हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

विद्यार्थीद्वारा क्याम्पस प्रशासनमा ताला

पथरी/सहायक क्याम्पस प्रमुख नियुक्तिको बिषयलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी बहुमुखी क्याम्पस प्रशासनमा मंगलबार आठ विद्यार्थी संगठनले ताला लगाएका छन् ।
सञ्चालक समितिले बिद्यार्थी प्रतिनिधिलाई कुनै जानकारी नदिइ दुई जनालाई सहायक क्याम्पस प्रमुख बनाउने निर्णय प्रति आठ विद्यार्थी संगठनले बिरोध जनाउँदै आएको छ । 
 क्याम्पस सञ्चालक समितिले २०७१ जेठ ३१ गते चेतन पौडेल र शान्तिराम तिम्सिनालाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
विद्यार्थी प्रतिनिधिहरुलाई कुनै जानकारी नदिइ गरिएको भन्दै आठ विद्यार्थी संगठनको संयुक्त मोर्चाले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर बिरोध जनाउँदै आएको थियो । आफूहरुको माग प्रति क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै सोही मोर्चाले मंगलबार क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी लगायतका प्राध्यापकहरुलाई बाहिर निकालेर प्रशासनमा ताला लगाएको हो ।
विद्यार्थीहरुले आफ्नो प्रतिनिधि बिनै प्राध्यापकहरुको योग्यता र क्षमता भन्दा राजनीतिक भगबण्डा र नातावादलाई आधार मानेर नियुक्ति भएको आरोप लगाउँदै निर्णय खारेजीको माग गर्दै आएका छन् । सहायक क्याम्पस प्रमुख बनाउने निर्णय भएका प्राध्यापकहरु सञ्चालक समितिका केही पदाधिकारीहरुको नजिकका नातेदार रहेको प्रमाणित गर्न सकिने आन्दोलनरत विद्यार्थी संगठनका एक प्रतिनिधिले बताए । ताला लगाएपछि संयुक्त  विद्यार्थी मोर्चाले टाँसेको प्रेस विज्ञप्तिमा २०६८ कार्तिकमा भएको महापुराणको हिसाव सार्वजनिक गर्नुपर्ने, पूर्व घोषित स्नातकोत्तर तुरुन्त सञ्चालन गर्नुपर्ने, क्याम्पसको बार्षिक कार्ययोजना बनाउनुपर्ने र घोषित अक्षय कोष स्थापना गर्नुपर्ने माग गरेका छन् । महापुराण र क्याम्पसको जग्गा सट्टाभर्नामा ठूलो आर्थिक अनियमितता भएको हुनसक्ने विद्यार्थी प्रतिनिधिहरुको आशंका रहेको छ ।
क्याम्पस सञ्चालक समितिले ताला लागेको दुई दिनभित्र माग पुरा नगरे क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी र सञ्चालक समिति अध्यक्ष मोहन तुम्बापोको राजिनामा माग गर्ने र साउन ९ गतेदेखि क्याम्पस अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ । क्याम्पस प्रमुख बुढाथोकीले भने विद्यार्थीहरुको माग पुरा गर्न सकिने बताएका छन् । सञ्चालक समितिको बैठक बसेर निर्णय गरिने बुढाथोकीले बताए ।
तालाबन्दी पछि टाँसिएको प्रेस बिज्ञप्तिमा लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष हाङफारा लिम्बू, किरात राई विद्यार्थी संघका अध्यक्ष सरोज राई, संघीय विद्यार्थी युनियनका अध्यक्ष जीतु लिम्बू, एमाले अखिलका अध्यक्ष सरोज तिम्सिना, नेपाल विद्यार्थी संघका प्रतिनिधि गोपाल लिम्बूले हस्ताक्षर गरेका छन् ।

महिला पत्रकार समूह पूर्नगठन

बिर्तामोड/झापाको बिर्तामोडमा सम्पन्न महिला पत्रकारहरुको भेलाले क्रियाशिल महिला पत्रकार समूह पुनर्गठन गरेको छ ।
माया पकुवालको अध्यक्षतामा गठित समूहको उपाध्यक्षमा सुशिला संग्रौला, महासचिवमा इन्दु पूर्वेली, कोषाध्यक्षमा गंगा बराल रहेका छन् । समितिका सदस्यहरुमा रेजिना रोदन, अम्बिका भण्डारी, टिका लामिछाने, सुनिरा मैनाली र चन्दना बराल रहेकी छन् ।
महिला पत्रकारहरुको क्षमता अभिवृद्धि तथा बृहत्तरहितमा कार्य गर्ने लक्ष्यका साथ गठित समितिले आवश्यकता अनुसार सदस्यता बढाउँदै लैजाने बताइएको छ ।

