पूर्वका जिल्लामा पुस्तकको अभाव

विराटनगर । भूकम्पपछि लगातारका पराकम्पनले एक महिना बन्द विद्यालय बन्द रहेर पुनः सञ्चालनमा आएपनि विद्यार्थीले पुस्तक नपाउँदा समस्या परेको छ । आवश्यक पुस्तक उपलब्ध नगराउँदा बिराटनगरस्थित जनक शिक्षा समाग्री केन्द्रको क्षेत्रीय डिपोमा यतिवेला शिक्षक र पुस्तक विक्रेताको भीड बढेको छ । कक्षा ८, ९ र १० को पाठ्यपुस्तक विक्री–वितरण गर्दै आएको केन्द्रसँग शैक्षिक सत्र सुरू भएको दुई महिना बितिसक्दा पनि आवश्यक किताब छैन ।
समयमा आवश्यक किताब उपलब्ध नगराएको भन्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले विराटनगरस्थित जनक शिक्षाको क्षेत्रीय डिपोमा तालाबन्दी गरेको छ । जनक शिक्षाले पुस्तक छपाईमा ढिलाई हुँदा मेची–कोशीका १० जिल्लाका सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको स्विकारेको छ । चैतमै छापेर बाँडिसक्नुपर्ने किताब अझै छापिएको छैन: महासंघका मोरङ अध्यक्ष माधव अधिकारीले भने: आउँछ–आउँछ भन्दाभन्दै दुई महिना बितिसक्यो अझै पनि आवश्यक किताव पाउन सकिएको छैन । जनक शिक्षा समाग्री केन्द्रका अनुसार मेची–कोशीमा कक्षा ८ को मात्रै ८५ हजार सेट पुस्तक आवश्यक छ । जसमा पहिलोपटक ४५ हजार मात्रै आइपुगेको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार मेची–कोशी अञ्चलका धेरैजसो विद्यालयमा कक्षा ८ को पाठ्यपुस्तक पुगेको छैन । पहिलो खेपमा ४५ हजार सेट र दोस्रोमा ५ हजार सेट मात्र किताब आयो : जनक शिक्षाका क्षेत्रीय प्रमुख चन्द्रलाल माझीले भने : अझै ३५ हजार सेट किताबको अभाव छ । उनका अनुसार पुस्तक छाप्न ढिलाई भएकाले समयमा विद्यार्थीलाई किताब उपलब्ध गराउन नसकिएको हो ।
किताब अभावकै कारण मोरङका अधिकांश सामुदायिक विद्यालयले माथिल्ला कक्षाको पढाई अगाडी बढाउन सकेका छैनन् । मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले भने : विद्यार्थीसँग किताव नै नभएपछि शिक्षकले कसरी पढाई अगाडी बढाउने ? उनका अनुसार पाठ्यक्रम परिवर्तन भएका कारण कक्षा ८ का अधिकांश किताब विद्यार्थीले पाउन सकेका छैनन् । अभिभावक, विद्यार्थी र शिक्षक दिनहुँ आएर किताब खै भन्दै किचकिच गर्छन : पुस्तक व्यवसायी राजन पाठकले भने ः जनक शिक्षाले नै हामीलाई नदिएपछि हामीले के गर्ने ? सरकारले शैक्षिक सत्रको प्रारम्भमै किताब पुर्याउन १ देखि ५ कक्षासम्मको पाठ्पुस्तक छाप्ने अधिकार नीजि क्षेत्रलाई दिएको छ । कक्षा ६ र ७ को किताब गतवर्षको स्टकबाट विक्री गर्ने अधिकार समेत मुद्रण व्यवसायीलाई दिइएको छ । तर कक्षा ८, ९ र १० को पाठ्यपुस्तक भने जनक शिक्षाले मात्र छाप्ने गर्छ ।

0 प्रतिकृया:

Post a Comment