररुपी आडमा देश चलाउँछौं भन्ने संसदवादी दलहरू काठमाडौं वरिपरिमात्र मस्त थिए । यही अदुरदर्शिताले गर्दा नेपाल विश्वकै कङ्गाल मुलुक बन्न पुगेको यथार्थ लुकाउन सकिँदैन । यसैको कारणले २० औं हजार नेपालीको रगत यो धर्तीमा बग्यो । यही परिणामले नेपाली जनताको पूर्ण अधिकार प्राप्त गर्न हिमाल, पहाड, तराईमा बसोबास गर्ने सबै नेपाली जनताको मौलिक संविधान निर्माण गर्नु ऐतिहासिक माग र आजको आवश्यकता थियो र छ । यो मुद्दा सबैले स्वीकार गरिसकेको कुरा हो । तर संविधानसभा निर्वाचन भएको ६ वर्षमा पनि तोकिएको समयमा संविधान निर्माण हुन सकेन । अन्ततः संविधान नलेखी संविधानसभाको विघटन हुन पुग्यो । यसरी फेरि पनि नेपाली राजनीतिले नेपाली जनतालाई धोका दियो, अन्तर्घम ग¥यो । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाको निर्वाचनबाट नेपाली जनताको जन संविधान निर्माण हुनुपर्छ, लेखिनुपर्छ भन्ने प्रमुख माग तत्कालीन नेकपा माओवादीले अगाडि ल्याएको हो । अहिले हामीले बोल्ने शासन र टकराइरहेका प्रमुख राजनीतिक मुद्दाहरू तत्कालीन माओवादीले नै उठाएका हुन् । यी मुद्दाहरूलाई सबै राजनीतिक पार्टीहरूले स्वीकार गरी सकेका छन् । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि २०७० साल मंसिर ४ गते पुनः नेपालमा संविधानसभाको निर्वाचन भयो । विगतका काम कार्यवाही कसले कति भूमिका खेले, कसले कति गल्ती गरे, समग्र नेपाली जनताको संविधान लेखिन नसक्नुमा कुन पार्टी नेताको कति गल्ती छ, भन्ने कुरा अतित साक्षी छ । नेपालको अब कोरिने इतिहासले सावित गर्ला नै । तर दोेस्रो संविधानसभाको निर्वाचन गर्नुभन्दा अगाडि पहिलो संविधानसभाले अनुमोदन गर्नैपर्ने भन्ने सबैको प्रतिबद्धता छ र नमिलेका विषयहरू पुनः संवैधानिक समितिको सहमतिमा मस्यौदा तयार गर्ने भन्ने नै हो । राष्ट्रका जनताको साझा समस्या र उठेका मुद्दा सबै पार्टी, नेता, विचारहरूको साझा नै हुनुपर्छ । पहिलो संविधानसभाबाट संविधान लेखिन नसक्नुमा धेरथोर सबै राजनीतिक पार्टी, नेता र सरोकारवालाहरूको आ–आफ्नो हैसियतबाट कमी कमजोरीको जिम्मेवारी वहन गर्नैपर्छ । “पानीमाथिको ओभानो”, “दूधको साक्षी बिरालो हुन कोही पनि पाउँदैन” । अबका दिनमा नेपालको कुनै पनि पार्टीहरूले अगाडि भने जस्तो उखान अनुसार नेपाली जनताको बीचमा पुगेर एकले अर्कालाई दोष थोपर्ने र आफू चाँहि चोखो बन्ने कोसिस गरे भने कुनै मानेमा पनि छुट पाउने छैनन् ।
अहिलेको वर्तमान राजनीति दोस्रो संंविधानसभामा गरिएका भएका प्रवृत्ति दोहोरिन खोजिरहेका छन् । अब पनि खराब प्रवृत्तिले ठाउँ पायो भने नेपालको इतिहास संसारबाट नै मेटिने छ । न हामी नेपाली, न नेपाल कुनै रहने छैन । यहाँ नेपाली राजनीतिको मुख्य खराब प्रवृत्ति के हो भने व्यक्तिगत सत्ता र स्वार्थ प्राप्त गर्ने ठाउँमा देश र जनताप्रति गरेका प्रतिबद्धता बिर्सेर अगाडि जाने मूल कुरा अगाडि आउँछ । प्रकृतिको नियम अनुसार यस धर्तीमा भएका सबै चिजको विपरितार्थ शब्द छन् । त्यस्तै नेपाली राजनीतिमा पनि छ । नराम्रोको ठाउँमा राम्रो छ, विषको ठाउँमा अमृत छ । यावत कुरा नेगेटिभ रुपमा मात्र हेर्नुहुँदैन । राजनीतिमा अहिले आएर सबैको भूमिका आ–आफ्नो ठाउँमा हुन्छ । मुख्य रुपमा एउटा पार्टी नेता, विचारले एक आपसमा उसको भूमिकाको अस्तित्वको मूल्याङ्कन गरेर सतय कुरा आत्मसाथ गर्न सक्नुपर्छ । सत्य र यथार्थ कुरा आफूले आफैबाट ढाँट्नु हुँदैन । सबैले जनता र देशको अहित हुने कुरालाई नकार्न र हित हुने कुरालाई स्वीकार्न सबैको साझा सोच हुनुपर्छ । यसो गर्न सके नेपालमा जनताको जन संविधान अवश्य लेखिन्छ ।