पत्रकारलाई सभासदको चेतावनी

उर्लाबारी/मोरङ, क्षेत्र नं. ९ बाट संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभासद डिगबहादुर लिम्बुले पत्रकारको घर छेउको बाटो नबनाउने धम्की दिएका छन् ।
पाँच करोड रुपैयाँ विरुद्ध समाचार लेखेकोले पत्रकारको घर छेऊको बाटो नबनाउने उनको भनाई  छ ।  सभासद लिम्बुले आफ्नो बारेमा जे पनि लेख्न पत्रकारलाई चुनौती समेत दिए । मोरङको मधुमल्लामा मंगलवार  आयोजित बी.पी.स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभासद लिम्बुले पत्रकारलाई त्यस्तो धम्की दिएका हुन् ।
गत आर्थिक बर्षमा आफ्नो क्षेत्रमा विनियोजित १० लाख रुपैयाँ कहाँ–कहाँ खर्च भएको भन्ने बारेमा जानकारी लिने क्रममा सभासद लिम्बुले विकास निर्माणका लागि पाँच करोड रुपैयाँ माग गरिएको बताए ।  सोही कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्ग फागोले जनताले चाहेको लोकतान्त्रिक संविधान बनाउन छाडेर सभासदहरु पाँच करोडमा अल्झिन नहुने सुझाव दिए ।  अहिलेको कार्यकर्ता नेताको दर्शन गर्न नभइ नेतालाई काम लगाउन चाहने स्पष्ट पार्दै क्षेत्रीय सभापति फागोले आफ्नै नेताले गल्ती गरेमा कार्यकर्ताले औँला ठड्याउने चेतावनी दिए ।
कांग्रेस मधुमल्ला गाउँ सभापति सेवन्त दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य शोभा चेम्जोङ्ग पालुङ्वाले पनि बोलेकी थिइन् ।

दाउराको मुल्य बढेपछि शरणार्थी समस्यामा

दमक/ दमकको बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक वनले शव दहन गर्न उपल्वध गराउँदै आएको दाउराको मुल्य बढाए पछि  शरणार्थी समस्यामा परेका छन् । नेपाली मुलका भुटानीहरुको शव  जलाउन प्रयोग गरिने दाउराको मुल्य बढाएपछि उनीहरुलाई मर्का परेको हो । शब दहनका लागी उपलब्ध गराउँदै आएको दाउराको मुल्यमा ५० प्रतिशत वृद्धि गरेपछि शरणार्थी समस्यामा परेका हुन् ।
बेलडाँगी शीविरका सचिब सञ्चहाङ सुब्बाका अनुसार  एउटा शब दहनका लागी २ हजार रुपैँयामा उपलब्ध गराउने गरिएको दाउराको मुल्य यही साउनको १ गतेदेखि ३ हजार रुपैंया पु¥याइएको छ । ‘शरणार्थीले  यक्ति धेरै पैसा कसरी जुटाउने’ सुब्बाले मंगलवार सरोकारवाला दातृसंस्थाहरुको छलफलमा भने   ‘हामीलाई  बाँचुन्जेली  खान लाउन त समस्या छ  मरेपछि जलाउने दाउरामा पनि यस्तो  महङ्गो किन गरेको  हो ?’
 बनले आफ्ना उपभोक्तालाई पनि दाउराको मुल्य बढाएकोले शरणार्थीलाई पनि बढाउनु परेको समितीका अध्यक्ष हिमालय दाहालले जानकारी दिए । ‘उपभोक्तालाई प्रतिक्विन्टल २ सयबाट ३ सय र शरणार्थीलाई ५ सय बाट ७ सय ५० रुपैयाँ बनायौँ’ दाहालले  भने ‘महंगी बढेपछि त्यस अनुसार दाउराको मुल्य बढेको हो ।’ शरणार्थीले यसको बिरोधमा मंगलबार नै इलाका बन कार्यालय र दातृसंस्थाको ध्यान आकर्षित गराएका छन् ।

