कुवेत लाँदै गरेका ५ महिलाको उद्धार

मोरङ । विराटनगरबाट भारतको जोगवनी हुँदै गैरकानुनी रुपमा कुवेत लग्न खोजिएका पाँच जना नेपाली चेलीको उद्धार गरिएको छ । विराटनगरस्थित सीमा प्रहरी चौकीका सई विकाश खत्रीको नेतृत्वमा रहेको टोली र केआई नेपाल नामक संस्थाका प्रतिनिधिले संयुक्त रुपमा उनीहरुको उद्धार गरेका हुन् । ललाईफकाई झुक्याएर प्रलोभनमा पार्दै कुवेतमा लगेर रोजगारीमा लगाइदिने भनेर गैरकानुनी रुपमा लगिएका उनीहरुलाई विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट उद्धार गरिएको हो । कुवेत लान भनेर काठमाडौंबाट एकै साथ ल्याइएका १४ जना मध्ये म्याग्दीकी ३८ वर्षीय मनमायाँ कामी, कैलालीकी २१ वर्षीय कोपीला तामाङ, उदयपुरकी २१ वर्षीय सुमिका दनुवार, सप्तरीकी २५ वर्षीय मंगलीदेवी राम र मोरङको पथरी–शनिश्चरे नगरपालिका ८ की दुर्गा राई (जोगी) लाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख इन्स्पेक्टर गंगाप्रसाद पौडेलले बताए ।

0 प्रतिकृया:

Post a Comment