nidhiratna@hotmail.com

मोदीको सन्देश र दलहरूको भूमिका


ओमप्रकाश गौतम

वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गत श्रावण १८ गते संविधानसभाको हलभित्र ४५ मिनेट समय सान्दर्भिक उच्चकोटीको सम्बोधन गरे । सो सम्बोधन हाम्रा नेताको लागि एउटा चेतनाको दिप खुल्ने प्रकृतिको थियो, किन कि नेताहरू सत्ता र कुर्सीको केन्द्रमा आकर्षित थिए, जनतालाई कुनै राहत दिने थिएन । त्यसैले पनि उनको त्यो सम्बोधन हामी जनताका लागि एउटा अब्बल प्रकारको सम्बोधन थियो । त्यति मात्र होइन, मोदीको त्यो दुई दिने भ्रमण अपेक्षित सम्झौता वा अनुदानसँगै संसद भवनमा दिएको सारगर्वित मन्तव्य सारा नेपाली जनताको लागि मननीय छ ।
हुन त हाम्रो देश नेपालमा भारतबाट प्रधानमन्त्रीमा निर्वाचित अनेकौं परिचय र प्रवृत्ति बोकेका प्रधानमन्त्री पटक–पटक सम्झौताका ठेलीहरूमा नाटकीय रुपमा हस्तार गर्दै हाम्रा नेतालाई कनिका छर्ने अभिव्यक्ति दिएर गए, सारमा कुनै पनि उल्लेख्य काम हुन सकेन । तापनि मोदीको यो भ्रमणमा सारा नेपाली जनताका लागि मोदीमय वा मायावी मोदीमय चाँहि भयो । व्यक्तिगत खुबी र लोकप्रियताका माध्यमबाट संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको सत्ता केन्द्रमा पुगेका मायावी मोदीका कारण दुई निकट दक्षिण एसियाली मुलुकबीच सम्बन्धको नयाँ तरङ्ग पैदा हुने अपेक्षा एक हदमा महान् नेपाली जनताले उनको नेपाल भ्रमण एक अर्थमा जनताका लागि आशावादी र लोकप्रिय छ भन्ने कुरामा कुनै द्विविधा छैन किन कि उनले भारतीय राजनीतिमा जसरी सफलताको बाटो कोरे, छिमेकीहरूसँगको सम्बन्ध बलियो पारी विश्वमञ्चमा आफ्नो पकडको सहयात्री बनाउने योजना तयार बनाएर गयो त्यो भने आगामी दिनमा पूरा होला या नहोला त्यो भने हेर्न बाँकी नै छ । उनको भनाई, भ्रमण दौरान नेपाललाई भारतका तर्पmबाट गरिएका प्रतिबद्धता अनि द्विपक्षीय सम्झौताका दस्तावेजहरू भोलिका दिनमा कति पूरा हुन सक्लान्, त्यो आशा नेपाली जनताले गरिरहेका छन् । आज हाम्रो देश नेपालका चार वटै सीमामा भारत लगायतका अन्य मुलुकहरूले गिद्धे दृष्टि लगाइरहेको कुरा त हामीले थाहा पाएकै छौं, कति ठाउँका सीमास्तम्भ रातारात सारिएका घटना त हामीले बारम्बार हेरेका छौं, छापा माध्यममबाट थाहा पाएकै छौं । तापनि हाम्रै देशका नेता कानमा तेल हालेर जम्बो संविधान हलभित्र सत्ताको बार्गेनिङ्ग गरिरहेको घटना हामी माझ तरोताजा छ ।