जल्पादेवी मन्दिर निर्माण

दमक/झापाको दमक १० स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान परिसरमा जल्पादेवी मन्दिर निर्माण भइरहेको छ ।
जल्पादेवी किर्तन मण्डली दमक १० ले मन्दिर निर्माण थालेको हो । १० लाख रुपैयाँको इस्टमेटमा निर्माण भइरहेको मन्दिर निर्माणमा अहिले सम्म ५ लाख रुपैयाँ खर्च भइसकेको निर्माण उपभोक्ता समितिका सचिव दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
तिहारमा देउसी भैलो र अन्य दाताको सहयोगमा निर्माण भइरहेको मन्दिर ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उनले  बताए ।

पुष्पलालको स्मृतिमा कार्यक्रम हुने

दमक/नेकपा एमालेले नेपाल कम्युनिष्ठ पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा  दमकमा बुधवार आज  अन्तरक्रिया र बृक्षारोपण गर्ने भएको छ ।
एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ झापाले अन्तरकृया गर्ने भएको हो । यसै गरी एमाले वडा कमिटी दमक १४ले   रतुवाखोला धारमा बृक्षारोपण गर्ने भएको छ । २ सय बढी खयर, मसला सिरीस जातको बिरुवा रोप्ने कार्यक्रम रहेको एमाले नगर अध्यक्ष अम्विका खनालले जानकारी दिए ।

दार्जीलिङसँग छोटो हवाई सम्पर्क

दमक/भारतको चर्चित पर्यटकिय क्षेत्र दार्जीलिङ जिल्लासँग नेपालको सीधा हवाइ सम्पर्क कायम भएको छ । भारतको बजेट एयरलाइन्स स्पाइस जेटले पश्चिम बंगाल राज्यको उक्त जिल्लामा रहेको बागडोग्रा विमानस्थलबाट काठमाडौँ सीधा उडान गर्ने घोषणा गरेको छ ।
सो घोषणासँगै दार्जीलिङ क्षेत्रबाट काठमाडौँ आउन र काठमाडौँबाट सो जिल्लामा जाने यात्रु तथा पर्यटकलाई सहयोग पुग्ने भएको छ । सो विमानस्थलबाट कुनैपनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । बागडोग्रा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने स्पाइस जेट पहिलो विमानसेवा बन्दैछ ।

नागरिकता वितरणमा कमी

दमक/इलाका प्रशासन कार्यालय दमकले अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा कम्ती नागरिकता वितरण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०६९÷७० मा भन्दा आव २०७०/७१ मा कम नागरिकता वितरण भएको हो । अघिल्लो आर्थिक वर्षमा ५ हजार २ सय २८ र गएको आर्थिक वर्षमा ४ हजार ७ सय ५१ नयाँ नागरिकता जारी गरिएको कार्यालयका शाखा अधिकृत तिलोचन रिमालले जानकारी दिए । कुनै वर्ष जन्मदर कम र नागरिकको आवश्यकता  नहुँदा नागरिकता वितरण घटेको उनले  बताए । 
अघिल्लो आर्थिक बर्षमा १ हजार ४ सय ६९ वटा र गएको आर्थिक बर्षमा १ हजार ६ सय ९३ वटा नागरिकताको प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ ।

शिक्षा नीति र देशको गति

निधिरत्न अधिकारी
 ‘जो गाउँको मुखिया उही बाटो ....’ भने जस्तो देशको गति ठीक भए पो शिक्षा नीति पनि देश र जनतालाई लाभ पुग्ने खालको हुन्छ । लगभग ६५ वर्ष बितिसक्यो, विशेष गरेर २५ वर्ष अगाडिदेखि निरंकुश, तानाशाही, सामन्तवादी व्यवस्थाले देशको विकास र नेपाली जनतालाई सुख दिन सकेन भन्ने क्रान्तिकारीहरू अहिलेसम्म च्याउ बराबर उम्रिएका छन् । सामन्तवादी उत्पादनले नेपाली जनताका आवश्यकता पूर्ति गर्न सक्दैन भनेर उत्पादनशील, वैज्ञानिक, सृजनशील शिक्षा लागू गर्ने, देशलाई छिट्टै विकासित नेपाल बनाउने भनेर नारा दिइयो । हो न हो सामन्तवादी, ढोंगी शिक्षाले पछि परेका नेपाली जनता पीडित नै थिए । त्यसैले क्रान्तिकारी पार्टी विचारको पछि लागे, रोजगारमूलक, वैज्ञानिक, सिर्जनशील, व्यवहारिक शिक्षा प्राप्त गर्दै देशलाई विकासको बाटोमा अगाडि बढाउने सपना बुन्दै सामन्तवाद, जहानियाँ राणा शासनको विरुद्धमा धावा बोले, सो विरुद्धमा जीवन बलिदानसम्म गरे नेपाली जनताले । तर आजसम्म उक्त बालिदानको उपलब्धी नेपाली धर्तीमा लागू भएको शिक्षा नीतिले नेपालको उन्नति होइन, अधोगतितिर धकेलिरहेको छ ।
नेपालको शिक्षा नीतिले अव्यवहारिक शिक्षित, बेरोजगार दिन दुई गुना, रात चौ गुनाको दरले जन्माइरहेको छ । तपाई हामी आफ्नो कमाईको ७५ प्रतिशत आफ्नो छोराछोरीको उज्ज्वल भविष्यको लागि खर्चिन्छौं, तर त्यसको प्रतिफल, नेपाली युवा–युवती रोजगारको रोजीरोटीको लागि विदेशी गल्लीमा भौतारिनु परिरहेको छ । यसको मूल कारण भनेको राज्य शिक्षाप्रति गैह्र जिम्मेवार भएर हो । यसरी राज्यको गैह्र जिम्मेवारीपनको कारणले गर्दा नेपालको शिक्षा अमुक ठेकेदारहरूको व्यापारमा परिणत भई नाफामुखी भयो । हाम्रै सामुन्ने हामीले देखिरहेका छौं कि प्रतिस्पर्धाको मार्केटमा स्कूल कलेजहरू खुलिरहेका छन् । यसरी राष्ट्र निर्माण गर्ने मूल आधार नागरिकले निःशुल्क समानताको आधारमा प्राप्त गर्न पाउनु पर्ने नैसर्गिक अधिकार, राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त कुरा कसेको होलसेल र खुद्रा नाफा गर्ने व्यापार भएपछि यो राष्ट्रको गति र उत्पादित जनशक्तिको गन्तव्य कस्तो होला ?
यति गैह्र जिम्मेवारीपन राज्यले देखाउँदा देखाउँदै पनि नेपाली आमाका सन्तानहरू धेरै वैज्ञानिक, डाक्टर, इञ्जिनियर भए तर उनीहरूको संरक्षण, संवद्र्धन, व्यवस्थापन गरी उचित लगानी, सान्दर्भिक रोजगारको व्यवस्था गरी राज्यले रोक्न मनै गरेन । राष्ट्रको उन्नति र जनताको प्रगति गरेर मात्र सिङ्गो राष्ट्रको विकास हुन्छ भन्ने कुराको जानी–जानी बुझ पचाए । यो राज्य