मोदीले नेपालको सार्वभौमसत्तालाई हृदयदेखि गरेको सम्मानलाई बुद्धको जन्मथलो नेपाल भएको भन्ने अभिव्यक्तिलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनाईलाई र ऋषिमन राखी चाँडोभन्दा चाँडो संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गरी लागू गर्न तयार रहेको कुराले गर्दा मोदीले नेपाली मनको हृदय प्रफुल्लित बनाइदिएको छ । उनका सारगर्भित भनाईहरूमा “वर्तमान दबिएको हुनुहुँदैन, भविष्य देखिएको हुनुपर्छ, संविधान लेख्न ऋषिमन हुनु आवश्यक छ, शस्त्र छोडेर शास्त्रमा आउनु बुद्ध भूमिको सन्देश हो” जस्ता अति नै समय सान्दर्भिक उनको प्रवचन नेताहरूप्रति ध्यानाकर्षित थियो ।
अर्को कुरा सबै प्रकारको क्षेत्रीय वादलाई अस्वीकार गर्दै समयसीमा भित्रै सर्वस्वीकार्य संविधान बन्नुपर्छ भन्ने उनको महत्वपूर्ण भनाई र चासो नेपाली जनताको लागि सर्वस्वीकार्य छ र उनले नेपाल र भारतबीचको शंकाको तुँवालो हटाईदिने प्रयत्न गरेर गए अब त्यो अविश्वासको खाडल हाम्रा नेताले आगामी दिनमा पूरा गर्न सक्नुपर्छ । आज उनको फलदायीपूर्ण नेपाल भ्रमण छापा माध्यमहरुमा पिटिए र पिडिए नभए पूरै नेपालको भविष्य नै खत्तम हुन्छ, अन्धकारमय हुन्छ भन्ने जस्ता छेपारे प्रवृत्तिका अड्कलबाजी मिडियामा छ्यापछ्याप्ती आएका छन्, ती अतिरञ्जित भनाईहरुप्रति हामी जनताले विश्वास नगर्नु नै वेश हुन्छ । किन कि उनको नेपाल भ्रमण पश्चातका दिनदेखि १०० दिन पछिको नेपाल र भारतसम्बन्ध कतिको दिगो र मजबुत रहेछ भन्ने कुरा –आगामी दिनमा थाहा पाउने कुरा हो । अहिले नै अतिरञ्जित कुरामा विश्वास गर्नु बेकार छ किन कि आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध नङ र मासुको सम्बन्धझैं दिगो भएर जाओस् । नेपालको हितमा असर नपर्ने गरी झिनामसिना विषय र विवादलाई पर सारी उनले नेपालमा गरेको खरबौंको रकम विभिन्न शिर्षकमा दिएको आर्थिक सहयोग वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारले गर्न सकोस् । जनताको गाँस, बास र कपासको उचित ग्यारेण्टी हुन सकोस्, वैदेशिक लगानी संसदको निजी खर्चमा विनियोजन नहोस् । मोदीबाट हाम्रा नेताहरुले सिक्नैपर्ने आदर्शका पाठहरुलाई अक्षरस पालना गर्दै संविधान निर्माणमा हातेमालो गर्दै अघि बढ्न प्रेरणा मिलोस् । उनीबाट हाम्रा नेताले सिक्नैपर्ने पाठहरुमा राजनीति विनास र विद्रोहबाट होइन विकास र उन्नतिबाट शुरू गर्नुपर्छ । हाम्रा नेताहरुले बोली व्यवहारमा आलोचना गर्ने पुराना सन्धी सम्झौताहरुका दस्तावेजहरु पल्टाएर संविधान बनाउने अवरोधमा बाधा पु¥याउन बन्द गर्नुपर्छ । गरीब, किसान, भूमिहीन, सुकुम्बासी, महिला, दलित, जनजाति, आदिबासीका समस्या सम्बोधन हुने संविधान हाम्रा नेताले आगामी माघ महिना अगावै घोषणा गर्न सकून् । हाम्रो हिमालयमा पाइने जडिबुटीको विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई चिन्ता बढ्यो, हाम्रा नेतालाई यतिका दिनसम्म पनि चिन्ता बढेन, उनको यो अभिव्यक्तिले आगामी दिनमा हाम्रा नेताको कर्ण खुल्न सकोस् । मधेसी नेताहरुलाई क्षेत्रीयताको कुरा गर्न छाडेर समग्र राष्ट्रको बारेमा सोच्न र यही अनुसार अघि बढ्न दिएको सन्देश अनुसार हाम्रा नेता तथा नेतृत्व अघि बढ्न सकून् । मायावी मोदीको सन्देशबाट हाम्रो नेता नेपाल समृद्ध बन्न सकोस् ।
omgautam817@gmail.com

‘पहिचान विरोधी संविधान बनिए द्वन्द्व चर्कने’