सञ्चालन गर्छौं भन्नेहरूले शिक्षा सिर्जनशील, उत्पादनशील, व्यवहारिक, वैज्ञानिक, मौलिकता गाँसिएको हुनुपर्छ । शिक्षा भनेको माटोमा जुन फल लगाउन उपयुक्त छ, सोही अनुसार बिउ रोप्न र फलाउन सक्षम ज्ञान भरिएको व्यवहारिक शिक्षाद्वारा प्रशस्त जनशक्ति तयार गर्नुपर्छ । तर हाम्रो शिक्षा नीति, अति अल्छे, अनुत्पादक, परजिवी, आसे सुगा रटाईवाला छ । कृषि प्रधान देश भनिन्छ, तर शिक्षा दिएर डिग्री गरेका जनशक्ति कृषिक्षेत्रमा काम गर्न घिनाउँछन्, लजाउँछन् । कृषि सम्बन्धी ज्ञान प्राप्त गर्ने विषय ऐच्छिक रुपमा राखिन्छ । नागरिकलाई निःशुल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो । तर, राज्य उक्त दायित्वबाट विमुख छ । तर पनि नेपाली जनताले आधा पेट खाएर व्यापारिक स्कूल, कलेज पढाउँछन्, जुन अति महङ्गो हुन्छ । त्यति गर्दा पनि उसले प्राप्त गरेको सफल सर्टिफिकेट अनुसारको रोजगारको व्यवस्था अहिलेसम्म राज्यले गर्न सकेको छैन । राज्य सञ्चालन गर्छौं भन्नेहरूको सधैं राजनीतिक झगडाको अन्त्य हुन सकेको छैन । देश र जनताप्रति कुनै सद्भाव, जिम्मेवारीपन देखिँदैन । यसरी राज्य सदियौंदेखि जनता र राष्ट्रप्रति गैह्र जिम्मेवार भएपछि कसरी राष्ट्रको सर्वाङ्गिण विकास सम्भव हुन सक्छ ? ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै नेपालमा सदियौंदेखि जनताको संविधान थिएन । नेपाली जनता आफ्ना आधारभूत आवश्यकता, मौलिक न्यूनतम अधिकार प्राप्तिबाट वञ्चित थिए । ०६४ सालमा संविधानसभाको निर्वाचन भयो । ४–५ वर्षमा पनि जनताको संविधान बनेन । फेरि दुनियाँमा नभएको दोस्रो संविधानसभाको निर्वाचन भयो । फेरि जनताको सामु भोट माग्न जाँदा अगाडिका गल्ती नदोहो¥याउने, जनताको संविधान बनाएर छोड्ने भनेका थिए । तर, अहिले संविधान लेख्ने त कता हो कता सबै पार्टीमा आन्तरिक झगडा, फेरि पनि पार्टी फुटको नजिक पुग्न लागेको दृश्य सबै पार्टीमा देखिन्छ । फेरि पनि जनतालाई भेडा, बाख्रा बनाएर आफू राज गर्ने प्रवृत्ति देखिँदै गएको देखिन्छ । सम्पूर्ण नेपालीको पहिचानभित्र रहेको सम्पन्नतामा राष्ट्र, राष्ट्रियता र आम नागरिकको जीवन बलियो रहन सक्छ । फोस्रो राष्ट्रियताको नाराले सीमित समूहको स्वार्थ पूर्ति होला । आमूल परिवर्तन हुन सक्दैन । भोको पेटले राष्ट्र र राष्ट्रियता बचाउन सकिँदैन, राष्ट्रमा समान सम्पन्नताले मात्र राष्ट्र बलियो बन्छ । त्यसैले राष्ट्र बलियो र सम्पन्न बनाउन राष्ट्रका मूल आधारहरू समान रुपले नागरिकको पहुँचसम्म पु¥याउन र राष्ट्रप्रति बफादार बन्न राज्यको गति निरन्तर अगाडि बढिरहनुपर्दछ ।
nidhiratna@hotmail.com