बिर्तामोड/दुई तिहाई बहुमत भन्दै पेलेर पहिचान विरोधी संविधान वनाए माघ ८ पछि नेपालमा नयाँ किसिमको द्वन्द्व निम्तने पहिचानवादीहरुले चेतावनी दिएका छन् ।
२० औँ विश्व आदिवासी दिवसको सन्दर्भ पारेर नेपाल आदिवासी पत्रकार संघ झापाले बिर्तामोडमा बुधवार आयोजना गरेको संघीयतामा आदिवासी जनजातिको पहिचानको मुद्दा विषयक कार्यक्रममा बोल्दै पहिचानवादीहरुले यस्तो चेतावनी दिएका हुन् । अहिलेको संविधान सभाबाट आदिवासी जनजातिका मुद्दा समेटिने संकेत नदेखिएको भन्दै उनीहरुले अन्तरिम संविधानको धारा १३८ को १ को क अनुसार राज्य पुनः संरचना नभए वैधानिक लडाई लड्ने चेतावनी समेत दिएका छन् ।
विर्तामोडमा भएको अन्तरकृया कार्यक्रममा सहभागी नेताहरु ।

नयाँ पार्टीको रुपमा एकीकरण भएको संघीय लिम्बुवान पार्टी नेपालका वरिष्ठ नेता सञ्जुहाङ्ग पालुङ्वाले अधिकार विनाको संविधान आए मर्न तयार हुने धारणा राख्दै जातिय राज्य कसैले नमागेको स्पष्ट पारे । उनले प्रमुख तीन दलले पहिचानको कुरा नस्वीकारे उनीहरुलाई पनि अस्वीकार गर्ने चेतावनी दिए । कार्यक्रममा बोल्दै पालुङ्वाले पेलेर संविधान निर्माण गर्ने बताइरहेका ठूला दललाई माघ ८ भित्र संघीयता सहितको संविधान निर्माण गरेर देखाउन चुनौती समेत दिए । केपी ओलीहरुको अप्रिय निर्णयले लिम्वुवानहरुलाई जवरजस्त एकठाउँमा बस्न बाध्य बनाएको उनको भनाई थियो ।
त्यस्तै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामीले आफ्नो पार्टीले पहिचानको मुद्दा नछोडेको बताउँदै पहिचान सहितको शक्तिहरु बीच भएको नयाँ सहकार्यलाई सुखद मान्नु पर्ने धारणा राखे । उनले पहिचान सहितको संविधानका लागि सडक र सदनवाट आन्दोलन गर्नु पर्ने जोड दिए ।
कार्यक्रममा बोल्दै राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले सामथ्र्य र पहिचानको अर्थ नभएको भन्दै पहिचानको आधार तय गर्नु पर्ने बताए । पूर्व गृह राज्य मन्त्रीसमेत रहेका राजवंशीले ठूला पार्टीहरुले जनताका लागि नभएर आफ्ना लागि संविधान वनाउन लागेको आरोप लगाए । यसैगरी
वुद्धिजिवी डा. पृथ्वी विक्रम राईले संघीयताका वारेमा दलहरुले कुरा नबुझेर पहिचानको मुद्दामा बबाल गरिरहेको आरोप लगाए । नेपाल आदिवासी जनजाति महासंघ झापाको सहयोगमा भएको कार्यक्रम आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पूर्व सभाषद् एवम संघीय समाजवादी पार्टीका जिल्ला इञ्चार्ज विश्वदीप लिङ्देन,
अर्का पूर्व सभाषद् पूर्णसिंह राजवंशी, नेकपा एमालेका सचिवालय सदस्य माधव विद्रोही, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, सल्लाहकार प्रेम घिसिङ, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, मधेशी जनाअधिकार फोरमकी कोषाध्यक्ष संगीता रौनियार, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटा, थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष काशीलाल चौधरी, तराई मूल माझी कल्याण समितिका महासचिव धर्मराज माझी, सन्थाल आदिवासी उत्थान संघका वडाराम हेमरम लगायतले बोलेका थिए । आदिवासी पत्रकार संघका उपाध्यक्ष  आत्माराम राजवंशीले स्वागत गरेको कार्यक्रम महासचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।