स्वदेशमा रोजगारी देउ - सम्पादकीय

बेरोजगारीको समस्या दिनानु दिन ठुलो चुनौतीको रुपमा देखिएको छ । बढ्दो वेरोजगारीका कारण मुलुकको समग्र अवस्था नै प्रभावित बन्दै गएको छ । राजनीतिक रुपमा देशले काचुली फेरिए पनि आर्थिक ,रोजगारी तथा सामाजिक सुरक्षाका हिसावले राज्य रुपान्तरित हुन सकेको छैन् । बेरोजगारी समस्याका कारण सयौ दक्ष जनशक्तिहरु धमाधम विदेशिनु पर्ने अवस्थाको अन्त्य हुन सकिरहेको छैन् । अहिले पनि सयौका संख्यामा युवाहरु रोजगारीका लागि विदेशिनु बाध्यता बन्दै गएको छ । यस्तो कहाली लाग्दो अवस्थालाई तोडन देशल े अझै फड्को मार्न नसक्नु चिन्ताको विषय पनि हो ।
प्रत्येक मानिसले आफ्नो पेटपालो गर्न केहि न केहि आर्जन गर्नैपर्छ । उमेरले डाँडो काटेका मानिसहरु स्वभावैले आफ्ना सन्ततीको आश्रयमा वाँच्नु पर्ने वाध्यता छ । बृद्घबृद्धाकालागि जीविका चलाउने आधार भनेको  हामा्रे मुलुकमा सन्ततीले दिएको आढ भरोसामात्र हो । आफ्नो स्थायी सम्पत्तीको केहि अंश आफ्नै नाममा राखेपनि त्यसको सदुपयोग गर्ने क्षमता बृद्ध मानिसमा नहुनाले त्यसतो सम्पत्ती कित आफ्नै सन्तान कित नातेदारहरुले उपभोग गर्छन र बुढाबुढीको भने उपेक्षा गरेका कैयन उदाहरणहरु छन ।
कृषिमा आधुनिकीकरण नभएको र देश औद्योगिक बाटोमापनि नलागेको कारणले मरिमेटेर शारीरिक परिश्रम गर्ने ब्यक्तिले पनि भरपेट खाएर गुजारा गर्ने अवस्था छैन । यस प्रस·मा शिक्षा क्षेत्रले स्वरोजगार मूलक ज्ञान दिन नसकेकोले शिक्षित समुहपनि बेरोजगार रहेको कुरा कोट्याउनै पर्ने हुन्छ । शिक्षाकोलागि जनता कम्तिमा पनि आर्जनको चालिस प्रतिसत खर्च गर्छन र त्यस ज्ञानवाट कुनै आयमूलक ब्यवसाय चलाउन सक्तैनन । ब्यवसाय चलाउने आन्तरिक र वातावरणीय परिस्थितिनै छैन । त्यसैले विवश भएर कैयन शिक्षित नेपालीहरुपनि वैदेशिक रोजगारमा होमिने गरेका छन । तीमध्ये थोरैलेमात्र सफलता पाएका छन । हजारौंको ज्यान जाने गरेको छ । कुनै एउटा सरकारी पदकोलागि विज्ञापन ठुलो संख्यामा दर्खास्त पर्ने गरेको कैयौ उदाहरण छदै छन् । यस्तो अवस्था देशमा निम्तनु सवैका लागि लाजमर्दो विषय नै हो ।
गा्रमिण भेकमा जवरजस्त कृषि ब्यवसाय सञ्चालन गरेमा यातायातको असुविधाले वेचविखन गर्न सकिन्न । देशमा जताततै कहाली लाग्दो वेरोजगारीको कालो विम्व छ । विद्यार्थी भिजामा यूरोप पसेका कैयन नेपाली भने पढेदै कमाउदै गर्छन र फर्कदा धन लिएर आउछन । यहाँपनि उनीहरु कहिनकहि रोजगारीमा सक्षम देखिन्छन । कति फरक छ यूरोपीय र नेपाली शिक्षा एवं रोजगारीको स्थितिमा । वालक र बृद्धाहरु पराश्रयी हुन । यिनीहरु कुनै पेशा गर्न असक्षम रहन्छन । यस वर्गका सम्पूर्ण जैविक आवश्यकता पूरा गर्ने जिम्मा युवा पिंडीमा निहित हुन्छ । ब्यक्तिगत, पारिवारिक र सामाजिकमात्र होइन देशकै विगत स्थितीमा टेकेर वर्तमान एवं आगतलाई युवा पिंडीले हाँक्नुपर्ने अवस्थामा छ । जतिसक्दो युवालाई क्रियाशील बनाउन सक्यो त्यतिनै देशको उन्नती हुने निश्चित छ । नेपालमा भने यसक्षेत्रमा कमै चासो गरिन्छ र भए गरेका पहलहरुपनि न्यून र प्रभावहीन देखिन्छन ।
सबै बेरोजगार युवालाई कृयाशील बनाउन राज्यले पहल गर्नुृपर्ने देखिन्छ । देशको सम्पत्तीलाई उर्जाशील बनाउन राज्यको सम्बद्ध निकायको ध्यान जानुपर्छ । हालै मात्र सरकारले यो वर्षको बजेट सार्वजनिक गरेको छ । युवा शक्तिलाई राज्यकै अधिनमा राखेर अनेकौ अवसरको सृजना गर्न अहिलेका मुख्य चुनौती पनि हो । देशमा रोजगारीको भरपर्दो अवसर , शुनिश्चिता सहितका दुरगामी योजना ल्याएर बढ्दो बेरोजगारी समस्या सुल्झाउन लाग्नु पर्छ । बजेटले युवा लक्षित बिभिन्न योजना ल्याउने प्रयास भएका छन् । तर बजेटमा उल्लेख भएर मात्र कुनै पनि दुरगामी योजनाले मूर्त रुप लिन सक्दैन् । त्यसका लागि राजनीतिक दल तथा सरोकारवाला पक्षहरु गंभीर भएर अगाडी बढ्नु पर्छ ।